सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘पार्टी अध्यक्ष बन्नकै लागि हो भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन जरुरी छैन’

सोमबार, २९ असोज २०८०

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टीको आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि केपी शर्मा ओलीको विकल्प नदेखिएको बताउँछन् । उनी प्रदेश अधिवेशनका क्रममा विभिन्न प्रदेशमा भएका निर्वाचनले पार्टीलाई पुरानै लयमा फर्काएको रुपमा कार्यकर्ताले बुझ्न थालेको धारणा राख्छन् । कार्यकर्ताको तल्लो पंक्तिको चाहनालाई नेतृत्वले अब बुझ्नुपर्ने उनको भनाइ छ ।

उपमहासचिव गुरुङसँग हालै सम्पन्न प्रदेश अधिवेशन, कोशीमा सरकार गठनका लागि बनेको नयाँ समीकरण र पार्टीको नेतृत्व लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

प्रदेश अधिवेशनपछि एमालेमा फेरि आन्तरिक लोकतन्त्र फर्किएको हो ?

नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र पुनर्बहाली भयो भन्न सकिन्छ । एमालेले प्रतिस्पर्धाको राजनीति छाड्यो भन्ने थियो, त्यो चाहिँ प्रदेश अधिवेशनले फर्कायो भन्न मिल्छ ।

आन्तरिक लोकतन्त्र पुनर्बहाली भएको हो कि पार्टीको मूल नेतृत्वप्रति कार्यकर्ताले विद्रोह गरेका हुन् ?

‘मिसन ग्रास रुट’मा जाँदा थाहा भयो कि पार्टीको सिस्टम लगभग ‘कोल्याप्स’ भइसकेको रहेछ । कहीँ कमिटी चलेको छैन । एक जना सदस्य थपिएको छैन । कुनै गतिविधि छैन । गएको स्थानीय, प्रदेश, संघको चुनावमा त्यत्रो अन्तर्घात भयो, त्यसको छानबिन गर्ने, ठिक बेठिक छुट्याउने, कारबाही गर्ने, प्रोत्साहन गर्ने काम केही भएन ।

यी काम हुन नसक्नुको कारण खोज्दै जाँदा सर्वसम्मत नेतृत्व छान्दा सफल भएन । किनकि त्यहाँ अधिकतम योग्य व्यक्ति पुगेन । त्यस कारण प्रतिस्पर्धामा जानुको विकल्प देखिएन । निरपेक्ष सहमतिको कुरा गरेर हुँदैन भनेरै निर्वाचनमा गइएको हो । यसलाई कार्यकर्ताले पार्टी पुरानै लयमा फर्कियो भनेका छन् ।

Prithvi Subba Gurung 2

अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल विरोधी नेतृत्व प्रदेशमा आएकोलाई के भन्ने ?

अरु प्रदेशमा मलाई थाहा भएन तर गण्डकी प्रदेशमा अध्यक्ष केपी ओलीले फलानो व्यक्तिलाई भोट हाल्नु भनेर भनेको मैलेचाहिँ थाहा पाइनँ ।

अध्यक्ष र महासचिव पार्टीभित्र अलोकप्रिय बन्दै गएको भनेर भन्नचाहिँ मिल्छ ?

त्यो निष्कर्षमा पुग्नु गलत हुन्छ । किनकि अध्यक्ष र महासचिवको उम्मेदवार एउटा र हाम्रो अर्को भन्ने त थिएन । तर कार्यकर्ताको तल्लो पंक्तिले के चाहिरहेको छ भन्ने कुराचाहिँ नेतृत्वले बुझ्ने बेला आयो भन्छु म । कार्यकर्ताले घण्टी बजाए भन्नेचाहिँ बुझ्नुपर्छ ।

बागमती र कोशीमा बाहेक अध्यक्षले नचाएका व्यक्ति प्रदेश अध्यक्ष बनेको कुरा त सत्य हो नि ?

मैले पनि सुनेको के हो भने बागमतीमा चाहिँ अध्यक्ष मण्डलमा जो बसेका थिए, उनीहरुले स्वतन्त्र भूमिका निर्वाह गरेनन् भन्ने छ । अमूक व्यक्तिले जित्ने परिस्थिति नबन्दासम्म चुनावै नगर्ने काम भयो भन्ने छ । त्यसले पार्टीलाई राम्रो गरेको छैन ।

प्रदेश अधिवेशनपछि अध्यक्ष ओलीविरुद्ध संगठित रुपमा समूह निर्माण भयो भनेर चाहिँ तपाईंहरुले देखाइदिनुभयो, होइन ?

त्यस्तो मलाई लाग्दैन । आजको दिनमा नेताहरुले कसरी मूल्याङ्कन गर्नुभएको छ, थाहा भएन । हाम्रो पार्टी अध्यक्ष त यस्ता मसिना कुराहरु पनि मूल्याङ्कन गरेर बस्ने व्यक्ति हो । तर केपी ओलीको विकल्पमा जान्छु भनेर कसैले हिम्मत गरेको पनि छैन र आउँदो ११औँ महाधिवेशनमा ओलीविरुद्धमा कोही जान पनि सक्दैन । त्यो सम्भावना पनि छैन ।

आउँदो महाधिवेशनमा केपी ओलीको विकल्प छैन अध्यक्षमा ?

तुजुक गरेर हुन्छ ? विकल्प छैन । खाली समस्या के हो भने उहाँ एक्लो नेता भइसकेपछि उहाँले तल हेर्दा दायाँबायाँ हेर्नु हुँदैन । यदि त्यस्तो भयो भने दुर्भाग्य हुन्छ । हामी तलका सबैले उहाँलाई माथि हेर्ने, अनि उहाँचाहिँ यो, त्यो भन्न थाल्नु भयो भने दुर्भाग्य हुन्छ । यसमा उहाँ एकदम सचेत हुनुपर्छ ।

प्रदेश अधिवेशनले जबर्जस्त रुपमा उपाध्यक्ष विष्णु पौडेल र तपाईंहरुको समूह निर्माण गर्यो भन्ने छ, यो समूह ओली समूहको विकल्प हुनसक्छ भन्ने टिप्पणीलाई के भन्नुहुन्छ ?

विष्णु पौडेलले गरे भन्ने त मलाई लाग्दैन । मैले त उहाँ चुनावमा कतै गएको पनि देखिनँ । भैंसेपाटीमै बस्नुभयो । अर्को कुरा, मैले त्यस्तो पनि देखेको छैन ।

गण्डकीमा चाहिँ तपाईँले चमत्कार नै गर्नुभयो रे, अझ त्यहाँ त एमाले होइन पृथ्वी सुब्बा गुरुङको जित भयो भन्ने छ नि ?

त्यसो भए त गण्डकीमा सच्चा एमाले म मात्र रहेछु भनेर बुझ्नुपर्‍यो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय बनाउने चर्चा छ, यसमा तपाईंको प्रतिक्रिया के हो ?

उहाँ राजनीतिमा आउन चाहने कि नचाहने, पहिलो कुरा त्यो उहाँको विषय हो । पहिला त विद्या भण्डारीलाई नै सोध्नुपर्‍यो । उहाँले आउँछु भनेको सुनेको छैन मैले ।

उहाँले राजनीतिमा आउँदिन भनेको पनि सुनिएको छैन नि त ?

अहिले नै किन अनुमान गर्ने हामीले ? आउनु भयो भने स्वागत नै गर्नुपर्छ, हाम्रो संविधानले रोकेको छैन ।

Prithvi Subba Gurung5

अघि तपाईँले नै केपी ओलीको विकल्प छैन भन्नुभएको होइन त ?

एमालेलाई अगाडि बढाउने हो भने केपी ओलीको विकल्पमा अर्को मान्छे मचाहिँ देख्दिनँ ।

विद्या भण्डारी आउँदा ठिक भनेको कि आउनु हुँदैन भनेको ? स्पष्ट पार्दिनुस् न ।

पार्टी अध्यक्ष बन्नकै लागि फेरि सक्रिय राजनीतिमा आउन खोज्नुभएको हो भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन जरुरी छैन ।

राष्ट्रपति भइसकेको व्यक्ति पार्टीको केन्द्रीय सदस्यमात्र बन्न त आउने होइन होला नि त  ?

पार्टीको विधानमा कहाँ छ त्यस्तो कुरा ? विधानले राष्ट्रपति भइसकेको व्यक्ति अध्यक्ष बाहेक अरु पदमा बस्न मिल्दैन भनेको छ र ? उपाध्यक्ष पनि हुन सक्नुहुन्छ नि ।

कोशी प्रदेशमा ४० सिटको एमाले ८ सिटको कांग्रेसको पछि किन लागेको ?

राजनीतिमा सबै कुरा सम्भव हुन्छ । राजनीतिको गति सधैँ एक ठाउँमा बस्दैन भन्ने कुरा बुझ्नुपर्छ ।

कोशीको बाछिटा सिंहदरबारसम्म पनि आउन सक्छ ?

अहिले नै संघको सरकार ढल्छ भन्ने मलाई लाग्दैन ।

नसकेर हो ?

सके हामी गठबन्धन नै फोडिदिने हो र अर्को गठबन्धन बनाउने हो ।

अर्को गठबन्धन कोसँग बनाउने ?

अहिलेको दक्षिणपन्थी गठबन्धनभन्दा त वामपन्थी गठबन्धन मुलुकका लागि फेरि पनि आवश्यक छ ।

भनेपछि एमाले माओवादी एकता हुन्छ कि के हो फेरि ?

एकताको त अहिले नै सम्भावना देख्दिनँ । त्यसका लागि नेताहरु तयार भएको देखिँदैन । तर गठबन्धन बनाउने कुरा सम्भव छ र त्यसको आवश्यकता पनि छ ।

एमाले–कांग्रेसको सरकारको सम्भावना नि ?

संघको हकमा अहिले त्यो परिस्थिति बनिसकेको छैन ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया