बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
पर्व

यमपञ्चकमा नेपालीले कुन कुन पर्व कसरी मनाउँछन् ?

शनिबार, २५ कात्तिक २०८०, ११ : ३४
शनिबार, २५ कात्तिक २०८०

तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व हिन्दुहरूको दसैँ पछिको ठूलो हो । कोजाग्रत पूर्णिमाको १५ दिनपछि अथवा कार्तिक कृष्ण त्रयोदशीबाट सुरु हुने यो पर्व यस वर्ष (२०८०) कात्तिक २४ गते (कार्तिक कृष्ण त्रयोदशी) बाट सुरु भयो । यस वर्ष तिथिको घटबढले गर्दा धनतेरस द्वादशीकै दिन (कात्तिक २४) र कागतिहार २५ गते त्रयोदशीका दिन परेको छ । त्यसपछि क्रमशः कार्तिक कृष्ण चतुर्दशी वा नर्केचतुर्दशीका दिन कुकुरतिहार, २७ गते सोमबारे औँसी तथा लक्ष्मीपूजा, २८ गते गोवर्द्धन पूजा, म्हपूजा, बलिपूजा र २९ गते बुधबार कार्तिक शुक्ल द्वितीयामा भाइटीका, यमद्वितीया, किजापूजा परेको छ । यसरी २५ गतेदेखि २९ गतेसम्म पाँच दिनलाई यम पञ्चक पनि भनिन्छ । 

दीपावली वा तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्दछ भने कागतिहार र गोवर्द्धन पूजाले मानव र प्रकृतिबिचको सम्बन्धलाई समेत देखाउँछ । तिहारमा गाईगोरु, भैँसी आदि घरमा पालिएका पशुलाई ढुटोपिँणो खानका लागि अघिल्लै दिन दियो बालेर निम्ता दिने परम्परा छ । यसै गरी तिहारको टीका लगाउन दाजुभाइ, दिदीबहिनीको घरमा जाने वा दिदीबहिनी दाजुभाइका घरमा जाने परम्परा छ । यसले गर्दा दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले अझ प्रगाढ पारेको पाइन्छ ।

यो दीपावली संसारका हिन्दुहरू बढी भएको देशहरू नेपाल, फिजी, गुयाना, भारत, मलेसिया, मौरीशस, म्यान्मार, पाकिस्तान, सिंगापुर, श्रीलंका, सुरीनाम, त्रिनिडाद र टोबैगो आदिमा सांस्कृतिक रूपले मनाइन्छ । आजभोलि त संसारका आधाभन्दा बढी देशमा नेपाली पुगेर बसोवास गरेको भन्ने पाइन्छ । जहाँ मानिस जान्छ आफ्नो संस्कार पनि सँगै जान्छ । त्यसै हुनाले जहाँ सनातनी हिन्दूहरू पुगेका हुन्छन्, त्यहाँ कुनै न कुनै रूपमा दिपावली मनाएको पाइन्छ । 

तिहार वा दीपावली किन गरिन्छ ?

हिन्दु सनातनीहरूमा दीपावली वा तिहार मनाउने विभिन्न तीनवटा आधार पाइन्छन् ।

त्यसमा एउटा हो, जसरी श्रीरामबाट लङ्काका राजा रावणलाई मारेर सीताजीलाई मुक्त गर्दा उत्सवका रूपमा दसैँको टीका जमरा लगाइयो, त्यसै गरी उनीहरू १४ वर्ष वनवास पूरा गरी अयोध्या आउँदा उनीहरूको सम्मानमा अयोध्यावासीले उत्सवका रूपमा दीपावली गर्न सुरु गरे । यही परम्परालाई आजसम्म हामीले दीपावली भनी मनाइआएका छौँ ।

अर्को हो भगवान् श्रीकृष्णजीले नरकासुर राक्षसलाई मारे रे । तत्कालीन समयमा जनतालाई धेरै दुःख दिएको राक्षसलाई श्रीकृष्णजीले मारेको उपलक्ष्यमा द्वारकापुरवासीले उनको सम्मानमा उत्सवका रूपमा दीपावली गरे । यसैको सम्झनामा र उपलक्ष्यमा मथुरा एवं ब्रजवासीले दीपावली गरी उत्सव मनाएको पाइन्छ । उपनिषदमा ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् हे भगवान मलाई अन्धकारबाट उज्यालोतर्फ लैजानुहोस् । अँध्यारोको समयमा दीपावली गरेर उज्यालो बनाएको प्रसङ्गले दीपावलीको महत्त्व दर्शाइएको हो ।

हिन्दु सनातनी सँगसँगै जैन र सिख धर्मावलम्बीले पनि यो दीपावली या तिहार मनाइन्छ । यस पर्वमा विभिन्न किसिमका रङहरूको प्रयोग गरिन्छ । रातोलाई समृद्धिको र लक्ष्मीलाई मनपर्ने रङ मानिन्छ । यसैले यस पर्वमा रातो रङको धेरै प्रयोग गरिन्छ । विभिन्न रङ प्रयोग गरेर अष्टदल, स्वस्तिक, लक्ष्मीयन्त्र आदि बनाइन्छ । यही दीपावलीमा दिउँसो चङ्गा र साँझ पटका पट्काउने, केटाकेटीहरू लिङ्गेपिङ वा रोटे पिङ खेल्न गर्दछन् । 

जुवातास त कोजाग्रत पूर्णिमादेखि नै खुलेको मानिन्छ । त्यसमा पनि तिहारमा जुवा, तास, लङ्गुरबुर्जा, ओखर आदि खेल अघिपछिको अनुपातमा अलि बढी नै खेल्ने गरेको पाइन्छ । यसै सन्दर्भको परिणामलाई दर्शाउँदै नेपाली लोकगीतमा प्रचलित गीत यस प्रकार गाउने गरिन्छ — ‘नखेल्नु जुवा र तास धनको नाश जीवनको वनीवास’ । 

यसै गरी लक्ष्मी पूजाका दिन साँझ साना केटाकेटीहरू देउसी गीत गाउँदै, बजाउँदै र नाच्दै घर आँगनमा आइपुग्छन् । यो देउसीमा ती केटाकेटीले स्वर मिलाएर घोक्रो फुलाएर गाउने गीत यस्ता यस्ता हुने गर्छन् :

यो घरकी आमा कस्ती छन् ?

साँच्चै लक्ष्मीजस्ती छन् । 

दिएर कहिले नसक्ने 

अञ्जुली यता फैलाउँछिन् । 

गाउ भाइ हो देउसीका गीत 

मनचित्त देउसीको गीतसित । 

यसै वर्ष हेर्दा देउसी रे, काठको लिस्नु देउसी रे, 

आउने साल देउसी रे, सुनको लिस्नु देउसी रे ।

दिनै लागे देउसी रे ।

दिन्छन् दिन्छन् देउसी रे ।

यस दिन केटाहरूबाट मात्र भैलो खेल्ने चलन थियो । पछिपछि केटाकेटी सबैले मिलेर भैली गीत गाउँदै भैलो खेल्ने चलन आएको छ । पहिला यसलाई मनोरञ्जनका रूपमा प्रयोग गरिन्थ्यो । आजकाल आर्थिक सङ्कलनका उद्देश्यले भैलो खेलेको पाइन्छ । भैलो माग्न विभिन्न नाटक समूह वा आमा समूह वा व्यक्ति नै पनि मन्दिर बनाउने वा स्कुल वा क्लब बनाउने भनेर भैलो खेल्ने गरेको पाइन्छ । केही त सिर्जनात्मक काम हुने गरेको पनि पाइन्छ । स्कुल चलाउन मुस्किल परेको समुदायले भैलोको रकमले स्कुल चलाउन वा मर्मत गर्ने पनि गरेको पाइन्छ । यस्ता भैलो समूहले गाउने प्रायः गीतहरू यस्ता हुने गर्छन् ।

यसमा भैली गीतहरू पनि गाइन्छ ।

हामी त्यसै आएनौँ बलिराजाले पठाको, 

हे औँसी बारो गाई तिहारो भैलो । 

भैलिनी आइन् आगन रोटी र पैसा मागन ।

हे औसी बारो गाई तिहारो भैलो ।

छानामाथि घिरौँला के के दिन्छन हेरौँला, 

हे औँसी बारो गाई तिहारो भैलो । 

हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको, 

हे औँसी बारो गाई तिहारो भैलो ।

सेलरोटी पकाको लक्ष्मी पूजा गराको, 

हे औसी बारो गाई तिहारो भैलो ।

कागतिहार 

पञ्चाङ्ग बमोजिम हरेक कार्तिक कृष्ण त्रयोदशीका दिन वा कागतिहार मनाइन्छ । कागलाई यमराजको दूतका रूपमा लिइन्छ । यसैले यसलाई कागतिहार भनेर यमराजको दूतलाई पूजा गरिन्छ । यसले छोयो मात्र भने पनि स्वास्तिशान्ति गनुपर्ने चलन छ । काग घरअगाडि एकोहोरो रूपले करायो भने पनि अशुभ समाचार भन्यो कि भनेर यसलाई धपाउने पनि गरिन्छ । कागको पूजा गर्नु प्रकृतिको पूजा मानिन्छ । खाना खानुभन्दा पहिला कागलाई भनेर भात, तरकारी वा कागले मनपराउने वस्तु कागले देख्ने ठाउँमा राखिदिने चलन छ । यसैलाई कागको पूजा गरेको मानिन्छ । 

धनतेरस 

यस दिन सुन, चाँदी वा तामाका भाँडा किन्ने चलन छ । कार्तिक शुक्ल त्रयोदशीका दिनलाई धन्मन्तरी त्रयोदशी वा धनतेरस मनाउने चलन छ । यसर्थ यस दिन धनका देवता कुवेर र औषधिका देवता धन्मन्तरीको जन्मजयन्ती मनाउने चलन छ । 

यस दिन धनका स्वामी कुबेरको पनि पूजा गरिन्छ । यिनलाई उत्तर दिशाका दिक्पाल र संसारका लोकपाल मानिन्छ । रावण सँगको युद्धमा हारखाएपछि कुबेर उत्तर दिशामा गएर शिव–पार्वतीको तपस्या गरे । कुबेरको तपस्यामा शिवजी खुसी भएर उनलाई धनपाल र शिवाका पार्शदको उपाधि पाएका कुरा उल्लेख छ । पहिला पार्वतीलाई हेरेको भन्ने भ्रमले पार्वतीले कुबेरको एउटा आँखा कानो बनाइन् रे । तसर्थ कुबेरलाई एकाक्षीपिंगल पनि भनिन्छ । 

यी कुबेरजी महर्षि पुलहस्त्यका नाति, विश्रवा र देववर्हिणीका छोरा तथा रावणका सौताले भाइ हुन् । यिनकी श्रीमती भद्रा, सूर्यदेव र छायदेवीकी छोरी थिइन् । कुबेरको पूजा गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ :

कुविदं यममन्तो यवं चिद्याथ दान्त्यनु पूर्व वियुय । 

इहेहैषा कृणुहि भोजनानीये बर्हिषो नमः उक्तियजन्ति । 

(शुक्ल यजुर्वेद १०।३२, १९।०६) ।

धन्मन्ततीको पूजा 

नेपालमा २०५६ सालदेखि मात्र धन्मन्तरी जयन्ती मनाउन थालिएको हो । समुद्र मन्थन गर्दा लक्ष्मीले र धन्मन्तरीले अमृतको कलश लिएर सँगै प्रकट भएको मानिन्छ । यसैले लक्ष्मीलाई धनकी देवी र धन्मन्तरीलाई औषधिका देवता मानिन्छ । धन्मन्तरीले धेरै आयुर्वेदीय औषधि तयार गरे । यसैले गर्दा यिनलाई जन्मदाता एवं देवताका चिकित्सक मानिन्छ । यिनलाई ईसापूर्व ७००० वर्षतिरका भगवान् विष्णुका २४ अवतारमध्ये १२औँ अवतार हुन् भन्ने गरेको । 

कुकुर तिहार तथा  नर्केचतुर्दशी 

कुकुर यमराजको प्रियभक्त वा द्वारपाले मानिन्छ । यसैगरी कुकुर मानिसहरूको  आज्ञापालक एवं रक्षक, अपराधीहरू पत्ता लगाउने र अनुसन्धान गर्ने उपयुक्त  साधन, घरको रेखदेख गर्ने, प्राकृतिक प्रकोप तथा दैवी विपत्तिको पूर्वसूचना दिने प्रिय प्राणी मानिन्छ । त्यसैले हामी त्यस दिन बिहान कुकुरलाई मनपर्ने खाना खुवाइ पूजा गरी माला लगाएर कुकुर तिहार मनाउँछौँ । यो दिन कुकुरलाई यमराजको प्रतिनिधि मानेर पूजा गरिन्छ । यो यमदीप वा नर्केचतुर्दशी चैत्रकृष्ण चतुर्दशीमा पनि मनाइन्छ तर शारदीय चतुर्दशीमा जस्तो गरिँदैन ।

साँझ यमराजलाई तेलको बत्ती बालेर, फलामको पैसा, कालाध्वजा राखी विशेष रूपले पूजा गरी दक्षिण फर्काएर दीपदान गरिन्छ । यो यपदीप दान पूजा गर्दा निम्न मन्त्रोच्चारण गरिन्छ :

काकोऽसि यमदूतोऽसि गृहाण बलिमुत्तमम् । 

यमद्वारे महाघोरे त्वमाप्या यितुमर्हसि ।।

यमाय धर्मराजाय मृतवे चान्तकायच । 

दक्षिणां दिशमाश्रित्य प्रेतान्नं बलिमाहर ।।

यस दिन यमराजलाई दीपदान गरेमा यमलोकमा उज्यालो भएर यमराज खुसी हुन्छन् भन्ने विश्वास गरिन्छ । भँैसीमा चढेर हिँड्ने यमराजलाई समय र स्थान अनुसार धर्मराज, मृत्युका देवता, चित्रगुप्त आदि नामले पनि पुकारिन्छ । श्रावण शुक्ल पूर्णिमा वा जनैपूर्णिमामा नाडीमा बाँधेको रक्षाबन्धन यही नर्केचतुर्दशीमा गाईको पुच्छरमा बाँध्यो भने मरेपछि वैतर्णी नदी तर्न सजिलो हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । 

लक्ष्मीपूजा

लक्ष्मीपूजाका दिन नेपाल तथा विश्वका सनातनी हिन्दू समाजका मानिसले षोडशोपचारले श्रीलक्ष्मीजीको पूजा तथा आराधना गर्छन् । गणेशजीलाई दुबो, विष्णु भगवान्लाई तुलसी, शिवलाई बेलपत्र, लक्ष्मीलाई रातो कमल चढाइन्छ । श्रद्धापूर्वक जति धेरै गहना, पैसा आदि लक्ष्मीलाई चढायो उनले उति धेरै धनको वर्षा गर्छिन् भन्ने मान्यता पाइन्छ । यसै भएर समुद्रकी छोरी लक्ष्मीलाई हिन्दुहरूले धनधान्य र समृद्धिकी देवी मान्छन् । लक्ष्मीपूजाका दिन एक छाक मात्र खाएर शुद्ध भएर साँझ लक्ष्मीपूजा गर्ने चलन छ । लक्ष्मीपूजा गर्दा लक्ष्मीको आह्वान गर्दा आँगनमा वा ढोकामा रंगीविररंगी रङले अष्टदल लक्ष्मीयन्त्र) स्वस्ति चिह्न लेख्ने चलन छ । 

यही अष्टदलबाट पोतेर वा पानीको धारा लाएर वा फूलको धारा लगाएर लक्ष्मीको पाइला बनाएर लक्ष्मीपूजा गर्ने स्थानसम्म लगिन्छ । यसो गरिसकेपछि घरघरमा आफैँले वा पुरोहित बोलाएर षोडषोपचारले लक्ष्मी पूजा गरिन्छ । त्यसपछि लक्ष्मीको प्रसाद लाउने–खाने पनि गरिन्छ । पूजा गरेको अभिषेक घरका कोठाचोटा, गोठ वा बारीमा छर्कने गरिन्छ । यसरी लक्ष्मीपूजा गर्दा लक्ष्मीको प्रार्थन तथा स्तुति निम्न छन् :

ॐ कमला चपला लक्ष्मीस् चलमूर्ति हरिपृया । 

पद्मा पद्मालया संप दुश्चैः श्रीः पद्मधारिणी ।।

नमस्ते सर्वदेवानां वरदासि हरिप्रिये । 

या गतिस्त्वत्प्रपन्नानां सा मे भूयात्दशाननात् ।। 

या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता । 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।।

शारदेन्दु कलाकान्तिः स्निग्धनेत्रा चतुर्भुजा । 

पद्मयुग्मा चाभयं यदा करव्यग्र कराम्बजा ।।

विष्णोर्वक्षसि पद्मे च शङ्खे चक्रे गदाधरे । 

लक्ष्मीदेवी यथासिऽत्वं मयि तित्यं तथा भव ।।

बलिपूजा

यस दिन लक्ष्मी र कुबेरसँगै प्रह्लादका नाति बलिको पनि पूजा गरिन्छ । वामनरूप विष्णुले बलिलाई पाताल पठाउँदा पृथ्वीलोकको वर्षको एकपटक दीपावली हेर्न पाउने वरदान पाएका थिए रे । तसर्थ यो दिन बलि पाताललोकबाट तिहारको दीपावली हेर्न आउने हुनाले उनको पूजा गर्ने चलन छ । साथै बलिराजाका दूतका रूपमा सबैका घरमा देउसिरेहरू दीपावली हेर्ने र आपूmहरू बलिराजाका दूतहरूले ‘हामी त्यसै आएनौँ बलिराजाले पठाको’ भनेर भैली गीत गाउँदै घरघर डुल्ने गर्दछन् ।

महाकवि देवकोटा जयन्ती

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीपूजाका दिन जन्मेकाले लक्ष्मीकै पुत्र हुनुपर्नेमा सरस्वतीका पुत्र हुन पुगे जस्तो पाइन्छ । सामाजिक रूपले प्रतिष्ठित परिवार भएर पनि आर्थिक रूपले उनलाई सहज नभएको भन्ने पाइन्छ । देवकोटाका बारेमा जति लेखे पनि थोरै नै होला तर यहाँ लक्ष्मीपूजाको सन्दर्भ प्रमुख भएकाले उनको बारेमा यत्ति नै ।

गोवर्द्धन पूजा तथा गोरु तिहार 

गोवर्द्धन पूजा तथा गोरु तिहार कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात् यम पञ्चकको चौथो दिनमा पर्दछ । यस दिन घरघरमा गाईको गोबरले गोवर्द्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर इन्द्रको सट्टा गोवर्द्धन पर्वतको पूजा गराएको सम्झनामा यो पर्व मनाइन्छ । यसको तात्पर्य भगवान् श्रीकृष्णजीले मानिसलाई प्रकृतिको पूजा र सम्मान गर्न सिकाएको स्मरणमा यो गोवर्द्धनपूजाको चलन चलाएको भन्ने पनि पाइन्छ । सालभरि हलो तानेर अन्न उब्जाउन सघाउने गोरुलाई यस दिन पूजा गरिन्छ ।

नेपाल सम्वत् 

यो सम्वत कार्तिक शुक्ल प्रतिपदाबाट सुरु भएको मानिन्छ । चन्द्रमासमा आधारित यो सम्वतमा पनि वर्षमा ३५४ दिन हुन्छ र हरेक ३२ महिनापछि अधिकमास पर्दछ । नेवार समुदायको प्रचलनमा रहेको यो सम्वत्को यो वर्ष ११४५–११४६ पर्दछ । नयाँ वर्ष मनाउँदा न्हुः दयाः लसदयाः भिन्तुना (नयाँ वर्षको शुभकामना) भनिन्छ । यो सम्वत्मा पनि चन्दमानक र सूर्यमानक भनेको पाइन्छ । चन्द्रमानक सम्वत्मा तिथिको घटबडले गर्दा कुनै जयन्ती वा दिवस पहिला नै यही दिन भनी निश्चित भन्न नसकिने हुनाले हाल सूर्यमानक नेपाल सम्वत् चलनमा रहेको छ । 

यसका प्रवद्र्धक भक्तपुरको शंखधर साख्वा हुन् । यो सम्वत् भक्तपुरका राजा राघवदेवको पाला (वि.सं. ९३६, इ.सं. ८७९ अक्टुवर २०) देखि चन्द्रशमशेरका पालासम्म प्रयोगमा प्रयोग भयो रे । त्यसपछि पुनः विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीपरिषदले यसलाई राष्ट्रिय सम्वत् भनेर मान्यता दियो रे । हाल काठमाडौँ, ललितपुर र भक्तपुरका नगरपालिकाले यसको प्रयोग समुदायेखि सरकारी स्तरसम्म गर्न कोसिस गरिरहेका छन् । 

यसै गरी यस दिन भगवान महावीर स्वामीजीको निर्वाण दिवस पनि मनाइन्छ ।

म्हः पूजा

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवा समुदायले म्हःपूजा गर्दछन् । काठमाडौँ उपत्यकाका हिन्दु तथा बौद्ध सम्प्रदायका नेवार समुदायले मनाउने पर्व हो । बिहान गोवर्द्धन पूजा, दिउँसो न्हुः दयाः लसदयाः भिन्तुना र साँझमा परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई नै परमात्माको स्वरूप मानेर ‘ॐ ह्रिं स्वाहा, काय विशोधने स्वाहा, वाक विशोधने स्वाहा, चित्त विशोधने स्वाहा’ भन्ने वैदिक मन्त्र भन्दै आफूले आफूलाई नै आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको पाइन्छ । समग्रमा देवता वा विश्व ब्रह्माण्डको ऊर्जाशक्ति मानव शरीरभित्रै रहेको विश्वास गरिन्छ । यसरी मानिसको शरीरभित्रै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफैँअघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ । यसरी म्हः पूजा गर्नु नेवार समुदायको मौलिक परम्परा हो ।

भाइटीका तथा किजा पूजा

कार्तिक शुक्ल द्वितियाका दिन वा तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ । यो भाइटीकालाई समुदायले किजापूजा भनेको पाइन्छ र साँझमा भाइटीका मनाइन्छ । यस भाइटीकाका लागि दिदीबहिनी दाजुभाइका घर जाने वा दाजुभाइ नै दिदीबहिनीका घरमा गएर भाइटीका लगाउने चलन छ । यो तिहारको मुख्य वा अन्तिम दिन मानिन्छ । भाइटीकामा दिदीबहिनीबाट नौ रंगी वा सप्तरङ्गी टीका लगाई दाजुभाइको दीर्घायुको कामना गर्दै सगुन, उपहार, सेलरोटी, फलफूल, भाइमसला दिइन्छ भने दाजुभाइबाट दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा दिने चलन छ ।

भाइटीकाको पौराणिक कथा 

परापूर्वकालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएको विषयसँग भाइटीका सम्बन्धित छ ।

यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी तिहारमा टीका लगाउन यमराजलाई निम्ता गरिन् । यमराजले बहिनीको निम्ता स्वीकार गरे रे । त्यो बेलामा यमपञ्चक परेको रहेछ । यमपञ्चकभर यमराज आफ्नी बहिनी यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि तिहार मनाउन थालिएको पौराणिक मान्यता छ ।

बहिनीको घरमा बस्दा यमुनाको व्यवहारले निकै प्रशन्न भई यमराजले बहिनीलाई ‘मन लागेको वर माग’ भन्दा यमुनाले दाइ तपाईं ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु होस् । यसले गर्दा दाजुबहिनीको प्रेम सदा अटल रहन्छ र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि हुन जान्छ’ भन्ने वरदान मागिन् । यमराजले पनि हुन्छ भनेछन् । यस प्रकार शुद्धचित्तले भ्रातृपूजा गर्ने÷गराउनेको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर बहिनीलाई दिएर बिदा भइगएको भन्ने कथा पाइन्छ । यही कथाका आधारमा प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको परम्परा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप