शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’को प्रदर्शन नरोकिने, शो पनि बढ्ने

बिहीबार, ३० कात्तिक २०८०, २२ : ०९
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । फिल्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । बिहीबार फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्स र प्रदर्शन संस्था चलचित्र संघबीचको छलफलले सो निर्णय गरेको हो ।

संघको कार्यालय विशाल नगरमा भएको छलफलमा ‘दिमाग खराब’ ले पाएको सो र हिन्दी फिल्म ‘टाइगर ३’ले पाएको  शो को विषयमा पनि छलफल भएको थियो । छलफलमा ‘दिमाग खराब’ को सो बढाउँदै जाने सहमति समेत भएको छ ।

फिल्म ‘दिमाग खराब’ को विषयमा सो विवाद निर्माण कम्पनीले राम्रोसँग नबुझेको कारण भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए । ‘फिल्म ‘दिमाग खराब’ प्रति हामी हलवाला सबैको अपेक्षा उच्च थियो । त्योअनुसार हामीले सुरुका समय उच्च सो राखेका थियौ । तर सुरुवातको केही दिनको सो सोचेअनुसार व्यवसाय गरेन’ महर्जनले भने ‘त्यसपछि ‘टाइगर ३’ आयो र हामीले यसलाई सो दियौ ।

अहिले फेरि ‘दिमाग खराब’ राम्रो भएको छ । तर ‘टाइगर ३’ का लागि भनेर केही दिनका लागि सो निकाली सकेकोले दिन सकेनौ । यही कुरो उहाँले नबुझेर लफडा भएको हो ।’ अबको दिनबाट ‘दिमाग खराब’ले राम्रो सो पाउने महर्जनले सुनाए ।

हुन त ‘दिमाग खराब’ युनिटले सो को मात्र होइन । निर्माता र प्रदर्शनबिच शेयर बाँडफाँडको विषयमा समेत असहमति जनाएको छ । यस विषयमा दुबैपक्षबीच केही छलफल भए पनि सहमति जुट्न भने सकेन । यस विषयमा दुबै पक्ष मङ्गलवार पुनः अर्को चरणको बैठक गर्ने र सहमति खोज्ने छलफल भएको समेत महासचिव महर्जनले जानकारी दिए ।

के थियो विवाद ?

‘दिमाग खराब’ गत शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौती भएको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले एक विज्ञप्ति जारी गर्दै सो नमिलाए शुक्रवारबाट प्रदर्शन रोक्ने चेतावनी दिएको थियो ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतद्धारा संयुक्त जारी विज्ञप्तिमा भनिएको थियो, ‘हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी सो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।’उनीहरुले नेपाली फिल्मलाई हलले प्राथमिकता नदिएको समेत आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप