शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
विदेशी चलखेल

नेपालमा किन बढ्दैछ विदेशी चलखेल ?

विदेशी प्रतिनिधिको चहलपहलसँगै नेताहरूको उत्तर–दक्षिण दौडधुप
शनिबार, ०२ असार २०८०, ११ : ५८
शनिबार, ०२ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको अन्तिम तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपाल आइपुग्यो । 

जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले बालुवाटारमै गएर भेट्यो । त्यही दिन चिनियाँ टोली माओवादीको हेडक्वाटर पेरिसडाँडामा गएर माओवादी केन्द्रका नेताहरूसँग भेट ग¥यो । 

भारत जानुअघि यसरी चिनियाँ नेताहरूले प्रधानमन्त्री प्रचण्ड र अन्य नेताहरूलाई भेट्नु संयोग मात्र रहेको दाबी गर्छन् माओवादी केन्द्रका महासचिव देव गुरुङ ।

यसअघि पनि पार्टीका अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि चिनियाँ टोली नेपाल आएर प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो । यस्तो काम चीनले मात्र नभएर भारतले पनि गर्छ । प्रधानमन्त्री वा देशका कुनै ठुला नेता चीन भ्रमणमा जाने तयारी गरिरहँदा भारतीय राजदूत वा प्रतिनिधिहरू कुनै न कुनै बहानामा प्रधानमन्त्री वा ती नेताहरूलाई भेट गर्न पुग्छन् । तर नेताहरूले त्यस्तो भेटलाई संयोग मात्र भन्ने गरेका छन् । 

पछिल्लो समय अमेरिकाले पनि नेपालमा आफ्नो आउजाउ र भेटघाट बढाएको छ भने भारतले पहिलादेखि नै नेपालको राजनीतिमा आफ्नो वर्चस्व कायम गरेको छ । 

२०७९ मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकेपछि नेपालमा विदेशीहरूको दौडधुप र चलखेल तीव्र भएका छन् । भारत, चीन, अमेरिकालगायतका राजदूतहरूले नेपालका प्रधानमन्त्री, प्रधानसेनापति, मन्त्री तथा विभिन्न दलका नेताहरूलाई बाक्लै भेटेका छन् ।

चीन, अमेरिका, भारतलगायत विभिन्न मुलुकका प्रतिनिधि विभिन्न नाममा नेपाल आएका छन् । नेपालबाट पनि सांसद, नेता, मन्त्री, पत्रकारलगायत विभिन्न तहका व्यक्ति भारत, चीन, अमेरिका, सिंगापुरलगायतको भ्रमणमा गइरहेका छन् ।

नेताहरू पनि भ्रमणमा व्यस्त

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मिति (जेठ १३) गते तय भएकै दिन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारत भ्रमणमा गएका थिए । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आफ्नो कुरा प्रवेश गराउन आएको अभिव्यक्ति दिएका थिए । उनी दुई दिन भारत बसेर नेपाल फर्किए । 

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमण गएकै दिन राष्ट्रिय समाजवादी पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमणमै गए । आफू व्यक्तिगत कामका लागि भारत भ्रमणमा गएको उनको भनाइ छ ।

त्यतिमात्र होइन, प्रधानमन्त्री भारत भ्रमणमै रहेको बेला कांग्रेसका नेता डा.शेखर कोइराला र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि भारत पुगे । मेयर शाह पनि व्यक्तिगत कामका लागि भारत गएको भन्दै आएका छन् । 

शेखर कोइरालाको भ्रमणको उद्देश्य खुलेको छैन तर उनी निकट नेताहरू कोइरालाको भ्रमण राजनीतिक रहेको र भारतमा विभिन्न नेताहरूलाई भेटेर फर्किएको बताउँछन् ।

जेठ २८ गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि भारत पुगेका छन् । उपचारका लागि उनी भारत गएको भनिएको छ तर उपचारसँगै उनले त्यहाँ उच्चस्तरीय भेटघाट गर्ने कार्यतालिका रहेको लोसपाका नेताहरू बताउँछन् । भारत भ्रमणमा जान अन्य नेताहरू पनि तयारी अवस्थामा छन् । 

नेपालका नेताहरूको भारत र चीन दौडाहा भइरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेठ ३० गते सिंगापुर पुगेका छन् । उनी उपचारका लागि सिंगापुर गएको उनका सचिवालयका सदस्यले दाबी गरेका छन् । 

सभापति देउवा सिंगापुर जानुभन्दा एक दिनअघि कांग्रेस नेतृ समेत रहेकी देउवा पत्नी आरजु राणा सिंगापुर पुगेकी थिइन् । 

उच्चस्तरीय अन्तर्राष्ट्रिय राजनीतिक भेटघाटका लागि सिंगापुर सुरक्षित ठाउँ मानिन्छ । यसअघि पनि विभिन्न बहानामा नेपालका नेताहरू सिंगापुर गएर उच्चस्तरीय भेटघाट गरेको कुरा बाहिर आइसकेका छन् । 

यद्यपि नेपाली नेताहरू सिंगापुर भ्रमणलाई ‘स्वास्थ्योपचारका लागि’ भन्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला जेठ ५ गते माओवादी केन्द्रका नेता अग्नि सापकोटाको नेतृत्वमा २० सदस्यीय एक टोली चीन पुग्यो । सो टोली चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गरेर जेठ १६ गते फर्किसकेको छ ।

 

जेठ १९ गते पेरिसडाँडामा पत्रकार सम्मेलन गरी सापकोटाले भनेका थिए, ‘चीन भ्रमण फलदायी भएको छ ।’ 

सापकोटा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गरिरहेको बेला चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्त सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपालमा माओवादीका नेताहरूसँग छलफल गरिरहेको थियो । 

त्यही बीचमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि चीन भ्रमणमा थिए । नेपालमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहँदा श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा जसपाको प्रतिनिधि भएर चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफलमा थिए । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला सञ्चार मन्त्री रेखा शर्मा चैत ७ गते दिल्ली पुगेकी थिइन् । आइटी सम्बन्धी एउटा कार्यक्रमका लागि त्यहाँ पुगेकी मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भ्रमणको विषयमा पनि त्यहाँका सरकार पक्षसँग कुराकानी गरेकी थिइन् । 

दिल्ली जानुअघि फागुन २८ गते सञ्चारमन्त्री रेखा शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मन्त्रालयमा भेटघाट भएको थियो । त्यसअघि माघ २१ गते कांग्रेसकी नेतृ चन्दा चौधरी दिल्ली गएर भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईबालेसँग भेट गरेकी थिइन् । त्यसको भोलिपल्ट सांसद चौधरीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गरेकी थिइन् ।

उनी फर्केर आएपछि चैत २५ गते ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले वन मन्त्रीको हैसियतमा एउटा वातावरण सम्बन्धी कार्यक्रममा भाग लिन बस्नेतलाई दिल्ली पठाएका थिए ।  

चैत १२ भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा भारतको उत्तरप्रदेश गएर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । त्यसको भोलिपल्ट कांग्रेसकी नेतृ आरजु राणा भारतको दिल्ली पुगेकी थिइन् । यद्यपि उनी स्वास्थ्य उपचारका लागि गएको बताइएको थियो ।

त्यसअघि माघ १ गते पनि उनी उपचारका लागि भन्दै दिल्ली गएर फर्केकी थिइन् । माघ २९ गते तत्कालीन रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भारत भ्रमणमा गएका थिए । 

फागुन ४ गते नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल भारतीय कम्युनिस्ट पार्टी लिवरेशनको महाधिवेशनमा भाग लिन भारत प्रस्थान गरेका थिए । 

फागुन १४ गते जेनेभा जान तयार रहेकी तत्कालीन परराष्ट्रमन्त्री डा.विमला राई पौडेललाई प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गराएका थिए । त्यसअघि उनी माघ १९ गते श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको कार्यक्रममा सहभागी हुन गएकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले विमलाको मात्र होइन, फागुन १५ गते आफू दोहा जाने कार्यक्रम पनि रद्द गरेका थिए । तर फागुन १९ गते उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ कतार प्रस्थान गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना तिब्बतको ल्हासामा आयोजना हुने पाचौं चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्सपोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ २७ मा चीन प्रस्थान गरेका छन् । त्यो टोलीले पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकार पक्षका प्रतिनिधिहरूसँग भेट तथा छलफल गरिरहेको छ । अध्यक्ष तिमिल्सिना यसअघि वैशाख १२ गते रुस भ्रमणमा गएका थिए । 

फागुन ७ गते नेपाल र चीनबीचको विद्युत् प्रसारण लाइन कार्यप्रगतिबारे बुझ्न चिनियाँ टोली नेपाल आएको थियो  । त्यसको भोलिपल्ट जर्मनीको प्रतिनिधिसभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणको तयारी गरिरहँदा जेठ ११ गते पार्टी कार्यालयमा गएर चिनियाँ राजदूतावासका प्रतिनिधिहरुले उपसभापति डोलप्रसाद अर्यालसँग भेट गरेका थिए । 

त्यसको एक दिनपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्डका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि जेठ २४ मा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले उनीसँग भेटघाट गरेकी थिइन् । 

त्यही दिन प्रधानमन्त्री ‘प्रचण्ड’सँग विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि सङ्गठनकालागि तयारी आयोग (सीटीबीटीओ)का कार्यकारी सचिव डा.रोबर्ट फ्लोएडले पनि बालुवाटारमा गएर भेटेका थिए । जेठ ३ गते नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले पनि प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेट गरेका थिए ।

पुस ६ गते जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र इजरायलका राजदूत खनान गोदेरबीच पार्टी कार्यालयमा भेटघाट भएको थियो ।

चिनियाँ राजदूतको दौडधुप

जेठ ११ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेका चिनियाँ राजदूत चेन सोङले जेठ २६ गते सञ्चार मन्त्री रेखा शर्मालाई मन्त्रालयमा गएर भेटेका थिए । सो भेटमा चीनबाट आइटी क्षेत्रमा भइरहेको सहयोगका लागि मन्त्री शर्माले राजदूत सोङलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । 

वैशाख २५ गते नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमै गएर भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट चेनले उपराष्ट्रपति रामसहाय यादवलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए । 

चैत ८ नेपालका लागि चिनियाँ राजदूत सोङले उद्योग मन्त्री रमेश रिजाललाई पनि भेटेका थिए । मन्त्री रिजालको निजी सचिवालयका अनुसार दुई देशबीचको सम्बन्धमा बारेमा कुराकानी हुनुका साथै उद्योग व्यापारमा एक अर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

वैशाख १० गते कांग्रेस सङ्खुवासभाका सभापति एवम् सांसद दीपक खड्का नेतृत्वको टोलीले चीनसँग जोडिएको किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरेको दुई दिनपछि चिनियाँ राजदूत सोङले वैशाख १२ गते परराष्ट्रमन्त्री साउदलाई भेटेका थिए । त्यही दिन पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपालका लागि चिनियाँ राजदूत सोङलाई भेटेर पोखरा एयरपोर्टबाटै चीनका लागि उडान गर्न आग्रह गरेका थिए । 

त्यही दिन राजदूत सोङले अर्थमन्त्री प्रकाशशरण महतलाई पनि भेटेका थिए । उनले चैत ८ गते राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । 

राष्ट्रपतिमा नियुक्त भएपछि पौडेललाई बधाई दिन चिनियाँ राजदूतले भेटेको भनिएको छ । 

चैत १५ गते नेपाल–चीन सीमा वातावरणमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा रसुवागढी–केरुङ नाका दुईतर्फी आवतजावत गर्ने सहमति भयो । जबकि त्यो नाका सञ्चालनका लागि धेरै पहिलादेखि नेपालको प्रयास भइरहेको थियो ।

त्यसको भोलिपल्ट राजदूत चेनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भेटेका थिए भने त्यसको भोलिपल्ट परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेका थिए । चिनियाँ राजदूतसँगको भेटपछि मात्र सचिव पौड्याल चैत २१ गते चीन प्रस्थान गरेका थिए । 

उनी चीन भ्रमणमा किन गएका थिए भन्ने खुलाइएको छैन । चैत २३ गते चीनमा उनले बेइजिङस्थित विदेश मन्त्रालयमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेट गरेका थिए । 

चैत २९ गते राजदूत चेनले चितवनको भरतपुर गएर त्यहाँका मेयर रेणु दाहाललाई भेटेका थिए । त्यही दिन उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग लुम्बिनी भ्रमणमा देखिएका थिए । 

लुम्बिनी गएकै मौकामा भेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत चेन सोङलाई आग्रह गरेका थिए । 

त्यसअघि फागुन २६ गते राजदूत चेनले नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरेका थिए । त्यो भेटमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा राख्ने विषयमा छलफल भएको थियो ।

चैत २६ गते जहाज चार्टर्ड गरेर नेपाल आएको १८० जना चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा गएर उनले स्वागत गरेका थिए । 

त्यसअघि फागुन १५ गते भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति र त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओबीच भेटवार्ता भएको थियो ।

फागुन २ गते माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका थिए । फागुन ५ गते राजदूत चेनले स्वयम्भूमा रहेको आनन्दकुटी विश्वविद्यालयको भ्रमण गरेका थिए भने त्यसको भोलिपल्ट फागुन ६ गते पाटन दरबार स्क्वायरमा भएको फन रनमा सहभागी भएका थिए । 

त्यही दिन राजदूत चेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा गएर भेटेका थिए भने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसलाई पनि त्यही दिन भेटेका थिए । उनले युनेस्को नेपालको प्रतिनिधि माइकल क्रफ्टलाई पनि भेटेका थिए । 

राजदूत चेनले माघ २ गते पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।  त्यो भेटघाटपछि प्रचण्डले केपी ओलीसँग भेटेका थिए । त्यसपछि माघ ४ गते चिनियाँ राजदूत चेनले एमालेका अध्यक्ष केपी ओलीलाई बालकोटमा गएर भेटेका थिए । 

फागुन ११ गते चिनियाँ राजदूत चेन निर्माणाधीन चक्रपथको अवलोकन गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठका साथमा गएका थिए । त्यसअघि माघ १५ गते उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग राजदूत चेनले मन्त्रालयमै गएर भेटेका थिए ।

भारतीय राजदूत श्रीवास्तव पनि यस बीचमा कम सक्रिय रहेनन् । फागुन १८ गते उनले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका थिए । 

फागुन २९ गते उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल  ट्रेड’ (सीसीपीआईटी) का उपाध्यक्ष झाङ शाओगाङसँग भेटघाट गरेका थिए । 

फागुन २५ गते चिनियाँ राजदूत चेन र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटघाट भएको थियो । त्यसअघि उनले माघ ४ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटेका थिए ।  माघ ५ गते चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले याक एण्ड यती होटलमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष तिमिल्सिना थिए । 

त्यही दिन नेपाल–चाइना चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सो भेटमा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पनि थिइन् ।

त्यसअघि माघ ६ गते राजदूत चेनले कांग्रेसका सभापति देउवा, तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, तत्कालीन परराष्ट्रमन्त्री विमला पौडेल र परराष्ट्र सचिव भरतराज पौडेलसँग एकैदिन छुट्टाछुट्टै भेटेका थिए । त्यही दिन रेल अध्ययन गर्न आएका चिनियाँ टोली स्वदेश फर्केका थिए  । 

माघ २६ गते प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका  राजदूत चेनले भेटेका थिए । त्यसअघि पुस ३ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि गरेको आह्वानका दिन कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका थिए । पुस १२ रेल्वे अध्ययनका लागि चिनियाँ टोली नेपाल आइपुगेको थियो ।

विदेशी प्रतिनिधिको चहलपहल

jonathan-brooks-and-narayankaji2023-05-20-04-02-56

जेठ ६ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । एमसीसीले नेपालमा गरिरहेको कार्यको प्रगति र सरकारबाट भइरहेको सहयोगको बारेमा दुई पक्षको बीचमा कुराकानी भएको बताइन्छ ।

जेठ २२ इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले उद्योग मन्त्री रमेश रिजालसँग भेटघाट गरेका थिए भने राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलर र बेलायतका राजदूत निकोला पोलिटले बिदाइ भेट गरेका थिए । त्यही दिन प्रधानमन्त्री प्रचण्डसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले भेटघाट गरेका थिए । 

जेठ ३० गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच पनि भेटवार्ता भएको थियो ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले पनि चैत २ गते मन्त्रालयमा गएर भेट गरेका थिए । भेटघाटको क्रम केन्द्रमा मात्र होइन, प्रदेशदेखि जिल्लासम्म पुगेको छ । 

चैत २ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा रहेको टोलीबीच भेटघाट भएको थियो । चैत २९ गते प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भेट गरेका थिए । 

फागुन २ गते प्रधान सेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरोमा उपसहायक सचिव अफरीन अख्तर बीच भेटवार्ता भएको थियो । फागुन ३ गते तत्कालीन उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले भेट गरेका थिए । 

फागुन ६ गते प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले भेटवार्ता गरेका थिए भने त्यही फ्रान्सका राजदूत गिल्स बुर्बाओले पनि भेटवार्ता गरेका थिए । फागुन ८ गते सभामुख देवराज घिमिरेसँग जर्मन संसदको साउथ एसिया समूहका सदस्य र नेपालका जर्मनी राजदूतले भेटेका थिए भने फागुन १० गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका थिए । 

नेपाल भ्रमणमा रहेका बंगलादेशका प्रतिनिधिले फागुन १९ गते मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसँग भेटेका थिए । 

प्रधानमन्त्री प्रचण्डसँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले फागुन २६ गते शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

माघ ४ गते संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा पोखरा आएका थिए । त्यही दिन प्रधानमन्त्री प्रचण्डलाई बेलायतका राजदूत निकोला पोलिटले भेटेका थिए । त्यसपछि माघ २० गते प्रधानमन्त्री प्रचण्डसँग मलेसियाका गृहमन्त्री मन्त्री दतुकसेरी सैफुद्दिन नासुसन इस्मालीले भेटेका थिए । त्यस्तै माघ २९ गते प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबाली र नर्वेका राजदूत टोरून ड्रमडालले छुट्टाछुट्टै भेटेका थिए ।  

त्यसअघि पुस २८ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जापानी संसदका सदस्य मासाकी जेराले भेट गर्दा सोही दिन नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए ।

भारतीय राजदूतको दौडधुप

जेठ ३ गते शपथ लिएकै दिन नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटेर बधाई दिएका थिए । भेटमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने विषयमा कुराकानी भएको मन्त्रीका सचिवालयले जनाएको छ । त्यही दिन भारतीय विदेश मन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदलाई फोन गरेर बधाई दिएका थिए ।

परराष्ट्रमन्त्री साउदलाई बधाई दिन पुगेका राजदूत श्रीवास्तवले त्यही दिन भौतिक मन्त्री प्रकाश ज्वालासँग मन्त्रालयमा गएर छलफल गरेका थिए । छलफलका विषय भने बाहिर आएको थिएन । 

NK-Saud-Nabin-Shreebastab

मंसिर ४ गते चुनाव सम्पन्न भएपछि मतगणना चलिरहेको बेला भारतीय राजदूत श्रीवास्तवले मंसिर १० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेका थिए । मतपरिणाम बाहिर आइसकेपछि सरकार बनाउने खेल सुरु हुँदा मंसिर २१ गते राजदूत श्रीवास्तवले एमालेका अध्यक्ष केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टाछुट्टै भेटेका थिए । 

त्यसको अघिल्लो दिन मंसिर २० गते भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता जगदम्बिका पाल नेपाल आइपुगेका थिए । उनले पनि विभिन्न दलका शीर्ष नेतालाई भेटेर फर्केका थिए । 

चैत २९ गते भारयीय राजदूत श्रीवास्तवले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेका थिए । फागुन १ गते भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा नेपाल आएका थिए । आएकै दिन उनले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमै गएर भेटेका थिए । त्यसपछि उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भन्दा पहिले सचिव क्वात्राले तत्कालीन परराष्ट्रमन्त्री विमला राईसँग भेटेका थिए । त्यही दिन तत्कालीन मन्त्री राईलाई नेपालका लागि गणतन्त्र कोरियाका राजदूत सुङ्ग मिन जङ्गले पनि भेटेका थिए । 

भारतीय विदेश सचिव क्वात्राले फागुन १ गते कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र फागुन २ तत्कालीन भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेका थिए । उनले त्यही दिन पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग पनि भेटेका थिए । 

क्वात्रा फर्केपछि नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाँै आइपुगेका थिए । उनीहरू फागुन ८ गते फर्केका थिए । 

फागुन १० गते राजदूत श्रीवास्तव प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा गएका थिए । उनीहरूको भेटघाट पछि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको थियो । 

यो भेटघाटपछि चीनका राजदूत चेनले प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई छुट्टाछुट्टै भेटेका थिए । त्यसअघि पनि माघ २ गते राजदूत चेनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । त्यो भेटघाटपछि प्रचण्डले केपी ओलीसँग भेटेका थिए । 

त्यसको केही दिनपछि मात्र माघ ५ गते कालिगण्डकी नदीबाट रामको मूर्ति बनाउन शिला लिन भारतको अयोध्याबाट आएका साधु राजेन्द्र सिंह पंकजले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यही दिन भारतीय राजदूत नवीन श्रीवास्तवले तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौडेललाई भेटेका थिए । 

त्यसपछि फागुन ११ गते राजदूत श्रीवास्तवले एमालेका अध्यक्ष ओलीलाई पनि भेटेका थिए । फागुन २० गते भक्तपुरमा पार्टीको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए । 

एमालेका अध्यक्ष ओलीको सो अभिव्यक्तिबारे विज्ञप्ति जारी गर्दै सञ्चार मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको प्रस्टीकरण दिएकी थिइन् ।

फागुन १३ गते मधेस प्रदेशमा बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वयमा सीमा क्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने सहमति गरेको थियो । 

माघ ६ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्योग मन्त्री दामोदर पाण्डे र संस्कृति मन्त्री सुदन किरातीसँग छुट्टाछुट्टै भेट गरेका थिए । माघ ९ गते भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले तत्कालीन भौतिक मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए । त्यस्तै माघ २१ गते भारतीय राजदूत श्रीवास्तवले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग जनकपुर गएर भेटेका थिए । 

चौथाइवालेको बोलबाला

भारतीय जनता पार्टी नेपालका विदेश विभाग प्रमुख डा.विजय चौथाइबालाको बोलबाला नेपालमा कति छ भन्ने कुरा उनी नेपाल आउँदा पुष्टि हुने गरेको छ । नेपालबाट पनि नेताहरू भारत जाँदा उनलाई अनिवार्यजस्तै भेट्ने गर्दछन् ।

उनी नेपाल आउँदा यहाँका नेताहरू लाइन लागेर होटलमै भेट्न पुगेका हुन्छन् र उनी आफैँ पनि राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य शीर्ष नेताहरुलाई भेट गर्न पुगेकै हुन्छन् । भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन जेठ ३ गते आयोजना गरिएको थियो । त्यसमा भाग लिनका लागि भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले आएका थिए ।

त्यो कार्यक्रम सकेर उनी वैशाख ५ गते काठमाडौँ आएका थिए र त्यही दिन उनले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटेका थिए । 

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पुस १५ गते भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए । त्यही दिन चीनका कार्यवाहक राजदूत वाङ जीनले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीनका प्रधानमन्त्री ली क्वीङले पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।

अमेरिकी राजदूतको दौडधुप

पछिल्लो समय नेपालमा अमेरिकाको गतिविधि तीव्र भएको छ । पहिला भारतसँग मिलेर नेपालमा आफ्नो गतिविधि गर्ने अमेरिका अहिले प्रत्यक्ष आफैँ सबै कुरामा इन्ट्रेष्ट लिन थालेको छ । कुनै न कुनै बहानामा अमेरिकाबाट प्रतिनिधिहरू नेपाल आएकै हुन्छन् ।

पछिल्लो समय अमेरिकी राजदूतको पनि दौडधुप बाक्लिएको छ । 

वैशाख २६ गते नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच नेपालमै भेटवार्ता भयो । दुवै देशले एक अर्काका कारण नेपालप्रति दृष्टि जमाएर बसेका छन् तर दुवै देशका राजदूतले आपसमा भेट गर्नुलाई अनौठो रूपमा लिइएको छ ।

त्यसअघि फागुन ११ गते शरणार्थीको रूपमा नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले मनाएको तिब्बती नयाँ वर्षको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत थम्पसन र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरलगायत नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका थिए । 

वैशाख १८ मा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन सगरमाथा चुमेको ६० औं वार्षिकोत्सवका लागि सोलुखुम्बु पुगेका थिए । 

चैत ६ गते राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि उनले भेट गरेका थिए । चैत १५ गते नेपाली सेना र अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी संवाद पनि सम्पन्न भएको थियो ।

चैत २२ गते राजदूत रिचार्डले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेका थिए । त्यसअघि फागुन ४ गते उनले तत्कालीन कृषि मन्त्री ज्वाला साहसँग मन्त्रालयमा गएर भेटेका थिए ।

माघ १० गते तत्कालीन परराष्ट्रमन्त्री विमला राईसँग अमेरिकी राजदूत थम्पसनले भेटेका थिए । त्यही दिन उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग भेटेका थिए । 

नेपाल भ्रमणमा आएका अमेरिकाको विदेश मन्त्रालयको उपमन्त्री भिक्टोरिया नुल्याण्डले माग १६ गते प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरी स्वदेश फर्किन् । 

माघ १८ गते अमेरिकी राजदूत थम्प्सनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेका थिए । माघ २० गते उनले प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग विराटनगरमा छुट्टाछुट्टै भेट गरेका थिए ।

पुस १६ गते नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले  प्रधानमन्त्री प्रचण्डसँग भेट गरी प्रधानमन्त्रीमा चयन भएकोमा शुभकामना तथा बधाई दिएका थिए । त्यसपछि माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकाश नियोग (यूएसआईडी)की प्रमुख सामन्था पावर नेपाल आएकी थिइन् । उनले त्यही दिन तत्कालीन परराष्ट्रमन्त्री विमला राईसँग भेटेकी थिइन् । उनी त्यही दिन भक्तपुरको आदर्श मावि पुगेकी थिइन् । 

त्यसअघि मङ्सिर २१ गते अमेरिकी राजदूत थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै पार्टी कार्यालयमा गएर भेटेका थिए । त्यसपछि माघ २५ गते उनले तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलसँग भेटेकी थिइन् । त्यही दिन प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले भेटेका थिए । माघ २५ गते अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघका आयुक्त जुट्टा उर्पिलाइनेन एकदिने औपचारिक भ्रमणमा नेपाल आइपुगेकी थिइन् ।

त्यही दिन प्रधानमन्त्री प्रचण्डसँग नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्री डा. एन्ड्रयु मुरिसन एमपीले भेटवार्ता गरेका थिए । त्यही दिन उनले जंगीअड्डामा गएर प्रधान सेनापति प्रभुराम शर्मालाई पनि भेटेका थिए । 

पुस २२ गते राजदूत थम्प्सनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका थिए । त्यही दिन उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पनि भेटेका थिए । उनले पुस २७ गते जनमतका अध्यक्ष सीके राउतलाई भेटेका थिए र त्यही दिन पत्रकारहरूसँग पनि छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप