जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
सारांश
- युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन् ।
- जेलेन्स्कीले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न आग्रह गरेका छन्, तर पुटिनले यसअघि नै उक्त प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
- जेलेन्स्कीले वार्ता स्विट्जरल्यान्ड वा टर्की जस्ता तटस्थ देशमा हुनसक्ने सुझाव दिएका छन् ।
किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुलापत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन् । पुटिनलाई सम्बोधन गरिएको पत्रमा जेलेन्स्कीले युरोपको युद्ध फेरि अमेरिकाको प्राथमिकतामा पर्न पर्खिरहनु उचित नहुने उल्लेख गर्दै युक्रेन र रुसबिचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताएका छन् ।
उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आग्रह गरेका छन् । तर पुटिनले यसअघि नै युद्धविरामको उक्त प्रस्ताव अस्वीकार गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबिच भेट भए राम्रो हुने बताएका छन् ।
क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई त्यसबारे जानकारी गराइने जनाएको छ । करिब १ हजार ८०० शब्दको पत्रमा जेलेन्स्कीले पुटिनमाथि कडा टिप्पणी गर्दै २६ वर्ष सत्तामा रहँदा उमेरको प्रभाव देखिन थालेको उल्लेख गरेका छन् । उनले युद्धका कारण युक्रेनी जनताले ठुलो क्षति बेहोर्नुपरेको भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष वार्ता आवश्यक रहेको बताएका छन् ।
‘युक्रेन यो युद्ध हामी र तपाईंबिचको प्रत्यक्ष संवादमार्फत अन्त्य गर्न चाहन्छ । त्यसका लागि म भेटवार्ताको प्रस्ताव राख्छु,’ उनले पत्रमा लेखेका छन् । जेलेन्स्कीले वार्ता स्विट्जरल्यान्ड वा टर्की जस्ता तटस्थ देशमा हुनसक्ने सुझाव दिएका छन् ।
यता, पुटिनले भने सम्झौता सम्भव भए पनि त्यसका लागि दुवै पक्षले सम्झौता गर्नुपर्ने बताएका छन् । उनले युक्रेनले रुसको नियन्त्रणमा रहेका दोनेत्स्क, लुहान्स्क, खेर्सोन र जापोरिझ्झिया क्षेत्र त्याग्नुपर्ने तथा नेटो सदस्य बन्ने प्रयास रोक्नुपर्ने पुरानै अडान दोहोर्याएका छन् ।
युक्रेनले भने आफ्नो भूभाग त्याग्न अस्वीकार गर्दै त्यसो गर्दा रुसलाई भविष्यमा पुनः आक्रमण गर्न प्रोत्साहन मिल्ने बताएको छ । हालसम्म जेनेभा, अबुधाबी र इस्तानबुलमा भएका शान्ति वार्ताहरू निष्कर्षविहीन बनेका छन् भने युद्ध विरामसम्बन्धी प्रयासहरू पनि पछिल्ला महिनाहरूमा ठप्प छन् ।
युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले जेलेन्स्कीको खुला पत्रलाई युद्ध अन्त्यका लागि गम्भीर र अर्थपूर्ण प्रस्ताव भएको बताएका छन् । उनले रुसलाई सकारात्मक प्रतिक्रिया दिन आग्रह गर्दै शान्तिको बाटो रोज्ने समय आएको उल्लेख गरेका छन् ।
यसैबिच, पुटिनले जेलेन्स्की युक्रेनका वैधानिक प्रतिनिधि हुन् वा होइनन् भन्ने विषय कानुनी विश्लेषणको विषय भएको बताएका छन् । जसले सम्भावित वार्ता र सम्झौताप्रति थप अनिश्चितता सिर्जना गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिका दुवै पक्षलाई शान्तिको नजिक ल्याउन सफल भएको दाबी गर्दै उनीहरूले एक अर्कालाई भेटेर शान्ति सम्झौता सम्पन्न गरुन् भन्ने चाहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण