पटकपटक सत्ता परिवर्तनले लुम्बिनीमा लगानी सम्मेलन अन्योलमा
बुटवल । लुम्बिनीमा पटकपटक सत्ता परिवर्तन हुँदा लगानी सम्मेलन आयोजनाको विषय अन्योलमा परेको छ । लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेलदेखि डिल्लीबहादुर चौधरीसम्मले लगानी सम्मेलन आयोजनाका लागि चासो देखाएका थिए । तर सम्मेलन आयोजनाको अझै टुङ्गो लागेको छैन ।
फागुन २८ र २९ गते लुम्बिनीमा ‘लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलन’ आयोजना गरी लगानीका विभिन्न ५ वटा परियोजना प्रस्तुत गर्ने तयारी थियो । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै उक्त कार्यक्रम रोकियो ।
अहिले गठन भएको सरकारले लगानी सम्मेलन गर्ने कि नगर्ने भन्ने विषयमा सोच्न भ्याएको छैन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले लगानी सम्मेलनको विषयमा अध्ययन गर्न बाँकी रहेको बताए ।
लुम्बिनी प्रदेशमा हालसम्म ५ मुख्यमन्त्री बनिसके । सबैका पालामा लगानी सम्मेलन आयोजनाको विषय सम्झाउने काम हुने गरेको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव एवं सूचना अधिकारी यमकान्त पाण्डेयले रातोपाटीलाई बताए । लगानी सम्मेलन गर्न सबै सकारात्मक भए पनि विभिन्न कारणले चर्चा सेलाउने गरेको उनको भनाइ छ ।
शंकर पोखरेलको पालामा लगानी सम्मेलनको तयारी जोडतोडले भएको भएको थियो तर कोभिडका कारण आयोजना हुन सकेन । कोभिडपछि फेरि सम्मेलनको तयारी गर्दैगर्दा सरकार नै ढल्यो ।
यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका पालामा लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलनमा केही विदेशी लगानीकर्ता निमन्त्रणा गरेर लगानी भित्र्याउने योजना थियो । त्यो बेलाका योजना आयोग उपाध्यक्ष डा.नहकुल केसीले लुम्बिनीमा लगानी भित्र्याउन विभिन्न ५ वटा परियोजनाको पेपर समेत तयार पारिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘त्यो काम गर्न पाएको भए लगानीका केही आधार सुनिश्चित भएको हुन्थ्यो, तर त्यही बेला सरकार परिवर्तन भएपछि सम्मेलन रोकियो ।’
लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री बैजनाथ चौधरीले लुम्बिनीमा २०७७ सालमा लगानी सम्मेलन गर्ने अन्तिम चरणको पुगेको बेला कोभिड महामारीका कारणले रोकिएको बताए ।
त्यो बेला सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत लगानी सम्मेलनबारे उल्लेख गरेको थियो । अर्का मुख्यमन्त्री कुलप्रसाद केसीले पनि लुम्बिनीमा लगानी सम्मेलन गर्ने योजना बनाउँदा बनाउँदै कार्यकाल सकिएको मुख्यमन्त्री कार्यालयका कर्मचारी बताउँछन् ।
आर्थिक स्रोत कम भएको ठाउँमा लगानी सम्मेलन गरेर केही स्रोत जुटाउन उपयुक्त हुने अर्थशास्त्री बताउँछन् । लुम्बिनी प्रदेश योजना आयोगमा पूर्वसदस्य डा. विष्णु गौतमले लुम्बिनीमा लगानी सम्मेलन अति आवश्यक भएको बताए ।
उनले सम्मेलन गर्दैमा लगानीकर्ताहरू नआउने बताउँदै लगानीकर्ता आकर्षित गर्नको लागि नीतिगत र कार्यशैलीमा पनि व्यापक सुधार गर्नुपर्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण