बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पठन संस्कृति विकास गर्न साझा प्रकाशनको पुस्तक प्रदर्शनी सुरु

आइतबार, ०७ असोज २०८०, १० : १९
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेपालका भाषा, कला, संस्कृतिको संवर्द्धनमा विगत १११ वर्षदेखि सेवा पुर्‍याइरहेको साझा प्रकाशनले पठन संस्कृति विकास गर्न विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ । 

साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्रीकक्षहरूमा असोज ७ देखि  प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनी असोज २२ गतेसम्म रहने निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए ।

 नजिएको चाडपर्व दशैं तिहार, छठ तथा ल्होसारको अवसरमा हुने बिदाका लागि सदुपयोग गर्नउपयोगी हुने भएकाले प्रदर्शनीस्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो हुने विश्वासका साथ प्रदर्शनी गरेको साझाको भनाइ छ । 

प्रदर्शनीस्थलमा ४.२५ रुपैयाँ मूल्यदेखि २८ सयसम्मका पुस्तक राखिएको उनले बताए । टेकबहादुर खत्रीको पञ्चायत आजको मूल्य रु ४२५, पं ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्यकथा रु ६५० छ भने व्युत्पत्तिमूलक संस्कृत  नेपाली शब्दकोशको मूल्य २८ सय रुपियाँ रहेको छ ।

यस वर्ष साझाद्वारा नेपाली लोक नृत्य क्षेत्रमा विशिष्ठ योगदान गरेका अग्रज स्रष्टा भैरवबहादुर थापाको पुस्तक अङ्ग्रेजी संस्करण प्रदर्शनीमा रहेको छ । प्रदर्शनीमा साझा प्रकाशनबाट भरखरै प्रकाशित परमानन्दगीता, अणिमा, मनको बह, मनको बिम्बबाट आसन ग्रहण, खोजी, मिसन यात्रा, धर्मदर्शन, जीवन दर्शन, नक्साको जून, कुमुदाग्नि, नेपाली उपन्यासमा आञ्चलिकाः सिद्धान्त, परम्परा र प्रवृत्ति, परेवा र बाज तथा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न शीर्षकका कृति पनि प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीमा २० देखि ८० प्रतिशत छुटमा पुस्तक खरिद गर्न सकिनेछ । साथै नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा छन् । पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
हाल यस प्रकाशनले देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिङ्ग आदिसित सम्बद्ध प्रकाशनसम्बन्धी काम गरिरहेको छ भने अझ यसको विकास र विस्तार गर्ने लक्ष्य राखेको छ।

 यो प्रदर्शनी देशका आमपाठकले कस्ता पुस्तकप्रति रुचि राखिरहेका छन् भन्नेबारेको सर्वेक्षण पनि भएको साझाको भनाइ छ । यस सर्वेक्षणबाट प्राप्त निष्कर्षअनुसार आगामी दिनमा प्रकाशनले अपनाउनुपर्ने बाटोको पनि निर्धारण गरिने घिमिरेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप