देश बन्यो मान्छे उमार्ने नर्सरी
दैनिक हुलका हुल
देश बनाउन, देश सिँगार्न आवश्यक
युवा शक्ति
वैदेशिक रोजगारको सिलसिलामा
हवाई अड्डाको बाटो हुँदै
बादलको मुटु चिरेर
सिमाना पारिको आकाश ताक्दै
आफ्नै पैसामा आफैँलाई बेचेर
पलायन हुँदैछ, परदेशी बन्दैछ
देशलाई रित्तो पारेर ।
इच्छाहरूलाई, रहरहरूलाई
बाध्यता नामक बैङ्कको मुद्दती खातामा जम्मा गरेर
बैँसलाई थारो बनाएर
भाग्य खोज्न अरबको मरुभूमिमा भौँतारिँदै छ ।
देश मान्छे उमार्ने नर्सरी जस्तै बन्दैछ ।
गाउँ–बस्ती, देउराली र भञ्ज्याङ चौतारी
खहरे खोलाको सुक्खा किनारा
वसन्तमा फुल्ने बेली र चमेली
शरदमा फक्रिने गोदावरी, सयपत्री
सबै सबै शोकाकुल भएका छन्
तन्नेरी युवा–युवतीको अनुपस्थितिमा
मक्किँदै गएको पुरानो–पुरानो घर
ठ्याक्कै वृद्धाश्रम र बालसुधार गृह जस्तै
बुढापाकाको बुड्यौली कुरा सुन्ने
छैनन् तन्नेरी युवा–युवतीको टड्केरो कान
युवाविहीन एकलास
सुनसान खण्डहर जस्तै हुदैछ गाँम(ठाम
देश मान्छे निर्यात गर्ने कम्पनी जस्तै बन्दैछ ।
चुनाव ताका गाउँ छिर्ने नेता–नेतृ
गाउँमा होइन सहर, सहर बसेर
निकासबिनाको कोरा विकासको योजना तर्जुमा गर्दैछ
जन्मदै हजारौँ ऋणको भारी बोकेर जन्मने
सौभाग्यशाली जनता
भाग्य र भविष्य खोज्न
परदेशी भूमिमा झर्दैछ ।
टुङ्गोबिनाको काँचो निर्णय
अँध्यारो छेक्न नसक्ने प्रकाश
थाहा पाएर थाहा नपाएको अभिनय गर्ने
चतुर शासकको अगतिलो शासन
सुनको पिर्कामा बसेर
सिलाबरको बटुकोमा रेमिटेन्स जम्म गर्ने हेतुले
मान्छेले मान्छे बेच्दै गरेको देख्दा
लाग्छ देश मान्छे उमार्ने नरसरी जस्तै ।
परदेशी मृत्युको जोखिम
रातो बाकसमा फर्कने तन्नेरी पार्थिब शरीर
कसरी सहन्छ होला नेपाल आमाले
आफ्ना कोख रित्याएर
सहनुपरेको सन्तान विछोडको बियोग
बाँच्न चाहन्थ्यौ आफ्नै देशमा
केही गर्न चाहन्थ्यौँ आफ्नै देशमा
गर्छु भन्ने तन र मनलाई रोक्न सकेनौँ
आफ्नै ठाउँमा केही गर्छु भनेर
पाखुरी बजार्दै उत्रेको युवालाई
जिउँदै तिम्रो सामु
आत्मसात आत्मादाह गर्न विवश बनायौँ ।
अभिभावकको प्रेम खोसेर
अन्तिम पटक होइन पटक पटक
हवाई अड्डामा
शुभयात्राको सन्देश बाँड्न बाध्य बनायौँ ।
प्रस्थान गेटबाट सग्लो गएको तन्नेरीहरूलाई
आगमन गेटबाट आधा अधुरो जिन्दगी
बोकेकाहरूलाई भित्र्याउँदै छ
देश दुःखेर ओछ्यानमा परेको छ ।
देश मान्छे उमार्ने नरसरी जस्तो बन्दैछ ।
पाँचखाल, काभ्रेपलाञ्चोक
हाल–लिमासोल, साइप्रस