आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पदमार्गले जोडियो ताकमकोत

बिहीबार, ०९ कात्तिक २०८०, १४ : २२
बिहीबार, ०९ कात्तिक २०८०

म्याग्दी । धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपीठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । 

पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए ।

“चार वर्षअघि सुुरु भएको पदमार्ग निर्माणकार्यले पूर्णता नपाउँदा भिरको उकालो बाटोमा जोखिम थियो,” उनले भने, “भिरको डिलतर्फ रेलिङ भएको पदमार्ग बनेपछि पर्यटक र भक्तजनलाई सहज भएको छ । चिप्लिएर लड्ने, घाइते हुने र दुुर्घटनाको जोखिम घटेको छ ।”

८७ मिटर ढुङ्गा चिनेको सिँढी, ४० मिटर रेलिङ र ७० मिटर ढलान गरिएको पदमार्ग निर्माण भएको छ । चालुु आर्थिक वर्षको बजेटबाट पदमार्ग निर्माण बाहेकका संरचना बनाउन भने बाँकी रहेको वडाध्यक्ष खत्रीले बताए । 

यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुुङले ताकम घनाबस्ती विकास कार्यक्रममार्फत करिब १०० मिटर पदमार्ग बनाइएको थियो । पदमार्ग निर्माण भएपछि यात्रा गर्न सहज र दुर्घटनाको जोखिम घटेको ताकमकोत मन्दिरका पुजारी हेमनाथ पौडेलले बताए । भिरको उकालो,ओरालो साँघुुरो बाटोमा चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या हटेको छ ।

वडादसैँको महानवमीका दिन ताकमकोतमा पुगेका म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले आर्थिक वर्षको पहिलो चौमासिकमै पदमार्ग निर्माण भएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता समितिलाई धन्यवाद दिए । 

“गत जेठमा हनुमानजीको मूर्ति उद्घाटनमा आउँदा पदमार्ग अधुरो भयो भन्ने गुुनासो सुुनेपछि चालु आर्थिक वर्षको योजनामा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरेका थियौँ,” उनले भने, “पहिलो चौमासिकमै काम सम्पन्न भएकोमा खुुसी लागेको छ । ताकमकोतमा थप पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट सहयोग हुुन्छ ।” 

ताकमकोटको आकर्षण बढाउन गत जेठ महिनामा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको थियो । समुुदायको चन्दा र धवलागिरि गाउँपालिकाको करिब रु ३५ लाख लगानीमा मूर्ति स्थापनाका साथै नजिकै पुरातत्व विभागका ठेकेदारले अधुरो छाडेको राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको हो ।

हनुमानको मूर्ति नजिकै पुरातत्व विभागले विसं २०७६ मा रु ४२ लाखमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम सीताको मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चार वर्षअघि रु असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । 

रु १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । ताकमकोतको पूर्वाधार निर्माणमा धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु एक करोड पचास लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताए ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । 

समुद्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप