बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आदि शङ्कराचार्य र उनको योगदान

आइतबार, २१ साउन २०८०, १२ : ०९
आइतबार, २१ साउन २०८०

भारतको केरलस्थित कलाडीमा नम्बुदरी ब्राह्मण परिवारमा जन्मेका शङ्करका पिताको नाम शिवगुरु र आमाको नाम आर्याम्बा थियो । उनीहरू शैव धर्मावलम्बी थिए । वेदज्ञ परिवारमा जन्मेका शङ्करले कलिलै उमेरमा वेदाध्ययन सम्पन्न गरे । उनी बेजोड प्रतिभाशाली थिए ।

व्यापक ज्ञान साधनाका लागि आठ वर्षको उमेरमै उनी त्यति बेलाका चर्चित विद्वान् योगी गोविन्द भगवत्पादका आश्रममा पुगे । नर्मदा नदीका किनारमा रहेको एउटा गुफामा गोविन्द भगवत्पादको आश्रम थियो । उनी विख्यात वेदान्तवेत्ता गुरु गौडपादका शिष्य थिए । गौडपादले महाभाष्यकार योगऋषि पतञ्जलिबाट व्याकरण सिकेका थिए । भनिन्छ, उनका वेदान्त गुरु स्वयम् शुकदेव थिए । गोविन्द भगवत्पादले महान् गुरुपरम्पराबाट पाएको ज्ञानको भकारी सुयोग्य शिष्य शङ्करलाई प्रदान गरेका थिए ।

गुरु गोविन्द भगवत्पादबाट वेद, वेदान्त, ब्रह्मसूत्रका साथै महागुरु गौडपाद निर्मित गौडपादीय कारिका लगायत ग्रन्थको विशद अध्ययनपछि शङ्करको बोध–बोधन यात्रा सुरु भयो । प्रथमतः उनी काशी पुगे । 

काशीमा सनन्दन नामका एक किशोर ब्रह्मचारीलाई संन्यास दीक्षा दिए । दीक्षापछि सनन्दनको नयाँ नाम पद्मपादाचार्य भयो । काशीमा रहँदा एक दिन विश्वनाथ मन्दिरनजिकै बाटोमा एक चाण्डालसँग भेट भयो । चाण्डाललाई बाटोबाट हट् भन्दा डटेर उभिँदै उसले संस्कृत भाषामै शङ्करसमक्ष एउटा प्रश्न राख्यो । 

अन्नमयात् अन्नमयं अथवा चैतन्यमेव चैतन्यात् ।

द्विजवर दूरीकर्तुं वाञ्चसि किं ब्रूहि गच्छ गच्छेति ?

अर्थात् हे द्विजवर ! तिमी एक अन्नमय शरीरबाट अर्को अन्नमय शरीरलाई, एक चैतन्यमय शरीरबाट अर्को चैतन्यमय शरीलाई हट् भनेर टाढा पन्छाउन किन चाहन्छौ ? तिम्रो अद्वैत दर्शनसँग यो व्यवहार मिल्छ र ?

यस भनाइले शंङ्कर झल्याँस्स भए । धेरै नै लज्जित भए । तत्काल झुकेर चाण्डालसँग क्षमा मागे । यस घटनालाई शंकरले जीवनमा कुनै बृहत् कार्य सम्पादनका लागि ईश्वरीय प्रेरणाका रूपमा लिए ।

शङ्कर केही समय वाराणसी बसे । त्यहाँका उद्भट विद्वान्सँग उनको विचार विनिमय तथा शास्त्रार्थहरू भए । थोरै दिनमा बेजोड विद्वान्का रूपमा शंकरको ख्याति बढ्दै गयो । काशीमा रहँदा शंकरले इशावास्य, केन, कठ, वृहदारण्यक लगायत मुख्य उपनिषद्मा भाष्य लेखे । यसैगरी शंकरले महाभारत उद्योग पर्वमा रहेको श्रीमद्भगवद् गीतामा पनि भाष्य लेखे । विद्वान्हरू शंकरलाई नै श्रीमद्भगवद्गीताको उद्बोधक र प्रथम भाष्यकार पनि मान्छन् । भनिन्छ, यसअघि गीता छुट्टै पुस्तकका रूपमा जनतामा उपलब्ध थिएन । शङ्करका यिनै प्रयासबाट वैदिक सनातन धर्मले भारतीय उपमहाद्वीपमा नयाँ ऊर्जा पायो । आज विश्वमा गीताको जुन प्रतिष्ठा छ, यसका फेदमा शंकरका भाष्यको महत्त्वपूर्ण योगदान छ । 

वाराणसीबाट शङ्कर बदरी पुगे । बदरीमा उनी लामै समय रहे । त्यहाँ रहँदा उनले ब्रह्मसूत्रमा भाष्य लेखे । त्यसपछि शङ्कर पुनः वाराणसी गए । त्यहाँ रहेर उनले सनतसुजातीय, नृसिंहतापनी, विष्णुसहस्रनाम आदि पुस्तकहरूमा भाष्य लेखे । काशीमै रहेका शङ्करशिष्य सनन्दन अति नै जिज्ञासु र प्रतिभाशाली थिए । उनको ज्ञान धेरै नै अगाडि बढेको अवस्था थियो । शङ्कर खुसी भए ।

शङ्कर यतिखेर पाशुपत सम्प्रदायका विद्वान्सँग शास्त्रार्थमा भिडे । पशु र पति अर्थात् जीव र ब्रह्म एउटै सिक्काका दुई पाटा हुन्, एकै हुन् । यिनमा अभेद छ । फरक छैन भन्ने अद्वैत मतमा शङ्कर विजयी भए । यसरी नै उनले चार्वाक् न्याय जैन र बौद्ध दर्शनका विद्वान्सँग पनि शास्त्रार्थ गरेर आफ्नो अद्वैत दर्शनलाई अगाडि बढाए । यसैताका एकजना वृद्ध ब्राह्मणसँग भेट भयो । ब्राह्मण असाधारण प्रतिभाशाली विद्वान् थिए । वृद्धले शङ्करको ब्रह्मसूत्रमाथिको भाष्यमा विभिन्न प्रश्न उठाए । आठ दिनसम्म गम्भीर शास्त्रार्थ भयो । शंकरको अद्वैतसम्बन्धी ज्ञान गहनताबाट वृद्ध ब्राह्मण धेरै प्रभावित भए । छलफलकै क्रममा शङ्करसँगै रहेका शिष्य पद्मपादले यी वृद्ध स्वयं वादरायण व्यास हुनुपर्छ भन्ने अड्कल काटेका थिए । ब्रह्मसूत्रमाथिको भाष्य सर्वश्रेष्ठ छ भन्दै वृद्धले शङ्करलाई अझै शास्त्रार्थ अभियानलाई अगाडि बढाउने र व्यापक विजय प्राप्त गर्ने जिम्मेवारी दिए । 

वृद्ध ब्राह्मणकै निर्देशानुसार विभिन्न विख्यात विद्वान्सँग शास्त्रार्थ गर्ने मनसायले शङ्कर प्रयागतिर लागे । त्यहाँ कुमारिल भट्टसँग उनको भेट भयो । संयोगवश त्यतिखेर भट्ट आत्मदाहको निर्णय लिएर चितामाथि चढिसकेका थिए । आत्मदाहको अठोट बदल्न, उनको पुस्तकमा वार्तिक लेखिदिन र अभियानमा साथ दिन शङ्करले पटकपटक अनुरोध गरे । कुमारिलले भने, ‘मैले गुरुको अपमान गर्न हुन्थेन, गरेँ । प्रायश्चितको निर्णय म बदल्न सक्दिनँ । तिमी आफ्ना कार्यसिद्धिका लागि मिथिलामा मण्डन मिश्रसँग भेट ।’

शङ्कर मण्डन मिश्रकहाँ पुगे । महिनौँसम्म लगातार रूपमा मण्डनकै घर–आँगनमा मण्डन र भारती मिश्रसँग शास्त्रार्थ भयो । अन्तमा यी दुई पनि शङ्करसँग सहमत भए । संन्यास ग्रहणपछि शंकरले मण्डनलाई सुरेश्वराचार्य नाम दिए । 

यहाँनेर शङ्करको एक कापालिकसँग भेट भएको, कापालिकले शङ्करलाई भगवती मन्दिरमा वलि चढाउन खोजेको र सिंहकोे आक्रमणमा परेर स्वयं कापालिकको मृत्यु भएको प्रसङ्ग पनि उल्लेखनीय मानिन्छ । 

शङ्कर दार्शनिक विजय यात्रामै थिए । भारत वर्षका विख्यात विद्वान् भेट्ने, शास्त्रार्थ गर्ने, तिनलाई आफ्नो मतमा सहमत गराउने अभियानमा अघि बढेका शङ्करका अगाडि एकपटक एक ब्राह्मणले एक बालक छोरालाई लिएर आए । बालकको नाम हस्तामलक थियो । बालक हस्तामलकको अभिरुचि र अभिव्यक्तिबाट शङ्कर प्रभावित भए र यी बालकलाई आफ्नो तेस्रो शिष्य बनाए । शङ्करका चौथो शिष्य तोटकाचार्य थिए । उनले ‘तोटकााष्टकम्’ लेखेको पाइन्छ । 

भ्रमणका क्रममा शंकर श्रृङ्गेरी पुगे । उनका खास शिष्यहरू पनि उनका साथमा थिए । ठीक यसै समय शङ्करका मनमा आफ्नी आमाका मृत्युको पूर्वाभास आयो । उनी हतार हतार कलाडीतिर प्रस्थान गरे । कलाडी पुग्दा आमा मृत्युशय्यामा थिइन् । आमाको मृत्युसंस्कार सकेर उनी पुनः शास्त्रार्थ यात्रामा फर्के ।

शङ्करले आफ्ना ३२ वर्षे जीवनकालमा भारतवर्षका विभिन्न राज्यमा पुगेर अनेकौँ विद्वान्सँग शास्त्रार्थ गरे । धेरैलाई आफ्नो मतमा सहमत पनि गराए । जीवनको पछिल्लो कालखण्डमा उनले भारत वर्षका विभिन्न राज्यमा अनेकौँ मठहरू स्थापना गरे । प्रत्येक मठमा एक एक मठाधीश नियुक्त गरे र तिनलाई शङ्कराचार्य नाम दिए । तीमध्ये चार मठहरू आज पनि विख्यात छन् । 

तीमध्ये पहिलो श्रृङ्गेरीको शारदामठ हो । यसको प्राधिकार वेद, यजुर्वेद र महावाक्य अहं ब्रह्मास्मि निर्धारित गरिएको पाइन्छ । संन्यासपछि सुरेश्वरानन्द नाम पाएका मण्डनमिश्र यस मठमा शङ्करद्वारा नियुक्त पहिला मठाधीश थिए । दोस्रो गुजरातको द्वारका पीठ हो । यसको प्राधिकारिक वेद, साम वेद र महावाक्य तत्वमसि निर्धारित गरिएको थियो । यहाँ शङ्करका शिष्य हस्तामलक प्रथम आचार्य नियुक्त भएका थिए । तेस्रो उत्तराखण्डको चमौलीमा रहेको ज्योतिर्मठ पीठ हो । यसको प्राधिकारिक वेद अथर्ववेद र महावाक्य अयमात्मा ब्रह्म निर्धारित गरिएको थियो । यसमा शङ्करशिष्य तोटकाचार्य प्रथम पीठाधीश नियुक्त भएका थिए । पुरीमा रहेको गोवर्धन मठ चौथो होे । यसमा प्राधिकारिक वेद ऋग्वेद र महावाक्य प्रज्ञानम् ब्रह्म निर्धारित गरिएको थियो । यसमा शङ्करशिष्य आचार्य पद्मपाद पीठाधीश नियुक्त भएका थिए ।

शङ्करले विभिन्न ग्रन्थमाथि प्रामाणिक भाष्यका अतिरिक्त विवेकचूडामणि, तत्त्वबोध, शिवानन्द लहरी, सौन्दर्यलहरी, भजगोविन्दम्, लिङ्गाष्टकम्, निर्वाणशतकम्, गुरुपादुका स्तोत्रम् लगायत अनेकौँ अनेक आध्यात्मिक जीवनोपयोगी दार्शनिक, प्रार्थनापरक, एवम् उपदेशपरक कृतिहरू लेखेका थिए । जम्मा ३२ वर्षको जीवनमा शङ्करले यस क्षेत्रमा जे जति योगदान दिए, त्यसलाई इतिहासविद्ले अनुपम भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जैवात्रिक
जैवात्रिक
लेखकबाट थप