आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै

बुधबार, २७ असार २०८०, १७ : ५२
बुधबार, २७ असार २०८०

काठमाडौँ । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि आबद्ध गराउने भएको छ ।  

बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा बिस्तार गर्नेगरी शुभारम्भ गर्ने कार्यक्रम भएपनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण रोकिएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी  स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिक रुपमा छिटै गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।  उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको बताए ।  

कार्यकारी निर्देशक ज्ञवालीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने कार्यक्रम रहेपनि विशेष कारणवश हुन नसकेको बताए । उनले कोषले शुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक,निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई आबद्ध गराउने योजना रहेको बताए । उनले सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको बताए । उनले उक्त व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता,आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको पनि बताए ।  

कार्यकारी निर्देशक ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताए । उनले कोषमा अहिलेसम्म  ६ लाख २५ हजार भन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बताए । उनले कोषले उपलब्ध गराउने सुविधाहरु कतिपय असीमित दायित्व पनि रहेको बताए ।   

कार्यकारी निर्देशक ज्ञवालीले कोषले पालिकाहरुसँग सम्झौता गर्ने र त्यो भित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिहरुलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै गर्ने योजना रहेको बताए । उनले  कोषले बुधवार स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेको बताए । उनले पालिकाले २०७६ सालदेखि पालिका अन्तर्गत कार्यरत अनौपचारिक श्रमिकहरुलाई योगदानमा सामाजिक सुरक्षा योजनाहरु उपलब्ध गराइरहेको योजनालाई सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध गरायो उद्देश्यले सम्झौता गरेको बताए ।  

कार्यकारी निर्देशक ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्धता अनिवार्य नभएको बताए । उनले अनौपचारिक र स्वरोजगार श्रमिकहरू ऐच्छिक रुपमा आबद्ध हुनसक्ने बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप