शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

ओझेलमा कला : ओझेलमै कलाकिताब

शनिबार, २३ भदौ २०८०, ११ : २१
शनिबार, २३ भदौ २०८०

एक प्राज्ञिक व्यक्तित्व हुन् मदन चित्रकार । चित्रकला रचना, कला लेखन र कला प्राध्यापनमा जीवन समर्पण गरेका उनी अग्रज सर्जक हुन् । कला लेखन र कला सिर्जनामा नेपाली कला जगतले कदापि पनि बिर्सिन नहुने र बिर्सिन नमिल्ने स्वनामधन्य व्यक्तित्व हुन् उनी । 

लामो समय सरकारी सेवामा रहँदा पनि नेपाली कला, संस्कृति, सम्पदाकै उन्नयनमा उनी समर्पित रहे । नेपाली कलामा अलग्ग मौलिकताले भरिपूर्ण कलाकारितामा उनी स्थापित आदरणीय कलाकार हुन् । सिर्जना कलेज अफ फाइन आर्टस्का उनी पूर्व प्रिन्सिपल पनि हुन् । त्यस्तै काठमाडौँ विश्वविद्यालयमा पनि उनले केही वर्ष कलाको प्राध्यापन गरे । हाल नितान्त अवकाशको फुर्सदिलो दिनचर्यामा उनी लेखन र क्यानभासमा पृथक् कला रचनाको शृङ्खलालाई निरन्तरता दिइरहेका छन् ।

कलाकार मदन चित्रकार विभिन्न पत्रपत्रिका तथा प्रकाशनहरूमा प्रायः अङ्ग्रेजी भाषामा कला सम्बन्धी विचारोत्तेजक लेखरचनाहरू लेखिरहन्छन् । ‘तेजबहादुर चित्रकार : आइकोन अफ ट्रान्जिसन’, ‘नेपाली आर्ट : इस्युज मिसिलानी’, ‘नेपाली पेन्टिङ : थ्रु दी एजेज’ तथा ‘नेपाली आर्ट : थट्स् एन्ड म्युजिङ्स’ शीर्षकका अत्यन्त गहकिला उनका पुस्तकहरू प्रकाशित छन् । 

त्यसो त उनको पछिल्लो यो कलापुस्तक ‘नेपाली आर्ट : थट्स एन्ड म्युजिङ्स’ आफैँमा एक प्रशंसनीय काम र कला इतिहास पनि हो । यसका साथै यो पुस्तक अनुसन्धानात्मक कला लेखनको दस्ताबेजसमेत हो । जुन पुस्तकको चर्चा नेपाली कलाक्षेत्रमा नहुनु दुर्भाग्य नै हो । दुर्लभ रङ्गीन चित्रहरूले सजिएको यस पुस्तकले नेपाली कला र पुर्खा कलाकारहरूको अभिलेखनमा गहकिलो योगदान दिएको छ । 

नेपाली कला रचनाको विगत पृष्ठभूमि कस्तो थियो र आज कस्तो हुँदै छ भन्ने सन्दर्भमाथि पनि लेखक मदन चित्रकारले सचित्र प्रमाण प्रस्तुत पुस्तकमा गरेका छन् ।

यस आलेखमा मदन चित्रकार लिखित पुस्तक : ‘नेपाली आर्ट : थट्स एन्ड म्युजिङ्स’ माथि केही समीक्षात्मक विवरण रहेको छ । पच्चीस थान कलासम्बन्धी विविध लेख रचनाहरूको सङ्गालो प्रस्तुत पुस्तक सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको हो । २६८ पृष्ठ सङ्ख्या रहेको पुस्तकको भाषा शैली र पुस्तकको साजसज्जा निकै आकर्षक रहेका छन् । महँगो कागज, स्तरीय छपाइ प्रविधि र रङ्गीन चित्रसहितको समीक्ष्य पुस्तकले एकातिर नेपाली कलाको आजसम्म नलेखिएको पाटोलाई उजागर गरिदिएको छ । अर्कोतिर पहिले कतै प्रकाशित र कहीँ पनि सार्वजनिक नभएका र प्रायः थाहा नपाएका दुर्लभ चित्र रचनाहरू यस पुस्तकमा देख्न सकिन्छ । 

नेपाली कला रचनाको विगत पृष्ठभूमि कस्तो थियो र आज कस्तो हुँदै छ भन्ने सन्दर्भमाथि पनि लेखक मदन चित्रकारले सचित्र प्रमाण प्रस्तुत पुस्तकमा गरेका छन् । यस अर्थमा पनि पुस्तकले नेपाली कलाको विगत कालखण्डको अनेकौँ स्वर्णिम दिनहरूको विवेचनात्मक विवरण पेश गरी हामीलाई हाम्रा कला र कलाकारप्रति श्रद्धा गर्ने अवसर दिएका छन् । 

यसमा उनी आफैँ कुशल चित्रकार हुनु अनि उनका पिता मास्टर तेजबहादुर चित्रकार (जसले कोलकाताबाट चित्रकलाको उच्च शिक्षा हासिल गरी नेपाली कलामा नयाँ आयाम थप्न योगदान दिए) समेत चित्रकारितामै ख्याति प्राप्त व्यक्तित्व हुन् । यसो भएकाले पनि उनको खोज कार्यले सफलता पाएको अनुमान गर्न सकिन्छ ।

यस दृष्टिले प्रस्तुत पुस्तक महत्त्वपूर्ण सामग्रीहरूको एक दस्तावेज पनि हो । कला अभिलेख र कला इतिहासको एक गहकिलो ग्रन्थ पनि हो । पुस्तक अङ्ग्रेजी भाषामा लेखिएको हुँदा यसले अन्तर्राष्ट्रिय कला र साहित्यमा पनि आफ्नो दर्बिलो उपस्थिति जनाउन सक्छ । यो पुस्तक नेपाली भाषामा पनि अनुवाद हुनु आवश्यक छ । मुख्यतः यो पुस्तकको बारेमा चर्चा चल्नु, परिचर्चा गरिनु र प्रत्येक नेपाली कलाकार र कला लेखकले अध्ययन गर्नु अति आवश्यक छ ।

पुस्तकभित्र विगतदेखि वर्तमानसम्मको नेपाली कलाका विविध पक्ष एवं कलाकारहरूबारे विवरण समेटिएका छन् । जुन विवरणहरू विवरणात्मक मात्र छैनन्, तिनले समेटेका विषय र तिनको विश्लेषण नेपाली कला अभिलेखमा एक फड्को उचाइ पनि हो । नेपाली कला इतिहास लेखनको यो अर्को सुकिलो चरणको प्रारम्भ बिन्दु पनि हो भन्दा फरक पर्दैन । 

कला अध्येता मदन चित्रकारले प्रस्तुत पुस्तकमा प्रत्येक विषयमाथि सामान्य जानकारीको विवरण मात्र पेस गरेका छैनन् तिनमा उनको प्राज्ञिक क्षमता र गहिरो कलाकारी अन्वेषणको पाटो पनि घनीभूत रूपमा सार्वजनिक भएको पुस्तक अध्ययनबाट थाहा हुन्छ । 

समयको विगत कालखण्डमै विलीन भइसकेका तर नेपाली कलामा तिनले अतुलनीय योगदान दिएर महत्त्वपूर्ण भूमिका खेलेका अग्रज कलाकारहरूको सम्मान र सम्झना गर्दै मदन चित्रकारले तिनै पुर्खा पुस्ताप्रति कृतज्ञताका शब्द–पुष्पद्वारा एकप्रकारले आराधना गरेका छन् ।

अतः प्रस्तुत पुस्तकलाई केवल सामान्य पाठकका अतिरिक्त मूलतः यसले गम्भीर पाठक, अध्येता, विद्यार्थी, शोधार्थीका साथै कला इतिहास लेखकका लागि गहकिलो सन्दर्भ सामग्रीका रूपमा स्वीकार्नु आवश्यक छ । यसमा विगत कालखण्डका कला विकासका चरणहरू, कलाकारको आगमन र तिनले तत्कालीन समयमा सिर्जना गरेका कलाको जानकारी दिँदै उनले प्रत्येक शीर्षकमाथि लेखकीय बौद्धिकताको पनि राम्रो उपयोग गहन अध्ययन र अनुसन्धान गरेबाट स्पष्ट हुन्छ । 

खासगरी अरूले कलम नचलाएका विषयलाई लेखकले गम्भीर रूपले उत्थान गरेका छन् । जस्तै : नेपाली कलामा ‘सुगौली सन्धि’ को प्रभाव; ‘रागमाला’ मा आधारित चित्रहरू; ‘गोरखा दरबार’ अङ्कित पौभा शैलीमा आधारित चित्र रचना; नेपाली चित्रकलामा पाश्चात्य एकेडेमिक परम्परा भित्र्याएका राजमान सिंह चित्रकारजस्ता चित्रकारबारे सविस्तार चर्चा यस पुस्तकमा गरिएको छ । 

समयको विगत कालखण्डमै विलीन भइसकेका तर नेपाली कलामा तिनले अतुलनीय योगदान दिएर महत्त्वपूर्ण भूमिका खेलेका अग्रज कलाकारहरूको सम्मान र सम्झना गर्दै मदन चित्रकारले तिनै पुर्खा पुस्ताप्रति कृतज्ञताका शब्द–पुष्पद्वारा एकप्रकारले आराधना गरेका छन् । भाजुमान चित्रकार, कृष्णमान चित्रकार, पूर्णमान चित्रकार, दीर्घमान चित्रकार, आनन्दमुनि शाक्य जस्ता चित्रकलामा उल्लेखनीय योगदान दिएका तर अहिले विस्मृतप्रायः भइसकेका अग्रज चित्रकारहरूबारे खोज अनुसन्धान गर्नु र तिनका कला रचनालाई समावेश गर्नु खोजको अर्को प्रशंसनीय काम हो । 

यसै गरी उनले परम्परागत नेपाली कलाका विविध परम्पराहरू, जस्तैः पौभा, भित्तीचित्र आदिबारे लेखकले अनुसन्धान गरेका छन् । जुन अनुसन्धानात्मक लेखनले नेपाली कला जगत धेरै लाभान्वित भएको छ । यद्यपि नेपाली कलाकार, कला लेखक, कलामर्मज्ञ तथा अन्यले यस पुस्तकबारे चासो नदिनु, चर्चा नगर्नु विडम्बना नै हो । हामीकहाँ यौटा नियति–दोष विद्यमान छ त्यो हो राम्रो कामको कहिल्यै कसैबाट अलिकति पनि चर्चा नगर्नु, नबोल्नु, नभन्नु र केही वास्ता नै नगर्नु । यसले अभिलेखन कहाँ मौलाउन सक्छ ? लेखक, कलाकारको सिर्जनात्मक कर्म यसले कसरी ऊर्जाशील हुन सक्छ ? 

यो निकै गम्भीर सोचनीय विषय पनि हो । अन्ततः यस किसिमको सिलसिलाले लेखन कहाँ पुग्छ ? यस प्रकारको संस्कार रहिरहुन्जेल लेखनले कसरी प्रगति गर्न र लेखकीय व्यापकता हासिल गर्न सक्छ ? वस्तुतः यसमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गम्भीर हुनु अति आवश्यक छ ।

समीक्ष्य पुस्तकमा कला लेखक मदन चित्रकारले कलाका विविध विधाहरू, जस्तै : जलरङ, उडकट प्रिन्ट आदिको नेपाली कलामा उपस्थिति र तिनका स्वरूपबारे गहन विवेचना गरेका छन् । चार सय वर्षअगाडिको मल्लकालीन भित्तिचित्रदेखि लिएर दुई सय वर्षअगाडिको जलरङ चित्र तथा चित्रकारबारे लेखकले चर्चा गरेका छन् । 

समकालीन नेपाली कलाका प्रवृत्तिलाई पनि लेखकले उत्थान गरेका छन् । अधिकांश लेखमा दुर्लभ चित्रसहित तिनको व्याख्या र विश्लेषण गरिनु पुस्तकको चर्चा गर्नुपर्ने पक्ष हो । आवरण पृष्ठका लागि लेखकले पहिले सार्वजनिक नभएको कृष्णमान चित्रकारको चित्र रचनालाई छनोट गरेका छन् । जुन चित्रको रङमा अझै ताजापन देखिन्छ । लगभग दुई शताब्दीपूर्व रचना गरिएको चित्रले तत्कालीन काठमाडौँ–स्वयम्भू क्षेत्रको खुला परिवेशलाई देखाएको छ । 

नेपाली कला समाजमा यस कृतिले अलग्गै स्थान पाउनुपर्ने थियो तर यति गहन कृति ओझेलमै रहिरहनु दुर्भाग्य हो । हामीकहाँ पठन प्रवृत्तिमा प्रतिदिन खस्किँदो वातावरणले लेखक मात्रै हतोत्साहित भइरहेका छैनन् कलाकार र कलासँग सम्बन्धित व्यक्ति र संस्थासमेत निश्चित रूपमा घाटामा छन् ।

यस किसिमको जाँगर, मेहनत र खोजपूर्ण लेखनको अभिलेख पाउन दुर्लभ छ । यसलाई कलामा चासो राख्ने र चिन्ता लिने वर्गले ध्यान दिनु वान्छनीय छ ।

कलाकार तथा कला लेखक मदन चित्रकारको कम मेहनत, कम अध्ययन, अनुसन्धान र कम गहिरो समर्पण परेको छैन । उनले प्रत्येक खण्डका आलेखहरूमा उत्तिकै चिन्तनशील विचार पोखेका छन् । विगतका नेपाली कलाको उतारचढावहरूका साथै ती समयमा सिर्जना गरिएका कृति र तीन विषयहरूको परिचयसमेत दिएर नेपाली कला जगतलाई आभारी पारेका छन् ।

उनको खोजले नेपाली कलाको समृद्ध विगतका विविध पक्षहरूलाई उजागर गरिदिएको छ । त्यसले आजसम्म नेपाली कलाका मर्मज्ञ र कला लेखक तथा कलाकारहरू समेतले थाहा नपाएका धेरै कुरा उनले सचित्र र सविस्तार वर्णन गरेका छन् । जस्तो– ‘रागमाला’ भनौँ वा ‘गोरखा दरबार’ चित्रका विवरणहरू आदि ।

नेपाली कला इतिहासमा ‘नक्सा अड्डा’ ले के गर्थ्यो, कहाँ थियो वा यस अड्डाको भूमिका त्यो बेला के थियो आदि प्रश्नको उत्तर आजसम्म प्रकाशित छैन । यस विषयमा थोरै जानकारी पनि कमैलाई होला । राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहरदरबारभित्र स्थापना गरेको यही अड्डाले त्योबेला साहित्य, कला, सङ्गीतको प्राज्ञिक काम गर्थ्यौ । कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका थिए । प्रतिभाशाली कलाकारहरूले आफ्नो क्षमताले भ्याएसम्म उत्कृष्ट सिर्जना प्रस्तुत गरेका थिए ।

कति र को को कलाकारले त्यहाँ काम पाएका थिए, तिनले के कस्ता काम गरे आदि विषयमा पुस्तकले राम्रो विश्लेषणसहित नेपाली कला विकासको तत्कालीन स्वर्णिम दिनहरू प्रकाशमा ल्याएको छ । जस्तै– रङ्गमञ्च सजावट, फोटोग्राफी, सिकारका चित्र, पोट्रेट तथा मूर्ति–सालिक, दरबारका चित्र, भित्तीचित्र, टेक्सटाइल, नक्सा डिजाइन जस्ता अनेकौँ काम त्यही अड्डाअन्तर्गत हुने गर्थ्यो ।

यो अभिलेख, यो इतिहास र यो दस्ताबेज वस्तुतः नेपाली कला विकासको एक सिलसिलाबद्ध चरणको अलिखित पाटो थियो । जुन लिखित रूपमा आउनुपर्ने थियो बल्ल आयो, यसलाई स्वीकार्नुसँगै यसभित्रका कला विकासका चरणहरूको गहन अध्ययन गरिनु, लेखकले उठाएका विषयमाथि विचार गरिनु र बहस चलाइनु पनि अति आवश्यक छ । 

अब लिखित रूपमा प्रकाशित भई सार्वजनिक भएको यो पुस्तकको गरिमामय ओजलाई स्थापित गर्नु–गराउनु त छँदै नै छ । साथसाथै नेपाली कलाको अद्यापि ओझेलमा रहिरहेका अन्य विषयमा लेखकबाट थप अनुसन्धानमूलक लेखनको अपेक्षा र आग्रह गर्नु पनि उत्तिकै जरुरी छ ।

अहिलेको कला विकासमा पाश्र्वमा रहेर अहम् भूमिका खेलेका अग्रज कलाकारलाई प्रकाशमा ल्याउन यस कृतिले ठूलो योगदान दिएको छ । समकालीन कला कस्तो र कता गइरहेको छ भन्ने अवस्थाको विवरणसमेत यसमा पढ्न पाइन्छ । प्रत्येक भाग नेपाली कलाको विगत, वर्तमानका तस्बिर उतार्न कृति सफल रहेको पाठकीय अनुभव गर्न सकिन्छ । 

मदन चित्रकारज्यू हामी यहाँका शुभचिन्तकहरू यहाँबाट यस्तै अलिखित कला इतिहासका पाटालाई अभिलिखित भएको दस्ताबेजका पानाहरू सचित्र पढ्न, देख्न पाउने अपेक्षा गर्छौं । धन्य स्रष्टा मदन चित्रकार यहाँको सिर्जनात्मक जीवन सधैँ सक्रिय, सशक्त र सबल रहोस् शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप