शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रंगमञ्च

‘ट्रान्जिट’ : एक निर्देशकको एक मायावी अभिनेत्रीसँगको प्रेम

शनिबार, ०६ साउन २०८०, १४ : ०१
शनिबार, ०६ साउन २०८०

मञ्चको पल्लो कुनामा पर्दाभित्र स्त्री पात्र चलमलाउँछिन्, जसलाई दर्शकले छायाको रूपमा देख्न सक्छन्, यही छायापात्र मञ्चमा अर्थात् नाटक निर्देशक मानव शास्त्रीको मानसपटलमा उत्रिएपछि नाटक ‘ट्रान्जिट’को कथा अगाडि बढ्छ । 

कुमार नगरकोटीकृत र घिमिरे युवराज निर्देशित नाटक ‘ट्रान्जिट’ले नाटक निर्देशक मानव शास्त्रीको मनोदशा र कथा भन्छ, जसको अवचेतन मनमा एउटी मायावी (छायापात्र)ले घर गरेकी छे । अर्थात् यो नाटक ‘सर्रियालिजम्’ (अतियथार्थवाद)मा आधारित छ । अझ स्पष्ट भनौँ, निर्देशक मानव कल्पनाको संसारमा बाँच्छ, उसले भ्रम र यथार्थ छुट्ट्याउन सक्दैन ।  

काल पर्यटकको रूपमा भ्रमण गर्दै २००७ सालमा पुगेको अनुभव छ मायावीसँग । उसलाई २१७५ सालमा पुग्नु छ । उसको यात्राको ‘ट्रान्जिट’ निर्देशक मानवको समय (जीवन)मा परेको कथा यस नाटकमा आएको छ । 

निर्देशक मानव आफ्नो स्टुडियो, बेडरुम, ड्रेसिङ–रुम, कफीघाट र किचन रुममा सीमित छ तर उसको अवचेतन मनमा उसले कुनै बेला निर्देशन गरेको नाटक ‘लिपस्टिक, सिगरेट अनि एकान्त’मा खेल्ने स्त्री पात्र छन् । अर्थात् नाटक ‘ट्रान्जिट’को कथामा अर्को नाटकको कथा घुसेको छ । 

362534124_807229417603964_6372161278860844678_n

‘ट्रान्जिट’को कथाले भ्रम सिर्जना गर्छ — एकातिर निर्देशक मानवको नजरमा तीनवटी अभिनेत्रीको मृत्यु भएको छ, अर्कोतिर तीनवटी अभिनेत्रीले आफ्नो प्रेमीलाई हत्या गरेका छन् । यो हत्या एउटै व्यक्ति अर्थात् निर्देशक मानवको हो ? यो भने नाटकले स्पष्ट भन्दैन । यद्यपि यहाँनेर नाटकले प्रेमिल सम्बन्धको आयाम खोतलेको वा भनौँ स्त्रीबाट पुरुष पीडित रहेको आभास हुन्छ । कताकता नाटकको हेतु यही जस्तो लाग्छ ।

नाटकले दुईवटा समयको प्रतिनिधित्व गर्छ — १) वास्तविक समय, जसलाई मानिसले घडी र पात्रोमा तोक्छन् वा ऐतिहासिक कालखण्डका रूपमा पढ्छन् । २) मनोवैज्ञानिक समय, जो कुनै मानिसको स्मृति वा मानसपटलमा चलेको हुन्छ । 

नाटकको कथालाई सहज बनाउन निर्देशकले केही प्रतीकको प्रयोग गरेका छन् । नाटकमा समय चक्रलाई संकेत गर्न प्रतीकका रूपमा तीनवटा घुम्ने चक्र राखिएको छ । जसलाई पात्रले घरी हातले घुमाउँछन्, घरी त्यसमाथि बसेर आफैँ घुम्छन् । मोहको बन्धन वा प्रेममा परेको देखाउन पात्रको हातमा हतकडी समेत लगाइएको छ । एउटा निर्देशकको विक्षिप्त मनोदशा दर्शाउन विभिन्न रङका लाइटलाई पर्दामा पारेर अमूर्त चित्रकलाको आभास दिइएको छ । 

नाटकमा अमूर्त चित्रकलाको आभास दिने गरी जसरी लाइट र पर्दाको प्रयोग गरिएको छ, यो हेर्नका लागि मात्रै पनि निकै सुन्दर देखिएको छ । खासगरी अमूर्त कलाको निर्माण चित्रकारले आफ्नो चेतन र अवचेतन मनको गहिराइमा उडान भर्नका लागि गरेको बुझिन्छ । 

362693201_1381793145708617_26443918684212850_n

नाटकको अन्त्यतिर तीन प्रेमिका कठघरामा उभिएर आफ्नो प्रेमीको हत्या गरेको कन्फेसन (स्वीकारोक्ति) गर्छन् । नाटक हेर्दा ‘पोडियम’ (वक्ता उभिने ठाउँ) जस्तो देखिने कालो आकृतिको सेटअगाडि उभिएर उनीहरूले स्वीकारोक्ति गरिरहेको देखिन्थ्यो । यो प्रतीकलाई मैले बुझिनँ र निर्देशक घिमिरेलाई सोधेँ । उनले भने, ‘त्यो त कठघरा हो, पोडियम होइन ।’ 

‘कठघरा त फलामको डन्डीहरूले बनेजस्तो देखिनुपर्ने होइन र ?’

‘हो है,’ शुक्रबार (साउन ५) दिउँसो १ बजे शिल्पी थियटरमा समय दिएका निर्देशक घिमिरेले टाउको हल्लाए । रिहर्सलकै बेला उनले बताउनुअघि नै अभिनेत्रीहरूले यो सेटलाई कठघरा भनेर बुझेका रहेछन् । त्यसैले यो सेट ठीक छ भन्ने उनलाई लागेछ । खैर, कन्फेसनपछि तीन अभिनेत्रीले यस कठघरामाथि हातको पन्जा हल्लाएका हुन्छन् । यो विम्बलाई मैले बुझिनँ र निर्देशक घिमिरेलाई सोधेँ । ‘कन्फेसन गरिरहँदा उनीहरू रियालिटीमा थिए, जब उनीहरू पुनः काल्पनिक दुनियाँमा फर्कन्छन्,’ निर्देशक घिमिरे भन्छन्, ‘त्यही बेला मानवले मायावी मलाई छाडेर नजाऊ भन्छ । त्यो काल्पनिक दुनियाँलाई स्थापित गर्न वा ती मायावीको अस्तित्व ल्याउन त्यहाँ तीनवटा हात हल्याउने दृश्य राखेको हुँ ।’ 

नाटकका दृश्यविधान कस्तो हुने भन्ने तोकिएको नियम हुँदैन, यसमा निर्देशक वा टिमको परिकल्पना प्रमुख रहन्छ । धेरै अघिदेखि नै नाटक अनुकरण (नक्कल)को प्रयोगबाट दृश्यको आभास गराइँदै आएको देखिन्छ । जस्तो ः नाटकमा खानका लागि भोजन नै चाहिँदैन, खाएझैँ गर्न सकिन्छ । घोडा नै चढ्नुपर्दैन, मान्छे पात्रबाटै घोडा चढेको झल्काउन सकिन्छ । नाटकको जीवन्तता नक्कलमै छ । यस नाटकमा पात्रले कथा भन्दै गर्दा शरीरको हाउभाउमा परिवर्तन ल्याएका हुन्छन् । यस्ता भावभंगी मनोविज्ञान वा शरीरको भाषामा आधारित कति हदसम्म हुने भन्ने अर्को प्रश्न छँदै छ । जस्तो ः एउटा खुट्टामाथि अर्को खुट्टा खप्ट्याएर बसेको व्यक्तिको मनोविज्ञान के हो भन्ने बुझेरै त्यस्ता दृश्य राखिनुपर्छ । यसबारे हामीकहाँ मिहीन रूपमा बहस कमै भएको पाइन्छ । 

यस नाटकमा, हत्यारा प्रेमिकाको कठोरता दर्शाउन तीनवटा ढुंगा आकारका प्रतीकलाई ल्याइएको रहेछ । मैले नाटक हेर्दै गर्दा यो ढुंगाको प्रतीक भने बुझेको थिइनँ, निर्देशक घिमिरेले भनेपछि मात्रै बुझेँ । 

362641536_1006270704159212_3657273399112784284_n

नगरकोटीका प्रायः आख्यानमा खासगरी ‘इन्टेरिअर मोनोलग’ (एकालाप), सर्रियलिजम्, अब्सर्डिटी (असंगति) बढी हाबी भएको आभास हुन्छ । यस नाटकमा घरीघरी सर्रियलिजमदेखि वर्तमानको यथार्थसम्मका घटना आएका छन् । भन्नैपर्दैन, यस नाटकका पात्र, स्थान र समय सबै नाटककार नगरकोटीको कल्पना वा पराकल्पना हुन्, तर यही भन्न निर्देशक घिमिरे मञ्चमा उत्रेका छन् । नाटकको ‘फोर्थ वाल’ भत्काउन उनले दर्शकलाई सम्बोधन समेत गर्छन् र भन्छन् — नाटकको तथाकथित मान्यता भत्काउनुपर्छ । यहाँनेर, यो संवाद चलिरहँदा पर्दा (पारदर्शी पर्दा) बन्द गरिएको छ । 

यो नाटक दर्शकले बुझ्दैनन् कि भन्ने सन्देह मेटाउन नाटकमा उनको संवाद छ, ‘अचेलका दर्शक ‘लिटरेट’ (साक्षर) भइसके ।’ 

नाटक ‘ट्रान्जिट’ बुक हिल पब्लिकेसनबाट पुस्तकाकारमा आउँदै छ । त्यसपछि थाहा हुनेछ, नगरकोटीले कस्तो नाटक लेखेका छन् र घिमिरेले त्यसलाई कसरी प्रस्तुत गरे भन्ने । 

अहिले मञ्चित नाटकको प्रस्तुति सुन्दर छ । नाटकमा अभिनेता–अभिनेत्रीको अभिनय सानदार छ । खासगरी प्रमुख पात्र मानवको भूमिका निभाउने दिव्य देवको अभिनय र संवाद भन्ने शैलीले सम्मोहित गर्छ । अभिनेत्रीहरुको पनि आंगिक र वाचिक अभिनय सशक्त छ । कतैकतै अभिनेता–अभिनेत्रीले छिटो–छिटो संवाद बोलेजस्तो आभास हुन्छ । संवादप्रधान नाटक भएकाले नाटकको समय छोट्ट्याउनका लागि उनीहरूलाई छिटो बोल्नुपर्ने बाध्यता भएको बुझिन्छ । बढीभन्दा बढी समय अभिनेता–अभिनेत्री नाटकमा संवाद बोल्नकै लागि उपस्थित भएका हुन्छन् । घरीघरी त लाग्छ, अभिनेता–अभिनेत्री कथा भन्नकै लागि यति हतारमा किन छन् ? तर यस प्रश्नलाई रोक्ने गरी अभिनेता–अभिनेत्रीहरू ऊर्जावान् ढंगले प्रस्तुत भएका छन् । काल्पनिक दुनियाँको कथा भएकाले कथामा उतारचढाव र रहस्य छ, तर संवादमार्फत नै रहस्योद्घाटन हुँदै जान्छन् । नाटक हेरिरहँदा यस्तो अभाव महसुस हुन्छ — पात्रसँग जोडिएको कुनै अद्भुत घटना अद्भुत ढंगले नै नाटकमा घट्दैन, जसले रहस्यको सिर्जना वा रहस्योद्घाटन गरोस् । 

यद्यपि नाटकको नाभी भनेकै कथावस्तु हो, नाटकको समीक्षामा कथासारलाई नै केन्द्रमा राखिनुपर्छ । नगरकोटीको आख्यानको डुंगा कतै शून्यवादको सागरमा तैरन्छ, कतै सर्रियलिजम्को आकाशमा उडान भर्छ । उनी विरोधाभासपूर्ण वाक्यमा हराउन रुचाउँछन् — प्रेमको जन्जिरबाट मुक्त हुने उपाय भनेकै आत्मशुद्धीकरण हो । यस वाक्यमा प्रश्न उठ्छ, कस्तो प्रेम ? संसारका मानिसलाई जोड्ने र अस्तित्वबोध गराउने प्रेम हो भने त्यो कसरी जन्जिर भयो ? यस्तो प्रेम आत्मशुद्धिपछि नै उत्पन्न हुनुपर्ने हो, होइन र ! नत्र आत्मशुद्धि केका लागि ? आत्मशुद्धि भनेको के ? 

नाटकमा निरर्थक लाग्ने अर्को संवाद छ — जो मुग्ध भयो, सम्झनुस् त्यो मुक्त भयो । 

362667072_1000979291250736_5318514931017064742_n

यो वाक्य शब्दार्थको कसीमा तृटिपूर्ण छ । मुग्धको अर्थ हुन्छ — मोहमा परेको, होसहवास उडेको । मुक्तको अर्थ हुन्छ, स्वतन्त्र गरिएको वा बन्धनमा नपारिएको । अनि, मुग्ध मान्छे वा मोहमा परेको मान्छेलाई मुक्त मान्न कसरी मिल्यो ?  

अर्को संवाद छ — मलाई एकान्तमा एकान्तसित एकान्तकै बात गर्न मन लाग्छ । मलाई मौनतामा मौनतासित मौनताकै गीत गुनगुनाउन मन लाग्छ । 

यस्ता बौद्धिक विलासपूर्ण वाक्यको प्रयोजन वा हेतु के ? सुन्दा मजा लाग्छ, तर यसले व्यक्तिलाई समाजदेखि, व्यक्ति–व्यक्तिबीचको सम्बन्धदेखि एक्ल्याउँछ, उसलाई कतै पु¥याउँदैन । अर्कोतिर, यही नै यसको हेतु भन्न सकिएला । पुनः प्रश्न उठछ, यस्तो हेतु किन ? 

खैर, नगरकोटीको साहित्यमा केही शब्दशक्ति आउँछन् । उनी अभिधा, व्यञ्जना र लक्षणामा पनि वाक्य खेलाउँछन् । जस्तो ः संसारमा सबैभन्दा बढी दुर्घटना बेडरुममा हुन्छन् । 

समग्रमा नाटक ‘ट्रान्जिट’को प्रस्तुति सुन्दर छ । रंगमञ्चमा कथा कसरी पस्कने ? यो महत्त्वपूर्ण प्रश्न हो । यस प्रश्नमा ‘ट्रान्जिट’ले स्पष्ट जवाफ दिएको छ कि कथा यसरी पनि भन्न सकिन्छ । 

यस नाटकमा प्रयोग भएको म्युजिक र ध्वनि सुन्दा आनन्द लाग्छ । हामीकहाँ नाटकको समीक्षा गर्दा लाइट, म्युजिक र ध्वनिको चर्चा कम गरिन्छ भन्ने रंगकर्मीको गुनासो रहँदै आएको छ । कुन मनस्थितिमा कस्तो रङ, ध्वनि वा संगीतको प्रयोग गर्ने भन्ने व्याकरण छ । मेरो हकमा, खासगरी के–कस्तो संगीत वा साउन्ड इफेक्टले पात्रको कुन मनोभावलाई संंकेत गर्छ भन्ने मैले गहिरो गरी बुझेको छैन र यसबारे लेख्ने हिम्मत गरेको छैन । देशमा मञ्चन भइरहेका नाटक हेर्दाहेर्दा केही बुझेर वा केही पुस्तक पढेको भरमा कहिलेकाहीँ नाटकको समीक्षा लेखिटोपलेको हुँ । 

यस नाटकमा ‘भ्वाइस ओभर’को समेत प्रयोग भएको छ । खासगरी मानव शास्त्रीको नाम उच्चारण गर्न प्रयोग गरिएको ‘भ्वाइस ओभर’ले दर्शकलाई अर्को मानसिक संसारमा पु¥याउन खोजेको आभास हुन्छ ।

हामीकहाँ नाटक र फिल्ममा म्युजिक, साउन्ड डिजाइन र कलरको प्रयोग गर्नेहरूसँग कला लेखक तथा पत्रकारको बेलाबेला अन्तक्र्रिया हुन र लेखक–पत्रकारले यसबारे खास अध्ययन गर्न आवश्यक छ । 

मञ्चमा 

दिव्य देव, शिल्पा मास्के, आकांक्षा कार्की, बासना तिमिल्सिेना, मिल्सन राई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप