बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
धरान उपमहानगरपालिका

विवादित जग्गामा बिरुवा रोप्दा हर्क साम्पाङ विवादमा

शनिबार, ०६ साउन २०८०, २० : ५४
शनिबार, ०६ साउन २०८०

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ शनिबार बिहानै धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगे । सयौँ समर्थकलाई लिएर त्यहाँ पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने निजी व्यक्तिको थियो । यद्यपि उक्त जग्गा विवादरहित भने थिएन । जग्गा धनी रोशन अधिकारीको परिवारले साम्पाङलाई त्यहाँ बिरुवा नरोप्न र रोपे फाल्दिने चेतावनी दियो । त्यसपछि त्यहाँ निक्कै बेर हल्लाखल्ला र विवाद भयो । 

विवादबीच बिरुवा रोपेर धरान फर्किएका प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा त्यही घटनालाई इङ्गित गर्दै स्ट्याटस लेखेका छन् र उनले भनेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक थरिको मुद्दा लाग्नेछ र पूरै पब्लिक उठाएर माफियाहरू विरुद्ध जाइलाग्नेछौँ ! चुपो लागेर बस है ।’ उनले दिएको यो चेतावनीपूर्ण भाषा उनै जग्गा धनी रोशन अधिकारीलाई लक्षित थियो । 

रोशन अधिकारी धरानकै स्थायी बासिन्दा हुन् । अघिल्लो कार्यकालमा धरान १ बाट उनी नेपाली काँग्रेसको उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए । आफू वडाध्यक्ष हुनुभन्दा निक्कै अगाडि उनले जग्गा खरिद गरेर उक्त जग्गाबाटै धरान स्काई एड्भेन्चर प्रा.लि.कम्पनी खोलेर प्याराग्लाइडिङ उडाइरहेका छन् । 

‘हामीले विगत ९ वर्षदेखि निजी कम्पनी सञ्चालन गर्दै आएका छौँ । पर्यटन मन्त्रालय, नगरपालिका, घरेलु कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायत सबैसँग हामीले दर्ता गराएका छौँ । भर्खरै मात्रै उड्डयन प्राधिकरणलाई लगभग ३ लाख रुपैयाँ तिरेर इजाजत लिएका छौँ,’ उनले भने, ‘प्याराग्लाइडिङ उडाउनका लागि हामीले सबै कागजात चुस्त राखेका छौँ ।’

WhatsApp Image 2023-07-22 at 19.48.42

२० औँ पटक किनबेच भएपछि आफूले उक्त जग्गा श्रीमती र भाउजूको नाममा खरिद गरेको बताए । ‘त्यो जग्गा पहिले जलाधार क्षेत्र भनेर राजा महेन्द्रको पालामा सट्टाभर्ना गर्ने भनिएको थियो । तर जग्गाका लगत कट्टा भएन र जग्गा विक्री हुँदाहुँदै २० औँ पटकमा मेरो नाममा आएको हो,’ उनले सुनाए, ‘आज भन्दा ६/७ वर्ष अगाडि मलाई पनि जग्गा चाहिरहेको थियो । अरू सबैले किनेपछि मैले पनि किनेँ । मैले त्यतिखेर ८ लाख रुपैयाँ कट्ठाको दरले मैले चार कट्ठा र मेरो दाइ राजु अधिकारीले २ कट्ठा जग्गा किनेका छौँ । उक्त जग्गा उनकी श्रीमती रोजिना अधिकारीको नाममा ४ कट्ठा र भाउजू मथुरा अधिकारीको नाममा २ कट्ठा जग्गा छ ।’ उनले हेमचन्द्र घिमिरेको श्रीमतीको नाममा रहेको जग्गा खरिद गरेका हुन् । उनले आफूले जग्गा खरिद गर्ने बेलामा पनि जग्गा विवादित हो भन्ने थाहा पाएको सुनाए । ‘राजा महेन्द्रले सट्टाभर्ना लिएर मोरङमा कहाँ जग्गा दिएको थियो रे ? सरकारले नै लगत कट्टा नगरेको कारण मानिसहरूले किन्दै बेच्दै गरिरहेका थिए । मलाई के थाहा ? मलाई जग्गा चाहिएको थियो । मैले किनेर कम्पनी चलाएको हो,’ उनले सुनाए । 

आफूसँग जग्गाको धनी पूर्जादेखि सबै प्रमाण रहेको उनको दाबी छ । ‘धनी पूर्जा पनि छ । ३/४ वर्ष अगाडि यहाँको धेरै जग्गाको विषयमा मुद्दा परेको छ र अहिले पनि चलिरहेको छ । त्यहाँ अदालतले खरिद विक्रीमा रोक लगाए पनि भोगचलन गर्न रोक लगाएको छैन,’ अधिकारीले भने । 

उनले नगरप्रमुख साम्पाङले अदालत जानु भन्दै बिरुवा रोपेर गएको बताए । ‘म किन जानु अदालत ? अदालतमा मुद्दा अलरेडी चलिरहेको छ । उहाँका सेनामेना आए र मेरो श्रीमतीमाथि आक्रमण पनि गरे । मेरो श्रीमतीलाई हातपात गर्ने विरुद्ध म मुद्दा हाल्छु । बिहान पत्रकार सम्मेलन पनि गर्छु,’ उनले भने, ‘यो घटनाले साहसिक पर्यटन क्षेत्रलाई असर पुर्‍याउने कदम हो ।’

उनले कम्पनीका पार्टनर भूपाल चाम्लिङ सहित चार जना मिलेर प्याराग्लाइडिङ उडाइरहेका छन् । साम्पाङले रोपेर गएको बिरुवा आफूले नउखाल्ने तर हुर्कन भने नसक्ने उनले बताए । ‘म बिरुवा उखाल्दिन । तर, त्यो बिरुवा आफैँ उखालिन्छ । किनकि यहाँ प्याराग्लाइडिङ गर्दा मान्छे आउँछन् जान्छन् त्यो बिरुवा हुर्किँदैन,’ साम्पाङले घरमा डोजर लगाउने चेतावनी दिएको विषयमा प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँको पनि कति पावर रहेछ हेरौँला न त । हामी पनि धरानमा जन्मेका हुर्केका मान्छे हौँ । पावर देखाउने नै हो भने हामी पनि देखाउँला नि त ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप