शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नाटक

कर्मयोग

शनिबार, १४ पुस २०८०, १५ : ०३
शनिबार, १४ पुस २०८०

स्थान :– हस्तिनापुर दरवार 

समय :– मध्याह्न

पात्रहरू :– धृतराष्ट्र हस्तिनापुर राज्यका राजा, सञ्जय धृतराष्ट्रलाई कुरु क्षेत्रकको युद्धको दृष्य बताउन खटिएका उनको सचिव  

नेपथ्यमा कुरु क्षेत्रको युद्धमैदान देखिन्छ । कौरव र पाण्डव दुवै पक्षका सेनाहरू परेठ खेलिरहेका हुन्छन् । दुवै पक्षमा आ–आफूले जित्छौँ भन्ने तीव्र मनोकाङ्ख्या छ । अर्जुृनको रथ दुवै पक्षको सेनाको बीचमा खडा गरिएको छ, जहाँ वासुदेव कृष्ण युद्धभूमि छाडेर सन्यास लिन्छु भन्न थालेका अर्जुनलाई कर्मयोगको शिक्षा दिरहेका हुन्छन् ।  

धृतराष्ट्र :– सञ्जय ! युद्ध नगर्ने मूढमा पुगेका अर्जुनलाई वासुदेव कृष्णले युद्ध गर्न उक्साइरहेका छन् भन्ने जुन कुरा ग¥यौ त्यो कत्ति राम्रो लागेन । युद्ध गर्दिन भन्नु त राम्रै कुरा हो नि । जनधनको सुरक्षा हुन्थ्यो । यी वासुदेव कृष्ण नै त्यस्तै । एकातिर मुखले धर्मस्थापन गर्न आएको हुँ भन्छन् अनि काम चाहिँ मार्न र मर्न उक्साइरहेका छन् । भो छाडौँ यी कुरा बरू भन त्यसपछि कसले के भने र के गरे नि । 

सञ्जय :– अवश्य महाराज ! अहिले अर्जुन वासुदेव कृष्णसित अर्को जिज्ञारा राखिरहेका छन् ।

धृतराष्ट्र :– अर्को जिज्ञासा राखिरहेका छन् ? अहाँ कति राम्रो कुरा । वासुदेव कृष्णले उनको यो जिज्ञासा शान्त गर्न सकेनन् भने त कति राम्रै हुन्थ्यो । अँ भन त अर्जुनले कस्तो जिज्ञासा राखे ?

सञ्जय :– अर्जुन यही भनिरहेका छन् कि महाराज ! वासुदेव ! तपाईँको कुराले झनै दोधारे बनायो । एकतिर ज्ञानयोगको बखान गर्नुहुन्छ अर्कोतिर कर्मयोगको प्रशंसा गर्दै कर्म छाड्नुहुन्न भन्नुहुन्छ । यस्तो अवस्थामा तपाईँ नै भन्नुस् कुन कुरालाई सही मानौँ ? 

धृतराष्ट्र :– हो त नि अर्जुनले ठीकै त भनेका रहेछन् । के वासुदेव कृष्णले पनि त्यसैमा सहमति जनाए त ?

सञ्जय :– छैन महाराज ! उनी त झन् त्योभन्दा पनि ठूलो अर्को तर्कको पाठ पढारहेका छन् ।

धृष्टराष्ट्र :– तर्कको पाठ ?

सञ्जय :– हो महाराज !

धृतराष्ट्र :– हरे ! कस्तो तर्कको पाठ हो यो ? सुन त के भनिरहेका छन् ?

सञ्जय :– यही कि महाराज ! कुरो त्यसो होइन अर्जुन ! तिमीले बुझेनौ । ज्ञानयोग र कर्मयोग दुवै ठीक हो तर बुझ्नुपर्ने कुरा के हो भने ज्ञानयोग योगी सन्यासीहरूका लागि मात्र युपयोगी हुन्छ । यसैबाट ऋषि महर्षिहरू र जनकादि ठूलाठूला राजर्षिहरू लाभग्राही भएका छन् तर तिम्रो अवस्था त्यस्तो छैन । तिमी कर्मयोगी हौँ । तिमी युद्ध गर्नकै लागि आएका हौ । मुखले युद्ध गर्दिन भने पनि तिम्रो मनले गरिरहेको हुन्छ । यो त झन् घोर अनर्थकारी हो । जसले इन्द्रियद्वारा गर्दिन भनेर मनले गरिरहेको हुन्छ यो भन्दा ठूलो ढोँग अर्को हुनै सक्दैन । साँच्चै भन्नुभन्दा योभन्दा ठूलो पाप अर्को हुँदैन । संसारमा एकै छिन पनि कर्म नगरी कोही पनि बस्न सक्दैनन् । अर्को कुरा कर्म नगरी देह निर्वाह नै चल्दैन । यस्तो अवस्थामा कसरी सन्यास लिन्छु भन्छौ ?

धृतराष्ट्र :– हरे कस्तो कुरा ग¥या होला यी वासुदेवले । युद्धमा जनधनको क्षति हुन नदिनु पनि पाप हुन्छ र भन्या ? अनि ? त्यसपछि अर्जुनले के भने नि ?

सञ्जय :– वासुदेव कृष्णको त्यस्तो कुरा सुनेर अर्जुनले भने– कर्म नगरी देह निर्वाह नै चल्दैन भन्नुभयो तर तपाईँँ आफैँ पनि कर्म गरिरहनुभएको देख्छ । के तपार्ईँले पनि त्यसै भएर नै कर्म गर्नुभएको हो त ?

धृतराष्ट्र :– उत्तरमा वासुदेवले के भने नि ?

सञ्जय :– त्यसपछि वासुदेव कृष्णले थप सम्झाउँदै भने– होइन त्यसो होइन । मलाई कुनै चीजको आवश्यकता नै पर्दैैन । तैपनि म कर्म गरिरहेको हुन्छु किनकि लोकलाई कर्मयोगको पाठ सिकाउनु छ । कर्म गरेर देखाउनु छ । 

यत्तिकैमा पर्दा खस्छ र धृतराष्ट्र र सञ्जय दुवै आ–आफ्नो काममा लाग्छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप