आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत

सुगम र शास्त्रीय संगीतका संगम शिव परियारको साधना र संघर्ष

शनिबार, २० असोज २०८०, १३ : ५८
शनिबार, २० असोज २०८०

‘साधना गर्न पाउँदा मेरोे आत्माले आनन्द महसुस गरेझैँ लाग्छ, अनि श्रोताका लागि गाउन पाउँदा यो भौतिक शरीरसहितको मनले आनन्द लिन्छ,’ दुई साताअघि राग स्टुडियोमा भेटिएका लोकप्रिय गायक शिव परियारले भने । 

चन्दनकुमार श्रेष्ठलाई गुरु थापेर गान्धर्व संगीत विद्यालयमा शास्त्रीय गायनको साधना गरिरहेका शिवले शास्त्रीय गायनतर्फ ‘प्रयाग संगीत समिति’ इलाहावादबाट लिइने परीक्षामा बी. म्युज उत्तीर्ण गरेका छन् र हाल एम. म्युजका लागि साधनारत छन् । व्यावसायिक सुगम गायन र शास्त्रीय गायनमा उत्तिकै साधनारत र सफल गायक हुन्, शिव परियार । गएको जनै पूर्णिमामा उनले किराँतेश्वर संगीत आश्रममा राग जोग प्रस्तुत गरेका थिए । यस्तै, केही महिनाअघि नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’मा राग मधुवन्ती प्रस्तुत गरे । हामीकहाँ राग गाउने शास्त्रीय गायनका गुरुहरू प्रशस्त छन्, यद्यपि व्यावसायिक गायनमा चम्केका उनका समकालीन गायकमा यसरी पलेँटी कसेर राग अलाप्ने आँट गरेको उनैले मात्र देखिन्छ ।   

सुगम र शास्त्रीयताको संगम रहेको शिवको स्वरले संगीतप्रेमी नेपाली श्रोताको मनमा घर गर्दै गएको छ । कतिपय अवस्थामा गीतका शब्दलाई नै आलापमा ढालेर अर्थात् शास्त्रीय संगीतको मर्म र मूच्र्छनालाई न्याय गरेर अर्धशास्त्रीय शैलीमा गाउने शिव गायकभन्दा बढी संगीतका साधक हुन् । शास्त्रीय संगीतका नयाँ विद्यार्थीका लागि उनी उदाहरण र अभ्यास हुन् ।

शिवका गुरु चन्दनकुमारलाई शुक्रबार दिउँसो मैले सोधेको थिएँ, ‘शिवको शास्त्रीय गायनको स्तर कस्तो छ ? ‘अहिले उसको शास्त्रीय गायन धेरै राम्रो भएको छ । अब आउने पिँढीमा उसको धेरै नै राम्रो स्थिति हुन्छ,’ उनले भने, ‘मैले उसको मात्रै कुरा गर्नु राम्रो होइन, समष्टिमा हेर्नुपर्छ । शास्त्रीयमा गायनमा कैयौँ छन् । शास्त्रीय गायनमा मेहनत चाहिन्छ । शिवले मेहनत गरिरहेको छ, मेरो सम्पर्कमा छ ।’ 

शिवको बुझाइमा, गायक बन्नका लागि सर्वप्रथम स्वरमा सम्भाव्यता हुनुपर्छ । त्यसपछि सुर र तालको कुरा आउँछ । गायक हुने व्यक्तिले स्वर, सुर र तालको सामान्य चेत जन्मदै लिएर आएको हुन्छ । एउटा गायकका लागि यी तीन कुरा कच्चा पदार्थजस्तै हुन् । ‘अनि मात्रै स्वर, सुर र ताललाई निखार्न साधना आवश्यक हुन्छ,’ सुर र तालसम्बन्धी प्रवचन नै दिन्छन् शिव, ‘सुर र तालमा हराएर गाउन सक्ने गायक बन्न वर्षौंको साधना चाहिन्छ । यहाँ प्रश्न यो पनि छ, कुन विधा वा शैलीको गायक बन्ने ? जुन शैलीको गायक होस् — स्वर, सुर र ताल प्रमुख हुन् । कुनै पनि शैली वा विधाको गीत होस्, श्रोतालाई सम्मोहित पार्ने गरी गाउन सक्नुपर्छ । गायकीमा मुर्की, खट्का, गमक आउनुपर्छ । यसका लागि आ–आफ्नै किसिमको साधना, अभ्यास, शास्त्रीय अध्ययन र गुरुको सामीप्यता अनिवार्य हुन्छ ।’

संख्यात्मक रूपमा तीन सयभन्दा बढी गीत गाएका शिवले तीन दर्जनभन्दा बढी गीत चलचित्रका लागि गाएका छन् । आफ्नै संगीतमा गाएर नाम बनाएका उनले आजसम्म झन्डै चार दर्जन गीतमा संगीतको ऊर्जा भरेका छन् । ‘गायकीमा मेरो जस्तो शैली छ, त्यसलाई न्याय गर्ने संगीत मलाई आवश्यक थियो । यसका लागि अन्यत्र धाउनुभन्दा आफैँले कोसिस गरेँ,’ शिव भन्छन्, ‘संयोग भनौँ, सुरुवाती दिनमा आफ्नै संगीतका गीतले नै मेरो गायन शैलीलाई न्याय गर्‍यो । यसका उदाहरण हुन् — धेरै चोटि मरेँ म त, कहाँ थियौ तिमी, अलिकति नजर तिम्रो बोलका गीतहरू । आफ्नो शैलीलाई जोगाइराख्न म कहिलेकाहीँ आफ्नो संगीतमा गाउँछु तर मलाई अरुकै संगीतमा गाउन मजा लाग्छ ।’

फसायो साथीले...

‘ल आइज गीत गा,’ सामाजिक शिक्षा पढाउने शिक्षक डिल्लीबहादुर श्रेष्ठले शिवलाई ब्ल्याकबोर्ड अगाडि डाके । शिवको मुटु ढक–ढक चल्न थाल्यो । 

‘शिक्षकको आदेश नमाने पिटाइ खाइन्थ्यो, जस्तो भए नि गाउनैपथ्र्यो,’ अहिलेका लोकप्रिय गायक शिव आफ्नो जीवन बदल्ने त्यो क्षण सम्झन्छन्, ‘कतै नहेरी भुँइमा हेर्दै म अगाडि गएँ र पछाडि भित्तामा हेरेर गाउन थालेँ । मैले गाइसकेपछि तालीको गडगडाहट गुञ्जियो । केटाहरू तालीले नपुगेर अझ किताब ठोक्दै छन् त !’

२०५१ सालमा, सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला स्तरीय बालगीत प्रतियोगिता हँुदै थियो । सर्लाहीकै हजरियास्थित सरस्वती माविमा पनि यो खबर पुग्यो, जहाँ गायक शिव परियारले प्रारम्भिक शिक्षा लिएका हुन् । 

कतिपय अवस्थामा गीतका शब्दलाई नै आलापमा ढालेर, अझ भनौँ शास्त्रीय संगीतको मर्म र मूच्र्छनालाई न्याय गरेर अर्ध–शास्त्रीय शैलीमा गाउने शिव गायकभन्दा बढी संगीतका साधक हुन् । शास्त्रीय संगीतका नयाँ विद्यार्थीका लागि उनी उदाहरण र अभ्यास हुन् ।

शिक्षक डिल्लीबहादुरले कक्षा ७ का विद्यार्थीलाई भने, ‘जिल्ला स्तरीय प्रतियोगिता हुँदै छ । तिमीहरूमा गाउने–नाच्ने कुनै प्रतिभा छैन, चकचक मात्रै गर्छौ !’

‘शिवले गाउँछ सर,’ साथी अर्जुन कार्कीले फ्याट्ट भनिदिए । शिवभित्र रहेको गायन प्रतिभाको ज्ञान भएर उनले त्यसो भनेका थिएनन्, शिक्षकको पिटाइ खुवाउने र ब्ल्याक बोर्डको अगाडि उभ्याउने उनको मनसाय थियो । शिक्षक र ब्ल्याक–बोर्ड अगाडि उभिनु अधिकांश औसत विद्यार्थीका लागि बाघको अगाडि उभिनुजस्तै हो । 

‘अर्जुनले धेरैपछि स्विकार्‍यो — मैले त्यस दिन तँलाई पिटाइ खुवाउने नियतले त्यसो भनेको थिएँ, तर अर्कै भइदियो है !’ शिव भन्छन्, ‘साथीले त्यसो नगरेको भए मभित्रको प्रतिभा के हुन्थ्यो, थाहा छैन ।’ 

विडम्बना ! शिवलाई सुन्दर संयोग वा भनौँ घुम्तीमा धकेलिदिने अर्जुन कार्की आज यो संसारमा छैनन् । त्यस दिन अर्जुनले औँल्याएपछि शिक्षकले शिवलाई गाउन लगाएका थिए । त्यतिबेला नेपाली चलचित्र ‘स्वर्ग’को गीत रेडियोबाट खुब बज्थ्यो — म त अब रिसाउँछु बोल्दै बोल्दिनँ... । शिवको घरमा रेडियो थिएन, छरछिमेकको रेडियोमा बजेको सुनेरै उनको मनमा यो गीत बसेको रहेछ । 

कक्षा कोठामा गाएपछि उनलाई तुरुन्त अफिस (शिक्षकहरूको बस्ने कक्ष)मा लगियो, शिक्षकको अगाडि पर्नै डराउने उनले त्यहाँ सबै शिक्षकको अगाडि गाए, तालीको उस्तै वर्षा भयो । 

त्यतिबेला उनको स्कुलमा हुने सांस्कृतिक गतिविधिमा लेखापाल दिलबहादुर धनामगरले नेतृत्व गर्थे । जिल्ला स्तरीय प्रतियोगितामा गाउनका लागि उनैले शिवलाई एउटा गीत सिकाए — 

मेरो गाउँ हजारे

ए हर्केको छोरो म ।

काले भन्छन् मलाई 

ए तर मान्छे गोरो म ।

...

सबै भन्छन् मलाई

स्कुल किन नगाको

कसैले नि बुझेनन्

कापी–कलम नभाको... । 

जिल्ला सदरमुकाम मलंगवास्थित कृष्णामति बोर्डिङ स्कुलको प्रांगणमा शिवले यो गीत गाए । कसैलाई थाहा थिएन — प्रतियोगितामा शिवको गायकीले कुन स्थान हासिल गर्ने हो ? 

शिवको विद्यालयबाट नृत्य, वादन, गायन, कविता गरी विभिन्न विधाका प्रतिस्पर्धी र शिक्षकसहितको टोली मलंगवा बजार पुगेको थियो, बिहानै ७ बजेको गाडी पक्रेर । बेलुका ३ बजेको गाडीमा नफर्के उतै बास बस्नुपथ्र्यो, खर्च बढ्थ्यो । उनीहरू प्रतियोगितामा सहभागी भई हतार–हतार फर्के ।

प्रतिस्पर्धाको परिणाम आउँदा उनीहरू बीच बाटोमा थिए । अहिलेजस्तो मोबाइल फोनको जमाना थिएन । गायनतर्फ शिव प्रथम भएछन्, उनीहरूले भोलिपल्ट मात्रै थाहा पाए । त्यसपछि स्कुलमा शिवको इज्जत एकाएक बढ्यो । 

अघिल्लो दिनसम्म गुलेली लिएर खेतबारीमा सुगा धपाउन धाउने शिव गाउँमा एकाएक स्टार भए । गाउँछिमेकमा हुने सांस्कृतिक कार्यक्रममा उनलाई बाल गायकका रूपमा निमन्त्रणा गरिन्थ्यो । 

त्यसअघिसम्म शिवमा कुनै सपना थिएनन्, उनको सपनाको आकाश जे–जस्तो बादलले छोपिएको थियो, स्कुलको कक्षा कोठाबाट त्यो बादल फाट्न र सपनाको आकाश उघ्रन थाल्यो, स्वर्ग फिल्मको गीतजस्तै — मुसुक्क हाँसिदेऊ फूल फुलेझैँ, पानी परेपछिको आकाश खुलेझैँ । 

‘धेरै चोटि मरे म त’ बोलको गीतले शिवलाई नेपाली संगीत आकाशमा त्राण भरेन मात्रै, एउटा उचाइबाट उडायो । ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ बोलको गीतले उनलाई नेपाली संगीतको मञ्चमा बलियो स्थान दियो । ‘अलिकति नजर तिम्रो झुकाएर आयौ’ बोलको गीतले शिवलाई नेपाली संगीत बजारमा नजर उठाउने बनायो ।

ज्यामिरेको ठाउँमा हजारे, जमुनीको ठाउँमा हर्के...

शिवले निकैपछि एउटा बालगीत सुने, ‘मेरो गाउँ ज्यामिरे, ए जमुनीको छोरो म’ बोलको । आफूले गाएर जिल्ला स्तरमै पहिलो भएको गीत अर्कैले गाएको छ ? फरक यही छ — ज्यामिरेको ठाउँमा हजारे र जमुनीको ठाउँमा हर्के छ । वास्तवमा दिलबहादुर धनामगरले यही गीतको बोललाई प्यारोडी बनाएर शिवलाई सिकाएका थिए । 

रामबाबु सुवेदीले लेखेको यस गीतको रचना–गर्भ कथा पनि गज्जबको छ । बुढानीलकण्ठ स्कुलका शिक्षक रामबाबु २०३७÷३८ सालतिर इलामको ज्यामिरे गाउँ पुगेका थिए, स्कुलमा आवासीय छात्रवृत्तिका लागि विद्यार्थी छान्ने जाँच लिन । एउटा स्कुलमा छात्रवृत्तिको जाँच लिएर उनी निस्के । स्कुल नजिकैको चौतारीमा गाईबाख्रा चराउँदै गरेका केही केटाकेटीमाथि उनको दृष्टि पुग्यो । आफूहरूले लिएको परीक्षामा यी केटाकेटी के कति कारणले सामेल भएनन् भन्ने जिज्ञासा उनलाई भयो । उनले एक बालकसँग नाम सोधे । ऊ केही बोलेन, उसको साथीले भनिदियो, ‘यसको नाम काले हो, घर ज्यामिरे ।’

‘ती काले भनिएका बालक गोरा, राम्रा र शान्त थिए,’ रामबाबुले केही दिनअघि टेलिफोनमा भने, ‘अनि मैले यो गीत लेखेँ ।’

मेरो गाउँ ज्यामिरे

ए जमुनीको छोरो म

काले भन्छन् मलाई 

ए तर मान्छे गोरो म । 

शान्तदास मानन्धरले निकाल्ने ‘बालपोष’ पत्रिकामा यो गीत छापियो । यसलाई राल्फा अभियानबाट चर्चा कमाएका जनवादी गायक रामेश श्रेष्ठले पढेछन्, उनलाई मन परेपछि २०४२ सालतिर यी शब्दले संगीतको ऊर्जा पाए र देशभर फैलन थाले । 

‘शान्तदास मानन्धरले बाल साहित्यको प्रचार–प्रसार गर्ने क्रममा यो गीतलाई राजधानी र वरपरका विद्यालयमा पुर्‍याउनुभयो,’ रामबाबु भन्छन्, ‘रामेशहरूले अभियानमा गाउन थालेपछि त यो गीत देशव्यापी बन्दै गयो ।’

तीन वर्षअघि रामबाबुले शिवलाई दुईवटा बालगीत गाउन दिए । शिवको स्वर मनपर्ने भएकाले उनले शिवजस्तो जवान पुरुषलाई पनि बालगीत गाउन दिएका रहेछन् । भेटमा शिवले भने, ‘दाइ ! मैले तपाईंंको गीतलाई बिगारेर गाएर जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ ।’

रामबाबु प्रशन्न भए — आफूले लेखेको बालगीत गाएर उदाएको एउटा गायक आज देशकै लोकप्रिय गायक भएको पाएर ।

साधना र संघर्ष

आफूलाई निखार्ने शिवको अनौठो बानी छ । स्कुल पढ्दा उनी टपटेन विद्यार्थीभित्रै पर्थे, तर कक्षा ७ मा अंग्रेजीमा फेल भए, तैपनि कक्षा ८ मा भर्ना हुन सकिन्थ्यो, उनले पास भएरै कक्षा चढ्ने ढिपी लिए र कक्षा ७ दोहोर्‍याएर पढे । अन्ततः सबै विषय पास भएर मात्रै कक्षा चढे । यो अंग्रेजी विषयले उनलाई आईए दोस्रो वर्षमा गएर फेरि धोका दियो, त्यसपछि उनले कलेज नै छाडे । 

उनले ललितकला क्याम्पसमा संगीत लिएर पढेका थिए । आईए दोस्रो वर्षको रिजल्ट आउँदा सबै विषय हेरी उनको नम्बर कलेज टप थियो, तर अंग्रेजीमा २९ मात्र आएछ । उनका प्रतिस्पर्धी थिए, मूर्तिकला पढ्ने विजय महर्जन, जो अहिले मूर्तिकलाविज्ञका रूपमा चिनिएका छन् । ‘मैले सबैभन्दा बढी नम्बर ल्याएँ भन्ने विजयले थाहा पाएछ । एक दिन ललितकला क्याम्पसको सिँढीमा बसेर उसले भन्यो — तिमीले धेरै नम्बर ल्याएर मलाई जित्यौ यार,’ शिव आफूले कलेज छाडेको दिन सम्झन्छन्, ‘मैले लामो श्वास फेरेर भनेँ, म फेल भएँ तिमी पास भयौ । त्यसपछि अंग्रेजीको ट्युसन पढ्ने पैसा नभएर मैले कलेज नै छाडेँ ।’

सुरुवाती दिनमा उनी काठमाडौँमा आफन्त र चिनजानका मान्छेसँग बसेका थिए, आफ्नो कमाइ थिएन । पैसा जुटाएर ट्युसन पढ्छु भन्दाभन्दै वर्ष बितिगयो । कलेजसँगसँगै उनले २०५७ सालदेखि चन्दनकुमार श्रेष्ठलाई गुरु थापेर गान्धर्व संगीत विद्यालयमा संगीत पढ्न थालेका थिए । यता पनि शुल्क तिर्न नसकेर धेरैपटक कक्षा छाड्नुपर्ने अवस्था आएको थियो । 

दिन सधैँ एकनास हुँदैनन्, दुई वर्ष कलेजमा र त्यही हाराहारीमा गुरुसँग संगीत पढेको आधारमा उनले निजी विद्यालयमा जागिर पाए । सुरुमा शुभयोग बोर्डिङ स्कुल सीतापाइलाले उनलाई जागिरमा पत्यायो । त्यसपछि युनिभर्सल सेकेन्डरी स्कुल भोलढोका ललितपुर र सूर्योदय बोर्डिङ स्कुल बल्खुमा गरी जम्माजम्मी सात वर्ष शिवले जागिर गरे । योबीचमा शिवको जीवनमा आएको संघर्षको उतारचढाव प्रेरणादायी छ ।

२०५९ सालमा उनी रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा प्रथम भए, सुरेश वाग्लेले लेखेको ‘जति बिर्सुं तिम्रो याद’ बोलको गजल आफ्नै संगीतमा गाएर । यस प्रतियोगितामा प्रथम हुनु उनको कल्पनाभन्दा बाहिरको कुरा थियो, अहिले चर्चामा रहेका कतिपय समकालीन गायक त्यतिबेला उनका प्रतिस्पर्धी थिए । यो विजयले उनलाई संगीत क्षेत्रमै करिअर खोज्ने आधार र आँट दियो । फलाम तातेकै बेला घन हान्नुपर्छ भन्ठानी उनी एल्बम निकाल्न हौसिए । बुवाले सयकडा पाँचका दरमा काढिदिएको अढाई लाख रुपैयाँ खर्चेर उनले सातवटा गीत रेकर्ड गरे । बजार नबुझी लहडको भरमा रेकर्ड गरेका गीतलाई डिस्ट्रिब्युटर्सले लिइदिएनन् । 

‘पहिलो एल्बम त्यत्तिकै नष्ट गरेँ तर यसले मलाई धेरै कुरा सिकायो । सबैभन्दा ठूलो कुरा त मैले यथार्थ नजाँची भावनात्मक कुराको पछाडि कुद्न हुँदैन भन्ने बुझेँ,’ शिव भन्छन्, ‘साहित्यको मर्म नबुझी गरिएको संगीतले कुनै प्रकारको प्रतिफल दिँदैन भन्ने पनि बुझेँ । त्यतिबेला एफएम रेडियोहरूको ग्रुपिजम् रहेछ । कसलाई टपनेटमा पार्ने, कसलाई साइड लगाउने भन्ने उनीहरूको हातमा हुन्थ्यो । यी सबै बुझ्न मलाई अढाइ लाख रुपैयाँ ऋण लाग्यो ।’

२०६१ सालमा उनले ‘मोक्ष’ एल्बमका लागि ‘फेवातालमा साइँली’ बोलको गीत गाए । किरण घिमिरे माइकलको शब्द र रामचन्द्र काफ्लेको संगीत रहेको यस गीतले शिवलाई धेरै श्रोतामाझ चिनायो । 

२०६५ सालमा शिवको ‘स्वयं’ एल्बम आयो, रिबेल क्रियसनबाट । यस एल्बममा शिवले गाएको ‘अलिकति नजर तिम्रो झुकाएर आऊ’ बोलको गीत हिट भयो । आर्थिक लेनदेनको विषयमा कुरा नमिलेपछि कम्पनी (रिबेल क्रियसन)ले यो गीतलाई केही समय ब्यान गरेको थियो । 

‘कम्पनीले २५ हजार रुपैयाँमा पाँच वर्षको एग्रिमेन्ट गर्न भनेको थियो, मैले मानिनँ र गीत बन्द भयो,’ शिव भन्छन्, ‘विवाद बढेपछि मैले यो एल्बम कम्पनीलाई नै छाडिदिएँ र त्यसको दुई महिनामै शीतल कादम्बिनीसँग मिलेर अर्को एल्बम म्युजिक नेपालबाट ल्याएँ — कादम्बिनी ।’ 

शीतल कादम्बिनीको शब्द रहेको यस एल्बमको ‘धेरै चोटि मरे म त’ बोलको गीतले शिवलाई नेपाली संगीत आकाशमा त्राण भरेन मात्रै, एउटा उचाइबाट उडायो । ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ बोलको गीतले उनलाई नेपाली संगीतको मञ्चमा बलियो स्थान दियो । ‘अलिकति नजर तिम्रो झुकाएर आयौ’ बोलको गीतले शिवलाई नेपाली संगीत बजारमा नजर उठाउने बनायो । ६० को मध्य दशकतिर नेपाली संगीत बजार एक खालको संक्रमणमा थियो — नयाँ प्रविधिका कारण क्यासेट विस्थापित हुँदै थियो भने सीआरबीटी उत्कर्षमा थियो । यस्तो बेला शिवको स्वरले नेपाली संगीत क्षेत्रलाई प्रभावित गर्‍यो अर्थात् उनको अर्धशास्त्रीय शैलीले एक प्रकारको हस्तक्षेप गर्‍यो । आज शिवको स्वरमा बालबालिकादेखि युवा पुस्ता र पाको पुस्ता झुमेको देखिन्छ । 

पुरस्कारको कुरा गर्दा शिवले नारायणगोपाल युवा संगीत पुरस्कार (सन् २०१३), नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, भीमविराग राष्ट्रिय संगीत पुरस्कार, राष्ट्रिय युवा प्रतिभा पुरस्कार (नेपाल सरकार, सन् २०१६), हिमालयन इन्टरनेसनल म्युजिक अवार्ड (सन् २०२२)देखि रेडियो कान्तिपुर, कालिका एफएम, हिट्स एफएम आदि दिने अवार्डहरू जितेका छन् ।    

ओखलढुंगा, सर्लाही हुँदै पेप्सीकोला

ओखलढुंगाको तत्कालीन कालीमाटी गाविस शिवको पुख्र्यौली थातथलो हो । आसामतिर कमाउन गएका शिवका ठुलबुवा तेजबहादुर परियार अहिलेसम्म फर्केका छैनन् । आफ्ना दाइलाई खोज्न १५–१६ वर्षको उमेरमा घरबाट निस्केका शिवका बुवा राधुरामले आसाममा सात वर्ष बिताए । त्यहाँ कमाएको केही पैसा लिएर २२ वर्षको उमेरमा साधुराम सर्लाहीको हजारी झरेका हुन्, आमा र दुई बहिनीलाई च्यापेर । हजरियामा उनले दुई कट्ठा जमिन किनेर गुजाराको बाटो गरे । मधेस झरेको दुई वर्षमा धनुषाको बट्टेश्वरकी मनकुमारीसँग साधुरामको बिहे भयो । 

अढाई कट्ठा जमिनले गुजारा नहुने देखेपछि उनी कामको खोजीमा पुनः आसामतिर निस्केका थिए, श्रीमतीलाई माइतीमा छाडेर । उनलाई सर्लाहीकै मुर्तियामा कसैले रोकेर भन्यो, ‘मेरो जमिन कमाऊ, मलाई अलिअलि देऊ, दुवैलाई हुन्छ, किन आसाम जान्छौ ?’

यसो विचार गर्दा उनलाई ठीकै लाग्यो । श्रीमतीलाई लगेर उनले मुर्तियामा खेती सुरु गरे, शिवको जन्म त्यहीँ भयो । यता हजरियामा साधुरामका आमा र बहिनीहरू थिए । अढाइ वर्षजति मुर्तियामा काम गरेर जोडेको पैसाले साधुरामले हजरियामा जग्गा थपे, दुईबाट १० कट्ठा पुग्यो । त्यति बेला जग्गा सुद भरना (बन्धकीजस्तै) खाने चलन थियो । यसरी उनले परिवारलाई लाउन र खानमा कमी गरेनन् । शिव एउटा औसत किसानको छोरो भएर हुर्किए । 

शिवले २०७१ सालमा आफ्नै बलबुताले पेप्पीकोलामा घर बनाएका छन् । २०७२ सालको साउनदेखि बुबाआमा लगायत परिवार उनको साथमा छ । शिव अहिले परिवारको काखमा संगीतको साधना गरिरहेका छन् । बीचमा केही समय गुरुको सान्निध्यबाट पर रहेका शिव पछिल्लो डेढ वर्षदेखि गुरु (चन्दनकुमार)को सामीप्यता रहेर गुरु–शिष्य परम्परालाई अगाडि बढाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप