गरिबको घरमा चुल्हो बल्न सकस : प्रदेश सांसदहरूले लिए सहुलियतको चुल्हो
विराटनगर । कोशी प्रदेशसभाका ९३ जना सांसदलाई इन्डक्सन चुल्हो वितरण गरेपछि आलोचना सुरु भएको छ । केही सांसदले भने लगेको चुल्हो फिर्ता गरेको जनाएका छन् । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले सांसदलाई चुल्हो वितरण गरेर बल्छीमा माछा पारेको भन्दै टिप्पणी गरेका छन् ।
‘छ्या छ्या छ्या । फट्याङ्ग्रा राखेर थापेको बल्छीमा माछा परेजस्तो । हामीले राजनीति गरेको, नागरिकले हामीलाई जनप्रतिनिधि बनाएर पठाएको खाना पकाउन चुलो किन्न नसकेर वा सकेन भनेर हो ?’ सांसद राईले प्रश्न उठाएका छन्, ‘भ्रष्ट्राचार र कमिसन मिलाई मिलाई खानका लागि हो ? हैन भने एमालेको नेतृत्वमा रहेको तत्कालीन कोशी प्रदेश सरकार सिँचाई, खानेपानी तथा ऊर्जा मन्त्रालयले खरिद गरेको ६१३ थान इन्डक्सन चुलो किन सचिवालयबाट धमाधम सांसदहरूले बुझिरहेका छौँ ?’
प्रदेश सरकारको आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको प्रयोगलाई विस्थापित गरी विद्युतीय चुलोको प्रयोग गर्न प्रोत्साहित गरिने उल्लेख थियो । सोहीअनुसार रातो किताबमा मन्त्रालय÷कार्यालयमा सुधारिएको विद्युतीय चुलो वितरण गर्ने भन्दै १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यसैबीच सिँचाई, खानेपानी तथा ऊर्जा मन्त्रालयले २०७९ असोज २९ गते प्रदेश सरकार मातहतका कार्यालयहरूमा इन्डक्सन चुलो प्रयोग गर्ने भन्दै पहिलो पटक बोलपत्र आह्वान गर्यो । मूल्य अभिवृद्धि करसहित ९६ लाख ५ हजारको बोलपत्र आह्वान गरिएकोमा ‘डबल पोट इन्डक्सन कम इन्फ्रारेड इलेक्ट्रिक स्टोभको खरिद र आपूर्ति’को माग भनिएको छ ।

मन्त्रालयका अनुसार सो बोलपत्रमा तीनवटा कम्पनीले आवेदन दिएका थिए । तर, आवश्यक कागजात र प्राविधिक पक्षमा मापदण्ड नपुगेपछि तीनवटै आवेदन रद्द गरिएको मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीले बताए ।
त्यसपछि दोस्रो पटक २०७९ मङ्सिर ११ गते पुनः टेण्डर आह्वान गरियो । टेण्डरमा इस्पाक्स इन कर्पोरेसन ललितपुरले मात्रै आवेदन दियो र उक्त टेण्डर स्वतः उसैलाई परेको माझी बताउँछन् । उक्त कम्पनीले ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा बोलपत्र हात पारेको थियो ।
उक्त चुल्होलाई प्रतिगोटा भ्याटबाहेक १३ हजार ४ सय रुपैयाँ परेको माझीको भनाइ छ । युरोपियन स्टेण्डर र चाइनाले उत्पादन गरेको उक्त चुल्हो अहिले बजारमा १५ हजारभन्दा माथि पर्ने उनले बताए ।
मन्त्रालयका अनुसार प्रदेशसभालाई ८८ वटा र प्रदेशसभा सचिवालयलाई ३१ वटा भनेर चुलो लगिएको जनाएको छ । उक्त चुल्हो एकैपटक दुईवटै बाल्दा ३५ सय वाटसम्म बिजुली आवश्यक पर्ने जनाइएको छ ।
लगिसकेको चुल्हो फिर्ता !
यसैबीच चुल्हो लगेको विषयमा आलोचना सुरु भएपछि केही सांसदले भने फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार काँग्रेस सांसद इन्दिरा थापाले लगेको चुल्हो फिर्ता गरेकी हुन् ।
हालसम्म सांसदहरू हिमाल कार्की, सुनिता चौधरी, लखिकुमारी गणेश, ललिता कुमारी चौधरी, सुनिता कुमारी गुरुङ, भूमिप्रसाद राजवंशी, मैया श्रेष्ठ, बुद्धि कुमार राजभण्डारी, गयानन्द मण्डल, गीता रानी महतो, जयप्रकाश चौधरी, ज्ञानेन्द्र सुवेदी, डोल्मा तामाङ, इस्राइल मन्सुरी, खगेश्वरी पौडेललगायतले चुल्हो लगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण