बुटवलमा खानेपानी अभाव, झुम्सा खानेपानी आयोजना अधुरै
बुटवल । बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ ।
खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टले तिनाउबाट दैनिक १ करोड लिटर र बुटवलका विभिन्न २१ वटा ट्युबवेल (बोरिङ) बाट १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति गरिएको बताए ।
खानेपानीको अभावका कारण उपभोक्ताले ट्याङ्करबाट पानी मगाउने गरेका छन् । नेपाल खानेपानी संस्थान बुटवलले माग अनुसार पानीको आपूर्ति गर्न झुम्सा खानेपानी आयोजना निर्माण थालेको तीन दशक पुग्न थालेको छ । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।
बुटवलको वडा नम्बर ७ र ८ मा पानीको सर्वाधिक अभाव छ । बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले खानेपानीको समस्या लिएर उपभोक्ताहरू आउने गरेको बताइन् । कम्तीमा २ घण्टा भए पनि दैनिक धारामा पानी आउने व्यवस्था मिलाउन आफूले खानेपानी प्रमुखसँग आग्रह गरेको उनले बताइन् ।
खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले गर्मीमा माग धेरै बढ्ने बेलामा खानेपानीको स्रोत ट्युबवेल (बोरिङ) बाट पानी कम आउने गरेका कारण व्यवस्थापनमा समस्या भएको बताए ।
‘अहिले खानेपानीका ३ वटा (बोरिङ) बाट पानी आएको छैन । यस्तै बुटवल–नारायणगढ सडक निर्माणको क्रममा रामनगर क्षेत्रका खानेपानी पाइप काटिँदा पनि केही दिन समस्या भयो,’ उनले भने ।

बुटवलका लागि खानेपानीको प्रमुख स्रोत पाल्पाको तिनाउ नदी नै हो । त्यही नदीमा रहेको झुम्सा खानेपानी आयोजना तीन दशकदेखि निर्माणाधीन रहे पनि सम्पन्न हुन सकेको छैन । मुहानभन्दा तल तीन महिना अगाडि पुल भाँचिदा खानेपानी संस्थानको पाइप नै भाँचिएको थियो । त्यो पुल निर्माण गर्न बाँकी छ ।
बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले बुटवलमा खानेपानी छिटो ल्याउन पहल गरिरहेको दाबी गरिन् ।
झुम्सा खानेपानी आयोजना २०५२÷०५३ मा पाल्पाका सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित सुरु भएको थियो । केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको थियो ।
सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाइदियो । फेरि २०७७ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेको झुम्सा खानेपानी आयोजना अझै पूरा नहुँदा बुटवलमा खानेपानीको समस्या भएको हो ।
खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टका अनुसार यो परियोजनाको ठेक्काको जिम्मा पाएको कन्काई कालिका जेभीको म्याद यही वैशाख २४ गतेसम्म छ । बिचमा पुल भाँचिदा फेरि म्याद थप गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
साढे १३ किलोमिटर मध्ये १२ किलोमिटर पाइन लाइन, ड्याम साइटको काम सम्पन्न भएको खानेपानी संस्थानका प्रमुख भट्टले बताए । उनले भने, ‘धेरै काम भएको छ । यो वर्षापछि बुटवलमा पानी आउने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण