मनोज बाजपेयी पनि राजनीतिमा आउन लागेका हुन् ?
नयाँ दिल्ली । मनोज बाजपेयी भारतका उत्कृष्ट अनि निपूर्ण अभिनेतामा पर्दछन् । ठुलो पर्दादेखि ओटीटीसम्मै उनले आफ्नो अभिनयको जादु देखाइसकेका छन् । उनका फिल्म मात्रै होइन वेब सिरिजले पनि दर्शकहरूबाट खुब माया पाइरहेका छन् । उनी हरेक पटक नयाँ नयाँ प्रयोग गर्ने कोसिस गर्छन् । उनी आफ्नो प्रोफेसनल जीवनबाहेक निजी जिन्दगीलाई लिएर पनि निकै चर्चामा रहने गरेका छन् ।
विगत केही दिनयता मनोज लोक सभाको चुनावमा भिड्न लागेको खबर आएको थियो । अभिनेताले यसबारे चलिरहेका अड्कलबाजी अस्वीकार गरेका छन् । हालै मात्र उनले यस बारे सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका थिए । ‘हो र, यो कुरा कसले भन्यो ? कि हिजो राति सपनामा देख्यौँ ? भन, भनन !’ उनले पोस्टमा लेखेका छन् । उनको यो प्रश्नलाई निकट भविष्यमा राजनीतिमा जाने कुनै योजना नभएको सङ्केतका रूपमा हेरिएको छ ।
मनोजलाई राजनीतिमा भन्दा धेरै फिल्मको पर्दामा हेर्न रुचाउने उनका फ्यानका लागि यो खुसीको खबर हो । केही दिन अघि मनोज विपक्षी गठबन्धनका उम्मेदवारका रूपमा पश्चिम चंपारण लोक सभा क्षेत्रबाट चुनाव लड्न सक्ने खबर भाइरल बनेको थियो । यस विषयमा मनोजको मौनतालाई धेरैले अफवाह साँचो भएको रूपमा हेरेका थिए । तर उनले यी सबै अड्कलबाजीलाई गलत साबित गरिदिएका छन् ।
जनवरी ११ मा नेटफ्लिक्समा मनोजको फिल्म ‘किलर सूप’ रिलिज हुँदै छ । फिल्ममा कोंकण सेन शर्मा पनि छिन् । यसबाहेक उनी बहुप्रतिक्षित वेब सिरिज ‘द फ्यामिली मेन’को तेस्रो सिजनमा पनि देखिनेछन् । सत्या र ग्याङ्स अफ वासेपुर मनोजका चर्चित फिल्ममा पर्दछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण