शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
वित्तीय साक्षरताकाे अभाव

ग्रामीण भेगमा वस्तु विनिमय कायमै, भारतीय बिचौलियाबाट यसरी ठगिन्छन् नेपाली

शुक्रबार, २९ मङ्सिर २०८०, ०६ : ३६
शुक्रबार, २९ मङ्सिर २०८०

धनगढी । वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने प्रचलन आज पनि कायमै रहेको पाइएको छ ।

आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिद गर्न मुद्रा, क्रेडिट कार्ड, चेक, ई–सेवालगायत विभिन्न विनिमयका माध्यमहरु चलनचल्तीमा रहे पनि कैलाली, कञ्चनपुुरसहित भारतीय सीमासँग जोडिएको ग्रामीण भेगमा वस्तु विनिमय प्रणाली कायमै रहेको हो ।

विशेषगरी कृषिमा मात्रै निर्भर ग्रामीण भेगका नागरिकहरु वस्तु विनिमय प्रणाली अनुसार नै आफ्ना आवश्यकता पूर्ति गर्दै आएका हुन् । भारतका विभिन्न ठाउँबाट आउने व्यापारी तथा बिचौलिया र स्थानीयबिच धान, गहुँ, मसुरोलगायत जिन्सी पदार्थबाट आलु, खुर्सानी, सिद्रा, सखरखण्ड, मिठाइलगायत वस्तु सटासाट हुँदै आएको हो ।

वस्तु विनिमय गर्न बयलगाडा हाँकेर कैलाली पुगेका भारतको खिरी जिल्ला धकरुवा चौराहाका एकलालले आफूहरु २ केजी धानबाट १ केजी आलु, २ पसेरी (५ किलो) धानले १ किलो हरियो खुर्सानी र ३ पसेरी (साढे ७ केजी) धानले एक पाउ (२५० ग्राम) सिद्रा सटासाट गरिरहेको बताए ।

जबकि नेपालमा धानको मूल्य प्रतिकिलो २७ देखि ३० रुपैयाँसम्ममा खरिद बिक्री हुन्छ । त्यस्तै, हाल बजारमा नयाँ सेतो आलु प्रतिकिलो ३५ देखि ४० रुपैयाँ र हरियो खुर्सानी प्रति किलो ८० देखि १०० रुपैयाँमा खरिद बिक्री हुन्छ ।

यसरी हुने बस्तु विनिमयले आफ्नो आवश्यकता पूर्ति गर्ने ग्रामीण भेगका सर्वसाधारणहरु मारमा पर्दै आएका हुन् ।

Indian business man in Nepal2

भारतको खिरी जिल्लाको चौराहाका अर्का कैलाश चौहानले हिउँद र गर्मी सिजनभरि वस्तु साटासाटको व्यापार गर्दै आएको बताए । विगत २०÷२५ वर्षदेखि यही व्यापार गर्दै आएको बताउने चौहानले वर्षमा १० पटकसम्म नेपालमा वस्तु विनिमयका लागि आउने गरेको जानकारी दिए । एक पटकमा करिब १ हप्तासम्म नेपालको विभिन्न स्थानमा वस्तु सटासाटको व्यापार गर्दै आएको उनको भनाइ छ ।

४० वर्षदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताउने खिरी जिल्ला चौराहाकै प्रेम जैसवालले पुस्तौँदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताए । यही व्यापारबाटै आफूहरुको जीविकोपार्जन हुँदै आएको उनको भनाइ छ ।

कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक एवं सहकारीविद् डा. गोविन्दराज जोशीले ग्रामीण भेगमा अशिक्षा र कमजोर आर्थिक अवस्था र किसानका कृषि उपजले बजार मूल्य नपाउँदा भइरहेको वस्तु विनिमय प्रथाबाट नेपाली किसानहरु भारतीय बिचौलियामार्फत ठगिँदै आएको बताए ।

Indian business man in Nepal1

विकसित देशहरुमा मुद्रा विनिमय प्रणाली समेत हट्ने क्रममा रहेको जानकारी दिँदै उनले नेपालको ग्रामीण भेगमा भने वस्तु विनिमय प्रणाली कायमै रहनुले मुलुकको कमजोर आर्थिक अवस्थालाई दर्शाइरहेको औँल्याए ।

वस्तु विनिमय प्रथा हटाउनका लागि राज्यले ग्रामीण भेगमा कृषि उपजको प्रभावकारी बजारीकरणमा ध्यान दिनुका साथै विनिमय तथा मुद्रावारे जनजागरण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । साथै पैसाबाटै आवश्यक वस्तु खरिद गर्ने बानीको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको उनको सुझाव छ ।

तर हालसम्म कुनै पनि निकायले वित्तीय साक्षरताबारे सचेतना कार्यक्रम नगरेको स्थानीयवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप