म सूचना विभागमा डाइरेक्टर थिएँ । एक दिन कार्यालयका पिउन (कार्यालय सहयोगी)ले मलाई एउटा चिट ल्याएर दिए, त्यसमा ‘नारायणगोपाल’ भनेर लेखिएको थियो । नारायणगोपालजीका गीतहरू मैले सुन्दै आइरहेको थिएँ । उहाँ राम्रो गायक भएकाले म उहाँको फ्यान थिएँ ।
मैले उहाँलाई तुरुन्तै भित्र बोलाउन भनेँ । अध्ययनशील व्यक्ति भएकाले उहाँले मेरा कविता पढ्नुहुँदो रहेछ । त्यतिबेला उहाँले भन्नुभयो, ‘तपाईंलाई भेटौँ भनेर आएको ।’
त्यसपछि पनि उहाँ मलाई भेट्न आउनुभयो । त्यस भेटमा उहाँले गीतका शब्द र लयका बारेमा मलाई सोध्नुभयो, जाँचै लिएजसरी ।
सुरुमा मैले उहाँले देखाएका र सुनाएका गीत राम्रा छन् मात्रै भनेको थिएँ । उहाँले नै सुझाव मागेपछि भनेँ, ‘यो गीतको जुन ट्युन सुनाउनुभयो, त्योभन्दा अलि सोलो रिदममा गाउनुपर्ला, किनभने यो गीत गम्भीर छ । दोस्रो कुरा, यो गीतको पहिलो र दोस्रो अन्तराको भाव उस्तै–उस्तै भए । यसमा अलिकति पार्न सकिन्छ तर गीत असाध्यै राम्रो छ ।’
मेरो कुरा सुनेर उहाँले सोध्नुभयो, ‘तपाईंलाई गीत कुन लयमा गाउने भनेर कसरी थाहा भयो ?’
गीत–संगीतमा आफ्नो सानैदेखि रुचि भएको कुरा मैले उहाँलाई सुनाएँ ।
उहाँसँग पहिलो भेटमा यस्तै कुरा भए । उहाँ पुनः मलाई भेट्न आउनुभयो र भन्नुभयो, ‘तपाईं गीत लेख्नुस्, म गाउँछु ।’
धरान–विराटनगरमा हुँदा मैले गीत लेख्ने, लय बनाउने र समारोहहरूमा गाउने गर्थें र पुरस्कार पनि पाउँथे । यस्ता कुरालाई त्यतिबेला त्यहाँ ठूलै रूपमा हेरिन्थ्यो । किनभने त्यतिबेला तराईमा हिन्दी गीत नै बढी गाउँथे । तर मैले त्यतिबेला नेपाली गीत गाउँथेँ, नेपाली ठेट लोकगीत पनि गाएँ किनभने धरानमा ढाकर बोकेर आउनेहरूले गाएको गीतलाई मैले टिप्ने गर्थें ।
यसरी सानैदेखि गीत–संगीतप्रति मेरो रुचि र मोह थियो । २०१३ सालमा एसएलसी पास गरेपछि पढ्नका लागि मलाई बनारसमा पठाउने कुरा थियो । त्यहाँ मेरा काकाहरू र दाइहरूले पढ्नुभएको थियो, हजुरबुवा–हजुरआमाले त्यहाँ काशीवास गर्नुहुन्थ्यो । म बनारस जान मानिनँ, किनभने म गीत–संगीतमा लाग्न चाहन्थेँ, रेडियोमा गीत गाउन चाहन्थेँ, त्यसैले बलजफ्ती गरेर काठमाडौँ आएँ । एक दिन मैले नातिकाजीलाई भेटेको थिएँ, उहाँले भन्नुभयो– स्वरपरीक्षा गर्नुपर्छ । स्वरपरीक्षा कसरी गर्दो रहेछ भनेर एक दिन घुम्दै म रेडियो नेपाल गएँ । त्यहाँ त तुर्लुङ्ग झुन्ड्याएको माइकका अगाडि एक्लै बसेर गाउनुपर्दो रहेछ । सबैको माझमा बसेर गाउने मलाई त्यसरी एक्लै गाउन ठिक लागेन र स्वर परीक्षा दिइनँ ।
मैले त्रि–चन्द्रमा पढ्दै गर्दा काठमाडौँमा गीतको माहोल छँदै थियो, कविताको अझ बढी गोष्ठीहरू भइरहन्थे । विजयबहादुर मल्ल, भूमि शेरचन, भीमदर्शन रोक्का लगायत नाम चलेका कविहरूको प्रभाव देखिन्थ्यो । यो देखेपछि मैले गीत गाउने कुरा छाडेर कविता लेख्नतिर लागेँ । पछि जीविकाकै लागि भए पनि सरकारी जागिरमा आएँ ।
नारायणगोपालसँग पहिलो भेटमा यस्तै कुरा भए । उहाँ पुनः मलाई भेट्न आउनुभयो र भन्नुभयो, ‘तपाईं गीत लेख्नुस्, म गाउँछु ।’
मैले अचेल गीत लेखेको छैन, अभ्यास पनि छैन, खालि कविता लेख्छु । उहाँले एउटा गीत लेखिदिन आग्रह गर्नुभयो । एक दिन शनिबारको दिन मैले गीत कोर्ने कोसिस गरेँ । एउटा गीत तयार भयो । उहाँ निकै चुजी हुनुहुन्छ, यो मन पराउनुभएन भने के गर्ने ? त्यसैले अर्को पनि लेखेँ । मन पराउनु हुन्छ कि हुन्न भन्नेमा द्विविधा थियो । मैले भगवानसँग प्रार्थना गरेको थिएँ, उहाँले मलाई गीत लेख्न दिएको कुरा बिर्सिदिए हुन्थ्यो । किनभने गीतको बारेमा मैले उहाँसँग धेरै कुरा गरेको थिएँ, भरे आफैँले लेखेको गीत राम्रो नहोला भन्ने डर मलाई थियो ।
एक दिन अफिस आएर उहाँले मसँग गीत माग्नुभयो । उहाँलाई मैले दुईवटा गीत देखाएँ । त्यस दिन गीतबारे कुनै प्रतिक्रिया नदिई चिया पनि नखाई उहाँ गीत लिएर जानुभयो र केही दिन आउनुभएन । गीत नदिँदासम्म त भेटघाट भइरहन्थ्यो । अब फेरि आएर तपाईंको गीत मनपरेन भन्न उहाँलाई अप्ठेरो भयो कि ! मैले यस्तै सोचेको थिएँ– अब हाम्रो भेटघाट टुट्ने भयो ।
केही दिनपछि आएर उहाँले मलाई एउटा क्यासेट दिँदै भन्नुभयो, ‘रिजालजी, यो गीत सुनेर मलाई भन्नुहोला ।’ यसरी क्यासेटमा गीत सुन्न लगाएर मेरो प्रतिक्रिया लिने काम उहाँले त्यसअघि पनि गर्नुभएको थियो । मैले सम्झेँ — यसपालि पनि अरु कसैको गीत होला । मनमा कता–कता उत्सुकता भने थियो, कतै आफ्नै गीत होइन भनेर ।
भरे घर फर्केर त्यो क्यासेट बजाएँ । एकपछि अर्को गरी मेरा दुईवटा गीत बजे– ‘आँखा छोपी नरोउ भनी भन्नुपर्या छ’ र ‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी’ । उहाँको स्वरमा सुनेपछि मलाई असाध्यै मन पर्यो ।
यी गीत असाध्यै चले । गीत लेख्न लगाएर मलाई गीतकारको रूपमा खडा गरी स्थापित गरेको श्रेय मैले नारायणगोपाललाई दिन्छु । उहाँ मैले खोजेजस्तै गायक हुनुहुन्थ्यो । मसँग भेट भएकामा उहाँले पनि खुसी व्यक्त गर्नुहुन्थ्यो ।
नारायणगोपालमा विधाताले नै दिएको स्वर थियो । एक किसिमले भन्नुपर्दा, उहाँको स्वर त्यस बेलाका लागि पूर्ण रूपमा नयाँ थियो । गाउने अरु पनि थिए । उहाँको स्वर ताजा र नौलो किसिमको थियो । बेग्लै मिठास र जादु थियो उहाँको स्वरमा ।
त्यसबेला गीतकार, गायक र संगीतकारबीच सहकार्य हुन्थ्यो, छलफल हुन्थ्यो । गीत पर्फेक्ट बनाउन लागिन्थ्यो तर अहिले त्यो किसिमको छलफल र सहकार्य हुँदैन ।
मुटुमाथि ढुंगा राखी बोलको गीतमाथि त्यतिबेला प्रश्न उठाइएको थियो । पञ्चायती शासनका बढी राजावादी भनाउँदाले यो गीतले व्यवस्थाको विरोध गर्न भन्ने ढंगले व्याख्या गरे ।
मैले लेखेका शब्द उच्चारण गर्न अप्ठेरो लाग्यो भने उहाँले बदल्न भन्नुहुन्थ्यो । कहिलेकाहीँ मैले यो शब्दलाई यसरी पनि उच्चारण गर्न सकिन्छ भनेर उच्चारण गरेर सुनाउँथे । कतिपय गीतमा उहाँले मेरो सुझाव अनुसार गर्नुहुन्थ्यो ।
सबैको कुरा आफ्नो बनाउन सक्नु र आफ्नो कुरालाई सबैको बनाउन सक्नु नै कवि तथा गीतकारको विशेषता हो । लयबद्ध रूपमा, गायनको रूपमा आफ्ना मनका सुखदुःखका भावनालाई बाहिर ल्याउनु नै गीत हो । गीतलाई हामीले बोलेर पनि भन्न सक्छौँ तर लयमा गाउँदा जति प्रभावकारी र मर्मस्पर्शी हुँदैन ।
मेरी श्रीमतीको फुपूको श्रीमान कृष्णप्रसाद चापागाईं जो साहित्यकार नै हुनुहुन्थ्यो, उहाँ एकपटक बिरामी पर्नुभयो । उहाँलाई भेट्न म वीर अस्पतालमा गइरहन्थेँ । एक दिन उहाँकी श्रीमतीले रुँदै भन्नुभयो, ‘हजुरले मेरै लागि गीत लेखेको जस्तो लाग्छ । यहाँ सबै भेट्न आउनुहुन्छ, मैले सबै ठीकै छ भन्छु तर मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ ।’
‘मुटुमाथि ढुंगा राखी’ गीत व्यवस्थाविरोधी ?
मुटुमाथि ढुंगा राखी बोलको गीतमाथि त्यतिबेला प्रश्न उठाइएको थियो । पञ्चायती शासनका बढी राजावादी भनाउँदाले यो गीतले व्यवस्थाको विरोध गर्न भन्ने ढंगले व्याख्या गरे ।
त्यतिबेला गुप्तचरहरू थिए, कति त बिनातलबका पनि गुप्तचर थिए । यस्तै एउटाले राजाकहाँ बिन्तीपत्र हालेछ । आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ भन्नु त एक किसिमको विद्रोह हो । आज नेपालीहरू उन्मुक्त छैनन्, प्रशन्न छैनन्, तर मुटुमाथि ढुंगा राखेर देखाउनका लागि मात्रै हाँसेका छन् भनेको हो गीतले । सूचना विभागको डाइरेक्टर भएर यस्तो गीत लेख्ने ? यस्तै भनेर बिन्ती गरिएको रहेछ ।
त्यस बिन्तीपत्रलाई जाँचबुझ आयोगमा पठाइएछ । रेडियो नेपालका डाइरेक्टर भोग्यप्रसाद शाहहरू बसेर छलफल गरेछन् र निष्कर्ष निकालेछन्– ‘यो गीतमा व्यवस्थाको विरोध छैन, मानिसको मनस्थिति मात्रै आएको छ ।’
यसरी ममाथि कारबाही भएन, मलाई त फाँसीकै सजाय दिनुपर्छ भनेर बिन्तीपत्र हालिएको थियो रे । यो गीतमा मैले व्यवस्थाको विरोध गरेको होइन, लाए–अह्राएको काम गर्ने कर्मचारीले के व्यवस्थाको विरोध गर्नू ? कर्मचारी भएर चित्त बुझेको काम पनि गर्नुपथ्र्यो, चित्त नबुझेको काम पनि गर्नुपथ्र्यो । त्यो अवस्थामा मैले आफ्नो मनस्थितिकै कुरा, आफ्नै असन्तुष्टि लेखेको हुँ ।
त्यतिबेला लेखिएका मेरा कतिपय गीतमा अलिकति आफैँसँगको असन्तुष्टि बढी छन् । ‘झरेको पात झैँ भयो’ बोलको गीत निराशावादीभन्दा पनि उदास गीत हो । यसमा मनको विरक्ति आएको छ ।
गीत आफ्नो मनले लेख्ने हो । गीतमा गीतकारको मनस्थिति नै झल्कन्छ । त्यतिबेला मलाई जागिर खान मन थिएन, तर बाध्य थिएँ । जागिर खाए पनि ममा कहिलेकाहीँ विद्रोह आउँथ्यो । एकपटक गाईजात्रामा कविता सुनाउन पुगेको थिएँ । त्यतिबेला प्रधानमन्त्री सूर्यबहादुर थापाले ठाडै खोसुवा पुर्जी पठाउनुभएको थियो । मैले त्यो पुर्जी नबुझेर घरमा छुट्टी लिएर बसेँ । पछि सबैले सम्झाएर म जागिरमा फर्कें ।
‘भिख मागेर बाँच्ने मान्छे होइन म’
हामीबीच मित्रता हुँदै गयो । उहाँको स्वास्थ्यसम्बन्धी समस्याको रिपोर्ट मैले हेरिरहन्थेँ । सरकारी खर्चमा उहाँको उपचार गर्न मैले सहयोग गरेको छु ।
त्यतिबेला सामाजिक सेवा राष्ट्रिय समन्वयन परिषद् भन्ने थियो । जसको अध्यक्षमा रानी ऐश्वर्य हुनुहुन्थ्यो भने म सचिव थिएँ ।
मैले नारायणगोपालजीलाई उपचार सहयोगका लागि बिन्तीपत्र लेख्न भनेको थिएँ । उहाँले मान्नुभएन । भन्नुभयो, ‘भिख मागेर बाँच्ने मान्छे होइन म ।’ मैले निवेदनको ड्राफ्ट लेखिदिएर सम्झाएपछि उहाँले मान्नुभयो । त्यसपछि रानीलाई भनेर उहाँलाई उपचारका लागि बैङ्कक पठाइयो । उहाँ उपचार गरेर आउनुभयो र भन्नुभयो, ‘म फ्रेस भएँ ।’
नारायणगोपालले मेरा गीत त्यति छान्नुभएन । तर उहाँले अरुका गीत निकै छान्नुहुन्थ्यो भन्ने सुन्थेँ । एकचोटि उहाँ मलाई भेट्न आउनुभएको थियो । त्यतिबेला उहाँले कागजका टुक्रा फालेको देखेँ ।
मैले भनेको थिएँ, ‘केही दिन बसेर आउनुभएको भए हुन्थ्यो । फलोअफ गर्नुपथ्र्यो ।’
उहाँले भन्नुभयो, ‘सुरुमा त एम्बेसीका मान्छेले राम्रै गरेका थिए, पछि आउनै छाडे ।’
मैले भनेँ, ‘तपाईंलाई त्यहाँ माया गर्ने थुप्रै नेपाली थिए । बसेको भए पनि हुन्थ्यो । खर्च हामी नै बेहोथ्र्यौं ।’
उपचारपछि उहाँले साथीभाइसँगको खानपिनमा बढी नै जोड दिनुभयो र उहाँ पुनः बिरामी पर्नुभयो । उहाँलाई औषधि खुवाउन पनि कहिलेकाहीँ मै जानुपथ्र्यो । उहाँले औषधि खान नमान्ने ।
नारायणगोपालको निधनमा काठमाडौँ नै उल्टिएको थियो । ब्यान्ड बाजा बजेको थियो । त्यसको व्यवस्थापन गर्न म पनि खटेको थिएँ । भरे टिभीमा हेर्दा ब्यान्ड बाजामा पनि मेरै गीत बजेका थिए– ‘आँखा छोपी नरोऊ भनी’, ‘झरेको पातझैँ भयो’ आदि ।
‘गीत च्यातेर फालेको देखेँ’
नारायणगोपालले मेरा गीत त्यति छान्नुभएन । तर उहाँले अरुका गीत निकै छान्नुहुन्थ्यो भन्ने सुन्थेँ । एकचोटि उहाँ मलाई भेट्न आउनुभएको थियो । त्यतिबेला उहाँले कागजका टुक्रा फालेको देखेँ । मैले के हो भनेर सोध्दा उहाँले भन्नुभयो, ‘हेर्नुस् न, मानिसले बाटोबाटोमा गीत दिन्छन् । मैले त्यो गीत गाइदिनुपर्ने रे, गज्जबको कुरा छ ।’
उहाँको स्वभाव झ्वाँकी थियो, आफूलाई मन परेको काम–कुरा मात्रै गर्नुहुन्थ्यो ।
८० कटिसकेँ । अहिले पनि गीत लेखिरहेको छु । म जसलाई पायो, उसलाई गीत दिन्नँ । अहिलेसम्म एक हजारको हाराहारीमा गीत लेखेँ हुँला । रेकर्ड गीत पनि होला चार–पाँच सयजति ।
अहिले नेपाली संगीत क्षेत्रमा सबै राम्रो छ तर पश्चिमा संस्कृतिको अनुकरण गरेर गीत लेख्ने प्रवृत्ति बढी छ । गीत जस्तो लेखे पनि हामीले त्यसमा नेपालीपन बिर्सनु हुँदैन । कमसे कम त्यसमा नेपाल बोल्नुपर्छ । नत्र अरु देशको गीत र नेपाली गीतमा के फरक भयो त ? हाम्रा गीतका शब्द वा गायनमा नेपालीपन प्रतिध्वनित हुनुपर्छ । हामीसँग पनि आफ्नो संस्कृति र संगीतको पृष्ठभूमि छ । ठिक छ, पश्चिमी गायनको शैली लिन सकिन्छ, तर त्यसलाई नेपालीकरण गरिनुपर्छ, जसमा नेपालको छवि र स्वर सुनियोस् । हामीले पश्चिमको अन्धो अनुकरण गर्नु हुँदैन ।
राज्यले हाम्रा गाउँ कन्दराका भाकालाई अगाडि ल्याउन पहल गर्नुपर्छ । पहिले यस्तो खालको अभ्यास थियो, अहिले त्यो हटेको छ ।
प्रतिक्रिया