सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी जागिर निल्नु न ओकल्नु

मङ्गलबार, ०२ साउन २०८०, ११ : ३८
मङ्गलबार, ०२ साउन २०८०

पाँच वर्ष अघिसम्म गाउँमा कसैको इज्जत मान प्रतिष्ठा थियो भने केवल सरकारी जागिरेको मात्र थियो । गाउँमा सरकारी जागिरेको सङ्ख्या सीमित थियो । तीमध्ये प्रायः शिक्षक पेसामा आबद्ध थिए भने केही भारतमा रोजगारी गर्दथे त २–३ जनाको सङ्ख्या मात्रै हाम्रो गाउँबाट खाडी मुलुक गएका थिए । गाउँमा केटाकेटी कसैलाई भविष्यमा के गर्ने भनेर सोध्यो भने सबैको उत्तर सरकारी जागिर खाने भन्ने आउँथ्यो । 

अहिले समय बदलिएको छ । सबैको उद्देश्य विदेश जाने भएको छ । गाउँका छोराहरू अहिले प्रायः भारतभन्दा अन्यत्र पलायन भएका छन् । आर्थिक स्तर माथि उकास्न लागिपरेका छन् भने बुहारीहरू बच्चा पढाउन सहर पसेका छन् । गाउँ रित्तिन थालेको छ तर बच्चैदेखिको सरकारी जागिर खाने चाहनाबाट भने म पछि हट्न सकिनँ । प्रावि तहको अध्ययन अनुमति पत्र प्राप्त गरिसकेपछि शिक्षक सेवा पढ्नका लागि बटौली सहर पसेँ । अब मेरा सरकारी जागिर खाने सङ्घर्षका दिन त्यहाँबाट सुरु भए । 

म पनि स्नातक अध्ययन गर्दै शिक्षक सेवाको तयारी थालेँ । किताबहरू किनेँ, रूममा पढेर मात्र पास गर्न सकिँदैन भन्ने लागेर इन्स्टिच्युटमा भर्ना भए । मेरो शिक्षक हुने चाहना पूरा गर्न दिनरात नभनी पढ्न लागेँ । 

यतिकैमा एउटा बोर्डिङ स्कुलबाट मलाई अध्यापन गर्न बोलायो । अध्यापन गर्ने या नगर्ने भनेर म अलमलमा परेँ । गाउँ छोडेर सहर छिरेको थिएँ । घरभाडा, कलेजफी र आयोगको तयारी कक्षा फी तिर्नुपर्ने हुँदा आर्थिक भार पर्न लागिसकेको थियो । घरबाट मागिरहन मलाई अप्ठ्यारो लागिरहेको थियो । यस्तो अवस्थामा बोर्डिङबाट नेपाली शिक्षकको रूपमा अफर आउँदा मैले नकार्न पनि सकिनँ ।

अन्तिम उद्देश्य अध्यापन पेसा भएकाले बोर्डिङ पढाउँदा अनुभव पनि प्राप्त हुने रे मेरो खर्च धान्न केही राहत पनि हुने भएको अध्यापन क्षेत्रमा उक्त बोर्डिङबाट पहिलो पाइला चालेँ । बोर्डिङमा पढाउन सुरु गर्दा अब मलाई कलेजमा निरन्तर जान समय मिलेन । त्यसैले बीएडको तयारी आफैँ रूममा गर्न थालेँ । उता आयोगको क्लास भने साँझमा लिने गर्दथेँ । यतिकैमा आयोगको परीक्षा आयो । पहिलो पटक समावेश भएको परीक्षाबाट अनुभव त केही प्राप्त गरेँ । तर म उक्त परीक्षामा उत्तीर्ण हुन भने सकिनँ । आयोगको परीक्षामा पहिलो प्रयासमै उत्तीर्ण हुनु असम्भव प्रायः नै हो । त्यसैले यो असफलतालाई स्विकार्दै अर्को पटकलाई भरपुर तयारी गर्नु सिवाए अरू विकल्प थिएन ।

यता बोर्डिङमा पढाउने सिलसिलामा मेरा सहकर्मी (मिस) सँग मेरो अलिक बढी नै हिमचिम बढ्न थालेको थियो । उनी पनि नेपाली विषय नै पढाउने गर्थिन् । तर उनले आयोगको तयारी भने गरेकी थिइनन् । 

समय बित्दै गयो । बीएड दोस्रो वर्षको परीक्षा पनि आयो । व्यस्त भए पनि सो परीक्षा राम्रो भएको आभास भयो । फेरि दोस्रो पटकको आयोगको परीक्षा फर्म खुल्यो । यसपालि राम्रै तयारीसाथ बसेको थिएँ । जसरी पनि परीक्षा उत्तीर्ण गर्ने सङ्कल्प गरेको थिएँ । मिससँग हिमचिम ढाउँदै गर्दा माया बसिसकेको थियो । अनि प्रेम प्रस्ताव राखेँ, स्विकारिन् । बोर्डिङ एक किसिमको स्वर्ग जस्तो लाग्न थालेको थियो । 

यतिकैमा आयोगको परीक्षा पनि आयो । पहिले अर्घाखाँचीबाट फर्म भरेको यसपालि पाल्पामा कोटा धेरै भएकाले त्यहीँबाट फर्म भरेको थिएँ । अनि परीक्षा दिन बुटवल हुँदै तानसेन गएँ । यस पटक निकै उत्साहसाथ गएँ । परीक्षा सोचेभन्दा राम्रो भयो । हलबाट निस्किनेबित्तिकै प्रेमिकालाई फोन गरेर खुसी बाँडँे । 

चार महिनापछि नतिजा आयो, लिखितमा नाम निस्कियो । अन्तर्वार्तामा पनि सफल भएँ । अनि पाल्पाको सत्यवती गाउँपालिकाको एउटा प्राथमिक विद्यालबाट सरकारी सेवामा प्रवेश गरेँ । 

त्यसपछि मैले बोर्डिङसँग मात्र होइन, मेरी प्रिय मिससँग पनि विछोडिनुपर्यो । मन भारी बनाउँदै पाल्पा गएँ । कहिलेकाहीँ उनलाई भेट्न बुटवल भने जाने गर्थेें । ‘जति माया टाढा उति माया गाढा’ मेरा लागि उल्टो भयो । पाल्पा गएपछि हाम्रो सम्बन्ध राम्रो हुन सकेन । त्यो बोर्डिङमा मेरो ठाउँमा पढाउन अर्को सरलाई ल्याएको रहेछ । अफसोच मिसको माया मेरै ठाउँमा आएको सरसँग सरे छ । त्यसपछि उनीसँग माया मर्दै गयो । 

समय बित्दै जाँदा मेरा धेरै साथी विदेशतिर लागे । कोही कोरिया, जापान, कोही अस्ट्रेलिया । म साथीहरुबाट पनि एक्लिएँ । 

घरबाट बिहेको दबाब आउन थाल्यो । बिहे गर्ने उमेर भएको महसुस हुन्थ्यो तर त्यसका लागि दुईवटा चुनौती थिए– सामान्य जागिरेलाई केटी पाउन र बिहेका १२, १३ लाख जुटाउन निकै हम्मे थियो । जुन केटी हेर्न गए पनि कोरिया जापानतिर या कुनै देश गएकासँग मात्र विवाह गर्ने भन्थे । आफन्तहरूको लामो समयको प्रयासपछि बिहेको निम्ति कन्या त खोज्न सफल भइयो । 

पैसा जुटाउनको निमित्त विदेशमा भएका मेरा साथीहरूलाई फोन गरेँ ।  विवाह गर्न लागेको, ऋण दिनुपर्याे भनेँ । तर उनीहरूले घरघडेरी किनेकाले आफ्नै ऋण भएको सुनाए । ऋणसमेत दिन अस्वीकार गरे । अनि निरास भएँ तर बुवाले आफन्त, दाजुभाइसँग सरसापटबाट बिहेका लागि ऋणको व्यवस्था गरिदिनुभयो । 

बिहे गर्ने निधो भयो । आफ्नै जिल्लाकी केटीसँग मागी विवाह भयो । म जागिरको सिलसिलामा पाल्पा बस्नुपर्ने र घरमा बुढी आमा मात्र भएकाले हेरचाहका लागि र मेरा खर्च कटौतीका लागि श्रीमतीलाई घरमै राख्ने निर्णय भयो । 

मेरा साथीहरू भने विदेश पसेर धेरै नै प्रगति गरेका थिए । मलाई भने बिहे गर्दाको ऋण तिर्दैमा ५–६ वर्ष लाग्ने निश्चित थियो । विदेशबाट साथीहरूले फोन गर्दै भन्छन्– “क्या मजा छ यार तँलाई त सरकारी जागिर खाएको छस्, आफ्नै देशमै बसेको छस्, हामी त बिग्रिने भयौँ । केटा विदेश आएर ! नेपालमै जागिर खान नि सकिएन । १२, १३ घण्टा जागिर गर्न पर्छ विदेशमै जिन्दगी जाने भयो हाम्रो त । आफ्नै देशमा परिवारसँग बस्न पाएको छस्, जिन्दगी त तेरो पो हो त !” 

यस्ता भनाइ सुन्दा मनमा अमिलो हुन्छ । आफ्नै देशमा त छु तर परदेश भन्दा कम छैन । वर्षमा एक पटक दसैँमा घर जान्छु । श्रीमतीसँग वर्ष वर्षमा भेट हुन्छ । विदेशमा गएका पनि वर्ष वर्षमा आउँछन् । यहाँ न त विदेशमा जस्तो लाखौँ कमाइ हुन्छ न त परिवारसँग रमाएर बस्न पाइएको छ । योभन्दा नरमाइलो अरू के हुन्छ ? बरु विदेश गएको भए पैसा त समयमै कमाउन सकिन्थ्यो होला नि ? आफैँले आफैँलाई धिक्कार्न थाल्छु । म अब के गरूँ यो जागिरले मलाई खान मात्र पुग्छ । जीवनमा मैले कसरी प्रगति गर्न सक्छु ? भविष्यको सुनिश्चितता कसरी गर्नु ? एक मनले भन्छ अब जागिर छोडेर विदेश जानु पर्छ, नत्र भने बाँच्न गाह्रो छ ।

अर्को मनले भन्छ, सरकारी जागिर पो हो त विदेश पनि कहाँ सजिलो होला र ? जति छ, त्यसमै खुसी हुन सिक्नुपर्छ भनेर चित्त बुझाउन खोज्छु । तर चाडपर्वमा घर जाँदा विदेशबाट साथीहरू आउँछन् । पैसाका गफ लगाउँछन् अनि मेरो समाजले पैसावाला विदेशी साथीहरूसँग दाँजिदिन्छ । फलानाले यति ओटा घडेरी किन्यो रे । यहाँ घर किन्यो रे यी शब्दले मलाई पिरोलिरहन्छ । आज म खुकुरीको धारमा हिँडिरहेको छु । अब म गाउँ समाजकै बिचराको पात्र भएर देशलाई सेवा गरौँ या सरकारी जागिर छोडेर विदेश लागौँ ? म कुनै निर्णय लिन सकिरहेको छैन, दोधारमा छु । सरकारी जागिरे हुँदैनथेँ भने उहिल्यै नै विदेश पलायन हुने थिएँ । आज मलाई सरकारी जागिर निल्नु न ओकल्नु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव पन्थी
केशव पन्थी
लेखकबाट थप