आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

काठमाडौँमा आयो, सुर्खेतको बालुवाटारमा दसैँ आएन

आइतबार, ०५ कात्तिक २०८०, ११ : ३२
आइतबार, ०५ कात्तिक २०८०

सुर्खेत । बालुवाटार भन्नेबित्तिकै काठमाडौँमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको निवास भन्ने बुझिन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ मा पनि बालुवाटार भन्ने ठाउँ छ तर यहाँ भुइँमान्छे बस्छन् ।  

वीरेन्द्रनगर उपत्यकाको पूर्वी क्षेत्रमा झुप्रा खोलाको पश्चिम किनारास्थित बालुवाटारको २६ घरधुरीको १५० भन्दा बढी जनसंख्यामध्ये ९८ प्रतिशत दलित छन् । केही घर क्षेत्री र योगीका छन् । प्रदेश राजधानीकै नगरभित्रको बस्ती भए पनि यहाँका नागरिकले राज्यबाट पाउने आधारभूत सेवा–सुविधा पाएका छैनन् । बालविवाह, गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्य यहाँका प्रमुख समस्या हुन् । सबैभन्दा ठूलो समस्या यहाँ लालपुर्जाको छ । यहाँका कुनै पनि नागरिक अहिलेसम्म जमिनको मालिक बन्न सकिरहेका छैनन् । यो बस्तीका लागि आर्थिक उपार्जनको एक मात्र माध्यम थियो, खोलाको बालुवा । अचेल बालुवा चालेर बेच्न पाइँदैन, त्यसैले धेरैलाई छाक टार्न मुस्किल भएको छ । 

उजाड घर

यहीँकी ४६ वर्षीया तुल्सी बैगारको काँधमा सात सन्तानको पालनपोषणको जिम्मेवारी छ । दोस्रो बिहे गरेर हिँडेका उनका श्रीमान् कहाँ पुगे, पत्तो छैन । तुल्सीले बालुवा चालेरै जीविका गर्दै आएकी थिइन्, अहिले उनलाई हातमुख जोर्न समस्या भएको छ । ‘हामी गरिबकन त दसैँ दशाजस्तै हो । पहिला यही खोलामा बालुवा चाल्थ्यौँ,’ दसैँको मुखमा भेटिएकी उनले भनिन्, ‘अहिले हामीलाई खानको समस्या छ ।’ 

तुल्सि

दसैँमा राम्रो लगाउने, मिठो खानेभन्दा पनि तुल्सीलाई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । 

सामुदायिक वनभित्रको बस्ती भएकाले अहिलेसम्म नापी समेत नभएको बस्तीका अगुवा कर्णबहादुर गन्धर्व (४१) बताउँछन् । ‘हामीले जमिनको अधिकार मात्र पाइदिएको भए पनि केही हदसम्म सजिलो हुन्थ्यो,’ उनले भने, ‘यहाँ सिर्फ छाप्रोमा बस्ने सुविधाबाहेक अरु केही छैन । सबै किनेर खानुपर्छ ।’

यो बस्तीमा १२ कक्षा पास गरेका जम्मा दुईजना छन् भने १० कक्षा पास गरेका चारजना । धेरैले सानै कक्षादेखि पढ्न छाड्छन् ।

१२ पास गरेका एक मात्र विद्यार्थी

१० र १२ कक्षा पास गरेका पनि धेरैजसो भारततिर छन् । १२ कक्षा पास गरेर गाउँमै बसिरहेका २२ वर्षीय गोकर्ण गन्धर्व भन्छन्, ‘निम्न आर्थिक अवस्थाकै कारण मैले उच्चशिक्षा अध्ययन गर्न सकिनँ ।’ गरिबीकै कारण यहाँका मानिस साक्षर हुन र उच्च शिक्षा लिन सकिरहेका छैनन् । 

दसैँ आउँदा यस बस्तीका मान्छेलाई चिन्ता छ, साहुले पत्याउने होइनन् कि ! स्थानीय टीका नेपाली भन्छिन्, ‘घरमा चामल सकिन लाग्यो । रोजगारी छैन, आयआर्जनको अरु खासै स्रोत छैन । बेरोजगार भएपछि रासन दिने साहुजीले पत्याउने हो वा होइनन् भन्ने चिन्ता छ । पुरानै तिर्न सकिएको छैन ।’ 

गाउँका अगुवा कर्णबहादुरलाई यसपटकको दसैँ खल्लो लागिरहेको छ । ‘दसैँको कुनै रौनक छैन,’ उनले भने, ‘हाम्रो बस्तीमा पेटको भोक मेटाउन धौ–धौ भइरहेका बेला माछामासु कहाँबाट हजुर !’ 

अगुवा कर्णबहादुर

अधिकांश नेपालीले गौरवका साथ मनाउँदै आएको पर्व भए पनि गरिबीका कारण बालुवाटारमा दसैँको घाम लाग्न पाएको छैन । दसैँ मनाउनका लागि धनी–गरिब बीचको असमानतालाई अन्त्य गर्न राज्यले पहल गरिनुपर्ने कर्णबहादुरको भनाइ छ ।

‘आधारभूत आवश्यकता राज्यले पूरा गरोस्’

कापी–कलम, पोसाक नहुँदा आफ्ना छोराछोरी विद्यालय जान नमानेको बस्तीका केही अभिभावकले सुनाए । यस बस्तीमा विद्यालय छैन । विद्यालय जान आधा घन्टा जंगलको बाटो पार गरेर धुलियाबिटमा पुग्नुपर्छ । ‘कच्ची सडक त छ तर यहाँ गाडी चल्दैन । गाडी चले पनि चढ्न सक्ने आर्थिक अवस्था यहाँका अधिकांंशको छैन । बिरामी र सुत्केरीलाई हस्पिटल लैजान पनि समस्या छ,’ स्थानीय तुल्सी बैगार भन्छिन्, ‘केही समयअघि एक महिलालाई बेथाले निकै च्याप्यो । सबै मिलेर जारसम्म लग्यौँ, धन्न बचाउन सक्यौँ ।’ 

गरिब बस्तीहरूका लागि राज्यले न्यूनतम आधार तय गरेर माथि उठाउन पहल गर्नुपर्ने बस्तीका नागरिकको माग छ । अहिलेको अवस्थामा पनि बस्तीका नागरिकको खाद्य अधिकार सुनिश्चित नहुँदा बालबालिकाको शारीरिक र मानसिक अवस्थामा असर परेको अगुवा कर्णबहादुर बताउँछन् । ‘राज्यले धनी–गरिबको आर्थिक खाडल कम गर्ने विकास कार्यक्रम अघि बढाउनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्यको प्रत्याभूतिसँगै बजेटमार्फत सन्तुलित विकास निर्माण गरिनुपर्छ ।’ 

यहाँ केही समयअघि एक संस्थाको पहलमा विद्युत् पुगेको छ । गरिबीको चपेटाका रहेको बालुवाटारलाई व्यवस्थित ढंगले अगाढि लैजान पहल भइरहेको वडाध्यक्ष खिमलाल देवकोटा बताउँछन् । आफू वडाको नेतृत्वमा आइसकेपछि कच्ची भए पनि बाटो पु¥याउने काम भएको बताउँदै देवकोटा भन्छन्,‘ खानेपानीको काम प्रारम्भ गर्ने, सडकको स्तरोन्नति यही वर्षभित्र गर्ने भनेर लागिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप