आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

‘महाजात्रा’को फष्टलुक्समा हरिवंशसँगै विपिन र दुई रवीन्द्र

मङ्गलबार, १७ पुस २०८०, १२ : ०१
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । प्रदीप भट्टराई निर्देशित पछिल्लो फिल्म हो ‘महाजात्रा’ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को सिक्वेलको रूपमा ‘महाजात्रा’ तयार गरिएको हो । फिल्मको फस्टलुक्स सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक फष्टलुक्समा अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् ।  सार्वजनिक पोस्टरमा ‘जात्रा’देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागि रहेका छन् । 

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए । ‘पोस्टरमा देखिएका पात्रले पनि यसको कथासार झल्काउँछ । पृष्ठभूमिमा गाडी, पैसा अनि हामी तीनसँगै हरि दाइ । यसले धेरै तथ्य सङ्केत गरेको छ’, अभिनेता बानियाँले भने । 

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ ।

फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ । फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकारको रूपमा फिल्ममा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप