शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

डेंगुमान्डु !

बिहीबार, ०९ कात्तिक २०८०, ११ : ३०
बिहीबार, ०९ कात्तिक २०८०

प्रत्येक वर्ष पोस्ट मनसुन डेंगुको लहर काठमाडौँमा देखिँदै आइरहेको छ। सन् २०२१ अर्थात् गत वर्षको महामारी भन्दा अघिल्लो वर्ष पनि काठमाडौँका केही वडाहरूमा डेंगु व्यापक फैलिएको थियो।त्यो समय पोस्ट मनसुन सिजन नै थियो तर धेरैले थाहै पाएन।

पछिल्लो केही दिन यता काठमाडौँमा डेंगु सङ्क्रमितहरू पुष्टि हुने क्रम बढ्दो छ। यद्यपि जटिल डेंगु भने गत वर्षको तुलनामा आजको मितिसम्म कम नै देखिएको छ। अस्पतालमा दैनिक बढ्दो सङ्क्रमितको सङ्ख्याले काठमाडौँमा डेंगु व्यापक भएको अर्थात् काठमाडौँ सहर ‘डेंगुमान्डु’ मा परिणत भएको देखिन्छ। 

काठमाडौँमा कम जटिल डेंगु किन ?

यहाँ कम जटिल डेंगु भन्नाले गत वर्षको डेंगु महामारीसँग तुलना गर्न खोजिएको हो।मनसुन बाहिरिएसँगै डेंगु सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो लेखमा काठमाडौँमा मनसुन बाहिरिँदै गर्दा पोस्ट-मनसुन डेंगु भित्रिन सक्ने प्रक्षेपण सहितको लेख प्रकाशित गरेको थिए जुन नितान्त अनुभव र तथ्याङ्कमा आधारित थियो।काठमाडौँमा धरानमा जस्तो डेंगुले महामारीको रूप त लिएन तर लामखुट्टेको लार्भा नष्ट गर्ने जाँगर नदेखाउँदा डेंगु देखिने क्रम बढेको हो। 

कलङ्की, कालिमाटी, डल्लु, सानेपा, कीर्तिपुर र त्यस्तै भक्तपुरका केही क्षेत्रमा हाल डेंगु सङ्क्रमित बिरामीहरू देखिएको छ। सरसर्ती हेर्दा काठमाडौँको तिनै जिल्लामा यो वर्ष पनि डेंगुले आफ्नो प्रभाव पारेको देखिन्छ। तर जटिल डेंगुको बिरामीले अस्पतालमा चाप बढेको सङ्केत भने देखिएको छैन अथवा कम्तीमा पनि यो लेख लेख्दै गर्दा देखिएको छैन। 

दोस्रो पटक सङ्क्रमित भएका धेरैले आफूमा गत वर्ष जस्तो कडा डेंगुका लक्षणहरू महसुस नगरेको भन्ने गरेका छन्।ज्वरो तथा अरू लक्षणहरूको अवधि पनि गत वर्षको तुलनामा कम देखिएको भन्ने गरेका छन्। डेंगु तथ्याङ्कलाई गहिरिएर हेर्ने हो भने २-३ वर्षको अन्तरालमा भाइरसले ठुलो सङ्ख्यालाई प्रभाव पारेको देखिन्छ। 

कुनै पनि बिरामीलाई डेंगुको फरक सेरोटाईपले पुनः सङ्क्रमित गरे लक्षणले जटिल स्वरूप लिने वैज्ञानिक पुष्टि छ। काठमाडौँमा सन् २०१९ र २०२२ को अन्तरालमा डेंगुले सेरोटाईप बदलिएको देखिन्छ। र सम्भवत यही कारण होला गत वर्ष डेंगुका जटिल बिरामीहरू सन् २०१९ को भन्दा ह्वात्तै बढेको देखियो।अझ नेपालको इतिहासमा नै सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। हाल जटिल स्वरूपको डेंगु नदेखिनुमा सम्भवतः सेरोटाईप परिवर्तन नभएको हुनुपर्छ तर यदि रहेछ भने यो अनुसन्धानको विषय पक्कै बन्नेछ। 

कस्ता लक्षणहरू देखिँदै छन् ?

हुन त डेंगु लक्षणको बारेमा विभिन्न सञ्चारका मध्यमहरूबाट व्यापक प्रसारण हुँदै आइरहेको छ। डेंगुको अर्को नाम अत्यधिक दुखाई हो भन्दा फरक नपर्ला।तसर्थ सङ्क्रमितले शरीरको मांसपेशीका वा जोर्नीमा अत्यधिक पिडा महसुस गर्ने गर्दछन्। आँखाको गेडी दुख्ने धेरैले अनुभव गरेका छन्। कतिपयले आँखाको गेडी खस्ला जस्तो हुने गरेको अनुभव गरेका छन्। 

डेंगुका लक्षणहरू देखिन सुरु भएको केही दिनमा शरीरमा स-साना राता बिबिरा पनि देखिने गरेका छन् । खाना प्रति रुचि नदेखिनु र वाकवाक वा बान्ता हुनु धेरै डेंगु बिरामीले अनुभव गरेको अर्को मुख्य लक्षण हो। हाल काठमाडौँमा डेंगु पुष्टि भएका धेरै बिरामीले पातलो दिसा हुने गरेको समेत भन्ने गरेका छन् जुन चाखलाग्दो देखिन्छ।यो लक्षण डेंगु बिरामीमा देखिँदै नदेखिने त होइन तर यति व्यापक भने विगतमा देखिएको थिएन। 

विशेषत धेरै बिरामी निरन्तर उच्च ज्वरो, अत्यधिक शारीरिक पिडा  र वाक वाक वा बान्ता भएपछि मात्र चिकित्सकको सम्पर्कमा आउने गरेका छन् ।तर दोस्रो पटक डेंगु पुष्टि भएका (गत वर्ष पनि सङ्क्रमित भएका) अधिकांशले माथि उल्लेखित लक्षणहरू गत वर्षको भन्दा कडा र लामो नभएको भन्ने गरेका छन्।      

काठमाडौँ डेंगु किन फैलँदै छ ?

कारण सरल र स्पष्ट छ।धरानलाई एपीसेन्टर बनाएर पूर्वी नेपालमा डेंगुले व्यापकता लिइरहेको बेलामा काठमाडौँमा लामखुट्टेको लार्भा नष्ट गर्ने  कार्यलाई अगाडी बढाउन सकिन्थ्यो वा पर्थ्यो। गत वर्षको डेंगु महामारीमा अनुभवबाट पाठ सिक्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई सार्थकता दिनु पर्दथ्यो तर विडम्बना त्यसो हुन सकेन।

लामखुट्टे डेंगु भाइरस फैलाउन मुख्य कारक हो भन्ने सबैलाई थाहा छ र यो भाइरस फैलाउने एडीस जातको लामखुट्टेको सङ्ख्या र भौगोलिक बिस्तार बर्सेनि बढेको पनि देखिन्छ। एडीस जातको लामखुट्टेको लार्भा नष्ट गर्न नसके डेंगु नियन्त्रण असम्भव प्राय हुने गर्दछ किनभने वयस्क भैसकेको लामखुट्टे दिनमा बढी सक्रिय हुने/टोक्ने गर्नु नै यसको मुख्य कारण मान्न सकिन्छ। 

लामखुट्टेले बढी कस्ता ठाउँमा बढी टोक्दैछ ?

माथि उल्लेख गरे झैँ एडीस जातको लामखुट्टे दिनमा बढी सक्रिय हुने र टोक्ने भन्नुको अर्थ दिनमा जो जहाँ हुन्छ त्यहाँ लामखुट्टेले टोक्ने वा डेंगु फैलाउने सम्भावना उच्च हुन्छ भनेर बुझ्नु पर्दछ। जस्तै विद्यार्थीलाई विद्यालय, कलेजमा वा अध्ययन स्थलमा बढी टोक्ने छ भने कर्मचारीहरूलाई आफ्ना कार्यालयमा व्यस्त हुँदा टोक्नेछ। तर विडम्बना, हामी आफ्नो घर आँगनमा मात्र लामखुट्टे वृद्धि विकास नहोस् भन्ने चाहन्छौ तर आफ्नो अध्ययन गर्ने ठाउँ वा कार्यस्थलमा भने हामी सबैको ध्यान पटक्कै गएको देखिँदैन। परिणामस्वरूप पछिल्लो समय काठमाडौँमा डेंगु सङ्क्रमित हुने क्रमले तीव्रता र निरन्तरता पाइरहेको हो।

घरमा रहँदा लामखुट्टे धपाउने वा टोकाइबाट बच्च विभिन्न उपायहरू अपनाउने गर्ने गरिएता पनि कार्य वा अध्ययन स्थलमा भने गरिँदैन अझ सोच समेत भएको देखिँदैन।विगतमा झुल र धूपको प्रयोग गरेर विशेषत राति लामखुट्टे भगाउन केही हदसम्म सफल हुने गरेको भएता पनि डेंगु फैलाउने एडीस जातको लामखुट्टेको आनीबानी ठिक उल्टो अर्थात् दिनमा अत्यधिक सक्रिय हुँदा नयाँ चुनौती थपिएको हो।र तसर्थ हाल डेंगु विरुद्धको प्रभावकारी खोप समेत उपलब्ध नहुँदा डेंगुबाट बच्नु भनेको लामखुट्टेको टोकाइबाट नै बच्नु हो।              

डेंगु फैलन नदिन के गर्न सकिन्छ ?

डेंगु फैलन नदिनु भनेको नै लामखुट्टे फैलन नदिनु हो भन्दा फरक पर्दैन।लामखुट्टे फैलन नदिनु भनेको लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु हो।लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु भनेको पानी सङ्कलन हुने ठाउँहरू हुन नदिनु भन्ने हो।पानी सङ्कलन हुने ठाउँ भन्नाले विशेषत फालिएका गाडीका अव्यवस्थित टायर, ड्रम, प्लास्टिकका समानहरू र पछिल्लो समय घर-घरमा राखिएका फूलका गमलाहरू मुख्य मानिन्छ।

यस्ता ठाउँहरूको पहिचान गरी लामखुट्टेको लार्भा वा प्युपा नष्ट गर्न नसके लामखुट्टेको वयस्कलाई नियन्त्रण गर्न असम्भव प्राय हुनेछ। र डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने छ। यही कारणले गर्दा डेंगु भाइरसले आफूलाई बर्सेनि स्थिर राख्न सक्षम वा सफल भएको मान्न सकिन्छ।             

अन्त्यमा, बर्सेनि डेंगुले नेपालको कुनै न कुनै क्षेत्र/ठाउँमा प्रकोपको रूपमा फैलँदै र दुख दिँदै आइरहेको छ। डेंगु भाइरसको १९ वर्षीय इतिहास भइसक्दा  पनि डेंगु नियन्त्रण अभियान प्रति गम्भीर भने हुन सकेको/सकिएको छैन।यही कारणले हाल काठमाडौँ सहर हाल ‘डेंगुमान्डू’ मा परिणत भएको छ।तथ्याङ्कलाई आधार मान्ने हो भने प्रत्येक प्रकोप वा महामारीसँगै डेंगु सङ्क्रमित र मृतकको सङ्ख्या पनि बढेको पाइन्छ।अझ पनि लामखुट्टे नियन्त्रण प्रति हामी उदासीन हुने हो भने आगामी वर्षहरूमा नेपालले अप्रत्याशित तर जटिल डेंगुको सामना गर्नुपर्ने हुन्छ भन्दा अत्युक्ति नहोला।

डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप