ग्रामीण जनजीवन : फुर्सदमा हस्तकलाका डेलुवादेखि बरेरुवासँग रमाउनेहरू
धनगढी । रोपाइँ सकिएको छ । खेतबारीमा धान बाली लहलहाउँदो छ । जता हेर्यो उतै हरियाली छ । मनमोहक छ ग्रामीण परिवेश अचेल ।
रोपाइँ सकिने बित्तिकै गाउँका बेरोजगार युवा भारत पलायन भएका छन् । बाँकी रहेकाहरू कोही बस्तुभाउको हेरचाहमा त कोही धानबालीमा उम्रिएका झार उखेल्ने काममा छन् । कामको चटारो कम भएकाले युवा फुर्सदिला छन् ।
यही फुर्सदिलो समयको सदुपयोगमा छन् कैलारी गाउँपालिका ६, बेनौलीका भोजराज चौधरी । पेसाले राजमिस्त्रीको काम गर्दै आएका उनी आजभोलि भने नजिकैको सुटैहिया नालामा हेल्का (माछा मार्ने उपकरण) र टापी (माछा मार्ने उपकरण)सहित भेटिन्छन् ।

फुर्सदको समयमा माछा मार्ने, सुकुटी बनाउने र साँझ बिहानको छाक टार्ने उनको दिनचर्या छ ।
उनी भन्छन्, ‘खाली बस्नुभन्दा केही गर्नु राम्रो । माछा मार्यो, साँझ बिहानको छाक टर्छ । समयको सदुपयोग पनि हुन्छ ।’

कैलारी गाउँपालिका वडा नंं. ८, टेंढीका भगवान् दास चौधरीको दिनचर्या पनि बरेरुवा र ढह्रिया झार्नमै व्यस्त छ । परम्परागत हस्तकलामा अति नै निपुण उनले पूरै नालाभरि बरेरुवा (माछा मार्ने ठूलो उपकरण) बनाएका छन् । र, खेतको गरामा ढह्रिया लगाउँछन् ।

उनी भन्छन्, ‘पहिलैदेखि माछा मार्ने सिप हो । जसबाट वर्षातभरि माछा खान पाइन्छ । दैनिक छाक मज्जाले टर्छ । बढी भएको बेला सुकाएर सिद्रा बनाउँछु ।’

रोपाइँ सकिएपछि गृहिणीहरु भने फुर्सदको समयमा ढकिया, डेलुवा बन्नमा व्यस्त छन् । बेनौलीकी रामराशी चौधरी डेलुवा, ढकिया बुन्नमा व्यस्त छिन् । उनी आफ्नी भतिजीको बिहेमा चाहिने डेलुवा बुन्न लागेकी छन् ।

‘रोपाइँपछि हामी फुर्सदिलो हुन्छौँ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौँ,’ रामराशीले भनिन्, ‘घरमै हरचाली (फुर्सदको काम) गर्नु नै ठिक लाग्छ ।’
जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुँदैछ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नका लागि गरिन्छ ।

ग्रामीण भेगका तन्नेरीहरु कोही नयाँ प्रविधि उन्मुख छन् त कोही बिना काम आजभोलि भौतारिन्छन् । वयस्कदेखि बुढापाकाहरु भने पुर्ख्यौली ज्ञान, सिपको सदुपयोगमा छन् ।
यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौँदेखि प्रचलनमा रहेको ज्ञान र सिपको सदुपयोग गर्दै उनीहरू विभिन्न उपकरण बनाउन लागेका हुन् । उनीहरू चाडपर्वहरू नजिकिँदै गर्दा पर्वमा चाहिने वस्तुहरू जोहो गर्न लागेका हुन् ।

बेनौलीकै भिखु डंगौरा थारु आजभोलि हेल्का बुन्नमा व्यस्त छन् । उनी आजभोलि हेल्का बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उद्देश्यले हेल्का बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नुभन्दा घरमा बसेर हरचाली गर्नु नै ठिक हुने बताउँछन् ।

उमेरले ७९ कटाइसकेका भिखु भन्छन्, ‘पुुरानो ज्ञान, सिपको फाइदै फाइदा छ । तर आजभोलिका नयाँ पुस्तालाई पुरानो हस्तकला सँग सम्बन्धित ज्ञान सिपमा पटक्कै चासो छैन । हामीसँगै हाम्रो सिप पनि जाने भयो ।’
यतिबेला ग्रामीण बस्तीहरुमा हेल्का, ढह्रिया मात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा मार्ने प्रविधिका साथै खतिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, बस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायत बन्ने काम हुँदै आएको देख्न पाइन्छ ।

घरायसी प्रयोजनमा आउने ती सामान फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन् । जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताइन्छ ।

तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सिप विस्तारै लोप हुँदै गएका छन् । समय अनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन सक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सिप लोप हुँदै गएको थारु संस्कृतिविद् अशोक थारु बताउँछन् ।

विभिन्न दृष्टिकोणबाट वैज्ञानिक, किफायती रहेका ती सामग्री बनाउने ज्ञान र सिपमा व्यावसायिकता दिन सके संरक्षण गर्न सकिने संस्कृतिविद् थारु औंल्याउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण