बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै

सोमबार, १७ वैशाख २०८१, १५ : ००
सोमबार, १७ वैशाख २०८१

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । अत्यधिक गर्मीका कारण पानीको स्रोतको रूपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए ।

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए । ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानीको अभाव भएको छ । चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई विगत एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि बारुणयन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए । उनले पानीको दीर्घकालीन समस्या समाधानमा समेत नगरपालिका जुटेको सुनाए ।

प्रमुख यादवले भने, “हरिहपुर दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युवेल सञ्चालनमा ल्याउन मर्मत सम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा रु बीस लाखको लागतमा एक थान नयाँ डिप ट्युवेल र तीन वटा इनार खन्ने योजना बनाएर काम भइरहेको छ ।”

त्यसैगरी, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि रु २० लाखको लागतमा नयाँ डिप ट्युवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले बताए ।

हरिहरपुरका युवा विनोद यादवले जमिनमुनि पानीको जलस्तर तलहुँदै गएकाले पानीका स्रोत सुकेको बताए । उनले विगत केही वर्षदेखि सुख्खायाम सुरु भएसँगै यस क्षेत्रमा पानीका स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायको खोजीमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकल लगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप