बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षाका कारण पाकिस्तान र न्युजिल्यान्डको खेल दर्शकविहीन रङ्गशालामा खेलाइने

मङ्गलबार, ०९ असोज २०८०, १० : २७
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपको मिति नजिकिँदै गर्दा प्रतियोगिताका सहभागी राष्ट्रहरू अन्तिम तयारीमा व्यस्त छन् ।

विश्वकप सुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि सबै टोलीले दुई—दुईवटा अभ्यास खेल खेल्ने प्रबन्ध मिलाएको छ । यसै क्रममा पाकिस्तानी टोलीले पनि विश्वकपअघि दुईवटा अभ्यास खेल खेल्नेछ । 

पाकिस्तानले पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ । तर, पाकिस्तान र न्युजिल्यान्डबीचको उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने समाचारको पुष्टि गरेको छ ।

सुरक्षाको कारणले पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको बीसीसीआईले जनाएको छ । ‘पाकिस्तान र न्युजिल्यान्डबीच २९ सेप्टेम्बरमा हैदराबादमा हुने पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाइने छ । सुरक्षाका कारणले यस्तो निर्णय लिइएको हो,’ बीसीसीआईले भनेको छ । 

हिन्दु धर्मावलम्बीको महान् पर्व नजिकै रहेको र हैदराबादमा विभिन्न धार्मिक उत्सव सुरु हुने भएकाले पाकिस्तानी टोलीको अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको समाचारमा जनाइएको छ । स्थानीय सुरक्षा अधिकारीहरूले पनि पाकिस्तानको खेल बन्द रंगशालामै खेलाउन सुझाव दिएको बताइएको छ । 

उक्त अभ्यास खेल हेर्न ठुलो सङ्ख्यामा क्रिकेट प्रेमी टिकट खरिद गरेका छन् । बीसीसीआईका अनुसार, त्यो खेल हेर्न टिकट खरिद गरेका समर्थकको पैसा फिर्ता गरिने छ । विश्वकपअघि पाकिस्तानले अक्टोबर ३ मा अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

पाकिस्तानले पहिलो अभ्यास खेल खेल्ने दिन नै गुवाहाटीमा बंगलादेशले श्रीलंकासँग र थिरुभाननथापुरममा दक्षिण अफ्रिकाले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । ती दुवै अभ्यास खेल दर्शकसहितको रङ्गशालामा खेलाइने छ । 

सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिने छ । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकपका खेलहरू सुरु हुनेछन् । पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप