बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू

सोमबार, १७ वैशाख २०८१, १९ : ५६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन् ।

नेपालले आगामी वैशाख २४ गते इङ्ल्याण्डको अल्डरसटमा तेस्रो डिभिजन क्लब स्टोक सिटीसँग खेल्दैछ । सोही खेलका लागि सोमबार भएको बिदाइ कार्यक्रममा कप्तान लिम्बुले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । इङ्लिस टोलीसँगको खेलका लागि आफ्नो टोली उत्साहित रहेको उनले बताए । टोलीमा नयाँ खेलाडीको आगमनमा केही सकारात्मक पक्ष रहेको उल्लेख गर्दै ती खेलाडीले इङ्लिस फुटबलमा खेल्न पाउनु सुखद पक्ष रहेको कप्तान लिम्बूको बुझाइ छ ।

नेपाली टोलीलाई सोमवार नेपालका लागि इङ्ल्याण्डका राजदूत रोब फेन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलगायतले बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा कप्तान किरणले नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ रहेकाले इङ्ल्याण्डको मैत्रीपूर्ण खेल ती खेलाडीका लागि राम्रो तयारी हुने आशा व्यक्त गरे । विश्वकप छनोटचरणको खेलका लागि नयाँ खेलाडीलाई एक्सपोजर आवश्यक रहेको कप्तान किरणले बताए ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीको तयारी छोटो भए पनि तयारी रहेको उल्लेख गर्दै इङ्लिस फुटबलको तल्लो डिभिजनको टोली भएपनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ छ । पछिल्ला समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनले बताए ।

बिदाइ कार्यक्रममा इङ्ल्याण्डका राजदूत फिनले बाल्यकालका आफ्नो खेलबारे स्मरण गर्दै नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको धारणा राखे । साथै उनले स्टोक सिटीबाट नेपालले राम्रो नतिजा पनि पाउने उनले आशा व्यक्त गरे ।

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्वाङले यो मैत्रीपूर्ण फुटबलको व्यवस्थापन गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिए । इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण फुटबलबाट खेलाडीले धेरै अनुभव प्राप्त गर्ने उनले आशा व्यक्त गरे । उनले इङ्ल्यान्डका राजदूतलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । एन्फाले सोमबार नै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको थियो । फत्तेमान घलेलाई पहिलोपटक समेट्दै नेपाली टोली घोषणा भएको छ । एनेसले सोमबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् । मिडफिल्डरमा फत्तेमानसहित मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन बिष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव बिष्ट छन् । एन्फाका सदस्य मनिष जोशीको नेतृत्वमा नेपाली टोली इङ्ल्याण्ड जाँदैछ । टोलीको प्रशिक्षण टोलीमा प्रवेश कटवाल र विनोद महर्जन छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप