सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
इतिहास

परालका जुत्ता लगाएर गाडी बोकेर काठमाडौँ भित्र्याउनेको कथा

बुधबार, ०८ कात्तिक २०८०, १८ : ०१
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । २०१३ साल अघिसम्म काठमाडौँमा गाडी भरियाले बोकेर ल्याउँथे । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन, त्यसपछि सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले ।

२०१३ सालसम्म विशेषगरी भीमफेदी, चित्लाङ र पालुङका मानिस गाडी बोक्ने काम गर्थे । गाउँको उत्पादनले वर्षभरि खान–लाउन पुग्दैनथ्यो । हातमुख जोर्न कि सहर पुग्नुपथ्र्यो कि मधेस । नत्र गाडी बोकेर काठमाडौं ल्याउँदा दुई–चार पैसा आम्दानी हुन्थ्यो । 

तत्कालीन राणाशासकका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउने गरिन्थ्यो । भारत हुँदै नेपाल खाल्डो भित्रिने साना–ठुला गाडीलाई युवाहरूले भीमफेदीदेखि बोक्थे । वीरगन्जदेखि हेटौँडा हुँदै तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म सडक सञ्चालन भइसकेको थियो । सोही सडक हुँदै गाडीहरू भीमफेदीसम्म आइपुग्थे । भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुर्याइन्थ्यो । 

भीमफेदीदेखि काठमाडौंसम्म गोरेटोको भरमा हिँडेर आवतजावत गर्नुपथ्र्यो । धनीमानीहरु उलिनकाठ चढेर यात्रा गर्थे, उलिनकाठ (एक प्रकारको डोली) बोक्नेहरु पनि युवा नै हुन्थे । । सोही बाटो हुँदै युवाहरू गाडी बोकेर काठमाडौँ पुर्‍याउँथे । 

राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्नका लागि सानो फाखेल, ठूलो फाखेल, तसर, तोक्मार, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका स्थानीय भरिया हुन्थे । 

गाडी बोक्नेमध्येका एउटा इतिहास हिराबहादुर घलान, जसको निधन २०७७ सालमा भयो । भीमफेदी र पालुङमा अझै पनि गाडी बोकेर काठमाडौं लगेको देख्ने केही वृद्ध भेटिन्छन् । मकवानपुर, थाहा नगरपालिका– ५ निवासी ८९ वर्षीय हिराबहादुर नै गाडी बोक्ने अन्तिम र जिउँदो इतिहास थिए । काँधमा गाडी बोक्नेमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन् । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेको कथा इतिहासको पानामा सीमित भएको छ । उनले जीवनभर २५ वटा गाडी बोके । गाडी बोक्ने थाहा– ५ कै अर्का पात्र जुक्तबहादुर वाइबाको २०७५ मा निधन भयो । 

gadi bokne ko katha (1)

बाबियोको डोरीले बाँधेर बोकिन्थ्यो गाडी

घलानले २००६ सालदेखि नै गाडी बोक्न सुरु गरेका थिए । त्यतिबेला ९६ जनाले र ६४ जनाले बोक्ने गाडी थिए । एउटा सिंगो गाडीलाई कसरी बोक्ने ? यो प्रश्न उब्जिनु सामान्य हो । गाडी बोक्नुअघि सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरू निकालिन्थ्यो । त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठुल्ठुला पोलजस्ता नोल राखिन्थ्यो । त्यसमा साना नोलहरू राखेर बाबियोको डोरीले कसेर नोल र गाडी एक ढिक्का हुने गरी बाँधिन्थ्यो । गाडी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरिया बस्थे । अनि एकसाथ बल गरेर होस्टेहैंसे गर्दै गाडी बोक्थे । 

गाडी बोक्ने काम भरियाको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । नाइके र महानाइके नै भरिया छनोट गर्नेदेखि अन्य व्यवस्थापनका काम गर्थे ।

हलुका गाडी पर्‍यो भने उनीहरूले एकै दिनमा कुलेखानीसम्म ल्याउँथे । गाडीलाई मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरू आ–आफ्नो घरमै बास बस्न आउँथे । अरु दिन भने उनीहरूको बास गाडी रोकिएकै ठाउँका स्थानीय घरमा हुन्थ्यो । हलुका गाडी सात र ठुला गाडीहरू १६ दिन लगाएर भरियाले काठमाडौं पुर्‍याउने गर्थे । 

साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुमामा ८–८, १६–१६ र २४–२४ जना युवाले काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेले ८–८ जनाले बोक्ने गाडी ३२ मोडल, १६–१६ जनाले बोक्ने गाडी ६४ मोडल र २४–२४ जनाले बोक्ने ९६ मोडलको गाडी बन्ने गर्थे । भीमफेदी कुलेखानी मार्खु चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौं पुर्‍याउन सातदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो । 

नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकार बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्यो समयमा एउटा सानो गीतको अंश नै बनेको थियो, ‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी ।’

मासु, ढिँडो, रोटी, जाँड र रक्सी खाएर उनीहरू गाडी बोक्थे । त्यसबेला पाँच पैसाको मासु र चार पैसाको फापरको रोटीले अघाउन्जेल खान पुग्थ्यो । कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिँडो बनाएर खाने गरेका थिए ।

त्यतिबेला अहिले जस्तो जुत्ता थिएन । उनीहरू परालको जुत्ता लगाउँथे । गाउँभरि परालको जुत्ता बनाउने जिम्मा पनि हिराबहादुर घलानको हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मुठो बोकेर जान्थे । गाडी बोकेर उकालो–ओरालो गर्दा परालको जुत्ता मुस्किलले एक दिन टिक्थ्यो । भरियाहरू असहजसँगै रमाइलो गर्दै गाडी बोक्थे ।

नौ रुपैयाँ ज्यालामा बोकिन्थ्यो गाडी

काँधमा गाँडी बोकेबापत उनले नौ रुपैयाँ ज्याला पाउँथे । बाँकी रहेको फैसा भरियाले बाँड्थे । त्यो पैसाले उनीहरू खानेकुरा किन्ने किन्थे । उनीहरूलाई काममा लगाउने र पैसा दिने मान्छे नाइके हुन्थ्यो । 

त्यसबखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे । उनै कुलबहादुरले दरबारमा गएपछि काठमाडौंमा गाडी भित्र्यााउन अनुमति पाए । शासकलाई सुविधा हुने कुरा सुनाएपछि शासकले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए ।

उनले नै अमलेखगन्जदेखि भीमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भीमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आइपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरबारसम्म पुर्‍याउँथे ।

यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सालसम्म चल्यो । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन । सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले ।

(‘छेलिएका अनुहार पुस्तक’ र इन्टरनेटमा भेटिएका सामग्रीका आधारमा यो आलेख रातोपाटीकर्मी गणेश दुलालले तयार गरेका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप