बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

भोकमरीमात्र झेल्दैन, कर्णालीले खाद्यान्न बेच्छ पनि !

एक वर्षमा १७ करोड ७० लाख रुपैयाँभन्दा बढीको खाद्यान्न निर्यात
आइतबार, १४ साउन २०८०, १८ : ५७
आइतबार, १४ साउन २०८०

सुर्खेत । कर्णालीका विभिन्न जिल्ला सरकारी कोटामा आउने खाद्यान्नमा निर्भर छन् तर त्यही कर्णालीले एक वर्षमा १७ करोड ७० लाख रुपैयाँभन्दा बढीको खाद्यान्न निर्यातसमेत गरेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

अघिल्लो आर्थिक वर्ष कर्णालीले १ अर्ब ७८ करोड २१ लाख २५ हजारको विभिन्न खाद्य तथा कृषि बस्तु निर्यात गरेको छ, जसमा १७ करोड ७० लाख ३५ हजारको खाद्यान्न रहेको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ ।

स्थानीय स्तरमा उत्पादित खाद्यबस्तुको उपभोग गर्न नसक्दा कर्णालीले भोकमरी झेल्नु परेको सरकारी अधिकारी बताउँछन् । ‘खाद्यान्न भन्ने बित्तिकै चामलमात्रै सबैथोक हो भन्ने गरिएको छ तर, त्यसो होइन,’ कर्णालीका कृषि मन्त्री भीम प्रकाश शर्मा भन्छन्, ‘स्थानीय उत्पादनलाई विभिन्न परिकार बनाएर खाने बानीको विकास गर्ने हो भने कर्णालीलाई आफ्नै उत्पादन पर्याप्त हुन्छ ।’

विशेष गरी कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा खाद्यान्न अभाव हुने गरेको छ । तर, यिनै जिल्लामा उत्पादन हुने खाद्यान्न देशका ठुला सहरमा निर्यात हुने गरेको छ । मन्त्रालयका अनुसार कर्णालीबाट आर्थिक वर्ष २०७९/०८० मा मकै, मार्सी धान, मास, कोदो, चिनो, कागुनो, फापर लगायतका खाद्यान्न २ हजार ८२३ मेट्रिक टन निर्यात भएको छ ।

मार्सी धानका लागि जुम्ला प्रख्यात छ । यस्तै चिनो, कागुनो र फापर लगायतका रैथाने खाद्यबस्तुका लागि हिमाली तथा भित्री मधेसका जिल्ला प्रख्यात छन् । जुम्लाको मार्सी चामल अमेरिकासम्म पुग्ने गरेको छ । यद्यपि, जुम्लालाई भने खाद्यान्नकै पिरलो हुने गरेको छ ।

जुम्लामा वार्षिक ७ हजार ३० मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको मन्त्रालयको भनाइ छ । हुम्ला, डोल्पामा लगायतमा उत्पादित चिनो, कागुनो, फापर विश्व बजारसम्म पुग्ने गरे पनि यी जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । डोल्पामा दुई हजार ७८७, जुम्लामा सात हजार ३०, हुम्लामा आठ हजार २७३ र मुगुमा पाँच हजार ४४४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै कर्णालीले वार्षिक करोडौँको तरकारीदेखि तरकारीको बिउसमेत निर्यात गर्छ । गत आर्थिक वर्ष कर्णालीले ७४ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १३४ मेट्रिक टन तरकारी निर्यात गरेको मन्त्रालयको तथ्याङ्क छ ।

यस्नै १८३ मेट्रिकटन विभिन्न बालीका बिउ बेचेर कर्णालीले ९ करोड ४७ लाखभन्दा बढी रकम भित्र्याएको छ । मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेका अनुसार गत आर्थिक वर्ष कर्णालीबाट ३३ करोड १५ लाख ४० हजार रुपैयाँको सुन्तला र ७ करोड १० लाख ६० हजार रुपैयाँको स्याउ निर्यात भएको छ । कर्णालीबाट ५ हजार ७२८ मेट्रिकटन सुन्तला र १ हजार १८१ मेट्रिकटन स्याउ गत आर्थिक वर्ष निर्यात भएको हो ।

यस्तै गत आर्थिक वर्ष कर्णालीबाट १८ करोड ७५ लाख ६२ हजार रुपैयाँको ६ हजार ५८७ मेट्रिकटन अदुवा निर्यात भएको छ । विशेषगरी सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम लगायतका जिल्ला अदुवा तथा बेसारका लागि प्रख्यात छन् । एक वर्षको अवधिमा कर्णालीबाट ३ करोड ३५ लाखभन्दा बढीको बेसार निर्यात भएको छ ।

गत आर्थिक वर्ष १४४ मेट्रिकटन त सिमी निर्यात भएको मन्त्रालयले जनाएको छ । विशेषगरी जुम्लाको सिमी निकै प्रख्यात छ । सिमीबाट २ करोड २९ लाख २५ हजार रुपैयाँ गत आर्थिक वर्ष कर्णालीमा भित्रिएको छ ।

यस्तै, गत वर्ष ८७ लाख ६४ हजार रुपैयाँको मह, १५ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको १३ हजार २५४ मेट्रिक टन आलु निर्यात भएको छ ।

कर्णालीबाट निर्यात हुने खाद्य तथा कृषि बस्तुहरुको मुख्य बजार नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, धनगढी, पोखरा, विरगञ्ज लगायतका सहर हुन् । यद्यपि कर्णालीले अझै रैथाने उत्पादनको मूल्य र आवाश्यक बजार नपाएको कृषि विज्ञहरुको बुझाइ छ ।

अब कर्णालीमा उत्पादित बस्तुमा आफ्नै लोगो

प्रदेश सरकारले कर्णालीमा उत्पादन हुने कृषि बस्तुमा अब आफ्नै लोगो अंकित गर्ने भएको छ । कर्णालीमा उत्पादन भएका कृषि बस्तु बजारमा जाँदा लोगोसहित जाने छ । कृषि मन्त्रालयले तयार गरेको उक्त लोगो मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार सार्वजनिक गरेका छन् । कर्णालीमा पनि बहुमूल्य कृषिजन्य बस्तु उत्पादन हुन्छन् भन्ने सन्देश दिन लोगोको व्यवस्था गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप