बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङमा उल्टिएको परिणामबारे के भन्छन् कांग्रेसका चुनावी कमाण्डर ?

सोमबार, १७ वैशाख २०८१, १६ : १६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । वैशाख १५ मा सम्पन्न उपनिर्वाचनको मत परिणाम नेकपा एमालेको पक्षमा देखिएको छ । इलाम–२ र बझाङ प्रदेशसभा–१ मा भएको उपनिर्वाचनको चुनावी परिणाम एमालेको पक्षमा देखिएको हो । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित जिततर्फ उन्मुख देखिन्छन् । कांग्रेसका डम्बरबहादुर खड्काले इलाम–२ मा चुनाव जित्न सम्भावना बिस्तारै क्षीण बन्दै गएको छ ।

२०७९ को आम निर्वाचनमा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले खड्कालाई ११४ को झिनो मतले पराजित गरेका थिए । माओवादी र एकीकृत समाजवादीको साथमा सुवासलाई कडा टक्कर दिएका खड्का उनकै छोरा सुहाङसँग निकै पछाडि परेका थिए । गत भदौ २६ मा हृदयाघातका कारण सुवासको निधन भएपछि रिक्त इलाम– २ एमालेले नै सुरक्षित गर्ने सम्भावना बढ्दै गएको छ ।

उता बझाङ प्रदेशसभा–१ मा एमालेका दमनबहादुर भण्डारीले जित दर्ता गरिसकेका छन् । २०७९ मंसिरमा गठबन्धनको बलमा नेपाली कांग्रेसले जितेको बझाङ प्रदेशसभा–१ उपनिर्वाचनबाट एमालेले खोसेको छ ।

आम चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंहसँग एमालेका अफिलाल ओखेडा पराजित भएका थिए । गत असार ५ मा सवारी दुर्घटनामा परी कांग्रेसका सिंहको निधन भएपनि उपनिर्वाचन भएको हो । 

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा यसपटक एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेसले एमालेका दमनविरुद्ध सिंहकै छोरा अभिषेकलाई मैदानमा पठाएको थियो ।

एमालेका दमनसँग कडा टक्करबिच कांग्रेसका अभिषेक २६७ मतले पराजित भएका छन् । बझाङ प्रदेशसभा –१ को कमाण्डर रहेका कांग्रेस नेता एनपी साउदसँग रातोपाटीले उपचुनावबारे संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ साउदसँगको कुराकानी –

  • बझाङमा कडा टक्करबिच कांग्रेस पराजित भयो । यसलाई कसरी हेर्नु भएको छ ?

–बझाङमा पहिले (२०७९) को निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेभन्दा हाम्रो मत कम थियो । बझाङ प्रदेशसभा –१ मा १३ हजार मत एमालेको थियो । हाम्रो १० हजार मात्र थियो । प्रत्यक्ष मतमा कांग्रेस (पृथ्वीबहादुर सिंह)ले १७ हजार ११२ मत पाएको थियो । एमालेले १३ हजार ३३६ मत पाएको थियो ।

गठबन्धन हुँदा (माओवादी र एकीकृत समाजवादीको सहयोगले) ३ हजार ७७६ मत मतान्तरले  हामीले चुनाव जितेका थियौँ । यो पटक सबै साथीहरूले सहयोग गरेकै थिए, खटेकै थिए । तर चुनावमा पराजित भइयो । पहिले गठबन्धनको आधारले जितेका थियौँ । अहिले हामीसँग गठबन्धन थिएन । 

एकीकृत समाजवादीको बलियो पकड भएको क्षेत्रमा पनि एमालेले मतान्तर धेरै बढायो ।
  • एक्ला एक्लै चुनाव लड्दा एमालेलाई जित्न कांग्रेसलाई कठिन रैछ हैन त ? 

–विशेष गरेर उहाँहरू (एमाले)को समानुपातिक मत धेरै हुनाले हाम्रो तर्फबाट धेरै बल गर्दा पनि चुनाव जित्न सकिएन । पराजित भइयो ।

  • एकीकृत समाजवादीले एमालेको केही मत काट्दा चुनाव जित्न सकिने कांग्रेसको विश्लेषण थियो । त्यसले काम गरेको देखिएन । एकीकृत समाजवादीले तपाईंहरुले सोचे जस्तो मत काट्न सकेन भन्ने हो ?

–एकीकृत समाजवादीको बलियो पकड भएको क्षेत्रमा पनि एमालेले मतान्तर धेरै बढायो । विशेष गरेर छबिसपाथिभेरामा गाउँपालिकामा एमालेले ठुलो मात्रामा मतान्तर बढाउनु पनि पराजयको कारण हो । एकीकृत समाजवादीले छबिसपाथिभेराको उपाध्यक्षसहित २ वटा समेत जितेको थियो । स्थानीय तहमा एमाले निल रहेको छबिसपाथिभेरामा हामीभन्दा धेरै मत पाउनुले एकीकृत समाजवादीले आफ्नो मत पनि जोगाउन नसकेको देखियो । एकीकृत समाजवादीले हामीले अपेक्षा गरेको जस्तो मत काटेन ।

  • उपचुनावको परिणामलाई समग्र रूपमा कसरी हेर्नु भएको छ ?

–उपचुनाव हो । सत्तामा रहेकाहरूले उपचुनावमा सरकारी स्रोत साधनको उपयोग गर्ने नै भए । सरकारी संसाधनको प्रयोग धेरै भयो । समग्रमा म यत्ति मात्र भन्न चाहन्छु कि पहिले जित्दा गठबन्धनमा थियौँ । हाम्रो समानुपातिक मत एमालेभन्दा कम थियो । त्यो दृष्टिकोणले हेर्दा हामीले उल्लेख्य मत प्राप्त गरेका छौँ । केही थप बल लगाउन सकिएको भए जित्न सकिने अवस्था पनि थियो । 

अहिले माओवादी एमालेसँग गएपछि दोहोरो मार हुने नै भयो ।
  • इलाम–२ को उपनिर्वाचनको मतगणनाको रुझान पनि कांग्रेसको पक्षमा देखिएको छैन । एमाले उम्मेदवार सुहाङ नेम्वाङसँग कांग्रेस उम्मेदवार डम्बर खड्का करिब ५ हजार मतले  पछाडि परेका छन् । इलाम–२ र बझाङ प्रदेशसभा – १ को उपचुनावलाई २०८४ को आम निर्वाचनको सन्देशका रूपमा पनि हेरिएको छ । उपचुनावले कांग्रेसका लागि के सन्देश दियो जस्तो लागेको छ ?

–इलाममा पनि समानुपातिकतर्फ माओवादी केन्द्रको ५ हजार मत थियो । एमाले आफै पनि हामीभन्दा ४ हजार मतले समानुपातिकतर्फ बढी थियो । इलाम–२ मा एमालेको समानुपातिक मत २६ हजार ५६२ मत थियो भने कांग्रेसको समानुपातिक मत २२ हजार ३३३ मत थियो ।

एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लड्दा हिजो माओवादीबाट आएको मत हामीलाई आएन । त्यसैले अहिले माओवादी एमालेसँग गएपछि दोहोरो मार हुने नै भयो । एमाले–माओवादीको गठबन्धन भएपछि इलाममा हामी पछि पर्नु परेको हो जस्तो लाग्छ मलाई ।

  • उपचुनावमा कांग्रेसले पाएको मत सन्तोषजनक नै हो त्यसो भए ?

–बझाङ प्रदेशसभा–१ विगतमा कांग्रेसले जितेको ठाउँ थियो । माओवादी र एकीकृत समाजवादीसँग तालमेल गरेको आधारमा जितेका हौं । त्यहाँ पर्याप्त प्रयत्न र कोसिस भएको थियो । कहीँ कमी कमजोरी भएको छ भने पनि त्यसको समीक्षा गरिनेछ ।

त्यसको बारेमा अहिले नै केही भन्न सक्दिनँ । त्यहाँको पार्टी जिल्ला कमिटी, प्रदेश कमिटीले समीक्षा गर्ने छन् । तर, हामी जितको धेरै नजिक थियौँ । जित्ने कुरामा विश्वस्त पनि थियौँ । परिणाम अनुकूल आएन । तैपनि जनताले दिएको मत उल्लेख्य हो । हामीलाई जनताले सम्मानजनक मत दिनुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप