सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वीरगन्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमालेबाट राजीनामा

शुक्रबार, २८ वैशाख २०८१, १३ : २२
शुक्रबार, २८ वैशाख २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले एमालेबाट राजीनामा दिएका छन् । महानगरका प्रथम मेयर सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् ।

पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै पूर्व मेयर सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका हुन् ।

०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए । 

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘बितेको ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैँ ऋणी रहनेछु, त्यसपछि पार्टीले केन्द्रीय सल्लाहकारमा मनोनीत भएँ । त्यसको लागि पनि आभारी छु । 

तर केन्द्रीय सल्लाहकारमा पार्टी दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय राजनीतिमा हराएको छु, मेरो मूल्याङ्कन सही ढङ्गले भएन । त्यस कारण अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ ।’ 

पूर्व मेयर सरावगी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकामा प्रथम पटक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा उनी एमालेबाट मेयरका उम्मेदवार बनेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप