मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा खानेपानी अभाव, झुम्सा खानेपानी आयोजना अधुरै

मङ्गलबार, १८ वैशाख २०८१, १० : ५४
मङ्गलबार, १८ वैशाख २०८१

बुटवल । बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टले तिनाउबाट दैनिक १ करोड लिटर र बुटवलका विभिन्न २१ वटा ट्युबवेल (बोरिङ) बाट १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति गरिएको बताए ।

खानेपानीको अभावका कारण उपभोक्ताले ट्याङ्करबाट पानी मगाउने गरेका छन् । नेपाल खानेपानी संस्थान बुटवलले माग अनुसार पानीको आपूर्ति गर्न झुम्सा खानेपानी आयोजना निर्माण थालेको तीन दशक पुग्न थालेको छ । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

बुटवलको वडा नम्बर ७ र ८ मा पानीको सर्वाधिक अभाव छ । बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले खानेपानीको समस्या लिएर उपभोक्ताहरू आउने गरेको बताइन् । कम्तीमा २ घण्टा भए पनि दैनिक धारामा पानी आउने व्यवस्था मिलाउन आफूले खानेपानी प्रमुखसँग आग्रह गरेको उनले बताइन् ।

खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले गर्मीमा माग धेरै बढ्ने बेलामा खानेपानीको स्रोत ट्युबवेल (बोरिङ) बाट पानी कम आउने गरेका कारण व्यवस्थापनमा समस्या भएको बताए ।

‘अहिले खानेपानीका ३ वटा (बोरिङ) बाट पानी आएको छैन । यस्तै बुटवल–नारायणगढ सडक निर्माणको क्रममा रामनगर क्षेत्रका खानेपानी पाइप काटिँदा पनि केही दिन समस्या भयो,’ उनले भने ।

4

बुटवलका लागि खानेपानीको प्रमुख स्रोत पाल्पाको तिनाउ नदी नै हो । त्यही नदीमा रहेको झुम्सा खानेपानी आयोजना तीन दशकदेखि निर्माणाधीन रहे पनि सम्पन्न हुन सकेको छैन । मुहानभन्दा तल तीन महिना अगाडि पुल भाँचिदा खानेपानी संस्थानको पाइप नै भाँचिएको थियो । त्यो पुल निर्माण गर्न बाँकी छ ।

बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले बुटवलमा खानेपानी छिटो ल्याउन पहल गरिरहेको दाबी गरिन् ।

झुम्सा खानेपानी आयोजना २०५२÷०५३ मा पाल्पाका सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित सुरु भएको थियो । केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको थियो ।

सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाइदियो । फेरि २०७७ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेको झुम्सा खानेपानी आयोजना अझै पूरा नहुँदा बुटवलमा खानेपानीको समस्या भएको हो ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टका अनुसार यो परियोजनाको ठेक्काको जिम्मा पाएको कन्काई कालिका जेभीको म्याद यही वैशाख २४ गतेसम्म छ । बिचमा पुल भाँचिदा फेरि म्याद थप गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

साढे १३ किलोमिटर मध्ये १२ किलोमिटर पाइन लाइन, ड्याम साइटको काम सम्पन्न भएको खानेपानी संस्थानका प्रमुख भट्टले बताए । उनले भने, ‘धेरै काम भएको छ । यो वर्षापछि बुटवलमा पानी आउने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप