सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कुकुर तिहार

कुकुरहरूले बोकेको सहमतिपत्रको चिर्कटो कहाँ पुग्यो ?

आइतबार, २६ कात्तिक २०८०, ०९ : २८
आइतबार, २६ कात्तिक २०८०

एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिउँद बर्खा बिताएकाले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसँग निदाइरहेको थियो । यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा–छाउरी पनि त्यहीँ आइपुगे । बारीलाई भुतभुते खेलेर पाङ्ग्रेले धुलाम्मे पारेर सम्याएको थियो । छाउरा–छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भंग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने सांकेतिक निम्तो गरे । स–साना खिच्चा कुकुरसँग पाङ्ग्रेले खेल्ने उमेर त छँदै थिएन । छाउरा–छाउरीमाथि वर्चस्व स्थापना गर्न खिच्चा कुकुरसम्बद्ध नसुल्झिएको ऐतिहासिक सन्दर्भ सुनाउने मेलो पाङ्ग्रेले सोच्यो । सबै छाउरा–छाउरी पाङ्ग्रेको प्रवचन सुन्न लालायित भए । पाङ्ग्रेले कथा सुरु ग¥यो ः

हेर, संसारमा हामी सबैभन्दा बढी शोषण, दमन र उत्पीडनमा परेका प्राणी हौँ । हुनलाई हामी घरपालुवा जनावर भनेर नै परिचित छौँ तर अन्य घरपालुवा जनावरको तुलनामा हामी धेरै उपेक्षित र उत्पीडित छौँ । गाई, गोरु, भैँसी, भेडा, बाख्रा, हात्ती, घोडाको तुलनामा हाम्रो हैसियत छँदै छैन । गधासँग पनि हाम्रो तुलना हुन सक्तैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग बितेर कलियुग लागिसक्यो हाम्रो कुनै थातथलो ठेगान छैन । हाम्रो काम भुक्ने र सडकमा सुत्नेबाहेक केही हुन सकेको होइन । कहिलेकाहीँ त लाग्छ, हामी पनि स्वाँठ पार्टीको ल्वाँठ कार्जेकर्ता हौँ । 

कुकुरको परिचय

प्राचीन इजिप्ट र पश्चिम एसियाबाट हाम्रो आधुनिक सभ्यता सुरु भएकोे हो । रोमन साम्राज्यको उदयसँगै हाम्रो सभ्यता सुरु भएको १२ हजार वर्ष पहिलेदेखि हो । विश्वमा हामी विविध जातिका छौँ । मान्छेहरू ‘होमोसेपियन’ नस्लबाट विकसित भए । हामी ‘ग्रे–ब्वाँसो’ नस्लीय परिवारबाट विकसित भयौँ । यसरी उत्पत्तिका हिसाबले हाम्रो पनि ऐतिहासिक मान्यता छ । आजभन्दा २७ हजार वर्षदेखि ४० हजार वर्षपहिले ब्वाँसोको परिवारबाट विकसित प्राणी हौँ ।

‘संसारभरका खिच्चा कुकुरहरू एक हौँ’ यस्तो गगनभेदी नारा लाग्यो । यसै क्रममा सशस्त्र (टोक–टाक) र निशस्त्र (भुक–भाक) आन्दोलन उत्कर्षमा पुग्यो । संसार थर्कियो । ब्रह्माण्डका रचनाकार ब्रह्मा, विष्णु, महेशको सिंहासन हल्लियो । ब्रह्माजी दूत बनेर वार्तामा आए । बाह्रबुँदे समझदारी भयो । 

हाम्रै सदस्यबीच पनि अनेक नस्ल सुधार गरेर एक थरीलाई उपल्लो वर्गमा विराजमान गराइएको छ । कतिपय अपराधी पक्रने पुलिस दर्जामा छन् । ‘फुटाऊ र राज गर’ भनेजस्तै नस्ल सुधार गरिएका एकथरी हाम्रा दाजुभाइ अट्टालिका महलमा बस्छन । सोफा र गद्दामा सुत्छन् । पौष्टिक खान्की खान पाउँछन् । हामीलाई देखिसहँदैनन् । उनीहरू बस्ने महलको पर्खालमा ‘कुकुरदेखि होसियार’, ‘टोक्ने कुकुरदेखि सावधान’ लेखेर तिनको हैसियत बढाइन्छ । तिनीहरू गाडीमा घुम्छन् र मालिक मालिक्नीको गालामा चुम्माचाटी गर्न पाउँछन् । अर्थात् कुकुरमा पनि वर्गीय अन्तर्विरोध छ । 

नैसर्गिक अधिकारमा उत्पीडन

हामीमाथि भएका उत्पीडनको कैरन गरेर साध्य छैन । हाम्रो भूमिका त मान्छेले नभने पनि गरेकै छौँ । तर, तिनले हाम्रो भूमिकाको कुनै कदर गरेका छैनन् । समाजमा भएका नकारात्मक कुराको सबै भारी हामीले बोक्नैपर्छ । यति धेरै काममा तल्लिन हुँदासम्म गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता आधारभूत अधिकारबाट बेदखल भएका छौँ । हामी सफाइ कर्मचारी पनि हौँ । हामीले सिनो खाइदिन्छौँ । मान्छेको मल (गु) खाने हाम्रो प्राकृतिक नैसर्गिक अधिकार हो । हाम्रो परम्परागत खान्की ‘गु’ खान नदिन खुला दिसामुक्त क्षेत्र अभियान चलाइयो । हाम्रो खान्की कंक्रिटको बक्साभित्र हालेका छन् । यसले गर्दा हामी घुमन्ते कुकुरमा अनिकाल छाएको सर्वविदितै छ । 

हुर्मत लिने उखान

हामीलाई होलोहोँचो देखाउन अनेक उखान रचिएका छन् । उहिले नै रचिएको र आजसम्म चलेको यी उखान संशोधन, परिमार्जनसम्म भएका छैनन् । यस्तै एउटा उखान हो, ‘सबै कुकुर काशी गए ‘गु’ केले खाने ?’ खुला दिसामुक्त क्षेत्र अभियानअन्तर्गत पक्की पाइखाना बनेपछि यो उखानको के मतलब ? कुकुर विरोधी अर्को उखान हो — ‘कुकुरलाई घिउ पच्दैन ।’ घिउ नपच्ने थाहा हुँदाहुँदै घिउ खुवाएर किन हामीलाई खुइल्याइन्छ । हामीलाई धर्म–संस्कृतिबाट अलग गर्न ‘काम छाडी कैफत, कुकुरलाई नैवेद’ भनी उखान रचिएको छ । 

हाम्रा जनाना कुकुर्नीलाई हुर्मत काढ्ने उखान छ — ‘कुकुर्नीका सातवटा पोइ, मर्ने बेला कोही न कोई ।’ पशु जगत्मा एकनिष्ठ बिहे भन्ने नै हुँदैन तर मान्छे जगत्को एक पत्निक र एक पतिकको व्यवस्थालाई नमानेर बहु–पत्निक वा बहु–पतिक व्यवहार गर्नेलाई पनि कुकुर वा कुकुर्नीको संज्ञा दिइन्छ । अरु पशु जगत्मा नस्ल सुधारका नाममा छानीछानी साँढे, बहर, वीर, भाले लगाइन्छ । तिनीहरूको उदाहरण आउँदैन तर कुरोचैँ हाम्रै काढिन्छ । मान्छेहरू बाह्रैमास, बाह्रै महिना, चौबिसै प्रहर कामसूत्रको ध्याउन्नमा हुन्छन् । समय, कु–समय रासलीला मच्चाउँछन् अनि तिनका स्वास्नी मान्छेले सन्तान जन्माउँदा भन्छन्, ‘कस्ती कुकुर्नीजस्तो ब्याउन सकेकी ?’ 

मान्छेहरू आफ्नो आनीबानी सुधार्दैनन् अनि हाम्रै पुच्छरलाई मिथक बनाएर भन्छन्, ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै ।’ हामी दिनरात रखबारी गर्छौं । स्याल, ब्वाँसो, चिल खेद्छौँ । त्यसको हेक्का नराखी हाम्रो विपक्षमा उखान बन्यो, ‘कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।’ हामीलाई डरछेरुवा, काँतरका रूपमा प्रस्तुत गर्दै उखान बनेको छ, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’, ‘भुक्ने कुकुरले टोक्दैन’, कुकुर भुक्दै गर्छ हात्ती लम्किरहन्छ’, ‘बोकेको कुकुरले मृग मार्दैन’ यस्तै यस्तै । सामाजिक रूपले होँच्याउने उखानहरू रचिएका छन्, ‘कुकुरजस्तो भतुवा लाग्ने’, ‘कुकुरलाई मासु पैँचो’, ‘कुकुर बिरालो’, धोबीको कुकुर घरको न घाटको’, ‘घामपानी घामपानी स्यालको बिहे, कुकुर जन्ती बिरालो बाहुन आदि इत्यादि ।

शब्दकोशमा कुकुर

नेपाली शब्दकोशहरूमा हाम्रा बारेमा दिइएका अर्थ र परिभाषा त्यत्तिकै दिक्दारलाग्दो छ । स्याल, फ्याउरोको रखबारी गर्ने मात्र उल्लेख छ । जब कि हामीहरू मान्छे जातका चोर, डाँका, हत्याराको पनि उत्तिकै रखबारी र खबरदारीका लागि सूचना सम्प्रेषण गरिरहेका हुन्छौँ । हत्यारा, ज्यानमाराको खोजी गर्न पनि हामीले घ्राण शक्तिको भरपुर उपयोग गर्छौं तर त्यही शब्दकोशमा अनेक बिखालु जीव, झारपातसँग हामीलाई जोडिएको छ — ‘कुकुर झिँगो’, ‘कुकुर डाइनो’ (काँडे लहरो), ‘कुकुर मुत्ते’ (खान नहुने रूखमा हुने च्याउ), आदि । हामीले हाम्रा कान पाक्ने गरी यस्ता तुच्छ वचन सुन्दै आएका छौँ । हाम्रा अंग प्रत्यंगप्रति पनि खिसिट्युरी गर्ने नाम भएका छन् । जस्तोः ‘कुकुर दाँते’, ‘कुकुर पुच्छ्रे ’ आदि । हाम्रा बानी–व्यहोरालाई पनि निको अर्थमा लिइन्न । ‘कुकुर डुलुवा’, ‘कुकुर भुकाइ’, ‘कुकुर मुखे’, ‘कुकुर मुत्ते’ भन्ने ननिको चलन छ । हाम्रो प्राकृतिक गुण अनुसार हामी वर्षमा एकपटक मैथुन कर्म गर्छौं, मान्छेले जस्तो बाह्रै महिना, बाह्रैमास, २४सै प्रहर होइन । कात्तिक महिनामा हामीले गर्ने मैथुन कर्मलाई ‘कुकुर गाँठो’ भनेर अश्लील र गिज्याउने अर्थ दिइएको छ । कसै मनुवाले रतिराग, रासलीला मच्चाए उसलाई कात्तिके कुकुर भन्ने चलन छ । वर्ष दिन २४सै प्रहर रासलीला गर्ने तिनको क्यारेक्टर चैँ ढिला हुनुपर्ने हैन र ? 

छनलाई हाम्रो पनि चाडपर्व छ जसलाई कुकुर तिहार भनिन्छ तर हेपेर त्यसलाई ‘कालो कात्तिक’ भनेर नामै बिगारिएको छ । भित्ता मुतुवा भन्छन् तर भित्ता मुतेको रहस्य तिनलाइ के थाहा ? हामीलाई कात्तिके नाम जुराएका छन् । चाडमा यसो माला लगाइदिए जस्तो गरेर टारिन्छ । मान्छेहरू चाडबाडमा रसरंग पिउँछन् । धेरै पिए भने कुकुरको मुत घिचेको भनेर हाम्रै मूत्रको हुर्मत लिन्छन् । 

मान्छेहरू आफ्नो आनीबानी सुधार्दैनन् अनि हाम्रै पुच्छरलाई मिथक बनाएर भन्छन्, ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै ।’ हामी दिनरात रखबारी गर्छौं । स्याल, ब्वाँसो, चिल खेद्छौँ । त्यसको हेक्का नराखी हाम्रो विपक्षमा उखान बन्यो, ‘कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।’ 

पत्रकारिता र साहित्यको नजरमा कुकुर

साहित्य र पत्रकारिताको नजरमा भने हाम्रो मान–मनितो भए जस्तो लाग्छ । साहित्यकारले हाम्रा बारेमा अनेक साहित्य, सायरी रचेका छन् । एक शायरले त यतिसम्म लेखेका छन्, ‘मोहब्बत और बफादारी सिखनी है तो इन्सान से नही कुत्तों से सिखो ।’ प्रेम र बफादारी भन्ने चिजवस्तु सिक्न त हामीलाई नै गुरु थाप्नुपर्ने रहेछ । इन्सानीयत अर्थात् मानवीयता सिक्न कुकुरबाट गुरुदीक्षा लिनुपर्ने अवस्था आएपछि मानव भन्ने चिजवस्तु नै कहाँ रह्यो र ? साहित्य लेखनमा यो त प्रतिनिधि उदाहरण मात्रै हो ।

पत्रकारिता शिक्षाको परिभाषामा पनि ‘कुकुर दीक्षा’को मूल्याङ्कन पाइन्छ । समाचार उत्पादनकै परिभाषामा भनिएको छ, ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार हुँदैन, तर मान्छेले कुकुरको खुट्टा टोके समाचार हुन्छ ।’ रखबारी गर्ने क्रममा हामी मान्छेको मात्रै होइन अरु जीवजन्तुको पनि खुट्टा बाँकी राख्दैनौँ । हाम्रो प्राकृतिक गुण नै टोक्ने चिथोर्ने भएपछि कसरी समाचार बन्छ त ? यसरी नै पत्रकारिता जगत्मा ‘वाच डग’को भूमिकालाई शिरोधार्य र अनिवार्य गरिएको छ । यसले पनि कुकुर जगत्को भूमिकालाई दीक्षाका रूपमा लिएको छ । यसबाहेकका क्षेत्र विधामा त हामीहरू भुस्याहा, खिच्चा, लावारिस र खाते कुकुर हौँ । हाम्रो नामै पनि काले, पाङ्ग्रे, खैरे आदि एकलख भिरेको न छ । 

उता बेलायती उपनिवेश भारतमा कायम हुँदा कुइरेहरूले हामी कुकुरलाई अलिकति मानिससँग दाँजेका थिए । कलकत्ताको धरमतल्लामा रहेको भिक्टोरिया मेमोरियल हल अगाडिको पर्खालमा ‘इन्डियन एन्ड डग्स आर नट अलाउड’ लेखेर भारतीयसँग कमसे कम हाम्रो तुलना गरेका थिए । 

पत्रकारिता शिक्षाको परिभाषामा पनि ‘कुकुर दीक्षा’को मूल्याङ्कन पाइन्छ । समाचार उत्पादनकै परिभाषामा भनिएको छ, ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार हुँदैन, तर मान्छेले कुकुरको खुट्टा टोके समाचार हुन्छ ।’

मृत्यु र मोक्ष

मृत्यु भनेको जीवको जीवनको समापन वा अन्त्य हो । देहावसान, निधन र मरण हो तर हाम्रो मरणको कुनै मूल्य छैन । मानिसको मृत्युमा स्वर्गवास, बैकुण्ठधाम अनेक नाम दिन्छन् । माक्र्सवादीले मृत्युलाई दुई चिराबाट व्याख्या गर्छन् । पहिलो गर्व गर्न लायक मानिसको मृत्युलाई हिमालभन्दा गरुङ्गो र नालायक मान्छेको मृत्युलाई प्वाँखभन्दा हलुङ्गो भनेर वर्गीकरण गरिएको छ तर हाम्रो मृत्युलाई शब्दकोशहरूले ‘कुकुर मराइ’ उल्लेख गरेको छ । हाम्रो मृत्युलाई कष्टपूर्ण मृत्यु, सारै दुःखको मरण भन्ने खालको परिभाषा गरिएको छ । हाम्रो मृत्युवरणको कुनै असल नाम छैन । कुकुर मराइ भनिन्छ । यति मात्र हैन हाम्रो वंश वृद्धि रोक्न र हामीलाई कालान्तरमा निसन्तान र अपुताली बनाउन परिवार नियोजन कार्यक्रम नगरपालिकाले चलाउन थालेका छन् । हाम्रो मृत्युको त कुनै ठेगान छैन । नगरपालिकाले बेला–कुबेला भुस्याहा कुकुर उन्मूलनको नाममा हाम्रो ‘जेनोसाइड’, ‘होलोकास्ट’ गर्छन् । रेबिज फैलाएको आरोपमा उपचारको साटो सिधै मृत्युदण्ड दिइन्छ ।

मोक्ष धार्मिक सिद्धान्तमा सांसारिक संघटनबाट मुक्ति प्राप्त गर्ने प्रक्रिया हो । जसले आत्मा वा जीवात्माको सर्वोत्तम लक्ष्यमा पु¥याउँछ । यसले दुःख, पीडा र सांसारिक संकटबाट मुक्ति प्रदान गर्दछ । संसारिक दुःखबाट मुक्ति वा स्वतन्त्रता पाउने विधि हो तर हाम्रो मोक्षको कुनै मूल्य छैन । हाम्रा बाउ, बाजे, बराजुबाट सुनेको एकपटक सायद द्वापर युगतिर होला, युधिष्ठिरसँग एउटा कुकुर रहेछ । एक दिन यमराज युधिष्ठिरलाई स्वर्ग लैजान आएछन् । युधिष्ठिरले आफूसँग भएको कुकुरलाई पनि लैजान अनुरोध गरेछन् तर यमराजले कुकुरलाई स्वर्गमा प्रवेश निषेध भएको जनाउ दिए रे ।

कथाको रहलपहल

यसरी अनन्त उत्पीडनका शृङ्खलाबाट आजित भएपछि संसारभरका कुकुरहरूको एउटा अन्तराष्ट्रिय सम्मेलन भयो । सम्मेलनले मुक्ति र स्वतन्त्रताका लागि आन्दोलन गर्ने निर्णय ग¥यो । ‘संसारभरका खिच्चा कुकुरहरू एक हौँ’ यस्तो गगनभेदी नारा लाग्यो । यसै क्रममा सशस्त्र (टोक–टाक) र निशस्त्र (भुक–भाक) आन्दोलन उत्कर्षमा पुग्यो । संसार थर्कियो । ब्रह्माण्डका रचनाकार ब्रह्मा, विष्णु, महेशको सिंहासन हल्लियो । ब्रह्माजी दूत बनेर वार्तामा आए । बाह्रबुँदे समझदारी भयो । समझदारीमा गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभा, संविधानसभाबाट पहिचानसहितको संघीय गणतन्त्र स्थापना गर्ने समझदारीपत्रको प्रस्तावनामा उल्लेख भयो । सहमति पत्रको ‘चिर्कटो’ एकप्रति कुकुर नेताले राखे । ब्रह्माजीले समझदारी अनुसारको व्यवस्था कार्यान्वयन गर्न सहमतिपत्र बोकेर स्वर्गमा आउन आन्दोलनकारी कुकुर नेतालार्ई भने र अलप भए । यता कुकुरहरूले कसले सहमतिपत्र के गरी बोक्ने भन्नेमा सकस भयो । एक अर्कामा शंका उपशंका बढ्यो । यसर्थ सबैले पालैपालो बोक्ने निधो भयो तर कुकुरहरूसँग बोक्ने कुनै झोला वा फाइल हुने कुरा भएन । सबैले पछाडि पट्टिको तिघ्रामा पालैपालो च्यापेर बोक्ने निर्णय भयो । यसरी असंख्य कुकुरले पालैसँग बोक्दै लैजाँदा सहमतिपत्र कहाँ हरायो पत्तै भएन । जब एक दिन ब्रह्माजीकोमा जाने दिन आयो, सहमतिपत्रको खोजी गर्दा खुटखबर आएन । यसर्थ अहिले पनि हामीहरू मुक्ति र स्वतन्त्रताको खातिर त्यही सहमतिपत्र खोजिरहेका छौँ । यसैले हामी कुकुर–कुकुर भेट हुँदा पछिल्तिरको भाग हेर्ने र सुँघ्ने गर्छौं । कतै सहमतिको चिर्कटो भेटिन्छ कि भन्ने हाम्रो आश मरेको छैन । हाम्रो उत्पीडनको मुक्तिको सूत्र त्यही चिर्कटोमा छ । जुन दिन हात लाग्छ, हाम्रो मुक्ति र मोक्ष हुनेछ ।

यति कथा पाङ्ग्रेले हालिसक्दा बारीको पारिलो घाममा छाउरा–छाउरी उत्तानो टाङ सूर्य नारायणतर्फ फर्काएर मस्तसँग निदाइसकेका थिए । 

टिप्पणीका लागि : [email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप