शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
उत्पादनको तुलनामा आधा व्यापार

तिहारमा किन बिक्री भएन फूल ?

स्वदेशी फूलको निराशजनक व्यापार, भारतीय फूल ८० प्रतिशत
बिहीबार, ३० कात्तिक २०८०, १९ : ०८
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । तिहारमा स्वदेशी फूल उत्पादनको तुलनामा आधाले मात्र बजार पाएको छ । भारतीय फूलको आयात, कमजोर बजार व्यवस्थापन, आर्थिक मन्दीको प्रभाव, मागको तुलनामा आपूर्ति बढी लगायतका कारणले स्वदेशी फूलको व्यापार निराशाजनक भएको हो ।

फूल व्यवसायीका अनुसार उपत्यकामा तिहारमा ३० करोड रुपैयाँ बराबरको ३५ लाख गोटा सयपत्री माला खपत हुने अनुमान थियो । तर मागभन्दा बढी फूल आपूर्ति भएकाले फूल बिक्री नभएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ ।

फ्यानका अध्यक्ष मीन बहादुर तामाङले बाहिरबाट वैध तथा अवैधरूपमा ठुलो परिमाणमा फूल आयात हुनका साथै आर्थिक मन्दीको प्रभाव, काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यस पटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए ।

‘हामीले यस वर्ष तिहारमा बढीमा ५ लाख माला आयात भए पुग्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थियौँ,’ उनले भने, ‘तर वैध तथा अवैधरूपमा ३० लाखभन्दा बढी माला आयात भएको छ ।’

महानगरले तिहारमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल बिक्री–वितरण गर्न पाउने व्यवस्था मिलाएको थियो । विगतका वर्षमा जस्तो काठमाडौँका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको तामाङको गुनासो छ ।

‘महानगरको निर्णय सराहनीय छ,’ उनले भने, ‘तर, निर्णय ढिलो भएकाले सूचना प्रवाह हुन सकेन र फूल कारोबारमा त्यसको प्रभाव देखियो ।’

उपत्यकामा भारतबाट २५ लाख माला कानुनी रुपमा भित्रिएको फ्यानका सचिव हिरामणि शर्माले बताए । ‘२५ लाख सयपत्रीको माला कानुनी रुपमा भित्रिए पनि खुला सिमानाका कारण यो भन्दा बढी नै ल्याइएको आकलन गर्न सकिन्छ,’ उनले भने, ‘यसका साथै स्थानीय रैथाने फूलको उत्पादनले व्यावसायिक फूललाई प्रभाव परेको हो ।’

स्वदेशी फूलको कारोबार २० प्रतिशत मात्रै

तिहारमा २० प्रतिशतमात्रै स्वदेशी सयपत्री फूलको कारोबार भएको छ । भारतीय फूलले ८० प्रतिशत बजार ओगटेकाले स्वदेशी सयपत्री फूलको कारोबार हुन नसकेको हो ।

३० देखि ३५ लाख गोटा सयपत्री फूल मालाको कारोबार हुने फ्यानको अनुमान थियो । तर भारतीय र रैथाने ७० लाख गोटाको हाराहारीमा फूल माला बजारमा आपूर्ति भएको फ्यान सचिव शर्माको भनाइ छ । तिहारमा सयपत्री फूलको कारोबार ३० करोड रुपैयाँ बराबरको हुने अनुमान गरिए पनि हुन नसकेको उनले बताए ।

फ्यानका अनुसार गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थियो । सोबाट २६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आपूर्तिको आधा फूल बिक्री हुन सकेन

तिहारमा आपूर्ति भएको फूलको आधा पनि बिक्री हुन सकेको छैन । ३५ लाख फूलमालाको कारोबार हुने अनुमान गरिएकोमा ७० लाख आपूर्ति हुँदा आधा फूल क्षति भएको फ्यानले जनाएको छ ।

भारतीय फूल बिक्री भए पनि स्वदेशी फूल बिक्री हुन नसकेको फ्यान सचिव शर्माले बताए । ‘यसपालीको तिहारमा फूलको कुल कारोबारमध्ये भारतीय ८० प्रतिशत फूल बिक्री भयो,’ उनले भने ‘स्वदेशी फूल करिब २० प्रतिशतमात्रै बिक्री भएको छ ।’

किसानले फूलको उचित मूल्य पाएनन्

फूल किसान तथा व्यवसायीले यस वर्षका तिहारमा फूलको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निराश भएका हुन् । तिहारमा २० देखि २५ प्रतिशतले फूलको प्रयोग घटेको फ्यानले जनाएको छ ।

गत वर्ष सयपत्री फूलको माला प्रतिगोटा एक सय रुपैयाँमा बिक्री भएको थियो । यो वर्ष लक्ष्मी पूजाको अघिल्लो दिनसम्म प्रतिगोटा ६० रुपैयाँका दरले बिक्री भएको सचिव शर्माले बताए ।

त्यसपछि प्रतिगोटा माला २० देखि ५० रुपैयाँसम्म बिक्री भएको उनले जानकारी दिए ।

क्षतिपूर्ति पाउँछन् ?

तिहारमा आपूर्ति भएको फूल बिक्री नहुँदा फूल किसान र साना व्यवसायी मारमा परेका छन् । फूलको क्षतिपूर्तिको लागि पहल गरिए पनि राहत पाउन सक्ने सम्भावना न्यून रहेको फ्यानले जनाएको छ ।

क्षतिपूर्तिका लागि पहल गरिए पनि उपत्यकाको मात्रै उत्पादित फूल नरहेकाले सुनुवाइ हुन समस्या रहेको सचिव शर्माले बताए । ‘हामी फूलको क्षतिपूर्तिका लागि पहल गर्छौं,’ शर्माले भने, ‘तिहारमा क्षति भएको फूलको क्षतिपूर्ति पाउन गाह्रो नै छ ।’

यता पोखरा महानगरपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत नबिकेका फूलमालाका लागि प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकामा ३५ लाख माला क्षति भएको फ्यानले दाबी गरेको छ । फूल क्षतिको भरपाई गर्ने वा नगर्ने भन्नेबारे कार्यालय सञ्चालन भएपछि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

‘उपत्यकामा माग भन्दा बढी फूलको आपूर्ति हुँदा कारोबार हुन नसकेको हो,’ उनले भने, ‘काठमाडौँ उपत्यकामा खेर गएको फूलको क्षतिपूर्ति दिने विषयमा सोचेका छैनौँ, महानगर खुलेपछि थाहा हुन्छ ।’

महानगरले छुट्याएको ठाउँ बाहेकका स्थानमा पनि फूल बिक्री हुन नसकेको उनले बताए ।

उपत्यकामा कहाँबाट ल्याइन्छ फूल ?

काठमाडौँ उपत्यकामा स्थानीय उत्पादनका साथै आसपासका जिल्लाबाट ल्याएका फूल तिहारमा बिक्री हुन्छ । फ्यानका अनुसार धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुर लगायतका स्थानबाट उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइन्छ ।

यसका साथै आपुग भएको फूल भारतबाट आयात हुन्छ । यसपालीको तिहारमा रैथाने सयपत्री र मखमलीको समेत कारोबार भएको फ्यानले जनाएको छ ।

कसरी भित्रियो भारतीय फूल ?

बागमती प्रदेश अन्तर्गत पुष्प विकास केन्द्रले भारतीय सयपत्री माला आयातका लागि प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई जिम्मेवारी दियो । सोही अनुसार केन्द्रले फूल आयातका लागि ५८ वटा परिपत्र जारी ग¥यो । यसबाट ३ लाख २ हजार ३ सय ३६ किलो सयपत्री फूल आयात हुने भएपछि फ्यान र पुष्प व्यवसायीको पहलमा ४८ वटा परिपत्र कार्तिक २३ गते निलम्बन गरेको थियो ।

१० वटा प्रवेश अनुमति पत्रबाट ४ लाख ५० हजार केजी फूल भारतबाट आयात अनुमति दिइएको थियो । अनुमति भन्दा बढी फूल भारतबाट आयात हुन सक्ने फ्यानको दाबी छ । पुष्प विकास केन्द्र र व्यवस्थापन केन्द्रबिच समन्वय नहुँदा फूल आयात भएको अध्यक्ष तामाङको आरोप छ ।  

उपत्यकामा बाह्रै महिना तरकारीको व्यापार गर्दै आएकाहरुले तिहार अगावै भारतीय फूल आयात गरेको सचिव शर्माले बताए । ‘तिहार अगावै भारतबाट फूल ल्याएर राखे,’ उनले भने, ‘लक्ष्मी पूजाको अघिल्लो दिन घर–घरमा फूल पु¥याए, त्यसकारण बजारको फूल बिक्री हुन सकेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप