शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खै कस्तो जिन्दगी ?

शनिबार, ०२ असार २०८०, १२ : ५३
शनिबार, ०२ असार २०८०

कोशिशहरुसँग संघर्ष गरेर बाँच्दा बाँच्दै
रहरको कलीहरु
उत्साहको उकालीहरु
योजनाको खाकाहरु
अनि मीठो सपनाको भाकाहरु
आधा रातको आकाशमा
आधा भएको जुनलाई साक्षी राखेर
देहत्याग गर्न विवश भएको छ ।

आकाश भरी छरिएर बसेको
शोकमग्न शोकाकुल भएको ताराहरु
बरबराउदैं लरखरिएर
पग्लिएको बादलसँगै
आँसुजस्तै बनेर बर्षिदिन्छ 
राम्चे खोलको बाढी बनेर बग्न ।

कर्तव्यबोधको ठूलो भारी बोक्दा बोक्दै
पिँठ्युँभरी सधैँ रहिरहने 
साँच्चिकैको विपनामा बनेको
क्रुर यथार्थले समेटेको 
रातो नीलो दरखरेर बनेको कुरुप
नमीठो खत बसेको छ 
मरेर शव बनेर जल्दै गर्दा
जलाउने घाटेहरुले सोध्छन् होला 
के को दाग ?
यसको पिठ्युँमा यस्तो भनेर ।

प्रेमको जुईनोले कसेर
मजबुत बनाएको मनमस्तिष्क 
केही वर्ष अगाडि घटित
वियोगान्तको दुःखद कथाको बाछिटाले
निथुक्क भिजाएर
छाताविहीनको मनसुनजस्तै बन्दैछ जिन्दगी ।

सपनाहरू बादलको रंगीबिरंगी बुट्टा बनेर 
आकाश छुन उभो लाग्दा लाग्दै
गर्जेको अविश्वस्नीय चट्याङ्गसंगै 
विपना  झरी बनेर वर्षिन्छ 
झरी खोला, नदीको बाटो हुँदै,
सागर छुन पुग्छ ।
सागरको साथ किनारा
किनारामा मिलेर बसेको बालुवा
मेरो बहुलट्ठीपन
बालुवामा लेख्छु कथा, कविता मनको
क्षणभरमै
मेटाईदिन्छ बत्तेर आएको
समुद्रको लहरले ।

मानवीयता हराएको गल्ली अनि मरुभूमिमा
जरुवाको चिसो चिन्तनको
गर्दै गर्दा खोजी
जीवन पाको बन्दै गएको छ ।
यात्रा क्रमशः छोट्टिदै छ 
जन्म र मृत्यु बीचको 
अनुभूतिको भकारी भरी 
आँसु हाँसो, दुःख सुखको
भण्डार नै बनेको छ ।
सुनाएर छैन केही फाईदा 
आत्मसात गाँसिएको आत्मीयतामा
वसन्तको बहार होइन
शिशिरको कठ्यांग्रिने तुषारो जम्दैछ 
खैं कस्तो हुँदैछ जिन्दगी ?
युगसँगै फेरिदैछ जिन्दगी ।
फेरिदैछ जिन्दगी ।।
                                 
 पाँचखाल, काभ्रे 
हालः लिमासोल, साइप्रस 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप