आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माघको महाधिवेशन सार्ने ‘मुड’मा माधव

आइतबार, १० मङ्सिर २०८०, १२ : २८
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने मिति तोके पनि सो समयमा महाधिवेशन नहुने लगभग निश्चित भएको छ ।

गत भदौ ७ गते सम्पन्न सो पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकले आगामी माघ १४देखि १८ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसहितको कार्यतालिका सार्वजनिक गरेको थियो । तर निर्णय भएको ३ महिना बित्दा समेत महाधिवेशनका लागि गर्नुपर्ने तयारी नगरेको तथा यसअघि जारी भएको अन्तरपार्टी निर्देशन (अपानी) समेत नसच्चाएको अवस्थामा तोकिएको समयमा महाधिवेशन हुने/नहुनेमा आफूलाई पनि बुझ्न कठिन भइरहेको सम्मानित नेता झलनाथ खनालले बताए ।

‘यसबारेमा मलाई पनि बुझ्न कठिन भएको छ । तीन महिनाअघि अपानी जारी भयो । त्यो अपानी–११ ले उथलपुथल मच्चायो’, खनालले रातोपाटीसँग भने, ‘त्यो अपानी ‘वीथड्र’ गर्ने र अर्को अपानी जारी गर्ने भनेर सचिवालयले निर्णय नै गर्‍यो तर आजसम्म अर्को अपानी जारी नै भएको छैन ।’

नेता खनालले सोही कारण अहिले पनि पार्टीभित्र केही अलमल, असन्तुष्टि र अप्ठेराहरू विद्यमान रहेको समेत बताए । उनले राष्ट्रिय महाधिवेशन गर्ने भनेर बनाएको कार्यतालिका नै मिचिएको दाबी समेत गरे ।

‘महाधिवेशन गर्ने भनेर सार्वजनिक कार्यतालिका नै मिचियो, अहिलेसम्म बैठक नै बसेको छैन’, खनालले प्रश्न गर्दै भने, ‘गर्न के खोजिएको छ र हुन के भइरहेको छ भन्ने प्रश्न उठेको छ अब आउने सचिवालय बैठकमा यसबारे व्यापक छलफल हुने छ । ’

‘माघमा महाधिवेशन गर्ने निर्णय भएको हो तर अहिलेसम्म तयारी केही भएको छैन । तयारीका लागि नेतृत्वले अग्रसरता पनि देखाएको देखिन्न,’ अर्का पदाधिकारीले भने, ‘तोकिएको मितिमा महाधिवेशन हुँदैन भनेर औपचारिक निर्णय गर्न मात्र बाँकी छ ।’

पार्टी प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले एक-दुई दिनमा बस्ने सचिवालय बैठकमा महाधिवेशनबारे छलफल हुने बताए । ‘सायद केही दिनभित्र सचिवालय बैठक बस्छ त्यो बैठकमा छलफल होला’, खतिवडाको भनाइ छ ।

त्यसो त सो पार्टीले महाधिवेशनका लागि आन्तरिक र बाह्य कुनै पनि तयारी अहिलेसम्म केही गरेको छैन । महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठानिक प्रतिवेदन लेख्नुपर्नेमा अध्यक्ष र महासचिवले अहिलेसम्म त्यसको सुरुवात नै नगरेको उनीहरू निकट स्रोतले जनाएको छ । त्यस्तै विभिन्न प्रकारका समिति र उपसमितिहरू बनाउनुपर्ने र काम थालिसक्नुपर्नेमा त्यसतर्फ पनि सिङ्गो पार्टीले कुनै काम थालेको देखिँदैन । हुन्छ त्योतर्फ पनि ध्यान गएको देखिँदैन । प्रतिनिधि व्यवस्थापन, आवास, खाद्यान्न लगायतका काम गर्न उपसमिति बनाउनुपर्नेमा त्यस्ता उपसमितिहरू अहिलेसम्म बनाएको छैन ।

महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदनका अलावा पार्टीको समग्र कार्यक्रम नै के हुने भन्ने सो पार्टीमा अस्पष्टता छ । ‘पार्टीको समग्र कार्यदिशा समेट्ने कार्यक्रम नै छैन । पार्टीको मूल कार्यक्रम जनताको बहुदलीय जनवाद हो कि, जनताको बहुदलीय समाजवाद हो कि वैज्ञानिक समाजवाद हो कि ? के हो भन्ने हो त्यो कार्यक्रम नै बनेको छैन,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यो कार्यक्रम पार्टीले तयार गरेर कार्यकर्ताका बिचमा छलफलमा पठाउनुपर्ने हुन्छ, त्यो कामको सुरुवात नै भएको छैन ।’

 उनले महाधिवेशनका लागि तल्लो तहका प्रतिनिधि चयन प्रक्रिया समेत नभएको भन्दै महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक काम र तयारी नभएको बताए । ‘यी कुनै पनि काम नगरेकाले माघमा महाधिवेशन नगर्ने मुडमा नेतृत्व पुगिसेकेको देखिन्छ’, ती केन्द्रीय सदस्यको भनाइ छ ।

एमाले छाडेर समाजवादी पार्टीको महासचिव बनेका नेता घनश्याम भुसालले महासचिवको हैसियतमा सञ्चालन गरेको छैटौँ केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू समेटिएको अपानी नै तीन महिनासम्म जारी नहुनुमा महासचिव भुसालमाथि समेत प्रश्न उठेको छ । ‘एकीकृत समाजवादीमा भुसाल महासचिव बनेपछि तरक्की नै हुन्छ भनिएको थियो तर उहाँ महासचिव बनेपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकको अपानी नै अन्योल भयो’, एकजना केन्द्रीय सदस्यको टिप्पणी छ ।

सचिवालय बैठकमा छलफल हुन्छ : श्रेष्ठ

नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले महाधिवेशनबारे माघमा गरेको निर्णय यथावत् रहेको बताए । उनले अध्यक्ष माधव नेपाल भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि सचिवालय बैठक बसेर थप छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘अब चाँडै बस्ने सचिवालय बैठकमा महाधिवेशनबारे विस्तृत छलफल हुन्छ’, श्रेष्ठले रातोपाटीसँग भने,‘बैठक बसेर विस्तृत छलफल भएपछि मात्रै सर्ने वा सोही मितिमा महाधिवेशन हुने भन्ने टुङ्गो लाग्नेछ ।’

२०७८ सालमा नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गरेर नेता माधव नेपालले आफ्नै अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप