थारु सङ्ग्रहालयमा इतिहास झल्काउने पोसाक र गहना, २ सयभन्दा धेरै मूर्ति
बुटवल । कैलालीको टीकापुरका २६ वर्षीय वसन्त चौधरीले दाङको चखौराका रहेको थारु सांस्कृतिक सङ्ग्रहालयबारे धेरै सुनेका थिए । टीकापुरको एक विद्यालयमा पढाउने वसन्त गत शनिबार आफन्तसहित दाङमा सांस्कृतिक थारु सङ्ग्रहालय हेर्न आएका थिए ।
सङ्ग्रहालयमा घुम्ने पार्कदेखि मूर्ति, थारु पोसाक, गहनासम्म हेर्न पाइन्छ । सङ्ग्रहालयमा भेटिएका चौधरीले रातोपाटीसँग भने, ‘यहाँ हाम्रा पुर्खाले गरेको राजकाजदेखि खाने–पिउने तथा लगाउने वस्तु सङ्ग्रह गरिएको रहेछ । थारु पोसाक लगाएर तस्बिर खिच्ने व्यवस्था पनि रहेछ । श्रीमती र मेरो तस्बिर खिचेर फेसबुकमा राख्ने हो ।’
दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ३, चखौरामा २०७५ सालमा स्थापना भएको थारु सांस्कृतिक सङ्ग्रहालयमा रहेको पार्कमा बच्चालाई खेलाउने तथा वनभोजका लागि जानेहरू पनि उत्तिकै भेटिन्छन् ।
दाङको विजौरी उद्योग वाणिज्य संघको टोली सङ्ग्रहालयभित्र वनभोजका लागि पुगेको थियो । विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीराज खड्काले पुरानो थारु संस्कृति हेर्दे शान्त र रमाइलो वातावरणमा वनभोज गर्न मिल्ने भएकाले आफूहरू यहाँ आएको रातोपाटीलाई बताए ।
साढे चार बिघा क्षेत्रमा थारु राजाले राज्य गरेको ठाउँलाई संरक्षण गर्दै थारु जातिको कला, संस्कृति, रीतिरिवाजबारे स्पष्ट जानकारी दिने सामग्री राखेर निर्माण भएको सङ्ग्रहालयमा दैनिक एक हजारभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।
नेपालकै ठुलो थारु सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय, दंगीशरण गाउँपालिका, पर्यटन बोर्ड, स्थानीयवासीहरूले सहयोग जुटाएका हुन् ।
सङ्ग्रहालयमा थारु जातिका प्रथम राजा दंगीशरणको प्रतिमासमेत स्थापना भएको छ । यस्तै अन्य थारु अगुवा एवं थारु सम्बन्धी संस्कृतिसँग जोडिएका विभिन्न मूर्ति स्थापना गरिएको छ ।
सङ्ग्रहालयमा २ सयभन्दा धेरै मूर्ति छन् भने नयाँ मूर्ति थप्दै जाने योजना रहेको थारु संस्कृति सङ्ग्रहालयका अध्यक्ष राजेश चौधरीले रातोपाटीलाई बताए ।
उक्त सङ्ग्रहालयमा आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत छन् । चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरू पनि राखिएको छ । यहाँ डुङ्गा सयर गर्न पनि पाइन्छ ।
अध्यक्ष चौधरीले सङ्ग्रहालयभित्रको मुख्य भौतिक संरचनामा पुरानो थारु सङ्ग्रहालय भवन, नयाँ थारु भवन, थारु विश्राम घर, थिएटर घर, पुस्तकालय, रेकर्डिङ्ग स्टुडियो, कोसेली घर, रेष्टुरेष्ट, सभाहल समेत रहेको रातोपाटीलाई बताए ।
कस्ता कस्ता मूर्ति ?
थारु सांस्कृतिक सङ्ग्रहालयको विशेषता भनेकै विभिन्न मूर्ति हुन् । सङ्ग्रहालयभित्र छिर्नासाथ पार्कमा तीन वटा मूर्ति देखिन्छ जसमा राज, वायुपङ्खे घोडा र अप्सराको मूर्ति छन् ।
ती मूर्तिहरू सुरु चरणमा कैलालीको टीकापुरबाट कालीगढ ल्याएर निर्माण गरिएको हो । थारु राजाको प्रेमसँग जोडिएको ऐतिहासिक किम्बदन्तीको आधारमा निर्माण भएका आकर्षक मूर्तिसँगै विभिन्न २०४ मूर्ति हेर्न पाइन्छ ।
यस्तै थारुहरूले माछा मार्ने बल्छी, कुलो र झरना पनि निर्माण भएको छ । सङ्ग्रहालयमा देउखुरी उपत्यकाको गुरुबाको प्रतिमा राखिएको छ । जेठा, मेड्वा, संज्ञा दिएर आफ्नो संस्कृति अनुसार गुरुबाहरूको सम्मान गर्दै इतिहासलाई प्रस्टाउने काम भएको सङ्ग्रहालयकी व्यवस्थापक शान्ता थारुले बताइन् ।
सङ्ग्रहालयभित्र ठाँटी घर निर्माण गरी राँगा, गोरु, लडिया, यस्तै लरु पनि राखिएको छ । धनी थारुहरू बसेर यात्रा गर्ने र लडिया थारुको अन्नपात आदि बोक्न लरु प्रयोग गरिन्थ्यो ।
यसरी ठाँटी घरमा धेरै पुराना बस्तुहरूलाई संरक्षण गर्दै राखिएको शान्ताको भनाइ छ ।
यस्तै यहाँ भुइया थाना (गाउँको सामूहिक देउवा) पनि निर्माण भएको छ । यसको नजिकै जङ्गली जनावर बाघ, खरायो, मयुरलगायतका मूर्ति निर्माण गरेर आकर्षक रूपमा राखिएको छ ।
यहाँ मूर्तिहरूमा थारु संस्कृति झल्कने देउखुरीया झुम्रा नाच, थारु गुरवा, चितवन्या लट्टी नाच, यस्तै नयाँ दुलहा, ससुराली जान लागेकोदेखि महिलाले लेहड्गा बुन्न लागेका मूर्तिसमेत छन् ।
थारु जातिले राज्य गर्दाका विभिन्न चरण झल्किने मूर्तिहरू सङ्ग्रहालयमा छन् । यहाँ कृषि घर पनि बनेको छ, जसले साँच्चै थारु गाउँमा पुगेजस्तै अनुभूति हुने चितवनको मोघौलीबाट आएकी कमला थारुले रातोपाटीलाई बताइन् ।
इतिहास झल्काउने पोसाक र गहनाहरू
सङ्ग्रहालयभित्र दुई वटा साना घर छन् । ती घरभित्र महिला र पुरुषको पोसाक तथा गहनाहरू छुट्टाछुट्टै राखिएको छ । ती पोसाक राना थारु, देउखुरीया थारु, मोरङ्गे थारु, टीकापुरे थारुका संस्कृति अनुसारका हुन् ।
पहिरनमा लेहङ्गा, चोल्या, झुम्का, कन्छत्, दोपट्टा, ब्लाउज, गोन्या आदि राखिएको छ । यस्तै यहाँ थारु गहनाहरुमा हार, मोथ, पन्जा, झुम्का छन् । सङ्ग्रहालयमा सम्पूर्ण थारु जातिको इतिहास झल्काउने गहनाहरू तथा कपडा नाम लेखेर राखिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुँदै
सङ्ग्रहालयमा हाल दैनिक १ हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका धेरै ठाउँबाट थारुले ऐतिहासिक रुपमा राज गरेको स्थान र त्यसको ऐतिहासिकता बुझ्नका लागि पर्यटक आउँछन् ।
पार्कमा घुम्न, थारु संस्कृति अध्ययन गर्न, खानपिन गर्न, डुङ्गा सयर गर्न पाउने हुँदा पर्यटकको राम्रो गन्तव्य बनेको दंगीशणरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले रातोपाटीलाई बताए ।
सङ्ग्रहालय दाङको तुलसीपुर उपमहानगरपालिकाबाट करिब ९ किलोमिटर दुरीमा पर्दछ । दाङको तुलसीपुर–सुर्खेत रोडमा छेउ रहेको सङ्ग्रहालयमा भारतबाट प्युठानको स्वर्गद्वारी आएका हिन्दु धर्मावलम्बीहरु पनि घुम्न आउने गरेका छन् ।
सङ्ग्रहालयसँगै समुदाय नै सबलीकरणतर्फ
थारु समुदाय बाहेक अन्य कुनै जातिको बस्ती नरहेको चखौरामा स्थापना भएको सङ्ग्रहालयले स्थानीयलाई रोजगारीदेखि व्यापार व्यवसायमा वृद्धि गर्न ठुलो मद्दत गरेको छ । स्थानीयलाई तालिम प्रदान गरेर किसानलाई उत्पादन, महिलालाई हस्तकलाका सामान, युवाहरूलाई थारु गाइड, थारु कलाकार आदिको तालिम दिएर रोजगारी प्रदान गरेको छ ।
समुदायलाई रोजगारीसँगै गाउँको विकासको लागि प्रदेश, गाउँपालिका तथा पर्यटन बोर्डले सबलीकरणको अभियान चलाएका छन् । आफ्नै घरमा बसेर पहिलेदेखि आफ्ना पेसा गरिरहेकाहरूलाई टिकाइराख्दै आम्दानीको स्रोत वृद्धि गरिएको अध्यक्ष राजेश चौधरीले बताए ।
घरमा स्थानीय उत्पादनसँग थारु महिलाहरूले निर्माण गरेका हस्तकलाका सामग्रीहरू पनि बिक्री गर्ने अवसर पाएका छन् । सङ्ग्रहालयभित्र हाल प्रत्यक्ष २३ जनाले रोजगारी प्राप्त गरेका छन् ।
अटो चालकको समेत आम्दानी वृद्धि भएको छ । तुलसीपुरबाट चखौरासम्म पुग्न अटो उपयुक्त सवारी साधन हो । यो ९ किलोमिटर दुरीमा दैनिक ४० जनाभन्दा धेरै अटो चालकले प्रत्यक्ष लाभ लिएका छन् ।
सङ्ग्रहालयका कारण आम्दानी वृद्धि भएको अटो चालक हुम बहादुर विकले रातोपाटीलाई बताए । उनले भने, ‘एक जनाको सय रुपयाँ लिन्छौँ, अन्य ठाउँभन्दा यहाँ आउँदा फाइदा हुन्छ ।’
यहाँ थारु खानामा घरमै उत्पादित सामग्री प्रयोग गर्ने भएकाले स्थानीय मदिरा, तरकारी, माछा, घुँगी पालन गर्नेहरू प्रत्यक्ष अप्रत्यक्ष २ सयभन्दा धेरैले रोजगारी पाएको सङ्ग्रहालयकी व्यवस्थापक शान्ता थारुले बताइन् ।
यस्तै सङ्ग्रहालयभित्र राखिएको कोसेली घरमा राख्ने हस्तकलाका सामान, खास गरी थारु संस्कृतिसँग जोडिएका सामग्री, स्थानीय मह, अदुवा, आदिको उत्पादन र बिक्री गर्ने अवसर थारु सङ्ग्रहालयले दिएको छ । जसबाट सिङ्गो समुदायकै आर्थिक उन्नति भएको उनको दाबी छ ।
थारु सङ्ग्रहालय देशकै ठुलो, प्रदेशको गौरव र दंगीशरण गाउँपालिकाको गहना बन्ने विश्वास थारु संस्कृति सङ्ग्रहालयका अध्यक्ष अध्यक्ष राजेश चौधरी बताउँछन् ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सङ्ग्रहालयले थारु समुदायको मात्रै नभए समग्र गाउँपालिका परिचय बदल्न मद्दत गरेको रातोपाटीलाई बताए । उनले सङ्ग्रहालयको टिकटको ५ प्रतिशत रकम गाउँपालिकामा जम्मा हुने बताए ।