बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

सरकारले कहिले बुझ्ला ज्यानको बाजी लगाउने गोताखोरको महत्त्व ?

प्रदेश स्तरमै गोताखोरको ‘स्क्वाड’ राख्ने प्रस्ताव गृहमा लैजाने तयारी
बिहीबार, २५ जेठ २०८०, १० : १६
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ नम्बरको स्कार्पियो गाडी घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सुनकोशी नदीमा खस्यो । 

गाडीमा सवार थिए, सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, सिटीभीटीकै योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल, विद्युत् प्रशिक्षक भानु पौडेल र सवारी चालक कृष्ण चौधरी । 

चौधरी जसोतसो पौडिएर बाँच्न सफल भए । बेपत्तामध्ये केसी र पौडेलको शव पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर (डिप वाटर ड्राइभ) टोलीले नदीबाट निकाल्यो । 

1 (3)

तीव्र पानीको बहाव भएको सुनकोसी नदीमा लगातार गोताखोर प्रवेश गरेर खोजतलास गर्दा मंगलबार स्कार्पियो फेला पर्‍यो । केसी र पौडेल स्कार्पियोभित्रै सिटमा मृत अवस्थामा भेटिए भने भुर्तेल अझै बेपत्ता छन् । 

घटनास्थलमा खटिएका सशस्त्र प्रहरीका निरीक्षक सुवास थापाका अनुसार शुक्रबारको घटनामा शनिबार मात्रै गोताखोर नदीमा प्रवेश गरेको थियो । उनका अनुसार पहिला गाडी कहाँबाट नदीभित्र छिर्‍यो भन्ने पत्ता लगाउन समय लाग्यो । धेरै गहिरो र नदीको बहाव तीव्र भएकाले गहिराइमा छिर्न तत्काल सम्भव भएन । 

पानीको बहाव तितरबितर पारेपछि मात्रै गोताखोर नदीभित्र प्रवेश गर्न सक्यो । गोताखोरले लगातार नदीभित्र प्रवेश गरेर खोजतलास गर्दा मंगलबार गाडी भेटिएको निरीक्षक थापाले बताए । 

गोताखोरले डेढ सय देखि दुई सय मिटर आसपासलाई केन्द्रविन्दु बनाएर गाडी र बेपत्ताहरूको खोजी गरेको थियो । सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट निरीक्षक थापाको कमान्डमा गोताखोरहरू क्रमशः जवान अम्बर गुरुङ र आकाश राई खटिएका थिए । 

सुनकोशीमा गाडीसहित बेपत्ता भएकाका परिवार र आफन्तले शव भेटिनेमा लगभग आश मारिसकेको अवस्थामा सशस्त्रको गोताखोरले पाँच दिन लगाएर भएपनि दुई जनाको शव फेला पार्न सक्यो । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । 

1 (2)

पछिल्लो समय यस्ता घटनाले गोताखोरको आवश्यकता सँगै महत्त्व बढेको छ । काठमाडौँकै कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुलनजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको थियो । 

गत माघ २ गते भएको दुर्घटनामा बेपत्ता भएका खत्रीको शव गोताखोरले तीन दिनपछि बागमती नदी भित्रबाट फेला पारेको थियो ।

जल उत्पन्न प्रकोपको दृष्टिकोणले अति नै संकटासन्न मुलुकमा पर्ने नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपमा परेर धेरै धनजनको क्षति हुँदै आएको छ । 

उद्धारका लागि सधैँ अनुकूल परिस्थिति रहन्छ भन्ने हुँदैन । नदीको साँघुरो घाँटी र गहिरो खोचमा पनि उद्धार कार्य गर्नुपर्ने हुन्छ । नदी, ताल तलैयाको गहिराइमा डुबेका मानिसलाई तुरुन्तै फेला पार्न सकिन्छ भन्ने पनि हुँदैन । 

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले गोताखोरकै सहयोगमा नेपालमा भएका ठुला सडक दुर्घटनामा नदीभित्र बेपत्ता शव पत्ता लगाउन सफल भएको बताए । उनले भने,‘अहिले भएका गोताखोरलाई मात्रै पनि स्रोतसाधन सम्पन्न बनाउन सकियो भने राम्रो हुन्थ्यो । यसका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।’

gota khor

बंगलादेशमा तालिम लिनेहरू अब्बल

नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपबाट ठुलो धनजनको क्षति हुने देखिएपछि सशस्त्र प्रहरीले विदेशी दाताको सहयोगमा २०६९ वैशाखमा २५ जनालाई बंगलादेशको ढाकामा गोताखोर तालिमका लागि पठाइएको थियो । 

वैशाख  ३१ देखि असार १४ सम्म चलेको तालिमपछि फर्किएर २०७६ देखि तालिम लिएकाले नै तालिम दिन थाले । एउटा तालिम सम्पन्न गर्दा ३५ देखि ४० लाख रुपैयाँ लाग्ने गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । अहिले सशस्त्र प्रहरीमा ७४ जना गोताखोर छन् । उनीहरूलाई आवश्यक स्रोतसाधन भने धेरै महँगो हुन्छ । 

1 (6)

अहिले सशस्त्र प्रहरीसँग भएको केही स्रोत साधनकै भरमा गोताखोर परिचालित हुँदै आएका छन् । काठमाडौँको सिनामंगल, चितवनको कुरिनटार, कास्कीको पोखरा र सुनसरीको इटहरीमा अहिले गोताखोर तयारी अवस्थामा राखिएको छ । 

तर, स्रोतसाधन अभावमा अन्य जिल्लामा गोताखोर पठाउनुपर्ने अवस्था आएमा यिनै कार्यालयहरूबाट समान लिएर जानुपर्ने अवस्था रहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र श्रेष्ठ बताउँछन् । 

मृत्युसँग डराउने गोताखोर बन्दैन

नरेन्द्र सिंह भण्डारी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार

सुरुमा सरकारले बंगलादेशको ढाकामा गोताखोर तालिममा पठाउँदा म पनि गएको थिएँ । ढाकाको सीतगाउँ भन्ने ठाउँमा हाइड्रोपावरको ड्याममा तालिम दिइएको थियो । पानीको गहिराई हेर्दा त मनभित्र चिसो पनि पस्यो । किन तालिम लिन आएको होला भन्ने लाग्यो । 

तर, पानीभित्र पनि घण्टौँसम्म अडिरहने तालिमको कला थियो, मलाई धेरै खुसी लाग्यो । अब नेपाल फर्केर आफ्नै देशमा हुँदै आएको जल उत्पन्न प्रकोप र नदीमा डुबेकालाई उद्धार गर्न सक्छु भन्ने प्रण गरियो । 

narendra shing bhandari

सीतगाउँमा हामीले १६० फिट गहिराइमा पुगेर तालिम लियौँ । तर, त्यहाँ भित्रको पानीमा भिजिबिलिटी थियो । पानीभित्र छिर्ने र बाहिर बसेर गाइड गर्नेको लागि एउटा कम्युनिकेसन सेट हुन्छ । पानीभित्र छिर्ने गोताखोरले बोलेको बाहिरकोले सुन्छ । बाहिरबाट बोलेको भित्रबाट सुनिन्छ । पानीको बहाव धेरै गतिमा छ भने उद्धारको लागि धेरै कठिनाइ हुन्छ । 

नेपालमा त झन् तीव्र करेन्टमा बग्ने नदी छन् । अधिकांश नदीको भिजिबिलिटी छैन । छामेरै नदीभित्र छिर्नुपर्छ । त्यतिबेला कम्युनिकेसन टुट्यो भने ज्यानै पनि जान सक्छ । बगेको पानीमा उद्धार गर्न नदीको करेन्टसँगै बग्ने हो । तर, तालमा छामेरै पत्ता लगाउनु पर्छ । 

नेपालका भोटेकोशी, सुनकोशी र भेरीमा पानीको भिजिबिलिटी छ, अन्यमा छैन । अहिले भइरहेको जति पनि उद्धार वा शव पत्ता लगाउने कार्यमा गोताखोरले छामेकै भरमा गर्ने हो । 

२०७४ कात्तिकमा गजुरीस्थित त्रिशूली नदीमा बस खसेको थियो । हामीले छामेकै आधारमा नदीभित्र छिरेर २८ वटा शव निकाल्यौँ । नदीको पानीको करेन्ट धेरै थियो । माथि बसेर कमाण्ड गरेको र कम्युनिकेसन सिग्नलकै आधारमा छामेर शव पत्ता लगायौँ । 

धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा २०७४ माघमा सिँचाई मन्त्रालयका सचिव रामानन्द यादव सवार जीप दुर्घटना भई खसेको सूचना आएपछि हामी गयौँ । मसँग वरिष्ठ हवल्दार तारानाथ चपाइँ हुनुहुन्थ्यो । प्रायः हामी दुवै बंगलादेशबाटै तालिम लिएर आएका थियौं । 

पानीभित्र छिरेपछि जीप फेला पर्‍यो । मैले चपाईलाई जीपको ढोकातिरै बस्नुस् भनेको थिएँ । एकाएक सम्पर्क टुट्यो । उहाँ त बेहोस अवस्थामा पुगिसक्नु भएको रहेछ । मैले फेरि माथि ल्याएँ । सीपीआरको माध्यमबाट उहाँलाई बचाउन सकियो । गोताखोरको काम सामान्य होइन । मर्न डराउनेले यो तालिम लिन सक्दैन । 

गृहमा प्रस्ताव लैजाँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सातवटै प्रदेशमा स्रोतसाधन सम्पन्न हुने गरी गोताखोर टोली राख्ने प्रस्ताव गृह मन्त्रालयमा लैजाने तयारी गरेको छ । 

अहिले चितवनको कुरिनटार, पोखराको कास्की, सुनसरीको इटहरी र काठमाडौँमा मात्रै गोताखोर टोली छ । तर, स्रोतसाधन कुरिनटार र काठमाडौँमा मात्रै छ । कतै विपद्मा उद्धार गर्न जानु पर्‍यो भने सामान मगाएर मात्रै टोली जाने गरेका छन् । 

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार गोताखोरको तालिम महँगो हुने र सामग्री पनि विदेशबाटै मगाउनुपर्ने हुँदा गृह मन्त्रालयमा बजेट निकासा हुने गरी प्रस्ताव लैजाने विषयमा छलफल भइरहेको छ । यसबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सकारात्मक रहेको बुझाई सशस्त्र मुख्यालयको छ । 

केही दिन अघि मात्रै कुरिनटारमा भएको तालिम पनि गण्डकी प्रदेश सरकारको सहयोगमा भएको थियो । एसएसपी खड्काका अनुसार गोताखोरलाई छुट्टै ‘स्क्वाड’ कै रूपमा विकसित गर्ने गरी योजना बनाइँदैछ । 

उनले नेपालमा हुने प्राकृतिक विपत्तिसँगै अन्य दुर्घटनामा गोताखोर उपयोगी हुने भएकाले अहिले भइरहेका ७६ जनालाई पनि स्रोत साधन सम्पन्न बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराई सकेको बताए । 

गोताखोरले गरेका उद्धारको मुख्य घटनाको विवरण

– २०७१ मङ्सिर ४ मा जाजरकोटको भूतचौरस्थित भेरी नदीमा बस खस्दा बेपत्ता ३१ जनाको शव निकालेको । 

– २०७४ कात्तिक ११ मा धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता २८  शव निकालेको ।

– २०७५ साउन ९ मा सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिका–४ स्थित गोकियो तालबाट १ जनाको शव निकालेको । 

– २०७६ जेठ ५ मा गजुरी गाउँपालिका– ६ बन्छेटारमा त्रिशूली नदीबाट गाडी खस्दा बेपत्ता भएका ४ जनाको शव निकालेको ।

– २०७६ साउन २४ मा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली नदीमा बस खस्दा बेपत्तामध्ये ६ जनाको शव निकालेको ।

– बझाङको बुङ्गल नगरपालिका–१ स्थित दारिमगार्डमा कालङ्गा हाइड्रो पावरको निर्माणाधीन सुरुङमा बेपत्ता भएका ४ जनाको शव निकालेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप