आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि 'खेती कर्जा' यसरी लिन सकिन्छ एपबाटै सजिलै कृषि ऋण

सोमबार, ०१ साउन २०८०, १४ : ४५
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेपालमै पहिलोपटक एनएमबि बैंकले कृषि केन्द्रित 'एनएमबि खेती कर्जा' लोन कार्यक्रम ल्याएको छ । यो कृषकले विना धितो सजिलै कृषि कर्जा प्राप्त गर्न सक्ने डिजिटल प्याटफर्म हो । एनएमबि बैंकले खेती फार्म एपसँगको साझेदारीमा उक्त कार्यक्रम कृषक सामु ल्याएको हो । 

कृषकले घरमै बसेर मोबाइलबाटै कृषि कर्जाका लागि आवेदन गर्न सक्छन् भने एपमार्फत नै सोझै भुक्तानी पाउनेछन् । कर्जाका लागि कृषकले कुनै कागजात पेस गर्नुपर्दैन । कर्जाका लागि धितो (कोल्याट्रल) समेत राख्नुनपर्ने बैंकले जनाएको छ । विना धितो सहजै कृषकले कर्जा पाउन सक्छन् । तर यसका लागि कृषकहरू खेती एपमा जोडिन भने आवश्यक छ । 

खेती कर्जाका लागि ७-८ वटा प्यारामिटरहरु रहेको बैंकको डिजिटल डिपार्ट हेड शिवराज उपाध्याय बताउँछन् । 'कृषि कर्जाका लागि कृषकहरू खेती एपमार्फत नै आउनुपर्छ । आवेदकहरूबाट योग्य किसानलाई छनोट गरिन्छ । त्यसपछि छनोटमा परेका कृषकहरूलाई गोल्ड, सिल्भर र प्लाटिनियम गरेर वर्गीकरण गरेर सोही  आधारमा कर्जा प्रदान गरिन्छ' उनले भने ।

उसो त बैंकले खेती एपबाट प्राप्त भएको डाटालाई चेकजाँच पनि गर्नेछ । कृषकले अन्य बैंकबाट कति कर्जा लिएको छ ? पैसाको कारोबार कस्तो छ ? जस्ता सामान्य जानकारी हेरेर  बैंकले वास्तविक कृषकको पहिचान समेत हेर्नेछ ।

छनोट तथा वर्गीकरणपछि बैंकले योग्य कृषकलाई १ लाखदेखि २ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रदान गर्नेछ ।

कसरी दिने आवेदन ? 

सर्वप्रथम एनएमबि खेती कर्जा (कृषि ऋण) का लागि सम्बन्धित कृषकको बैंक खाता हुन आवश्यक छ । त्यसपछि खाता वालासँग खेती फार्म एप पनि हुनुपर्छ। 

प्रयोगकर्ताले एपमा उपलब्ध माग भएका सम्पूर्ण विवरण (केवाईसी) भर्नुपर्छ । आफ्नो ग्राहक आईडी सुनिश्चित भइसकेपछि एउटै एप मार्फत कृषकले कृषि विउविजन तथा कृषि सामग्रीको खरिद विक्री र कृषि कर्जाका लागि समेत आवेदन गर्न सक्नेछन् ।

तर, कर्जाका लागि कृषकले पहिले नै कृषि उत्पादन र उपकरणहरूको लेनदेनमा भाग लगिसकेको हुनुपर्ने छ ।

कुन ब्याजदरमा कति अवधिका लागि कर्जा पाइन्छ ?

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी खेती कर्जा हालसम्म कै न्यून ब्याजदरमा उपलब्ध गराइने बताउँछन् । साधारणतया कर्जाको न्यूनतम ब्याजर बैंकको आधारदर (बेस रेट) मा कम्तीमा २ प्रतिशत प्रिमियम थप गरेर ब्याज निर्धारण गर्ने भएपनि बैंकले कृषि कर्जामा जम्मा जम्मा ०.५ प्रतिशत मात्र प्रिमियम थप गर्ने उनले बताए ।

'यो नेपालको बैंकिङ्ग इतिहासमा पहिलो रेकर्ड हो । सहुलियतपूर्ण कर्जा नभईकन पनि व्यावसायिक रूपमा कम ब्याजदरमा कर्जा प्रवाह गरेको यो नै पहिलोपटक हो । यसले कृषि उत्पादन र कृषकको उत्थानमा ठूलो सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ' केसीले भने ।

हाललाई बैंकले न्यूनतम ३ महिनादेखि अधिकतम २४ महिना अर्थात् २ वर्षसम्मका लागि यस्तो सरल कृषि कर्जा उपलब्ध गराइरहेको छ । कृषकले न्यूनतम १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउन सक्छन् । पछिल्लो एक वर्षदेखि खेती एपमा आबद्ध कृषक यस्तो कर्जा लिन योग्य हुनेछन् । 

तर, कर्जा पाउने कृषकले लिएको कर्जाको साँवा र  ब्याज समयमा नै भुक्तानी नगरेमा त्यस्तो ऋणीलाई कालोसूचीमा राखी भविष्यमा कर्जाको लागि अयोग्य मानिने एनएमबि बैंकले जनाएको छ । 

खेती एपको बारेमा

'खेती एप' कृषिसँग सम्बन्धित सम्पूर्ण जानकारीमूलक एवम् सूचनामुलक डिजिटल प्लाटफर्म हो । यसबाट कृषकहरूले कृषिसँग सम्बन्धित समस्या, त्यसको समाधानको उपाय, कृषि उपजको बजार व्यवस्थापन, मूल्य आदिको सूचना प्रदान गर्ने गर्छ । जसबाट कृषकहरुले कृषि उपजको बजार माग र बिक्री वितरणका बारेका समेत डिजिटल रूपमै बुझ्न र प्रयोग गर्न सक्छन् ।

खासगरी य‍ो एप कृषकहरुका समस्याहरुको सामाधान गर्नकै लागि तयार गरिएको हो । सन् २०१९ देखि औपचारिक रूपमै सुरुवात भएको यस एपको प्रयोगकर्ताहरूको सङ्ख्या अहिले ३० हजार नाघिसकेको छ । जसमध्ये १० हजारभन्दा बढी ‘एक्टिभ’ प्रयोगकर्ता रहेको एपका संस्थापक तुल्सी गिरी बताउँछन् ।

'डिजिटल रूपमा डाटाहरूलाई नहेर्दासम्म किसानले कसरी उत्पादन गर्ने ?, बिक्री वितरण तथा बजारको अवस्था कस्तो छ ? थाहा पाउँदैनन् । जबसम्म यकिन हुन्न । कृषि बजार र मूल्य, सम्पूर्ण कृषि क्षेत्रको जानकारी दिने उद्देश्यले नै खेती एप जस्तो डिजिटल अवधारणा ल्याइएको हो' गिरीले भने । 

यो एप सर्वसाधारण कृषकले नि:शुल्क प्रयोग गर्न पाउँछन् । १४ वर्षदेखि अनवरत कृषि क्षेत्रमा लागिरहेका गिरी हाल ‘खेती एप’ को सीईओ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप