मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप क्रिकेट

टी–२० विश्वकपअघि यस्तो छ अमेरिकामा नेपाली टोलीको कार्यतालिका

शुक्रबार, २८ वैशाख २०८१, १५ : ५१
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा सहभागी हुन नेपाली टोली अमेरिका पुगिसकेको छ ।

घरेलु मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँचवटा टी–२० खेलको शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली अमेरिका पुगेको हो । वेस्ट इन्डिज ‘ए’विरुद्धको टी–२० शृङ्खलामा नेपाली टोली ३–२ ले पराजित भएको थियो । 

नेपाली टोली हाल अमेरिकाको फ्लोरिडामा रहेको छ । नेपाली टोलीले फ्लोरिडामै नियमित अभ्यास गरिरहेको छ । मे १२ तारिखमा नेपाली टोली अभ्यास खेलका लागि फ्लोरिडाबाट क्यारेबियन राष्ट्र सेन्ट भिनसेन्ट प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टोलीले १३ तारिखमा सेन्ट भिनसेन्टमा नियमित अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोलीले सेन्ट भिनसेन्टमा मैत्रीपूर्ण खेल खेल्नेछ । सेन्ट भिनसेन्टमा नेपाली टोलीले सेन्ट भिनसेन्ट र विन्डवार्ड आइल्यान्डको संयुक्त टोलीसँग मैत्रीपूर्ण टी–२० खेल खेल्न लागेको हो ।

नेपालले सेन्ट भिनसेन्ट र विन्डवार्ड आइल्यान्डको संयुक्त टोलीसँग पहिलो अभ्यास खेल मे १४ तारिखमा खेल्नेछ । मे १५ तारिखमा नेपाली टोलीले नियमित अभ्यासमात्र गर्नेछ । त्यसपछि मे १६ तारिखमा दोस्रो अभ्यास खेल खेलिने छ ।

यसैगरी मे १७ तारिखमा नेपाली टोलीले नियमित अभ्यास मात्र गर्नेछ । मे १८ तारिखमा नेपालले तेस्रो अभ्यास खेल खेल्नेछ । तेस्रो अभ्यास खेल खेलेपछि नेपाली टोली मे १९ तारिखमा अमेरिकाको हस्टन फर्कने कार्यक्रम रहेको छ । 

नेपाली टोली मे २० तारिखमा अमेरिकाको हस्टन पुग्नेछ । मे २१ तारिखमा नेपाली टोलीले हस्टनमा नियमित अभ्यास गर्ने कार्यक्रम रहेको छ । मे २२ तारिखमा नेपाली टोलीले हस्टन हरिकेनसँग पहिलो अभ्यास खेल खेल्नेछ । 

त्यसपछि मे २३ र २४ तारिखमा नेपाली टोलीले हस्टनमै नियमित अभ्यास गर्नेछ । मे २५ तारिखदेखि भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निर्धारण गरे अनुसार, विश्वकपको औपचारिक अभ्यास खेल सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप