बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

बाढी पहिरोमा चारको मृत्यु,  २८ जना बेपत्ता

प्रदेश सरकारका मन्त्रीहरु हेलिकप्टरबाट घटनास्थलमा हुइँकिए, राहत र पुनःस्थापनाको आश्वासन
आइतबार, ०३ असार २०८०, २१ : २१
आइतबार, ०३ असार २०८०

विराटनगर । कोशी प्रदेशमा शनिबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोमा चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा १÷१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अन्य तीन जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका ६ का ३० वर्षीय गणेश तामाङ,  संखुवासभाको पाँचखपन गाउँपालिका–९ का २६ वर्षीय सन्तोष राई, भोजपुरको ट्याङकीमैयुं–८ का २५ वर्षीय मन्दिप राई छन् । पाँचथरको खालेलुङ–४ का ८ वर्षीय जुना साउदेनको भने खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोको कारण २८ जना बेपत्ता भएका छन् । जसमा २५ जना पुरूष र ३ जना महिला छन् । चार जना घाइतेको उद्धार भएको छ । जसमा २ महिला र २ पुरुष छन् ।

सबैभन्दा धेरै सङ्खुवासभामा मात्रै २० जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार बाढी पहिरोले पाँचथरको १२ वटा पुल क्षति गरेको छ । यस्तै १३ सडक अवरुद्ध भएको छ, पूर्ण रूपमा २२ घरमा क्षति पुगेको छ भने ४६ वटा चौपायाको मृत्यु भएको छ ।

संखुवासभाको हेवाखोलामा राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कबिहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै बाढीले संखुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ ।

पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना छन् । बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको डीआइजी राजेशनाथ बाँस्तोलाले बताए ।

उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठूलो क्षति भएको बाँस्तोलाले जानकारी दिए । ‘तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसाहरू भत्किएका छन् । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रूपमा क्षति पुगेको छ । तमोर कोरिडोरमा विभिन्न पुलहरू भत्किएका छन् । त्यहाँबाट धनकुटा मुलघाटतिर जाने बाटोको आगमन बन्द भएको छ,’ डीआइजी बाँस्तोलाले भने ।

वर्षा रोकिने र पुनः पर्ने क्रम जारी रहेकाले उद्धारमा केही कठिनाइ भए पनि तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारी तत् ठाउँमा उद्धार कार्यमा लागेको उनले जानकारी दिए ।

उनले भने, नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् । कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था छ । पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको छ । जोखिममा भएका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’

प्रदेश सरकारका मन्त्रीहरू बाढी–पहिरो प्रभावित क्षेत्रमा

यसैबीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा प्रदेशसभाका विदुरकुमार लिंथेप सहितको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको छ । उक्त टोलीले घटनास्थलका बेपत्ताहरुको खोजी र विस्थापितहरुलाई राहत वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यस्तै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रभावित जिल्लासँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विपद् व्यवस्थापनसँग सम्बन्धित प्रदेशस्तरीय समन्वय समितिको बैठक बसी तत्काल राहत, उद्धार, पुनःस्थापना, उपचार, भौतिक पूर्वाधार व्यवस्थापन लगायतका विषयमा समीक्षा गरेको छ ।

बैठकले तत्काल सम्बोधन गर्न सकिने विषयहरुको हकमा विपद्बाट भएको क्षतिको खोज, उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७६ बमोजिम गर्ने र उक्त मापदण्डले सम्बोधन गर्न नसक्ने विषयमा मन्त्रिपरिषदको बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । सरकारले मौसममा सुधार नभएसम्मका लागि थप क्षति हुन सक्ने सम्भावना भएकाले थप सावधानी अपनाउन र विपद्को संकटमा परेकाहरुलाई सबै पक्षबाट आवश्यक साथ र सहयोग गर्न अनुरोध पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप