मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
गोपाल खड्का भ्रष्टाचार प्रकरण

निगममा कार्यकारी निर्देशक बनेपछि खड्काले कमाएका थिए १७ करोडभन्दा बढी

चन्दा मात्रै एक करोड, चार छोराछोरीको विवाह खर्च भने ७ लाख !
शनिबार, २३ असार २०८०, १७ : ५३
शनिबार, २३ असार २०८०

काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल बहादुर खड्का अन्ततः भ्रष्टाचारी ठहर हुँदै बिगो जफत र ९ करोड १९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । असार १५ गते विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम सङ्ग्रौला र डा. खुसीप्रसाद थारुको इजलासले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई कैदसहित जरिवाना भराउने फैसला सुनाएको थियो ।

विशेष अदालतले सुनाएको फैसलामा खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बराबरको जरिवाना सहित १ वर्ष ३ महिना कैद सजाय समेत सुनाइएको छ । त्यसैगरी अख्तियारले दायर गरेको अभियोग पत्रमा जफतका लागि दाबी लिइएका सम्पत्तिहरूको हकमा पनि जफत हुने फैसला सुनाएको छ । प्रतिवादी गोपाल खड्काको घरजग्गा, सेयर, नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको छ भने खड्काले अमिता लामा सोदेम्बाको नाममा राखेको घर घडेरी पनि जफत हुने विशेष अदालतले ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन अनुसन्धान अधिकृत कृष्ण प्रसाद पंगेनीको प्रतिवेदनका आधारमा दायर भएको रिटमा खड्काले आफ्नो जागिरे जीवनमा परिवारसहितको सबै आम्दानी जोड्दा ८ करोड ६४ लाख ६९ हजार ७ सय ७१ रुपैयाँ रहेको देखिएको थियो । तर, २०६९ साल चैत २ देखि २०७५ कात्तिक महिनासम्मको अवधिमा खड्काको कुल सम्पत्ति २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ पुगेको थियो । खड्काले अमिता लामा सोदेम्बा नाम गरेकी महिलाको नाममा समेत घरजग्गा राखेको फेला परेको थियो । खड्काको सम्पत्तिमध्ये १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

२०७५ पुस २३ गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा साढे ४ वर्षपछि गत असार १० गतेदेखि हेर्दाहेर्दैमा राखी निरन्तर सुनुवाइको माध्यमबाट फैसला गरिएको थियो । २० पटक पेशीमा चढेको रिटमा अदालतले करिब करिब मागदाबफ बमोजिमकै फैसला गरेको छ ।

निगमको कार्यकारी निर्देशक भएपछि कमाएका थिए अकुत सम्पत्ति

भ्रष्टाचारी ठहर भएका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले सबैभन्दा धेरै अकुत सम्पत्ति निगमको कार्यकारी निर्देशक बनेपछि कमाएको पाइएको थियो । उनी कार्यकारी निर्देशक बनेको मिति २०७१ माघ १२ गतेदेखि २०७५ जेठ २४ गतेसम्मको मितिमा सबैभन्दा बढी सम्पत्ति जोडेको पाइएको छ । सोही समयमा नै उनको सम्पत्तिमा अस्वाभाविक वृद्धि देखिएको छ भने घरमा काम गर्ने महिलाको नाममा समेत सम्पत्ति राखेको पाइएको थियो । 

ओभरसियरदेखि कार्यकारी निर्देशकसम्मको यात्रा

नेपाल आयल निगामको कार्यकारी निर्देशक पदबाट अवकाशमा गएका खड्काले निजामती सेवाको सुरुवात भने सडक विभागमा ओभरसियरका रूपमा गरेका थिए । २०३६ साल साउन ३१ गते सडक विभागको ओभरसियरको रूपमा सेवा प्रवेश गरेका उनी २०५२ साल वैशाख २६ गते इन्जिनियरका रूपमा बढुवा भएका थिए । त्यसपछि २०६६ चैत १७ गते सिनियर डिभिजन इन्जिनियर (सीडीई) बनेका खड्का २०७१ पुस २९ गतेसम्म सीडीईका रूपमा कार्यरत थिए । 

आफ्नो जागिरे जीवनको अधिकांश समय सडक विभागमा बिताएका खड्काको सम्पत्ति सुरुवाती कालदेखि नै अस्वभाविकरुपमा बढेको देखिन्छ । खड्काले पहिलेदेखि नै जग्गाजमिन किन्ने गरेको तर खरिद गरेको मूल्य र जग्गाको लिखत मूल्यमा ठुलो अन्तर पारेर खर्च देखाउने गरेको पाइएको छ । २ लाखमा किनेको जग्गाको लिखत ८ हजार रुपैयाँ मात्रै बनाएर समेत किनिएको अख्तियारको अनुसन्धानमा देखिएको थियो । 

२०६९ चैत १२ गतेसम्मको आयव्यय विवरण हेर्दा खड्काले आम्दानी गरेको रकमभन्दा ३ लाख रुपैयाँ मात्रै बढी देखिएपछि त्यसपछि उनको मुद्दा तामेलीमा राखिएको थियो । तर उनको मुद्दा तामेलीमा गएपछि भने खड्काको सम्पत्तिमा अस्वाभाविक छलाङ आएको देखिन्छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा अनुसार खड्काको जागिर जीवन कालको कुल आम्दानीमा पारिश्रमिक बचत, जग्गा बिक्री, कर्जा तथा ऋण, अवकाश हुँदा प्राप्त आएको रकम, घर बहाल, रेमिटेन्स, पेन्सन सबै जोड्दा कुल ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा कमाएका थिए । तर अनुसन्धानको अन्तिम मिति अर्थात् २०७५ कात्तिक महिनासम्ममा भएको सम्पत्ति तथा खर्च विवरण हेर्दा भने २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा रहेको पाएको छ । कुल वैध आय र हालको सम्पत्तिको विश्लेषण गर्दा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा कुल सम्पत्तिमा वैध आय ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा घटाउँदा खड्काको सम्पत्तिमध्ये १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ तेइस पैसा बराबरको सम्पत्तिको स्रोत खुलेको थिएन ।

खड्काले अकुतरुपमा कमाएको सम्पत्तिमध्ये तेह्रथुमको जिरीखिम्ती गाविस वडा नं २  स्थायी ठेगाना भई बुढानीलकण्ठ वडा नम्बर ४ बस्ने अमिता लामा सोदेम्बाको नाममा समेत साँढे ७ करोडको सम्पत्ति लुकाएका थिए । खड्काले अवैध रूपमा कमाएको सम्पत्तिमध्ये ७ करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिता लामा सोदेम्बाको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेको थियो । 

अख्तियारले अदालतमा मुद्दा दायर गर्दा अकुतरुपमा कमाएको पाइएको खड्काको सम्पत्ति, खड्काको श्रीमतीको नाममा राखेको सम्पत्ति र अमिता लामा सोदेम्बाको नाममा राखेको सम्पत्तिसमेत जफत गर्न मागदाबी लिएको थियो । 

बढी मूल्यको जग्गालाई कम देखाएर वैध बनाउने प्रयत्न

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका खड्काले आफ्नो जागिर जीवन कालमा धेरै स्थानमा जग्गाजमिन किनेको पाइएको छ । सस्तोमा जग्गा किनेको देखाएर महँगोमा बेचेको देखाउँदै सम्पत्तिलाई वैध बनाउने प्रयास गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । 

८० हजारमा किनेको जग्गा २८ महिनामै २९ लाखमा बिक्री !

गोपाल बहादुर खड्काले भ्रष्टाचार गरी कमाएको सम्पत्ति लुकाउन र सम्पत्तिलाई वैध देखाउन कतिसम्म हरकत गरेका थिए भन्ने अख्तियारको अनुसन्धानमा स्पष्टरुपमा उल्लेख गरिएको छ । खड्काले २०६६ असार २८ गते ललितपुरको बडिखेल वडा नम्बर १ मा १ रोपनी २ आना जग्गा रमेशकुमार आचार्यसँग ८० हजार रुपैयाँमा खरिद गरेको दाबी गरेका छन् । तर ८० हजार रुपैयाँमा खरिद गरेको भनिएको उक्त जग्गा २०६८ मङ्सिर २७ गते रत्न सिंह बस्नेतलाई २९ लाख ७५ हजार रुपैयाँमा विक्री गरेको लिखत तयार पारिएको छ । 

तर अख्तियारले जग्गा विक्री गर्ने रमेश कुमार आचार्यसँग बयान लिँदा आचार्यले आफूले उक्त जग्गा १५ लाख रुपैयाँमा विक्री गरेको बयान दिएका छन् । 

त्यसैगरी खड्काले काभ्रेका रत्न सिंह बस्नेतसँग २०६८ चैत ३० गते २ लाख ४० हजारमा किनेको भनेको जग्गा त्यसको १३ महिनापछि २०७० वैशाख ३० गते २९ लाख रुपैयाँमा विक्री गरेको भन्दै सम्पत्तिलाई वैध बनाउने प्रयास गरेका छन् । 

खड्काले अहिले मात्रै होइन, २०५६÷५७ सालमै पनि अकुत सम्पत्ति कमाएको देख्न सकिन्छ । खड्काले २०५७ सालमा श्रीमती शर्मिला खड्काको नाममा केशव बहादुर खुलालसँग काभ्रेमा ९ आना १ पैसा तीन दाम जग्गा १ लाख ८० हजारमा बेचेका थिए । तर खड्काले त्यतिबेला नै उक्त जग्गा मात्रै ८ हजारमा किनेको भनेर १ लाख ७२ हजार रुपैयाँको स्रोत लुकाएर वैध बनाउन खोजेका छन् ।

त्यस्तै खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा काभ्रेको साबिकको साँगामा रहेको १ रोपनी ७ आना १ पैसा १ दाम जग्गा २ लाख १० हजारमा किनेको भए पनि जम्मा २० हजारमा किनेको बनाएका थिए । 

22-number-house_Amita Sodemba

३ करोड २५ लाखको घरलाई १ करोड ९४ लाख देखाए

खड्काले गोल्फुटारमा सिजी डेभलपर्सले तयार पारेको घर अमिता लामा सोदेम्बाको नाममा खरिद गरेका थिए । कुल ३ करोड २५ लाख रुपैयाँ तिरेर खरिद गरिएको उक्त घरको खरिद मूल्य भने खड्काले १ करोड ९९ लाख मात्रै देखाएका थिए । एक करोड ९४ लाख रुपैयाँको लिखत देखाए पनि उक्त घर ३ करोड २५ लाख रुपैयाँमा खरिद गरेको भनेर घर बेच्ने सिजी डेभलपर्स, अमिता लामा आदिको बयानमा उल्लेख छ ।

यस्तै अन्य धेरै जग्गा र घर खरिदमा पनि खड्काले सस्तोमा किनेको देखाएर महँगोमा बेचेको बनाउँदै अधिक नाफा लिएको देखाएर सम्पत्तिलाई वैध बनाउने कोसिस गरेको देखिन्छ ।

४ जना छोराछोरीलाई पढाउन जम्मा ५ लाख ३० हजार खर्च

गोपाल खड्काका चारजना सन्तान छन्, दुईजना छोरा र दुईजना छोरी । छोराहरू प्लस टु सम्म नेपालमै पढी त्यसपछि थप अध्ययनका लागि अष्ट्रेलिया गएका थिए भने छोरीहरू कलेजसम्म नेपालमै पढेका थिए । चारजना छोराछोरीका लागि नर्सरीदेखि कलेजसम्म पढाउन उनले जम्मा ५ लाख ३० हजार रुपैयाँ खर्च गरेको खड्काको बयानमा उल्लेख छ । 

चार छोराछोरीको विवाह खर्च ७ लाख मात्रै !

गोपाल खड्काको आम्दानी र खर्चको अर्को हास्यास्पद विवरण त के छ भने चारजना छोराछोरीको विवाहमा जम्मा ७ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । अख्तियार स्रोतले भने खड्काको छोराछोरीको विवाहमा डेढ करोडभन्दा बढी रकम खर्च भएको बताउँछ । यद्यपि अभियोग पत्रमा कति रकम खर्च भएको भनेर उल्लेख भने गरेको छैन । 

घरबहाल नै एक करोड !

खड्काले आफ्नो आम्दानी देखाउने क्रममा घट्टेकुलोमा रहेको एउटा घरको भाडाबापत एक करोड रुपैयाँ कमाएको दाबी गरेका छन् । खड्काले आफ्नो आम्दानी देखाउँदा घट्टेकुलोमा रहेको घर २०५० सालमा बनाएको र त्यस बेलादेखि नै भाडामा लगाएको दाबी गरेका छन् । २०५० सालदेखि २०७० सालसम्म भाडाबापत कुल ५० लाख रुपैयाँ आम्दानी गरेको र २०७० सालपछि ५ वर्षको अवधिमा ५० लाख गरी कुल एक करोड रुपैयाँ आम्दानी गरेको दाबी गरेका थिए । 

खड्काले एक करोड रुपैयाँ आम्दानी गरेको दाबी गरे पनि उनले त्यसबापतको कर भने तिरेका छैनन् । अख्तियारले भने सो अवधिमा खड्काले जम्मा १३ लाख ५६ हजार रुपैयाँ मात्रै आर्जन गरेको दाबी लिएको थियो ।

एक वर्षमा एटीएमबाट क्यास र सपिङमै करोडभन्दा बढी खर्च

विशेष अदालतले अकुत सम्पत्ति र भ्रष्टाचारमा दोषी ठहर गरेका गोपाल बहादुर खड्काले आफै तथा गोपालकी श्रीमती शर्मिला खड्काले प्रयोग गर्ने विभिन्न एटीएम कार्डहरूबाट नगद निकालेको र पीओएसबाट सपिङवापत एकै वर्षमा एक करोड २० लाख ४६ हजार रुपैयाँको कारोबार गरेको पाइएको छ । 

गोपालले आर्थिक वर्ष २०७४।०७५ मा आफ्नो नाममा रहेको ग्लोबल आईएमई बैंकको एटीएम कार्डबाट नगद र सपिङबापत ३२ लाख ५०१ रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी गोपालकै नामको नबिल बैंकको एटीएम कार्डबाट नगद र सपिङ गरी ३९ लाख ३६ हजार २८९ रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकको एटीएम कार्डमार्फत ३६ लाख ३७ हजार ४३८ रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको एटीएम कार्डमार्फत २ लाख ९३ हजार २८ रुपैयाँ खर्च गरेका छन् । खड्काले एक वर्षको अवधिमा १ करोड १० लाख ६७ हजार २५६ रुपैयाँ खर्च गरेको अख्तियारले पेस गरेको अभियोग पत्रमा उल्लेख थियो । 

गोपालकै परिवारका सदस्य शर्मिला खड्काले स्ट्याण्डर्ड चार्टड बैंकमा आफ्नै नाममा रहेको खाताको एटीएम कार्डबाट एक वर्षको अवधिमा ९ लाख ७९ हजार ६०९ रुपैयाँको सपिङ गरेको पाइएको थियो । गोपाल बहादुर खड्का र शर्मिला खड्काले एक वर्षको अवधिमा बैंकको एटीएम कार्डबाट मात्रै १ करोड २० लाख ४६ हजार ८६५ रुपैयाँ खर्च गरेको पाइएको थियो । 

चन्दा मात्रै एक करोड

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका गोपाल बहादुर खड्काले विभिन्न व्यक्ति तथा संघ संस्थालाई मात्रै एक करोड रुपैयाँ चन्दा दिएको पाइएको थियो । खड्काले पत्रकार ऋषि धमलादेखि विप्लव नेतृत्वको माओवादी पार्टीका नेता हेमन्तप्रकाश वली, उनकी श्रीमती अम्बिका चन्द, भोजराज भट्ट लगायतलाई लाखौँ रकम दिइएको पाइएको छ । 

अख्तियारका अनुसार खड्काले भोजराज भट्टलाई २ लाख, अमृत यादवलाई ५ लाख, क्षमता खड्कालाई १० लाख, शान्ताभाइ श्रेष्ठलाई ५ लाख, सुनिल चालिसेलाई ५ लाख, पत्रकार ऋषि धमलालाई १ लाख, विप्लव नेतृत्वको माओवादी नेतृ अम्बिका चन्दलाई एकपटक ९ लाख ९९ हजार र अर्को पटक ९ लाख, अम्बिकाका पति हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख, दीपेन्द्र खड्कालाई ९ लाख, आफ्ना सवारी चालक हरिशरण कुइँकेललाई ७ लाख लगायत गरी कुल ९९ लाख ७५ हजार रुपैयाँ चन्दा दिएको पाइएको छ । त्यसबाहेक ओशो तपोवनलाई पनि २५ लाख रुपैयाँ चन्दा दिएको भेटिएको छ ।

५० लाख ‘सापटी’ पाउने भाग्यमानीमा पत्रकार खड्का पनि

विशेष अदालतले भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल बहादुर खड्काबाट ठुलो रकम सापटी पाउनेमा पत्रकार सूर्य बहादुर खड्का पनि रहेका छन् । खड्काले कुल ५० लाख रुपैयाँ सापटी पाएको र उक्त रकम अरनिको टेलिभिजन चलाउनका लागि व्यक्तिगत चिनजानका आधारमा सापटीस्वरुप लिएको÷दिएको दाबी गरिएको छ ।

पत्रकार सूर्य बहादुर खड्काको बयानमा आफूले गोपाल खड्कालाई आयल निगमको कार्यकारी निर्देशक भएपछि मात्रै चिनेको र पत्रकारकै हैसियतमा चिनेको बयान दिएका छन् । पत्रकारकै हैसियतले चिनजान भएपछि खड्काले आफूलाई ५० लाख रुपैयाँ सापटी दिएको सूर्य बहादुर खड्काको बयानमा उल्लेख छ ।

गोपाल बहादुर खड्काले ५० लाख रुपैयाँमध्ये २५ लाख रुपैयाँ शंकर अधिकारीको नाममा, सूर्य खड्काको नाममा ९ लाख ९० हजार तथा १० हजार रुपैयाँ नगद बुझेका थिए । त्यसैगरी २०७५ साउन १० गते सूर्य खड्काकै नाममा ९ लाख र वाङ्छे शेर्पाको नाममा ६ लाख गरी कुल ५० लाख रुपैयाँ ऋण सापटी लिएका थिए । 

उक्त रकम अरनिको टेलिभिजन किन्ने प्रयोजनका लागि लिएको तर धितो बन्धकी केही पनि नराखेको सूर्य खड्काको बयानमा उल्लेख छ । गोपाल खड्काविरुद्ध मुद्दा चलेपछि उक्त ऋण वा सापटीको विषय कहाँ पुग्यो र के भयो भन्ने सम्बन्धमा खड्काको नम्बरमा सम्पर्क गर्दा उनको मोबाइलको स्वीच अफ गरिएको छ । 

एक उत्कृष्ट अनुसन्धान 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामध्ये ठूला मुद्दामा भएको ठहरलाई हेर्ने हो भने यो सबैभन्दा उत्कृष्ट अनुसन्धान हो । कुल आम्दानी, उनले गरेको खर्च, अरूको नाममा लुकाएको सम्पत्ति, न्यून मूल्याङ्कन देखाएर खरिद र उच्च मूल्याङ्कन देखाएर गरिएको विक्री, आदिका विषयमा सूक्ष्म अनुसन्धान गरिएको छ । घर र जग्गा किन्दा थैलीमा राखिएको रकम र किनबेच भएको वास्तविक रकम किन्ने र बेच्ने व्यक्तिसँग नै भेट गरी भरिफाई गरिएको छ । घरमा काम गर्नेको नाममा किनिएको गाडी र घर तथा जग्गाको विषयमा सूक्ष्म अनुसन्धान गरिएको छ भने अपराध र समाचारबाट बच्न पत्रकार तथा राजनीतिक दलका नेताहरूलाई दिएको चन्दा र सहयोगको केही प्रमाण पनि अख्तियारले पेस गरेको छ ।

४ जना छोराछोरी पढाउन जम्मा ५ लाख ३० हजार रुपैयाँ खर्च भएको र ४ जना छोराछोरीको विवाह गर्दा जम्मा ७ लाख रुपैयाँ खर्च भएको, अस्ट्रेलियामा छोराहरूलाई पढाउँदा जम्मा ५० हजार रुपैयाँ खर्च भएको लगायतको खर्च देखाइएको छ । 

आम्दानीलाई जति बढाउँदा पनि र खर्चलाई जति घटाएपछि ८ करोड रुपैयाँको वैध आम्दानी देखिँदा कुल सम्पत्ति २७ करोडभन्दा बढीको भएपछि अख्तियारले अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको थियो । अख्तियारले जफतका लागि मागदाबी लिएको अधिकांश सम्पत्ति जफत हुने र जरिवाना मात्रै ९ करोड रुपैयाँभन्दा बढी हुने फैसला सुनाएको छ । अभियोगपत्र र प्रमाण सङ्कलनका दृष्टिकोणबाट हेर्दा अनुसन्धानमा उल्लेख भएकै कुराहरूलाई अदालतले स्वीकार गर्दै दोषी ठहर गरेको छ ।

(नोट :गोपाल बहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशक बनेपछि देशका विभिन्न स्थानमा डिपो बनाउने भन्दै अरबौँको जग्गा खरिद गरिएको थियो । कौडीको भाउमा किनिएको जग्गालाई महँगोमा किनेको देखाएर भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यसबाहेक विभिन्न ग्याँस उद्योग, इन्धनसँग सम्बन्धित कामकाजका लागि ठुलो रकम घुस लिएको आरोप खड्कालाई लागेको थियो । सोही प्रकरणमा अनुसन्धान गर्दा खड्काले अकुत सम्पत्ति कमाएको भेटिएको थियो । –सम्पादक) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप