सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संवादविहीन नाटक गुलाफको रिहर्सल
रङ्गमञ्च

संवादविहीन नाटक गुलाफको रिहर्सल

सिद्धार्थ गौतमले दरबार छाडेपछि विक्षिप्त बनेकी यशोधराको भूमिकामा दिया र सरिता
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’को रिहर्सल चलिरहेको छ । कलाकारद्वय दिया मास्के र सरिता साह राजकुमारी यशोधराको मानसिक द्वन्द्व र विछोडको विक्षिप्ततालाई शरीरको भावभंगीबाट मञ्चमा देखाउन संघर्षरत छन् । 

रङ्गकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा मञ्चनको तयारीमा छ, गुलाफ । आफ्नै श्रीमतीको प्रसवपीडाका साक्षी बनेका ढकालले सिद्धार्थ गौतमकी पत्नी यशोधराको भावनात्मक द्वन्द्व र संघर्षलाई नाटक ‘गुलाफ’मा उतार्ने कोसिस गरेका छन् । 

राजकुमार सिद्धार्थ गौतमले घरपरिवार, राज्य त्याग गरेका कारण यशोधराको मनमा उब्जेको धारणाहरूको अभिव्यक्ति नै नाटक ‘गुलाफ’ भएको परिकल्पनाकार ढकाल बताउँछन् । राजकुमार सिद्धार्थ गौतमको चर्चा परिचर्चा र उनको त्याग तपस्या हरेक क्षेत्रमा पढ्न र सुन्न पाइने तर यशोधराको मानसिक चित्र, सन्तान प्राप्तिको केही समय नबित्दै श्रीमानले छाडेर एक्लिँदाको मानसिक वेदना नाटक ‘गुलाफ’ले बोल्ने निर्देशक ढकाल बताउँछन् ।

412002619_257609337108530_2714786954072743416_n

‘एकातिर  प्रसवपीडापछि जन्मेको शिशुलाई आफ्नो जीवनसाथी सिद्धार्थको हातमा राखिदिन र जीवनसाथीबाट मायाको न्यानो स्पर्श पाउने प्रतीक्षामा हुन्छिन् यशोधरा, अर्कोतिर जीवनसाथी सिद्धार्थले आफ्नो खुसीको खोजीका लागि घर–परिवार त्यागेर निस्केको खबर सुनेर मर्माहत यशोधरा छन्, दुवैको अनुभूति हो नाटक गुलाफ,’ परिकल्पनाकार ढकाल भन्छन्, ‘सिद्धार्थले दरबार त्यागेपछिको चरम पीडा र विछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो ।’

संवादविनाको यो नाटकमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई कलाकारहरूको शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस गरिएको छ । जसमा ध्वनि र प्रकाश अर्थात् ‘साउन्ड एन्ड लाइट’ले नाटकको सदृश्य वाचनलाई सहज, अर्थपूर्ण र जीवन्त बनाउने परिकल्पनाकार ढकालको विश्वास छ । 

412173382_711026664320010_4611050486707459559_n

नाटकमा महिला दुई पात्रको मात्र अभिनय रहनेछ । यसले रङ्गमञ्चबाट महिलाकै कथा बोलिँदै छ भन्ने प्रस्ट पार्दछ । रिहर्सलका समयमा थाकेर असिनपसिन भएकी कलाकार दिया मास्के भन्छिन्, ‘सिद्धार्थका विषयहरू धेरै पढिए सुनिए तर यशोधराको पीडा र उनले गरेको संघर्षमाथि अभिनयको अवसरले खुसी छु,’ उनी थप्छिन्, ‘नाटक गुलाफ यशोधराको मात्र नभएर समग्र महिलाहरूकै दिमाग र शरीर बिचको अन्तर्द्वन्द्व पनि हो । त्यसैले त्यो पात्रमाथि न्याय गर्ने कुरामा हामी प्रयासरत छौँ ।’ मास्केकै स्वरमा हो मिलाउँछिन् साथमै रहेकी अर्की कलाकार सरिता साह । उनी भन्छिन्, ‘बिहीबारसम्म आइपुग्दा हामीले ११ दिनसम्म निरन्तर रिहर्सल गरिरहेका छौँ । दियादिदीसँग कनेक्सन मिलिरहेको छ । आशा छ संवादविनाको यो ‘प्ले’बाट दर्शकको मन जित्न सक्छौँ होला ।’

नाटक गुलाफ विना संवादको रहेकाले विशेष गरेर साउन्ड डिजाइनमा ध्यान पुर्‍याइएको साउन्ड डिजाइनर देव न्यौपाने बताउँछन् । यशोधराको मनोविज्ञान र उनको मानसिक तथा शारीरिक अन्तर्द्वन्द्वमा उत्पन्न हुने ध्वनिमाथि नै काम गरिएको र त्यसले पात्रको संघर्षपूर्ण यात्रालाई थप जीवन्त बनाउन मद्दत पुर्‍याउने न्यौपाने बताउँछन् । यस्तै नाटक ‘गुलाफ’ मञ्चनको सेटलाई वैदिक विधिबाट तयार गरिएको र त्यसले दर्शकहरूमा समेत नयाँ अनुभव प्रदान गर्नेमा न्यौपानेको विश्वास छ । 

411993494_695948532681826_4441253012185475408_n

परिकल्पनाकार ढकालले आफ्नो सृजना र मेहनतलाई नर्वेसम्म पुर्‍याउने लक्ष्य तय गरेका छन् । त्यसका लागि उनी आफैँ पनि केही वर्षअघिबाट नर्वेमै बस्दै आएकाले त्यो माहोल तयार भइसकेको र अन्य युरोपका सहरहरूमा नाटक देखाउने ढकालको तयारी छ । उनका अनुसार नाटक ‘गुलाफ’ नर्वेमा सन् २०२४ मेमा मञ्चन गरिनेछ । 

पुस ११ गतेदेखि पुस २२ गतेसम्म मण्डला नाटक घरमा मञ्चनको तयारीमा रहेको नाटक गुलाफको मञ्च व्यवस्थापनमा रङ्गकर्मी केदार श्रेष्ठ, प्रकाशमा उमेश तामाङ, वेशभूषामा सञ्चिता पराजुली, मञ्च निर्माणमा हुम बीसी, आवरण कलामा अनामिका गौतम तथा प्रदर्शन सहयोगीहरूमा बलबहादुर राई, कपासेली ठिटो, सस्मिल पुन मगर, तिर्थराज विक, ईक्सा मादेन लिम्बु, सर्जिका मिजार, रिजन केसी, एक्टर्स स्टुडियो, थिएटर मल रहेका छन् । रङ्गकर्मी केदार श्रेष्ठका अनुसार नाटक सोमबारबाहेक हरेक दिन दिउँसो ४ बजेबाट र शनिबार १ बजे पनि मञ्चन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया