शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
साहित्य

थारू समुदायमा रोपाइँ गीत : सजना

शनिबार, १६ असार २०८०, ०९ : ०९
शनिबार, १६ असार २०८०

मान्छेले गीत कि सुखमा गाउँछ कि दुःखमा । कृषिप्रधान देश नेपालका विभिन्न आदिवासी जनजातिले किसानी दिनचर्याको दुःख सुखमा गीतको राग सुसेल्छन् । 

थारूहरुको पुख्र्यौली पेशा पनि कृषि हो । धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले, सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ लाग्दा पनि पानी नपर्दा किसानहरुले सजनाको राग छोड्छन् । 

हरे पुरुवसे उमरल कारि रि बडरिया रे,पछिउ चलि जावै,

अरि परि गैला, जेठ असरिया, पनिया नहि बरसल ।

अर्थात् पूर्वबाट कालो बादल मडारियो अनि पश्चिममा गएर बिलायो । जेठ, असार महिना लाग्दासमेत पानी परेन । 

उता पानी नपरी खेती गर्न नपाउँदा किसानलाई दुःखी भएको देखेर उनकी  जवान छोरी पनि बिलौना गर्छिन् सजनामार्फत् । 

हरे गिउरक बिनल झलुरि छटरिया रे, उपरे पावोन डोलै

अरि छि छि बुन्दा पनिया न परल, मोर चुन्डरि नै भिजल  । 

(चौधरी, २०६९ः १३०)

भंगेराले बनाएको छटरी (गाउँले छाता) माथि–माथि हावा बह्यो । सामान्य एक बुँदा पानी सम्म परेन, मेरो चुनरी नै भिजेन । 

यसै गरी, पानी नपरेमा गोरु÷गैया बेंहर्ना संस्कृतिअन्तर्गत सजना गाउँदै  पानी पार्न अनुरोध गरिन्छ । प्रायः वैशाखमा गोरु÷गैया बेंढने (गाईलाई बन्दी बनाउने) चलन छ । यसमा केटीहरु केटाको पोशाक लगाई गाउँ गाउँ छाता ओढेर सजना गाउँदै हिँड्छन् । गाईलाई बन्धन बनाउने जाने बेला उनीहरु सजना गाउँछन् । आश्चर्यको कुरा के छ भने जुन दिन गोरु÷गैया बेंढना रित पूरा गरिन्छ, त्यो दिन संयोगले पानी परेको हुन्छ (चौधरी,२०५३ ः३४) ।

जब पानी पर्छ, किसानहरु खेतमा ओइरिन्छन् । यता पुरुष नभएको घरको महिला पानी परे पानी परे पनि खुशी हुन्निन् । 

सावन सजनि बरसे झिन बुँडिया रे, टुटे बजरा केवरियाँ

अरे रानी भिजै रंगि रे महलिया, पिहा हो परुडेसे । 

खेतीपाती गर्ने बेला वर्षात्को लुगलुगले सताएको मौसममा श्रीमान् (राजा) सँगसँगै नभएको बेला कुन चाहिँ रानीको मन खुशी होला र ? रंगीन  महलमा भिजेर उसको अंगको काँडा उम्रिन्छ तर काँडा सम्याउने पति हुँदैनन् । 

यता, भर्खर भर्खर नयाँ दुलही भित्र्याएको श्रीमान् भने खेतमा कम ध्यान, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ । काम गर्ने मित्रले उसलाई सजनामार्फत् गिज्याउँछ । 

खेट्वा टे जोटल मुरसुवा रे...कि कोडरा छनाछन

कव अइहि लौलि डुल्हनिया, कलवा पानी डेहे । 

अर्थात् मुरसुवा नामक व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो । उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदैछिन् कुन्नी ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत् यसरी भाव व्यक्त हुन्छ । 

सिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानी 

भुजवा टे लेहल कोछियाइ, चलल खेत पानी डेहे

ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँहि

घैला छलक चुन्डरि भिजे, कहाँ रे ढारु पैला ? 

(कुशुम्हिया, २०५७ः १९)

शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रुख देख्छिन्,न कुनै शित्तल स्थान । उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ । त्यसैले सोध्छिन्, ‘ए मेरा स्वामी घैलाको पानी कहाँ राखु हँ ?’ 

यसरी थारु किसानहरु खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ । 

सजनामा विछोडको पीडा

परदेशमा बस्ने श्रीमान्को विछोडको पीडा कुन श्रीमतीलाई हुँदैन र ? तर भर्खरको बेहुलीको विछोडको पीडा झन् बढी हुन्छ  । बरमासा सजनामा एक नवदुलहीले लामो समयको लागि विछोडिएको स्वामीलाई महिना (ऋतु) अनुसार यसरी सम्झिन्छिन्–

पुस मासकै महिना रे, जारा कैनै बहुट

आज पिया मोरे हुइटै कि अग्नी जलैटैं

माघ मासकै महिना रे, पाला परलै ढुसला

आज पिया मोर हुइटै, कोरा लैके सुटटुँ 

वैशाख मासकै महिना रे, ढारु धुप कैनै 

आज पिया मोरे हुइटै कि बेनिया डोलैटुँ

(चौधरी, २०५७ः २०)

ओहो, पुुुसको महिनामा कति जाडो भएको, यदि पिहा (श्रीमान्) भएको भए अग्नीको धुनी जलाउने थिएँ । माघमा कस्तो असिना परेको, हुस्सु लागेको, यदि श्रीमान् भएको भए उनको काखमा हराउने थिएँ । वैशाखमा कस्तो उखरमाउलो गर्मी, यदि श्रीमान् भएको भए बेना (पंखा) हम्किने थिएँ । 

उता अर्को प्रसंगमा वैशाख महिनामा सँगसँँगै भएको लोग्ने सुख निंदका साथ सुतेर आफूलाई वेवास्ता गरेको देखेर सजना सिर्जिन्छ–

जाग्यो रे पिहा जाग्यो रे बैशाख भर जाग्यो 

चलि जैबुँ गोहुँ कि लँवागि खाए, पाछे रे पस्टैबो । 

ए पिहा वैशाख भर त जागा होऊ । गहुँको लँवागी (नयाँ रोटी चढाएर खाइने रिति) खान माइती गएँ भने पछि पछुताउलाऊ नि । यता लोग्नेले सजनामार्फत् उत्तर दिन्छ–

जायो रे ढानि जायो रे, टिकुलि छोडि जायो

टिकुलि हेरि हेरि जियरा बुझैबुँ, सिरहनि ढैके सुट्बुँ । 

ए ढानी (पियारी) माइती जाने नै भए टिकुली (बिन्दी) छोडी जानु है, त्यही हेरेर चित्त बुझाउनेछुँ, त्यसैलाई सिरानीमा राखेर सुत्नेछुँ । 

यी त भए नव वेहुला–वेहुलीका प्रसंग । उता आफ्नो इच्छा विपरीत बाबुले सानै अवस्थामा विहे गरेर दूर देश पठाउँदा चेलीले रोपाइँको बेला सजनामार्फत् विछोडको पीडा ओकल्छे–

हारक टे हरले बाबा रे, अइसिन डुर हरले

गंगामे कुडि मरजैबुँ, खबर नहि पैबे

बलटल खबर पैबे बाबा रे, बहरिम बैठल रोइबे । 

अर्थात्, ए बाबा, आफ्नो सामुन्नेबाट पठाउन त पठायो, निकै टाढा पठायो । गंगामा कुदेर मर्नेछुँ, खबर पाउने छैनौ । बल्लतल्ल खबर पाए, पिढीमा बसेर रुनेछौ । 

नयाँ बेहुलीलाई घरको यादले सताई रहन्छ तर मलाई यहाँ लिन को पो आउला र ? भन्ने चिन्तन पनि हुन्छ । 

बाबा बटाँ पुर्खा पुरनिया रे, भैया बा छोटि

डाडु बटाँ अनेक घर हरोहिया, के रे लेहे आई ?

अर्थात् चाडपर्व आइसक्यो । माइतीकाले लिन आउनुपर्ने हो । तर, बाबा बूढा भइसके । भाई सानै छ, दाजु अरुको घर कमैया छ, मलाई लिन को नै आउला र ? 

यस्तो चिन्तनमा डुबेकी चेलीलाई जब उनकी नजिकको सखीले भन्छिन्, ‘तिम्रा श्रीमान् त अरुसँग लागेर हिँड्छन्, किन आफ्नो मान्छेलाईं सम्झाउँदैनौ हँ ?’ थकित मनस्थितिमा रहेकी उनले भन्छिन्–

अरे, नोन तेल  हुइटैँ जोख्टुँ रे, पिहा कैसे जोखौं

गोरु भैंस हुइटैँ बँढटुँ रे, पिहा कैसे बाँढौँ 

मुर्गि चिंग्ना हुइटैँ छोप्टुँ रे, पिहा कैसे छोपौँ 

मोरे पिहा मरड भँवरवा, छट्टिस फूला लोह्रहिं

नुन, तेल भए कम भयो कि भनेर जोख्ने थिएँ, पिहा (श्रीमान्) लाई कसरी जोखौँ ? गोरु भैँसी भएको भए पिहालाई बाँध्ने थिएँ, पिहालाई कसरी बाँधौँ ? कुखुरा चल्ला भए छोप्ने थिएँ, पिहालाई कसरी छोपौँ । मेरा स्वामी त मर्द भमरा हुन्, छत्तीस फुल चुसुन्, म के नै गर्न सक्छुँ र ? यसरी यसमा महिलाको लाचारी व्यक्त भएको छ । यस्तो अवस्थामा जोगी भएर हिँड्न पाए नि हुन्थ्यो भन्ने भाव पलाउनु स्वाभाविकै हो । 

जोगिन्या बजावै सोनक् बसिया रे, रुपन लागल डोरी हो

अइसा मन लागल मयरी, जोगीन हुइ जयबुँ । 

आँगनमा जोगीको टोली आएको छ । जस मध्येकी एक जोगिनीले बाँसुरी बजाउँदै छिन् । बाँसुरीको डोरीको रुप पनि कति सुन्दर हो, ए मेरी आमा मलाई त जोगिनी हुन मन लाग्यो । 

त्यसो त, जोगिया सजना भनेर कथावस्तु बोकेको छुट्टै सजना पनि थारू लोकसाहित्यमा छ । जसमा बयस्क युवतीले १६ सय जोगीबाट एक जोगी सुन्दर देखेको, उसैको पछि लाग्ने निर्णय बाआमालाई सुनाउँदा घर घर भिक्षा माँग्नुपर्छ, रनवन पुग्नुपर्छ, भन्दा पनि नमान्दा जोगीलाई नै सुम्पेको कथा छ । 

जोगीलाई छोरी दिएपछि विदाईमा बा आमा त रुने नै भए तर भाउजूको मन आनन्दित हुन्छ । घर छोड्दा दुलहीले गुरही (खेलौना) विर्सेर आएको, उसलाई घर छोड्न लागेको सम्झाउन नसकेकोेले दाजुलाई  स्याहारेर राख्न भन्छिन् तर भाउजुले गुरही छिन्न भिन्न पार्छिन् । 

सजनामा पौराणिक पात्रको खेतीपाती प्रसंग

थारु समुदायमा गाइने सजनामा कान्हा गाई गोठालो भएको प्रसंग छ । अस्टिम्कीक् गीतमा त कान्हाका बाबुआमाले पनि खेतीपाती गरेको देखिन्छ । कान्हालाई सम्झिइने कृष्ण औतार सजनाको एउटा उदाहरणः 

सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि 

कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि

 ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि 

कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ । 

काली नागिनले सोध्छिन्– ए कृष्ण, तिम्रो गाई हरायो कि बाटो भुलेर यतापट्टि आयो । कृष्णले भन्छन्– न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ । ए नागिन, तिमीहरुले रक्षा गरेको फूल कंस मामाको पूजाको लागि टिप्न आएको हुँ । 

यसरी दाङदेउखुरीको उपत्यकामा थारू जातिमा प्रचलित लोकसाहित्यका सामग्रीमा सजना मात्रै होइन, अन्य सामग्रीहरुमा आएका राम सीता, कृष्ण राधा तथा पाण्डवजस्ता दैवीशक्तियुक्त पात्र पात्राहरु पनि थारू जातिकै सदस्यका रुपमा उपस्थित हुन्छन् (आचार्य,२०६२ः १०९) । 

कृष्ण मात्रै होइन, थारू गुरुवाहरुले वाचन गर्ने जति पनि मन्त्र छन्, त्यसमा महादेव पार्वतीको दुहाईमा तिनलाई संझिएको प्रसंग छ । सजनामा पनि यिनका प्रसंग छन् । 

गौरी टे गैनै जगाई रे, उठो हो महादेव

बसहा बरडा बेचि डारो, छिन भर सुटो । 

अस्टिम्कीक् गीतमा जसरी कृष्णका बाबुलाई हलो बनाउने सामग्री लिन वन पठाएको, खेत जोताएको प्रसंग छ, हुँदा–हुँदा महादेवलाई पनि खेती प्रणालीमा थारू लोकसाहित्यमा ल्याएको देखिन्छ । यहाँ निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्– कति सुत्छौ ए महादेव, यहाँ ग्राहक आएका छन्, बसहा (गोरु) बेँच अनि फेरि सुत्नु । 

सजनाका अन्य पक्ष

सजना र सजनी (प्रेमी र प्रेमिका) को प्रसंग सजनामा स्वाभवतः आउँछ । प्रेममा घात, प्रतिघात हुन्छ । विहे भएकी महिलाले अर्को प्रेमीसँग वार्तालाप गरेको प्रसंग हेरौँः 

गोरे पहिरे चन्दन खरौला रे, जिउ रे पहिरे धोती 

मोरे अंगना होके गैलो छैला, महि नै जगैलो । 

चन्दन काठको खराउ लगाएर, धोती कुर्तामा चमक दमक गरी राती मेरै आँगन भएर गयो रे तर मलाई किन ब्यूझाएनौ ए मेरा प्यारा ? 

डुवारे टोर बाटै सग्गे ससुरवा रे, बरि टोर जेठवा

सेज पठरि बाटैँ टोर समिया, कैसे रे टुहिन जगैबुँ । 

ढोकामै तिम्रो सहोदर ससुराको ओच्छ्यान छ, पिढीमा तिम्रा जेठाजु सुत्छन्, तिम्रो ओच्छ्यानमा तिम्रो स्वामी (पति) पनि छन् । यस्तोमा मैले तिमीलाई कसरी ब्यूझाउन सक्थेँ र ? प्रेमीले लाचारी व्यक्त गर्दा प्रथभ्रष्ट महिलाले नै उपाय सिकाउँछे । 

गोरियम मारि जगैटो रे, हम ढानि जगटुँ

छोडि जैटुँ पिहवा रे, टोहारे सँगे लगटुँ । 

(थारू, २०५७ः ११)

गोडामा सामान्य छोएजस्तो हानेको भए म ब्यूँझिहाल्थेँ नि । त्यसपछि त पिहा (स्वामी) लाई छाडेर तिम्रै साथ लाग्ने थिएँ । यसरी बहुविवाहको प्रसँग मात्रै होइन, अन्तर्जातीय विवाहको संभावनाको प्रसंग पनि सजनामा देखिन्छ । 

सटरंग गोन्ड्रि विछैनै रे, डरजि भैया बैठे

सुटुर सुटुर डरजि सिएनै कि सुवरनि मुस्कि मारे

यहाँ आफ्नो घरमा लुगा सिउन आउने दर्जीलाई रंगीन गुन्द्री ओच्छ्याएर स्वागत गरी लुगा सिएको हेर्ने र मुसुक्क मुस्कान छाड्ने सुवरनी नामक् जवान केटीको वर्णन छ । 

समग्रमा थारू लोकगीत सजनामा मायाप्रेम, पौराणिक पात्रका गाथा, खेतीप्रणाली तथा पशुपालन वर्णन नै बढी भेटिन्छ । त्यस्तै, थारूहरुको शिकारप्रतिको मोहले शिकारी युगको झल्को पनि सजनामा पाइन्छ । 

भाग्यो रे सुगा भाग्यो रे, कजरि वनमे भाग्यो 

गोहिक पिहा बटाँ रे सिकरिया बट्टिस गोलि मरहिँ 

यहाँ सजनाको सामान्य अर्थ लगाउँदा एक चेलीले आफ्नो सखीको लोग्ने निकै शिकारी भएकोले सुगालाई बत्तीस गोली मार्न सक्ने भन्दै कजरी वन अर्थात् घना जंगलमा भाग्न अनुरोध गछ्र्रिन् । प्रस्तुत सजनाको लाक्षणिक अर्थ केलाउँदा भने पोथी सुगालाई महिलाको रुपमा चित्रण गरिएको छ र सखीको लोग्नेबाट जोगिन अनुरोध छ । उनले घरमा आफ्नी श्रीमती छँदाछँदै अन्य एकतीस जनालाई प्रेमजालमा फँसाइसकेको तिमी बत्तीसौं नम्बरको शिकारमा पर्न सक्छ्यौ भनी सचेत गराइएको छ । 

यसरी सजनाको सामान्य व्याख्या गर्नुभन्दा यसभित्र लुकेको भावार्थलाई विश्लेषण गर्नु जरुरी देखिन्छ, जसले थारू लोकसाहित्यको पाटोलाई बुझ्न अझ दरिलो बाटो खोल्नेछ । 

विडम्वना मूल नेपाली भाकामा रहेका असारे गीत नै ओझेलमा छन् । यस्तोमा थारू गायक, संकलकहरुको ध्यान पनि सजना जस्तो रोपाइँ गीतको रेकर्डिङमा जान सकेको छैन । 

सन्दर्भ सामग्री

आचार्य, गोविन्द । २०३२ । थारू लोकसाहित्यमा स्थानीय रंग । गरिमा । माघ, पृ.१०९–११३ ।

कुशुम्हिया, बालगोविन्द चौधरी । २०५७ । सजना । विहान, पृ.१९ । 

चौधरी, रुपशंकर । २०६९ । थारू लोकगीत चिनारी । स्मारिका । देउखर, 

चौधरी, शान्ति । २०५३ । गोरु बेंढना । विहान, पृ.३४–३५ । 

चौधरी, कनैयाँलाल । २०५७ । बरमासा सजना । विहान, पृ.२० । 

थारू, कुलप्रसाद । २०५७ । सजना । बिहान, पृ. ८ –१४ । 

सर्वहारी, कृष्णराज । २०६९ । सावन सजनी । गोरखापत्र, २१ साउन, पृ.१२ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप