मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राडार गन बेवारिस

दुर्घटना न्यूनीकरण गर्ने ‘राडार गन’ बन्यो बेवारिस

डेढ करोडमा किनिएका गन दुई वर्ष नपुग्दै बिग्रिए, मर्मत गर्नै सास्ती
शुक्रबार, २६ जेठ २०८०, १६ : १७
शुक्रबार, २६ जेठ २०८०

बारा । राजमार्गमा गुड्ने सवारी साधनको गति नियन्त्रण गरी दुर्घटना न्यूनीकरण गर्न जडान गरिएका ‘राडार गन’ (गति मापन यन्त्र) बेवारिसे अवस्थामा पुगेका छन् । मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा  प्रदेशका आठ जिल्लालाई लक्षित गरेर पाँच ठाउँमा जडान गरिएका राडार गन दुई वर्ष नपुग्दै बिग्रेपछि बेवारिसे बनेका हुन् ।

बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधार क्षेत्र, काठमाडौँ–तराई/मधेस द्रुतमार्गछेउ अनि सप्तरी, सिराहा र महोत्तरीमा गरी पाँच ठाउँमा यो यन्त्र जडान गरिएको छ । 

प्रति राडार गन करिब २६ लाख खर्चेर १ करोड ३० लाखमा प्रदेश सरकारले जडान गरेका यी उपकरण जडान गरेको थियो । तर २ वर्ष नपुग्दै बिग्रिन थालेपछि मर्मतसम्भार गर्नसमेत हैरानी भएको राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बिग्रेका राडार गन मर्मत गर्न आवश्यक सामग्री नेपालमा नपाइने, छिमेकी मुलुक चीनबाट झिकाउनुपर्ने र प्राविधिकसमेत काठमाडौँबाट बोलाएर मर्मत गर्नुपर्ने भएकाले समस्या भएको बताएका छन् । 

r4

‘यो अत्यन्तै हाई क्वालिटीको क्यामरा हो, सवारी दुर्घटना न्यूनीकरण अन्तर्गत गति नियन्त्रण गर्न यसको महत्त्वपूर्ण  भूमिका रहन्छ,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘पावर सप्लाई बिग्रेकाले ल्याउने प्रक्रियामा छौँ, त्यसका लागि लाग्ने खर्चका लागि प्रदेश सरकारसँग आवश्यक  सहयोग माग्ने काम भइरहेको छ ।’

गत पुसमा मधेस प्रदेशका सबै ठाउँमा बिग्रिएर बेवारिसे  अवस्थामा रहेका राडार गन पछिल्लो समय महोत्तरी र सिराहामा मात्रै सञ्चालनमा छन् । राडार गनले राजमार्गमा गुडेका सवारी साधन कुन गतिमा छन् भन्ने गाडीको नम्बरसहित प्रस्ट देखाउँछ । सवारी साधनको गति मापन रेकर्ड भने ट्राफिक प्रहरी कार्यालयमा रहने गर्दछ । सोही रेकर्डका आधारमा तीव्र गतिमा गुडेका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना गर्ने गर्दछ ।

साँघुरो (२ लेन) सडकखण्ड भएको र सवारी साधनको उच्च चाप हुने बाराको पर्सा राष्ट्रिय निकुञ्ज र निजगढको राडागन मर्मतसम्भारका नहुँदा यो क्षेत्रमा दुर्घटनाको जोखिम बढी  छ । यो क्षेत्रमा दुर्घटना भएर भाग्ने गाडीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई गाह्रो हुने गरेको छ । ट्राफिक प्रहरी उपरीक्षक भट्टराईले सवारी साधनको अनुगमन र कारबाही गर्न राडार गन अत्यन्तै प्रभावकारी यन्त्र भएको बताउँछन् ।

‘पाँच महिनाअघि म आउँदा मधेस प्रदेशका पाँच वटै क्यामरा बिग्रिएका थिए । प्राविधिक बोलाएर मर्मत गरेपछि चार वटा चालु अवस्थामा आए । तर अहिले फेरि दुई वटा मात्रै क्यामरा सञ्चालनमा छ,’ उनले भने, ‘बिग्रिएका क्यामरा बनाउन काठमाडौँबाटै प्राविधिक बोलाएर देखाउँदा पावर सप्लाई नै फेर्नुपर्ने र धेरै खर्चिलो भएकाले हाम्रो क्षमताले बनाउन नसकेर प्रदेश सरकारलाई अनुरोध गरेका छौँ ।’ बिग्रिएका राडार गन बनाउन करिब एक लाख २५ हजार खर्च लाग्ने जनाइएको छ ।

‘कतिपयले कहाँ स्पिडमा चलाएको छु भनेर जित्न खोज्नुहुन्छ, पछि हामीले रेकर्ड देखाएपछि विश्वस्त भएर जानुहुन्छ,’ भट्टराईले भने, ‘दुर्घटना गराएर भाग्ने सवारी साधनको हकमा पनि राडार गर्नको सहयोगमा नियन्त्रणमा लिन अत्यन्तै सजिलो हुन्छ, यसबाट राति पनि स्पष्ट रूपमा नम्बर प्लेट देखाउँछ ।’

पछिल्लो समय पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको (६ लेन) मा  पनि थप एउटा राडार गन जडान प्रक्रिया सुरु भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । तर बिग्रिएका यस्ता यन्त्र मर्मतसम्भारका लागि बजेटको व्यवस्थापन नहुँदा भने समस्या हुने गरेको छ ।

r111

वार्षिक २५ करोड राजस्व सङ्कलन, पाँच लाखका लागि हारगुहार

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले मधेस प्रदेशका ८ जिल्लामा गत वर्ष सवारी जरिवानाबापत मात्रै २२ करोड  ४४ लाद ४५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा २५ करोड पुर्याउने लक्ष्य छ । मधेस प्रदेशमा अहिले दैनिक सवारी जरिवानाबापत करिब  ९ लाख राजस्व सङ्कलन हुन्छ । अघिल्लो वर्ष सङ्कलन भएको राजस्वमा न्यूनतम १५ प्रतिशत बढाएर आउने वर्ष राजस्व उठाउनुपर्ने बाध्यात्मक व्यवस्था ट्राफिक प्रहरीलाई छ ।

ट्राफिक प्रहरीका माध्यमबाट वार्षिक २२ देखि २५ करोड राजस्व सङ्कलन गरेर सङ्घीय सरकारलाई बुझाए पनि राजमार्ग बिग्रिएका राडार गन बनाउन भने सरकारले पाँच लाख खर्च गर्न आलटाल गरेको देखिन्छ । ‘सामान्य किसिमका तार फेर्नुपर्ने भए त हामी आन्तरिक स्रोतबाटै गथ्र्याैं तर बढी खर्च लाग्ने भएकाले हाम्रो क्षमताले भ्याउँदैन, प्रदेश सरकारलाई नै गुहार्नुपर्छ,’ भट्टराईले भने । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले मधेस प्रदेशका ८ जिल्लाको ६ हजार किलोमिटरभन्दा धेरै राजमार्ग क्षेत्र हेर्छ ।  त्यसका लागि  ३०५ जना जनशक्तिले मात्रै रहेका छन् । ‘मधेस प्रदेशमा ट्राफिक प्रहरीले ६ हजार प्लस किलोमिटर मनिटरिङ गनुपर्ने सडकहरू छन् । त्यसमध्ये पनि पछिल्लो समयमा हुलाकी र भित्री सडकमा कालोपत्रे र ढलान भएका छन्,  जसमा अधिकांश दुर्घटनाहरू भित्री मार्गमा भएको देखिन्छ ।

r16

दुई वर्षमा १,०४८ जनाले ज्यान गुमाए

ट्राफिक कार्यालय पथलैयाको गत वर्षको तथ्याङ्कअनुसार मधेस प्रदेशमा असार मसान्तसम्ममा पाँच हजार ७११ वटा सानाठुला सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५८५ जनाले अकालमा ज्यान गुमाए । यस्तै चालु आर्थिक वर्षको १० महिनामा चार हजार ९२९ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा ४६३ जनाले ज्यान गुमाएको राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

तीव्र गतिमा गुड्ने मोटरसाइकल र ट्याक्टरका कारण सबैभन्दा धेरै दुर्घटना भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा सबैभन्दा धेरै यिनै सवारीसाधन चलाउनेहरू भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पछिल्लो समय कालोपत्रे र ढलान भएका हुलाकी तथा भित्री सडक पनि उच्च जोखिममा रहेका छन् । ट्राफिक प्रहरीको उपस्थिति नभएका त्यस्ता भित्री सडकमा राति राजमार्गमा जथाभाबी रोकेर राखेका ट्याक्टरका कारण पनि बढी दुर्घटना हुने गरेका छन् । ‘अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी दुर्घटनामा मृत्यु हुने सङ्ख्या १० प्रतिशतले कम गराउने लक्ष्य राखेर हामी काम गरिरहेका छौँ,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘पछिल्लो तथ्याङ्क हेर्दा मोटरसाइकल दुर्घटनाबाट बढी मान्छेको ज्यान गएको छ ।’ पैदल यात्रीलाई ठक्कर दिएर, मोटरसाइकल चालक अनियन्त्रित भएर र क्षमताभन्दा बढी मानिस चढेका कारण पनि धेरैको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप