सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश : राप्रपा फकाउन थापा र आङ्बोको प्रतिस्पर्धा, कसले मार्ला बाजी?

सभामुख बाबुराम गौतम भन्छन्– सरकारको जोड घटाउमा मलाई नजोड्दै राम्रो हुन्छ
बुधबार, २० असार २०८०, ०६ : १९
बुधबार, २० असार २०८०

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढालेर केन्द्रीय सत्ता गठबन्धनको नेतृत्वमा सरकार बनाउन लागेका दलहरु आफैंमा विभाजित देखिएका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न औपचारिक सहमति गरेको सार्वजनिक भइसकेको छ । तर, कोशी प्रदेशको प्रदेशसभामा सो गठबन्धनको सिट संख्याले गर्दा उनीहरुलाई राप्रपाको समेत साथ लिनुपर्ने बाध्यता छ ।

आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवस्था सिर्जना भए राप्रपा आफूसँगै आउने भन्दै कांग्रेस र माओवादीले यसअघि दाबी गरिरहेका थिए । सोहीअनुसार दुवै पार्टीले अहिले पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई फकाउन लागिरहेका छन् । ‘कांग्रेसले कुनै पनि हालतमा राप्रपा फकाउने देखिँदैन, त्यसो हुँदा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने देखिन्छ,’ माओवादीका एक सांसद भन्छन्, ‘केन्द्रमा भएको सहमति पनि राप्रपा जसले फकाउँछ, त्यसैको नेतृत्वमा सरकार बनाउने भन्ने खालको लुज निर्णय भएको रहेछ ।’

शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आफ्नो कुरा भइसकेको भनेर गठबन्धनको बैठकमा कुरा गरेपछि कांग्रेसलाई नै दिएको उनको दाबी थियो । ‘निर्णय पुनःविचार हुन सक्ने प्रधानमन्त्रीको कुरा छ । बैठकमा शेरबहादुर देउवाले लिङ्देनसँग मैले सबै कुरा मिलाएको छु भनेर भनेछन् । त्यसपछि कुरा नै भइसकेको हो भने लु न त भनेर दिएको बुझियो,’ ती नेताले भने ।

उनका अनुसार उद्धव थापाले बहुमत जुटाउन नसक्ने अवस्थामा २१ गते साँझ ५ बजेसम्मको समयसीमाभित्रै निर्णय पुनर्विचार हुने देखिन्छ । ‘गठबन्धनमा जसको नाममा बहुमत हुन्छ, त्यसैको सरकार बन्छ,’ उनले भने ।

यता, कांग्रेसका एक नेताले उद्धव थापा र राप्रपा अध्यक्ष लिङ्देनको सम्बन्धकै कारणले समस्या सिर्जना हुने देखिएको बताए । ‘यहाँ त व्यक्तिगत समस्या देखियो । यो समस्याले मध्यावधिमा लाने खतरा देखिन्छ, त्यस्तो अवस्थामा पात्र परिवर्तन गर्नुपर्ने देखियो,’ उनले भने ।

कांग्रेसले भने राप्रपाले सहयोग नगरेको अवस्थामा सभामुखसहित माओवादीले १३ सांसद लेखेर गए सरकार गठन हुने बताएको छ ।

सभामुख बाबुराम गौतमले भने आफू संविधान र कानुनमा भएअनुसार गर्ने बताउँछन् । ‘मेरो संख्या राख्ने नराख्ने भन्ने मेरो विषय होइन । म दलमा छैन । मसँग त्यस विषयमा छलफल हुने कुरा पनि भएन,’ उनले भने, ‘यसको निरुपण संविधान र कानुनले जे भन्छ, त्यही गर्ने हो । अहिलेसम्म के परम्परा छ त्यसअनुसार गर्ने विषय पनि छ । तर, त्यसका लागि दल नै प्रमुख हो । दलले के गर्छ उसैको विषय हो ।’

अहिले सरकार बनाउने, संख्या पुर्याउने, नपुर्याउने भन्ने आफ्नो विषय नभएको उनले प्रस्ट पारे । उनले भने, ‘सरकार गठन विघटनको जोड घटाउमा मलाई नजोड्दै राम्रो हुन्छ ।’

गठबन्धन दलले थापालाई बहुमत सांसद (४७) पुर्याएर सरकार बनाउने जिम्मा दिएका छन् । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद छन् । माओवादीको सांसद संख्या १२ मात्रै गन्न पाउने एमाले लगायतको भनाइ छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्यमात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ ।

थापाले राप्रपालाई सहमतिमा ल्याउन नसकेको अवस्थामा भने कोशी प्रदेशको मुख्यमन्त्रीमा उनी ३० दिनमात्रै टिक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप