बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

किन बन्दै छ समाज अराजक, किन बढ्दै छ राजनीतिक अस्थिरता ?

आइतबार, १७ असार २०८०, १३ : ०८
आइतबार, १७ असार २०८०

सामन्तवादी चरणबाट पुँजीवादी चरणमा भर्खरै प्रवेश गरेको छ, नेपाली समाज विकास क्रमको चरण । जहाँ हिजोका प्रतिबन्धित जीवन र साँघुरा विचार आज स्वतन्त्र र फराकिला बन्दै छन्, जुन समाज विकासका सामान्य नियम हुन् ।

समाज विकासको नियम दुई प्रकृतिको हुन्छ — १) क्रमिक विकासको सिद्धान्तमा आधारित नियम । २) छलाङको सिद्धान्तमा आधारित नियम । हाम्रो नेपाली समाजमा यी दुवै नियम समय र परिस्थितिअनुरूप खासखास बेला प्रयोग भएको देखिन्छ । 

समाज विकासक्रम सँगसँगै विकासका साथमा विनाश पनि आइरहन्छन्, जसलाई हामी अहिले सामाजिक अराजकता भन्छौँ र बेहोर्दै छौँ । यसको प्रतिविम्ब संवैधानिक र राजनीतिक शासन प्रणालीमा पनि पर्दै जान्छ ।  परिणामतः प्रशासनिक अस्तव्यस्तता र राजनीतिक अराजकता हामी भोगिरहेका छौँ । यसै सन्दर्भमा हाम्रो देशको सामाजिक अराजकता र संवैधानिक तथा राजनीतिक शासन प्रणालीमा देखिएको अस्थिरताबारे चर्चा गर्न सान्दर्भिक ठान्छु ।

समाजमा देखिएका अराजकता

सामाजिक परिवर्तन इतिहासको अपरिहार्य आवश्यकता हो । सामाजिक क्षेत्र बृहत विषय पनि हो । सामाजिक परिवर्तनको इतिहासभित्र समग्र मानव समाज पर्छ । जहाँ मानव जातिको साझा भूमि, साझा भाषा, साझा आर्थिक जीवन र साझा सांस्कृतिक मनोविज्ञान आदि समग्र राष्ट्रकै पहिचान पर्छन् । 

हिजोको र आजको सामाजिक मूल्य–मान्यताबीच निकै अन्तर देखिन्छ । आज मानिसले मानिसलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार नितान्त भिन्न र असहज बन्दै गइरहेका छन् । आमाबा, गुरुजन तथा अग्रज, साथीसंगी, सहकर्मी एवं मित्रजनप्रतिको सम्मान, सद्भाव, विश्वास र भरोसाको अवस्थामा स्खलन आएको छ । समग्रमा भन्नुपर्दा, एउटा मान्छेले अर्को मान्छेलाई हेर्ने समग्र दृष्टिकोणमै खोट र समाजमा भइरहेका छलकपटपूर्ण व्यवहारलाई एउटा सचेत नागरिकले टड्कारो रूपमा महसुस गर्न सक्छ । जसको प्रत्यक्ष प्रतिविम्ब राजनीतिक निर्वाचनको समयमा गाउँबस्ती र सहर–बजारमा देख्न सकिन्छ अचेल । 

हाम्रा सामाजिक मूल्य–मान्यता किन खस्किँदै छन्, हाम्रा विश्वास र भरोसाका धरोहर किन ढल्दै छन्, हाम्रा आशा र सपना किन मर्दै छन्, हाम्रा विचार र भावना किन विचलित हुँदै छन् ? अझ विस्तृत रूपमा भन्नुपर्दा, हाम्रा विश्वासहरू अविश्वासमा, हाम्रा भरोसाहरू आशंकामा, मित्रताहरू शत्रुतामा, आशाहरू निराशामा, एकताहरू विभाजनमा, प्रेमहरू घृणामा, सभ्य र सत्य वचनहरू असभ्य र असत्यमा, हाम्रा इमानहरू बेइमानमा बदलिँदै छन् । अर्थात् हाम्रा हिजोका सारा सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका मूल्य–मान्यताका सुन्दरताहरू आज दिनदिनै कुरूपतामा परिणत हुँदै छन्, किन ?

जब समाजमा मान्छेहरू विनाशको बाटोमा हिँड्छन्, तब उनका आर्थिक, सांस्कृतिक, राजनीतिक लगायत समग्र सोच र शैली सामाजिक अराजकताको दिशामा अगाडि बढ्छ ।

यी र यस्तै हजारौँ यक्ष प्रश्नका जवाफ आफूलाई आजका कथित सचेत र सभ्य मान्छे भन्ने हामीले दिने कि नदिने ? दिनैपर्छ, किनकि हामी आजका मान्छेहरू यो सामाजिक अवस्थाका निर्माता हौँ, जिम्मेवार नागरिक हौँ, जवाफ दिनु हाम्रो सामाजिक दायित्व र नैतिक कर्तव्य हो । 

हामीले सिक्ने समाजबाटै हो । सामाजिक जीवनशैलीजस्तो बन्छ, राजनीतिक सत्ता–संरचना पनि त्यस्तै बन्छ । किनकि समाजको प्रत्यक्ष प्रतिविम्ब राजनीतिक सत्तामा पर्छ भने राजनीतिक सत्ताको प्रत्यक्ष असर समाजमा पर्छ । 

अफसोस ! हाम्रो समाजमा आज इमान हराउँदै छ । यति मात्र होइन, हाम्रो दृष्टिकोण र विचारमा स्वाभिमान समेत हराउँदै छ, जसको असर समाजमा प्रत्यक्ष देखिएको छ, जहाँ शृंखलाबद्ध सामाजिक अराजकता बढिरहेका छन् । यति मात्र होइन, हाम्रा सोच र संस्कृति दलाल र परनिर्भर बन्दै गइरहेका छन् ।

उपभोगतावादी सोच र विलासी अल्छी जीवनशैली अपनाउँदै हामीले कृषि र उद्योग क्षेत्रमा उत्पादन गर्न छाडिरहेका छौँ, बैंक र बजारमा भर परिरहेका छौँ । अल्छी, दलाल र परनिर्भर सोच र संस्कृतिले कस्तो समाज निर्माण गर्छ ? आज हाम्रा गाउँबस्तीमा विकासका नाममा विनाश बढिरहेका छन् । सामाजिक विकास र विनाशका प्रभाव मान्छेको सोचमा पर्छ । जब मान्छेको सोचमा विनाश आउँछ, तब उसका हरेक गतिविधि विनाशकै दिशामा अघि बढ्छन् । अनि यसका असरहरू उसका घरपरिवार, इष्टमित्र, छरछिमेकलगायत समाजका हरेक पक्षमा देखापर्छ । गर्दागर्दै उसका जीवनशैली र सामाजिक व्यवहार नै विनाशकारी बन्न जान्छ । 

जब समाजमा मान्छेहरू विनाशको बाटोमा हिँड्छन्, तब उनका आर्थिक, सांस्कृतिक, राजनीतिक लगायत समग्र सोच र शैली सामाजिक अराजकताको दिशामा अगाडि बढ्छ । जसका कारण मान्छे–मान्छे बीचका विश्वासका सम्बन्ध क्रमशः अविश्वासका सम्बन्धमा परिणत हुँदै जान्छन्, इमान र जमानका व्यवहारहरू बेइमान र धोकामा परिणत हुँदै जान्छन्, समाजका विश्वासपूर्ण सामाजिक सम्बन्धका संरचनाहरू भत्किँदै जान्छन् र अराजक सामाजिक सम्बन्धका संरचनाहरू बन्दै जान्छन् । जसको परिणाम समाजमा मान्छेका आस्था र विश्वासका धरोहरहरू ढल्दै जान्छन्, समाजमा निराशा र अविश्वास बढ्दै जान्छन् । यसरी सामाजिक अराजकताका बेरोकतोक शृंखला बढ्दै जान्छन्, जुन आज सामाजिक विकृति र विसंगतिपूर्ण दुर्घटनाका साक्षात्कार साक्षी हामी छौँ । 

अब यसको सकारात्मक समाधान खोज्नैपर्छ, किनकि ध्वंश र विनाश पछि आउने शक्ति भनेको निर्माण र विकास नै हो । 

राजनीतिक अस्थिरता

लामो अवधिको एकात्मक शासन प्रणाली हुँदै यतिखेर संघात्मक शासन प्रणालीको अभ्यासमा हामी छौँ । 

पृथ्वीनारायण शाह (१८२५ साल)देखि भीमसेन थापा हुँदै जहानियाँ राणाशासन, निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र २०६२÷६३ को लोकतान्त्रिक गणतन्त्रसम्म २५० वर्ष लामो एकात्मक राजनीतिक प्रणाली देशको इतिहासले बेहो¥यो । आज संघीय शासन प्रणालीको पाँचवर्षे अनुभव र अभ्यासको प्रारम्भिक चरणमा प्रवेश गर्दा जनताको अनुभव र अनुभूतिको सही आकलन र मूल्यांकन गर्न जरुरी देखिन्छ ।

शासनको इतिहास नियाल्दा, हामीकहाँ सबैभन्दा बढी शासनमा स्वाभिमानी प्रधानमन्त्री भीमसेन थापा ३० वर्ष र दलाल प्रधानमन्त्री जंगबहादुर राणा ३० वर्ष मात्रै देखिन्छन् । यसबाहेक राणा शासनकालभरि सत्ता संघर्षका कारण कोतपर्व, भण्डारखाल पर्व, ४२ सालको पर्वजस्ता कैयौँ राजनीतिक अस्थिरताका घटनाले भरिएका छन् । 

१०४ वर्षे राणाशासन अन्त्य गर्दै २००७ सालमा ल्याएको प्रजातन्त्र लामो समय टिक्न सकेन । ३० वर्ष पञ्चायतकाल चल्यो, यसबीचमा थुप्रै प्रधानमन्त्री भए । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको शासनकाल (२०४७ देखि २०६३)सम्म राजनीतिक अस्थिरता रह्यो । २४० वर्ष लामो राजतन्त्रात्मक सामन्ती राज्यसत्ताविरुद्ध जनताले गरेको दशवर्षे सशस्त्र जनविद्रोहले नेपालमा राजतन्त्रको विकल्पमा गणतन्त्र स्थापना भयो । 

हाम्रा राजनेता र प्रशासनिक नेतृत्वहरूमा विकास हुँदै गइरहेको दलाली र परनिर्भर सोच–विचारको जगमा टेकेरै शक्ति राष्ट्रका भाइरसहरू माइक्रो म्यानेजमा लागिरहेको देखिन्छ ।

२०६५ को प्रथम जननिर्वाचित गणतान्त्रिक सरकार (प्रचण्ड सरकार) ढालेदेखि देशको शासन प्रणालीमा नयाँ राजनीतिक अस्थरिताको बिजारोपण गरियो । त्यसयता सापेक्षित स्थायित्व भनेको नयाँ संविधान– २०७२ जारी भएपश्चात् २०७४– २०७७ को जननिर्वाचित नेकपा सरकार (ओली सरकार) मात्र देखिन्छ । राजनीतिक शासन प्रणालीमा फेरि अस्थिरताको चक्र दोहोरिने संकेतसहित २०७९ को आमनिर्वाचनपछि बनेको प्रथम जननिर्वाचित सरकार दुई महिनामै ढर्मराउँदै नेपाली राजनीतिको क्षितिजमा अस्थिरताको खतरनाक कालो बादल मडारियो, जुन गम्भीर प्रकृतिको देखिन्छ ।

राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरुद्ध अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको अनावश्यक हस्तक्षेप र आन्तरिक राजनीतिक छलकपटका कारण नेपाली राजनीतिक शक्तिहरूबीच लामो समयदेखि विश्वासको संकट बढिरहेको देखिन्छ । परिणामतः राज्य व्यवस्थाका तीन शक्ति (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका)बीच संवैधानिक संकट बारम्बार दोहोरिरहेको छ । यसको सैद्धान्तिक र व्यावहारिक पक्षलाई हामीले मसिनो गरी केलाउँदा अहिले राजनीतिक शक्तिहरू एवं दलहरूबीच विश्वासको संकट बढ्नुको बाह्य र आन्तरिक धेरै कारण होलान् तर मुख्य कारणचाहिँ विचारमा स्वाभिमान र व्यवहारमा इमानको खडेरी नै हो । 

आजका राजनेताका विचार र प्रवृत्ति स्वाभिमानीभन्दा बढी दलाली बन्दै जानु र व्यवहारमा इमान र जमानभन्दा बेइमान र छलकपट बढ्दै जानु नै सैद्धान्तिक विचलनका मुख्य कारण देखिन्छ । 

हाम्रा राजनेता र प्रशासनिक नेतृत्वहरूमा विकास हुँदै गइरहेको दलाली र परनिर्भर सोच–विचारको जगमा टेकेरै शक्ति राष्ट्रका भाइरसहरू माइक्रो म्यानेजमा लागिरहेको देखिन्छ । राजनीतिक नेतृत्वको विचार र व्यवहारबीचको अन्तर्विरोधले नै आजका राजनीतिक शक्तिहरू जनतादेखि विमुख भन्दै गइरहेका छन् । 

निष्कर्ष र सुझाव

आज नेपाली समाजमा बढ्दै गइरहेको सामाजिक अराजकता र राजनीतिक शासन प्रणालीमा बढ्दै गइरहेको संवैधानिक तथा राजनीतिक अस्थिरताको अर्को कारण हो — समाजका हरेक मानिसले आफ्नो समाजको सामाजिक दायित्वबाट पन्छिएर सामाजिक न्याय र समानताको महत्त्व बुझ्न र बुझाउनमा उदासीनता देखाउनु । 

राजनीतिक नेतृत्वहरूमा वैचारिक विचलन राजनीतिक बेइमानीको पराकाष्ठामा पुग्दै चरम आत्मकेन्द्रित व्यक्तिवाद, नाङ्गो अवसरवाद र पदलोलुपतामा परिणत भएको छ । प्रशासनिक क्षेत्रका अगुवामा बढ्दै गइरहेको परिणाममुखीभन्दा प्रक्रियामुखी कार्यशैली, गैरजिम्मेवार सोच र शैली, सदाचार र शिष्टाचारको चरम अभाव देखिनु नै अराजकता र अस्थिरताको कारक तत्व हुन् । जुन राष्ट्रका लागि घातक छन् । 

परनिर्भर होइन, आत्मनिर्भर सोच र जीवनशैलीको थालनी र विकास गर्नुपर्छ, अनि मात्र संविधानले भनेको जस्तो सामाजिकन्यायसहितको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी देशलाई समृद्ध र जनतालाई खुसी बनाउन सकिन्छ । 

यसको नियन्त्रण र नियमनका लागि सर्वप्रथम देशका मुख्य राजनीतिक शक्तिहरू जागरुक हुनुपर्छ । मुख्य नेतृत्व तहदेखि तलसम्म स्वाभिमानी र इमानदार बन्न निर्मम आत्मसमीक्षा आवश्यक छ । 

यस्तै, प्रशासनिक क्षेत्रका मुख्य नेतृत्व तहदेखि तल्लो तहसम्मले इमानदारितापूर्वक सच्चा राष्ट्रसेवक कर्मचारी बन्ने आँट र साहस प्रकट गर्नैपर्छ । मुख्य राजनेता र मुख्य प्रशासकहरू विचारमा स्वाभिमान र व्यवहारमा इमानदार बने मात्र स्थिर सरकारसहित समृद्ध राष्ट्र र सभ्य समाज निर्माण गर्न सकिन्छ ।

स्वाभिमानी सोचबाट मात्र आत्मनिर्भर अर्थतन्त्रको आधारभूमि तयार गर्न सकिन्छ, जसले समाज र सत्तालाई उत्पादनमा जोड्न सकोस् । 

परनिर्भर होइन, आत्मनिर्भर सोच र जीवनशैलीको थालनी र विकास गर्नुपर्छ, अनि मात्र संविधानले भनेको जस्तो सामाजिकन्यायसहितको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी देशलाई समृद्ध र जनतालाई खुसी बनाउन सकिन्छ । 

हामी सबै नेपाली एकपटक छातीमा हात राखेर विचारमा स्वाभिमान र जीवन व्यवहारमा इमानदार बनौँ ! अल्छी, विलासी र उपभोगतावादी होइन, श्रमिक र मिहिनेती बन्दै समाजका हरेक क्षेत्रमा उत्पादनमा जोड दिऔँ, आर्थिक रूपमा आत्मनिर्भर बनौँ । अरुको कुरा काट्ने समयमा घाँस, दाउरा र चर्खा काटौँ । इमान र स्वाभिमान नै नेपालको सान हो ।

(लेखक घर्ती मगर लुम्बिनी प्रदेशसभाका सभामुख हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुलाराम घर्ती मगर (वसन्त)
तुलाराम घर्ती मगर (वसन्त)
लेखकबाट थप