सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम

आइतबार, २४ जेठ २०८३, २१ : ५९
आइतबार, २४ जेठ २०८३

सिरहा । विद्यार्थीलाई अदालतको भूमिका, न्यायिक प्रक्रिया तथा कानुनी सेवाबारे जानकारी गराउने उद्देश्यले जिल्ला अदालत सिरहाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा आइतबार ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम आयोजना गरेको छ।

लहान नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला अदालत सिरहाका प्रमुख न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीसहित अन्य न्यायाधीश, अधिवक्ता, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश उप्रेतीले प्रत्येक नागरिकको कानुन र न्यायमा सहज पहुँच सुनिश्चित हुनुपर्ने बताए । “प्रत्येक व्यक्तिको कानुनमा सहज पहुँच हुन आवश्यक छ। न्यायको पहुँच समाजका निम्नवर्ग, विपन्न तथा पछाडि परेका समुदायसम्म पु¥याउन अदालतले वैतनिक वकिल तथा कानुनी सहायता कार्यक्रममार्फत निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ”, उनले भने।

उनले यस्ता सेवाबारे आमनागरिकलाई अझ बढी जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहले पनि न्यायिक सहायता प्रवाहमा महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राखे। “स्थानीय न्यायिक समितिले प्रभावकारी रूपमा काम गर्नसके न्यायप्राप्ति प्रक्रिया अझ सहज र नागरिकमैत्री बन्न सक्छ”, उप्रेतीको भनाइ थियो।

कार्यक्रममा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले यस्ता कार्यक्रमले न्यायप्रति नागरिकको विश्वास बढाउनुका साथै न्याय सबैका लागि हो भन्ने सन्देश प्रवाह गर्ने बताए। उनले भने, “न्याय भनेको ठूलाबडाको मात्र विषय होइन, समाजका हरेक नागरिकको अधिकार हो भन्ने सन्देश यस्ता कार्यक्रममार्फत समुदायसम्म पुग्छ । विद्यार्थीलाई कानुनी चेतना दिनु आजको आवश्यकता हो ।”

क्याम्पस प्रमुख सञ्जय चौधरीले विद्यार्थीलाई व्यावहारिक तथा नागरिक शिक्षासँग जोड्ने यस्ता कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । त्यसैगरी, अधिवक्ता सन्तोष सुवेदीले कानुनी सचेतनाले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट बनाउने धारणा व्यक्त गरे।

जिल्ला अदालत सिरहाले यसअघि जेठ ८ गते सिरहाको माडरस्थित बज्रमोहन विद्यालयमा यस्तै कार्यक्रम सञ्चालन गरेको थियो। अदालतले आगामी दिनमा न्यायसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदायस्तरसम्म विस्तार गर्दै लैजाने तयारी गरेको जनाएको छ।

कार्यक्रममा अदालत के हो, अदालतले कसरी काम गर्छ, नागरिकले न्याय प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया तथा निःशुल्क कानुनी सहायता सेवाबारे विद्यार्थीलाई जानकारी प्रदान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप