बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाढीपहिरोले कहाँ कति क्षति ?

बुधबार, २४ साउन २०८०, १३ : १०
बुधबार, २४ साउन २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा क्षति पुगेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित दुधौरा खोलामा अविरल वर्षाका कारण मंगलबार साँझ आएको बाढीले क्षति पुगेको छ । 

सोही खोलामाथि महादेव खिम्ति हिराचन जेभी कम्पनीद्वारा निर्माणाधीन पक्की पुलमा प्रयोग गर्दै आइरहेका जस्ता, तारजाली, स्टिल फर्मा, स्टेजिङ पाइप लगायतका सामग्रीहरु बगाउँदा करिब २१ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको हो । 

यता सिन्धुलीको कमलामाई नगरपालिका-१ मझिनीदमार बस्ने २८ वर्षीया सम्झना नेपालीको दुई तले कच्ची घर मंगलबार बिहान पहिरोले पुरिँदा अन्नपात, भाँडावर्तन, फर्निचर, लत्ताकपडा गरी करिब ३ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

त्यस्तै काभ्रेको बनेपा नगरपालिका-१४ डिबदोल बस्ने शारदा भारतीको घर मंगलबार दिउँसो पहिरोले पुरिँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बाढी तथा पहिरो गएका स्थानमा तत्कालै नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको प्रहरीको भनाई छ ।  

आगलागीबाट क्षति

मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सुयस प्याकुरेलको एमएम प्लाष्टीक प्याक्ट्रीमा इन्भर्टरको ब्याट्री सर्ट भई गएराति आगलागी हुदाँ ब्याट्री, एसी, इन्भर्टर पूर्णरुपमा र घरको केही भाग जलेर करिब २ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-१४ नारायणचोक बस्ने असरफ अंसारीको नेपाल कपास उद्योगमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा कपास, सिरक, डसना र कपास बनाउन प्रयोग हुने मेसिनसमेत पूर्ण रुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यता काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-४ पासिकोट राष्ट्रियचोकस्थित मिना लामाको खत्री स्टोर किराना पसलमा मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सर-सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ  । 

यसैगरी दार्चुलाको महाकाली नगरपालिका-४ रिङन तालस्थित जमन सिंह धामीको ट्रेडर्स तथा ईलेक्ट्रोनिक पसलमा विद्युत्को तार सर्ट भई मंगलबार राति आगलागी हुँदा ईलेक्ट्रिक सर-सामानहरू जलेर नष्ट भएको  छ । आगलागीबाट भएको क्षतिको विवरण  हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप